हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

मोजा हराएको सूचना

सङ्गीत आयाम, (चितवन, भरतपुर)

 
 
 देशमा धेरै कुराहरु
 हराउँदै गए
 एकपछि अर्कोगरी
 गुम्दै गए
 फैलिएको देश
 खुम्चिने क्रममा
 सीमास्तम्भहरु हराए
 वैशाखी टेक्दै
 सत्तासीन हुनेहरुले देखाउने
 परिकल्पनाहरु हराए
 हराउनुको आभाष छ
 हराउनेहरुकै भीड छ
 हराउनेको मौसममा
 हराउनेहरुकै एकाधिकार छ ।
 
 हराउँदा हराउँदै
 र गुम्दा गुम्दै
 पछिल्लो संस्करणमा
 कुनै सूचना प्राप्त भएको छ
 हराउनुको यस श्रृङ्खलाको
 नवीन कडी बन्दै
 आज कसैको मोजा हराएको
 जानकारीमा आएको छ
 हो इतिहासको कुनै हिस्सा बन्दै
 आज मेरो
 मोजा हराएको छ ।
 
 देख्दा सानो देखिन्छ
 तर मोजाको अर्थ
 सोचेभन्दा विशिष्ट छ
 विषयको महत्वमाथि
 प्रश्न उठाउन सकिन्छ
 तर त्यसको हस्तक्षेप
 विशेषतासहित भेटिन्छ
 पैतालामा जब
 चिसोले सिर्का हान्छ
 मस्तिष्करुपी स्पर्श
 कठ्याँग्रिदै खस्छ
 केही गरौं भन्दा पनि
 गर्न सिकंदैन
 केही सोच्न खोज्दा पनि
 त्यसले सोच्न दिंदैन
 मोजालाई हल्का रुपमा
 लिन मिल्दैन
 जीवनमा संभावनाहरुलाई
 निर्देशित गर्दै
 त्यसले आफ्नोपनको
 आभाष गराउँछ
 मोजाको मौनता
 संवादहीनताको सूचक
 हुनै सक्दैन
 अविच्छिन्न यात्रालाई
 सुरक्षा कवच ओढाउँदै
 त्यसले वर्गीय विभेदको
 दूरीसमेत मेटाउँछ ।
 
 भन्छन् हराउनुको मजा नै
 अरुभन्दा बेग्लै छ
 प्राप्त हुँदा नपाएको चीज
 गुमाउँदा प्राप्त हुन्छ
 हुन त सन्दर्भसहित
 आएको नग्नता
 कहिलेकाहीं मीठो पनि सुनिन्छ
 कलामय उज्यालोले
 आनन्द उत्साहित पनि हुन्छ
 साँच्चै नै अब हराउनुको
 थप श्रृङ्खलामा
 मोजाजस्तै
 अरु कुराहरु पनि
 हराउँदै गए भने के हुन्छ ?
 प्रश्न छ
 साँच्चै नै अब गुमाउनुको
 निरन्तरता स्वरुप
 मोजाजस्तै
 अरु कुराहरु पनि
 गुम्दै गए भने के हुन्छ ?
 प्रश्न उठ्छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |