हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

सुजाता: एक पेग कोन्याक र नयाँ वर्ष

प्रकाश सायमी, (गोधुली संसार, सैँबु ८, ललितपुर)




इमेलमा उनको पत्र आउँदा लगभग पौने बाह्र बजिसकेको थियो ।

पौने बाह्रको त्यो समय मेरा निम्ति प्रियकर हुन्छ । मलाई सम्झना छ… पौने बाह्रको यही समय नै मैले सम्भवतः पहिलोपटक चुरोटको स्वाद लिएको थिएँ । त्यसलाई मैले त्यतिबेलाको ठूलो शिखरारोहण मानेको थिएँ र अझै पनि सम्झिन्छु त्यस रात हामी केही साथीहरु एकसाथ बसेर फुटबल हेर्दै थियौँ ।

त्यो समूहको नाम कलेजमा व्यापक रुपमा चर्चित थियो- हीभ एइटी फोर भनेर । हीभको पूर्ण अर्थ थियो- एच.आई.भी. ।

त्यतिबेला एउटा रोगको नाम भइसकेको थिएन मात्र समाचारको शीर्षक थियो । विशेषतः अङ्ग्रेजी साप्ताहिकले त्यसको फलो-अप न्यूज बनाएर युवाहरुमाझ लोकप्रिय बनाइसकेको थियो र ती युवाहरुमध्ये सुधाकर पत्रकारिताको त्यो विद्यार्थी थियो जसले त्यस रोगका बारेमा पत्ता लगाएर हामीलाई पहिलो खबर सुनाएको थियो ।

समयान्तरमा उसले त्यस रोगबारे लेख्यो पनि तर समाचार होइन कविता लेख्यो । अचम्मसित ऊ कवितासहित प्रकट हुँदा ऊभित्रको नयाँ व्यक्तित्वसित हामी परिचित भयौँ र नेतृत्वगुण भएका कविलाई हामी साराले एक्कासी आइडलको रुपमा स्वीकायौँ ।
यो घटनाले पछि नयाँ स्वरुप लियो- त्यो रोगले सुधाकरलाई कविको रुपमा भन्दा प्रेमीका रुपमा स्थापित गर्यो । सुधाकरको काव्य व्यक्तित्वमा कविताको अनुच्छेद बनेर सुजाताले प्रवेश गरी ।

सुधाकर असलमा एउटा कुशल राजनीतिज्ञ व्यक्तित्व भएको विद्यार्थी थियो । सुजातासितको भेटपछि उसले आफ्नो राजनीतिक जीवनलाई नेपथ्यमा धकेलिदियो । जसरी सुजातासित भेटेपश्चात् सुधाकरले आफ्नो क्यारियर बदले त्यसरी ने मनोविज्ञान पढ्न आएकी सुजाताले सुधाकर महोदयलाई भेटेपश्चात् पत्रकारिता पढ्न थाली र आफ्नो चयनको विषयलाई तिलान्जली दिई ।भन्नेहरु अझै पनि भन्छन्- त्यही कारणले सुधाकर र सुजाताको सम्बन्ध भएको हो । तर एक साक्षीका रुपमा हेर्दा मलाई त्यति मात्र कारण पर्याप्त हो जस्तो लाग्दैन ।

सुधाकरसित निकटता भएको चार वर्षपछि सुजाता एकदिन मलाई भन्छिन्- "शरदजी…… मेरो जीवनमा यतिबेला दुईजना पुरुषको एकैपटक आगमन भएकॊ छ । दुवैले मलाई राम्रो इम्प्रेशन दिएका छन् एकजना सुधाकर र अर्को विनय । तपाईं भन्नुहोस् ती दुईमध्ये कुनमा बढी मेरो पति बन्न सक्ने गुण छ ?"

प्रश्नको गोबरझ्याउलोमा तिनले मलाई यसरी अल्झाइन कि म निर्दिष्ट उत्तरभन्दा त्यस दुईजनामा एक थपिएर तेस्रो नाम किन हुन सकेन त्यतातिर आकृष्ट हुन पुगेँ । तिनले फेरि सोधिन् "तपाईं त मभन्दा बढी कन्फ्यूज हुनु भो त…"

परिस्थितिको गलत अनुमान हुँदाहुँदै पनि मैले आफ्नो मनोभावलाई एक विदूषकले झैं प्रस्तुत गरेँ-"होइन सुजाता ! म त तेस्रो नाम पो खोज्दै थिएँ । मेरो नाम……।"

मेरो पङ्क्तिले पूर्णता ग्रहण नगर्दै उष्णता दिँदै हाँसिन् । तिनको हाँसो कलेजमा सर्वव्यापी मानिन्छ । त्यो हाँसो दीर्घकालसम्म मेरो निम्ति कर्णकटु बनिरह्यो । म भन्दै थिएँ तिनले मेरो स्वरलाई बलाघात पुर्याएर भनिन्-" यो एउटा अर्को रोमान्टिक कुरा हो । यो विनोद-चर्चाको लागि ठाउँ छैन आज……।"

मेरो एउटा महत्ताभास भनौँ वा भाग्ने सर्टकट बाटो म स्वयमले पनि त्यतिबेला त्यस बहसमा पैरवी गर्न चाहिनँ । सम्भावना नदेखेर होइन सुजाताबाट सज्जनता पाउन र त्यसलाई आफ्नो पराजयभन्दा महानता ठानेर मैले हात झिकें । म विनयभन्दा तल परेँ वा कति अङ्कले म सुजाताको नजरमा अनुत्तीर्ण भएँ मैले त्यसपछि कहिले सोचिनँ । यो विनोद-चर्चाको लामो समयपछि सुजाताले विवाह गरिन्- सुधाकरसित होइन विनयसित ।

विवाहमा सुधाकर पनि सहभागी थियो तर निम्तालुका रुपमा नभई ऊ त आफैँ एउटा आयोजकजस्तो रुपमा थियो । पार्टीमा उसले डिङ्क्स डिपार्टमेन्ट जिम्मा लिएको रहेछ र दिलोज्यानले ऊ खट्दै थियो । साथीहरु उसमाथि स्मोकिङ जोक्स बनाउँदै थिए । स्मोकिङ जोक्स हाम्रो कलेजको दिनदेखि लोकप्रिय विधामा पथ्र्यो । कुनै पार्टीमा पुरुषलिङ्गीहरु स्त्री पक्षबाट बचेर कुनै अश्लील ठट्टा गर्नुपर्यो भने चुरोट खाने बहानामा कुनामा गएर एकपक्षीय भएर अड्डा जमाउँथे । त्यसका सूत्रधार त सुधाकर महोदय नै थिए । तर आज उसमाथि नै त्यस्तो वर्षापात हुँदै गरेको देखेर मलाई दया कम रिस बढी उठ्यो । मलाई हेर्दै कसैले भन्यो- "हेर्नोस् शरदजी ! सुधाकर पहिले दिल लगाएर माया गथ्र्यो आज पसिना बगाएर माया देखाउँदैछ । यसको पसिनाको चमकले काम गर्यो भने वैकल्पिक उम्मेदवार यही हो ।

मिर्जा गालिबका परमभक्त सुधाकरमाथि पालैपालो गालिबकै अन्दाजे-बयानमा शेरोशायरी भन्दै उनीहरुले प्रहार गर्दैगर्दा म स्वयम् पनि पसिनापसिना भइसकेको थिएँ । कतै मैमाथि पनि यो प्रहार हो कि भन्ने सोच्न विवश भएँ ।

"…वैट एण्ड वाच शरदजी, एकदिन यो सुधाकर यही महानगरको कुनै कुनामा सुधाकर भएर होइन सुजाताधर भएर देखा पर्नेछ,  भक्त भो यो सुजाताको । नेपाली साहित्यमा पी.एच.डी. गर्नेले एउटा नयाँ विषय पाउने भो- गजलकार सुधाकरको साहित्यिक जीवनीमा सुजाताको देन…ब्लाह !……ब्लाह ! "सुन्नुभो शरदजी ! नेपाली साहित्यको महान् जोक् …?"

तिनीहरुलाई थाहा थिएन शरदजी पनि यस कथाको एउटा त्यस्तै दयनीय पात्र हो भनेर । तर नेपथ्यमा भएकाले मात्र ऊ आज यो विनोद-चर्चाबाट बचेको हो । यस दुर्घटनाग्रस्त हालतबाट बचाउनुमा त्यस अघिल्लो विनोद-चर्चाको पूर्वाभासले मलाई सेफल्याण्डिङ् गर्यो । म खुसी भएँ । तर त्यति होइन जति उनीमाथि पालैपालो सलाई कोर्नेहरु भइरहेका थिए । म त तिनीहरुभन्दा दुरुह अवस्थामा थिएँ तर त्यति पनि होइन जति सुधाकर थियो होला । सुधाकरको खटाइ हेर्दा ऊ पनि त्यति दुःखीजस्तो लागेन । हुनसक्छ उसले आफूभित्रको पाचवटीलाई बचाइराखेको होस् । यी सारा प्रकरणपछि मलाई सुजातालाई भेट्न मन लागेन । तर एउटा प्रश्न चैँ सोध्न मन लागेको थियो "किन सुजाताजी ! किन यस्तो रि-सफल राजनीतिमा जस्तो …?"
तर सोधिनँ । बरु अर्को एउटा प्रश्न सोध्न मन थियो । त्यो पनि सोधिन । त्यहाँसम्मै पुग्नै मन लागेन । फर्किनै लागेको थिएँ करिडोरमा सुधाकर नै भेट भयो । मैले केही भन्न नपाउँदै त्यो आफ्नो छविमा ओर्लिहाल्यो- "हमेँ मालूम है हकिकत कि जन्नत लेकिन…"

त्यसको मिर्जा गालिबको पुनर्वाचन नसकिँदै मैले सोधेँ- "यो तेरो सेल्फ कम्प्लिमेन्टरी हो कि कन्फेशन ?"

"वाहियात कुरा नगर् । तँलाई सुनाएको गालिबको यो गजल परवेजले गाएको छ । को परवेज भन्लास् । पाकिस्तानको आजको मेहन्दी हसन । तिमीहरु सुन्दै सुन्दैनौ समकालिकताको चेतना ख्वै ?" आफ्नो अपूरो लेक्चरबाजी नसक्दै त्यसले मलाई पोडियममा पुर्याइसकेछ जहाँ सुजाता र विनय पात्रगत रुपमा उभिरहेका थिए एकअर्कासित टाँस्सिएर ।

म यति असमाजसमा परेँ जसको निमित्त कत्ति पनि तयार थिइनँ म । सुधाकर यस किसिमको नाटक गरिरहन्छ आफू पनि फँसिरहन्छ अरुलाई पनि बिनासूचना फसाइरहन्छ । मलाई यसै क्रममा त्यसले यहाँ उभ्याइदियो । "भेटिस् सुजातालाई ? हेर्नोस् विनयजी ! यो पार्टीमा आएको-नआएको थाहा नदिई सुटुक्क भाग्न लागेको थियो । मैले पक्डेर ल्याएँ ।"

मलाई पक्डेर ल्याएको भए पनि सुधाकरको अनुहारमा देखिन्थ्यो त्यो चोरीको डर । सम्वाद बोल्दै गर्दा उसको अनुहारमा एकैपटक नवरसका दुई भाव स्पष्ट देखिन्थे- करुणा र विभत्स । दुवै रसमा पनि उसको अभिव्यक्ति स्पष्ट हुन नसकेकाले ऊ सफल पनि देखियो ।

दुवै दम्पत्तिलाई बधाई दिएर म घर फर्कें । तर मनमा एउटा विशाल खिन्नता रहिरह्यो । किन सुजाताले सुधाकरलाई विफल तुल्याई त ? मसँग सुझाव मागी दुईमा को ठिक होला मेरो जवाफका विरुद्ध विनयलाई छनौट गरी । यो फेरि अर्को मजाक मैमाथि ।

विवाहपश्चात् सुजाता पाश्र्वभूमिमा हराई कलेज पनि छोडिदिई ।

विनयसित मेरो मित्रताको विकास एम.ए. गरिसकेपछि भयो । सुधाकरको ज्यादा जागरुकताले नै भएको मान्दछु । एम.ए. को परिणाम घोषित हुनुपूर्व नै मलाई युनिभर्सिटीको रिसर्च स्कलरसिप मिलिसकेको थियो । यसको श्रेय दृश्य-अदृश्य रुपमा डा. वत्सलाललाई जान्छ जो त्यतिबेला फ्याकल्टी चीफ थिए । म ती दिनमा युनिभर्सिटीको रिसर्च टेबिलमा बस्ने गर्दथेँ । विनयले प्राक्टिस सुरु गरिसकेका थिए । तर कहिले उनीसित फर्किंदैगर्दा घरसम्म आउने जोडजबरजस्ती गर्थे ।

एकदिन कलेज जाँदै गर्दा बिहानै पानीले भिजेँ निथुक्कै । धरतीको गुरुत्वाकर्षणमाथि सराप्दै हिडेँ किनकि हातमा लिएको छालाको झोला पाखुरालाई नै विभक्त गर्लाजस्तो गरेर तन्किरहेको थियो । बसमा एकछिन सवार भएँ तर सुविस्ता भएन बीच बाटोमा ओर्लें ।

बाटोमा सुजाता भेट भइन् रक्ताम्बराजस्ती भएर । हठात् मैले नमस्ते गर्न पुगेँ । लजाएजस्तो गरिन् । सोधिन् "चिन्नुभो ! मलाई त तपाईंले नचिन्नु होला भन्ने पो डर लागेथ्यो ।"

अवसरको अत्यन्त कमजोर फाइदा उठाएर मैले एउटा घन फ्याकेँ- "आज चिनेँ, तर सुजाताजी त्यो दिन तपाईंलाई मैले चिन्न सकिनँ जुन दिन तपाईं……"

मेरो प्रश्नको सङ्केत तिनले सहजै बुझिन वा नाममा अप्रत्याशित रुपमा जी शब्दको प्रयोगले झस्किन् ।

"हेर्नोस् सर ।" सर शब्दको प्रयोग उनी सायद पतिलाई पनि गर्दी हुन् त्यसैले उनी त्यसमा सहज देखिइन् ।

"सरहरु भनेको मर्द । याने कि एम सी पी- मेल चोवनिस्ट पीग , हामी पनि कहिलेकाहीँ आफ्नो च्वाइसमा बाँच्नुपर्यो नि परेन ? धेरै अर्थमा विनयको तुलनामा सुधाकर वेस्ट हो तर प्राक्टिकल पनि हुनुपर्यो सर ।" यसपालिको सर मलाई अत्यान्तिक व्यङ्योक्ति लाग्यो ।

"…सुधाकर डेफिनेट्ली प्रेमी मान्छे हो । तर प्रेम जीवनको एउटा अङ्ग मात्र हो शरदजी ! सम्पूर्ण अङ्ग होइन ।" उनले भनेका कुरा जेसुकै भए पनि त्यसको जे-जस्तो अर्थ भए पनि पछिल्लो 'जी' शब्दले दर्दमा मल्हमको काम गर्यो । त्यसपछि यदाकदा सुजातासँग भेट त भइरहन्थ्यो तर सुधाकरको चर्चा न्यूनोक्ति हुँदै गयो । विश्वसनीय स्रोतका अनुसार सुधाकर अझै पनि विनय-सुजाताको जोडीलाई लक्ष्मण सरह सहयोग गर्ने गर्छ रे । म खबर पाउँछु- सुधाकर त कहिलेकाहीँ रात्रिभोजन त्यहीँ गर्छ । के कति कारणले यो राम्रो हो ? के कति कारणले यो नराम्रो हो मैले त्यतापट्टि ध्यानै दिइनँ । यो कथाको नायक म नभएको हुनाले यसलाई कलेजमा बहुतायत साथीभाइहरु सुधाकरलाई सुजाताको मानस-पतिका रुपमा व्याख्या गर्न थालेपछि मैले त्यसलाई एकदिन सम्झाएँ ।

हाम्रो गालिब अङ्ग्रेजी उवाचमा मलाई सम्झाउँछ- "आइ वुडन्ट मैरी अ गर्ल । आइ वुड म्यारी अ वुमन- म्याच्योर एण्ड अण्डरस्ट्याण्डिङ् ।

कलेज सकिएपछि सुधाकर कविताको छन्द र गन्धबाट हुर्रिरएर ईट्टा र पर्खालको बनावटतिर लागेछ - ठेकेदार ! छयालीसको आन्दोलनपछि ऊ एउटा पार्टीको महाधिवेशनमा पोखरामा देखापर्यो बिल्ला लगाएर ।

जतिबेला म सुजाताको ईमेल पढ्दै थिएँ सुधाकर काठमाडौँको राजनीतिक सरगर्मीमा पौडी खेल्दै थियो । ऊ मन्त्री वा कुनै सानो मुलुकको राजदूत हुने पनि व्यापक हल्ला साँझको खबरकागजले फ्याँकिरहेको थियो । तर म चक डस्टरको जिन्दगीसित गाँसिएपछि यस्ता सभासङ्गतबाट टाढै रहेँ ।

पहिले २१ मार्च सन् १९९४ भन्दा पूर्वको कथा यति मात्रै हो । यसभन्दा अघिल्लो प्रसङ्ग यहाँ जोडिनु कथालाई अस्पष्ट बनाउनु मात्र हो । प्रिय पाठकहरु ! म अनन्त क्षमा माग्दछु बारम्बार यसलाई म कथा भन्दैछु । कथाजस्तो लागे पनि यो मेरो जीवनको एउटा नछुट्टिने सम्झना मात्र हो भन्न मन पराउँछु ।

सुजाता विवाहपछि लामो समयको लागि मलेसिया गइन् ।

त्यसपछिको कथा म जान्दिनँ । अज्ञानताको कारणले मैले रुचि पनि राखिनँ । थाहा पाए अनुसार उनको विनयसित बिना कुनै विवाद पारपाचुके भइसकेको छ । ईमेल पाएको तेस्रो दिनमा तिनी काठमाडौँमा देखा परिन्- कलेजकै दिनको उत्साह बोकेर ।
 नयाँ वर्षको एक साँझ मलाई राजधानीको एक भव्य चिनियाँ होटलमा डिनरमा बोलाइन् । म समयभन्दा पहिल्यै पुगेछु, ठाउँ पो गलत परेछ कि भनी फर्किन लाग्दा सुजाता कपाल फैलाउँदै प्रवेश गरिन् । उनलाई देखेर म आश्चर्यचकित परेँ । समयले उल्टो खेल पो खेलेछ । उनी त पहिलेभन्दा दसवर्ष सानी पो देखिइन् । सायद फैशनले हो कि ? नयाँ वर्षको शुभकामना र अन्य कुराकानी चलिरह्यो ।

सोधेँ- "विनयसित के भो ?"

भनिन्- "एउटा गलत काम,  एउटा गलत विराम, जिन्दगीको अर्थ कति घातक रुपले बदलिन्छ त्यो मैले बल्ल बुझें ।"
लामो समयपछि मैले सोधेँ- "अब यसपछि के सोच्नुभएको छ ?"

"जिन्दगी एउटा प्रयोग हो शरदजी । हेरौँ ।"

"हो र !"

मेरो प्रश्नले उनलाई आनन्दित तुल्याएछ र भनिन्- "तर पनि मेरो सूचीमा दुईवटा नाम  अझै बाँकी छन् । पहिलो नाम सुधाकरको र दोस्रो तपाईंको…"

मेरो अनुहारको भावमण्डल नबदलिँदै तिनी जोडले हाँसिन् र आफ्ना हातको कोन्याक एक घुट्कामै सखाप बनाइन् ।
कथाकार के जान्दछ भने सुधाकर जत्तिकै कोन्याक पनि सुजाताको पहिलो प्रेम हो ।



 

Comments

prakash sayami

Thank you all of you 

samba dhakal

katha ramailo langne gari bageko chha! samaj katti bikrit bhayera aairahe chha!

kumari lama

congratulation !!! parakash dai for such wonderful story. and i m glad that you have started writng such wonderful stories and songs. congratulation once again.

kunwar

ramro lagyo.............

Diwakar

मेरो प्रश्नले उनलाई आनन्दित तुल्याएछ र भनिन्- "तर पनि मेरो सूचीमा दुईवटा नाम  अझै बाँकी छन् । पहिलो नाम सुधाकरको र दोस्रो तपाईंको…"          कथाकार के जान्दछ भने सुधाकर जत्तिकै कोन्याक पनि सुजाताको पहिलो प्रेम हो                 man paryo...

Bal Dev Bhattrai

कथा , अती नै राम्रो लाग्यो । सुधाकर , बिनय , शरद र सुजाता ! मिर्जा-गालिब, प्राध्यापक , पर्टीको नेता ! गजबको प्रश्तुती लाग्यो । अनि नेपाली साहित्य र मेरो नजिकको कथा भन्नु ! “जिन्दगी एउटा प्रयोग हो, शरदजी । हेरौँ ।-सुजाता । पीडा उडाउने, भुल्ल्ने वा पिउने कुरा ! कथामा पनि नयाँ प्रयोग छ । मन पराएँ । यत्ति भनुँ -जिन्दगी कोन्याक !

Kanti Shrestha

yauta galat kaam,yauta galat biram,zindagiko artha kati gatak ruple badlinchaa....
i enjoyed it dai..

Pradeep Adhikari


कथाजस्तो लागे पनि यो मेरो जीवनको एउटा नछुट्टिने सम्झना मात्र हो भन्न मन पराउँछु
yesle sayad katha ra jindagi bich ko doorie lai nikai had samma kam garnechha mero biswas chha

Bidhya Sapkota

Nice.....readable story !! 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |