हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

हामीले भगवान श्रीकृष्ण भएर जानु पर्छ

शरद निरोला, (मेरील्याण्ड, यु. एस. ए .)


अस्वीकृत मान्यताहरुको मापदण्डमा खारिएर
अविवेकी अवमूल्यनमा  पछारिएका
श्रस्टा र संरचनाको चक्रब्यूहमा फँसेर
भीष्म-पीतामहको जनै भिरेका
हाम्रा यी नेताहरुले
मेरो देश बेपत्ता पार्न लागिसके
विवशता र केही गर्नै नसकिने बाध्यताको वशीभूत
केवल रगतको घुट्का पिउनु बाहेक
अन्य कुनै विकल्प छैन |

विदेशमा छु, विदेशको अन्न-बजारमा
अन्न-मूल किन्न जान्छु
चामलको राजा बास्मतीमा
उसीना चामलको स्वाद पाउँछु
लटरम्म हरिया धनियाँका पातहरुमा
"ओर्गानिक " लेखेको देख्दा
कान्तिपुरको ज्यापूलाई सम्झन्छु
कहाँ गयो त्यो काठमान्डौको कल्कलाउँदो काउली भनी
क्यालिफोर्नियाले निकासी गरेको
हाड जस्तो काउलीलाई टोक्तछु
हरे मेरो देश !
म ता खानै नपाएर मर्न लागें भनी
निस्सासिएर कल्पिन्छु
मनै भरङ्ग भएर
चौन्सुर र पालुंग सम्झिन्छु
जब सम्म विदेशमा हुन्छु
हृदयको अन्तरकुन्तरमा
मेरो देशको झझल्को देख्छु |

अनि ता के गर्नु ठाकुरे !
जय बम भोले भनी
बिरक्तिरुपी चिलिमबाट
फोक्सो सम्मै पुग्ने गरी
स्वाट्ट एक सर्को तान्दछु
एक सर्को तन्काए पछि
यो गिदीले ठोक्नुसम्म फाडदोल ठोक्छ
झल्याँस्स पशुपतिको बाबाजीलाई सम्झन्छु
हे मारे सट्टा भागे भूत
बोक्सी-दैनीका आँखा फूट
बम बम लगाओ दम
कभी नहीं होगा कम भन्दै
धुवाँको संसारमा रुमलिन्छु
 
तर अपसोच !
आफ्नो देशलाई सम्झनु पनि अब ता बेकारै लाग्छ
अतिरन्जित स्वर्थीपनाले ग्वाम्लांग छोपेका
नेताहरुले
पदलोलुपताको मखमली सिरक ओढेर
देशको चीरहरण गरिरहँदा पनि
 के महाभारतका विवश पांडूहरुले झैँ
हामीले क्वारक्वार्ती हेरिरहने?

हामीले स्वदेश फर्कने बन्दोबस्त
कुनै हालतमा मिलाउनै पर्छ
यताका सबै काम छाडेर
देशतिर कुलेलम ठोक्नै पर्छ
हाम्री आमाको चीर-हरण हुनबाट बचाउन
हामीले
भगवान श्रीकृष्ण भएर
भोलिनै जानु पर्छ


०८/१५/२००९

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |