हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दशैंको सान्दर्भिकता

सङ्गीत आयाम, (चितवन, भरतपुर)

 

चाडपर्वहरु त्यसै पनि रमाइलो र आनन्ददायक हुन्छन् अझ दशैं आउँदा देखिने खुसियालीको क्षण वणर्नातीत छ । चाडपर्व आवश्यक छ कि अनावश्यक भन्ने प्रश्न आफ्नो ठाउँमा होला तर त्यससँग गाँसिएका रङ्गहरु र सुगन्धहरुको आफ्नै प्रकारको मीठास छ भन्ने कुरालाई सहजरुपमा अनुभूत गर्न नसकिने होइन । दशैंको आगमन भएको छ । दशैंले खुशी र हर्षको गीतमात्र गाउँदैन शोकको गीत पनि गाउँछ भन्ने आमधारणा पनि छ । सत्तापक्ष जहाँ छ त्यहाँ प्रतिपक्ष हुन्छ नै । कि्रया भएपछि प्रतिकि्रया हुन्छ यो स्वाभाविक प्रकि्रया हो ।
शरद ऋतुमा प्राप्त हुने आनन्दलाई कयौं कविहरुले लेखेका पनि छन् र त्यसलाई गीतको रुपमा गुनगुनाएका पनि छन् । त्यस्तै यस्ता पनि कविहरु छन् जसले दशैंलाई दशाको रुपमा चित्रण गर्दा मूलभूत आनन्द पाएका छन् । कविहरुमात्र किन सबैलाई दशैंले सकारात्मक अथवा नकारात्मक दुवै तरिकाले छुन्छ र छोएको छ ।
दशैं वास्तवमा भन्ने हो भने त्यति नराम्रो चाड होइन । एक त ऋतु परिवर्तनको लागि यो सँधै सन्देशबाहक भएर देखापर्छ भने अर्को मौसमको सुन्दरताले शरद ऋतुलाई हालेको मुलायम घुम्टोले जीवनमा विविध रङ्ग भर्दछ । कठोर वास्तविकताभन्दा बढी सपनाहरुसँग यसले साक्षात्कार मात्र गराउँदैन अझ जिन्दगीभरि बोझ भएर दुख्दै गर्ने घाउहरुमा पनि यसले केही दिन भए पनि मलम लगाउँछ । हुन त कि्रया भएपछि स्वत प्रतिकि्रया हुन्छ । दशैंलाई यदि सत्तापक्ष मान्ने हो भने प्रतिपक्ष आफ्नो ठाउँमा यथावत नै छ ।
एकातिर दशैंको धेरै लामो विदालाई कसरी मनाउने भन्ने सन्दर्भ छ भने अर्कोतिर दशैंमा देख्नपाउने सपनाहरुसँग कसरी साक्षात्कार गर्ने भन्ने वास्तविकता पनि छ । यसपल्टको दशैंमा पहिलाको भन्दा केही नयाँ होस् भनेर सोच्ने समूह पनि प्रशस्त नै छन् नभएका होइनन् । पुग्नेहरुलाई चाहेको कुरा पुर् याउने प्रतिबद्धता पनि व्यक्त गर्छ दशैंले । नपुग्नेहरुलाई खोजेको कुरा पुर् याउने आश्वासन पनि दिन्छ दशैं । दशैंले सबैलाई छुन्छ । दशैं सबैको मस्तिष्कभरि हुन्छ । दशैंलाई वास्ता नगर्नेहरु पनि सुटुक्क दशैंको अँगालोमा डुब्छन् । दशैंमा डरलाग्दो रमाइलो गर्नेहरु पनि एकान्तमा हुन्छन् ।
के सबैका लागि सोचेजस्तो रमाइलोमात्र हुन्छ त दशैं सक्नेले त दशैं धुमधामसँग मनाउलान् तर नसक्नेले के गर्ने भन्ने प्रश्न भने शताब्दियौंदेखि यथावत नै छ । मनाउनेले मनाए भन्दैमा तिनको पछि लाग्न सकिदैन भन्ने विद्रोही जमात पनि नभएको त कहाँ हो र अरुको लहैलहमा लागेर दशैं यसरी मनाउनु पर्छ भन्ने समूह त आफ्नो ठाउँमा छँदैछ अझ अरुले के भन्लान् भनी बाध्यताले मनाउन खोज्नेहरु पनि कति छन् कति हो वास्तवमा ऋणमाथि ऋण खोजेर बालबच्चाको मुहारमा एकसर्को हाँसो छर्न कम गार् हो छैन । दशैं आउँछ दशैं सकिएपछि त्यसले रुवाउँछ । यस्तो यथार्थ भोग्नेलाईमात्र थाहा हुन्छ नभोग्नेलाई होइन । एउटा कुरा भने निश्चितरुपमा भन्न सकिन्छ दशैं सबैलाई आउँछ दशैंले सबैलाई नछोड्ने गरी समाउँछ ।
विशेष गरी पिङ खेल्नु मासु खानु तास खेल्नु भ्रमण गर्नु आदि विशेषता बोकेको दशैंलाई प्रायले रमाइलो चाडपर्वको रुपमा हेर्छन् । ठूलाबडाको हातबाट टीका थापेर आशीर्वाद लिने बहाना पनि जुटाउँछ दशैंले । पहिलाको तुलनामा आशीर्वादको सन्दर्भ भने क्रमश ओझेल पर्दै गएको कुरालाई पनि नकार्न सकिदैन । दशैंको साँस्कृतिक महत्व आफ्नै ठाउँमा छ । दशैंलाई नयाँ तरिकाले परिभाषित गर्नेहरु पनि नभएका होइनन् ।
दशैंलाई विजयको प्रतीक मानेर जति नै पूजा गरे पनि वर्तमान शत्रुहरुलाई परास्त गर्न भने त्यसको कुनै हात हँुदैन । भारतले हरेक क्षेत्रमा अतिक्रमण गरेको छ जसमध्ये धार्मिक क्षेत्र पनि त्यसको अपवाद छैन । हिन्दुहरुका प्रायः देवी देवता भारतीय हुन् । भारतमा जन्मेका र भारतले उत्पादन गरेका ती देवी देवताहरुलाई हामी नेपालीहरुले यति भक्तिभाव प्रदर्शन गर्दछौं कि भारतीयले पनि त्यति गर्दैन । दशैं पनि रामले रावणमाथि विजय प्राप्त गरेको दिन भनेर मनाइन्छ । यस अर्थमा हेर्दा दशैं विवादित छ दशैं हाम्रो मौलिक चाड होइन भन्ने देखिन्छ ।
समयले धेरै परिवर्तनहरु देखिसकेको छ र कति परिवर्तनहरु अझै पनि देख्न बाँकी नै छन् । हिजो यो देशका पूर्वराजाहरुलाई विभिन्न भगवानका अवतारहरु मानिन्थे । कोही विष्णुका अवतार थिए भने कोही रामका । कोही इन्द्रका अवतार थिए भने कोही कृष्णका । यसकुराले यहाँ अर्थपूर्ण उपस्थिति जनाउँछ कि सबै भारतीय देवताका अवतारहरु नेपाली राजाहरु थिए । आज उनीहरु भगवानका अवतार हुन छोडेर नायक हँुदै खलनायकको यात्रामा यात्रारत छन् । दशैं आउँदा नेपाली राजाहरुको फुर्ती नै बेग्लै हुन्थ्यो । दशैंमा राजाको हातको टीका लगाउन पाउँदा जीवनभरि अत्यन्तै गर्वित हुने नेताहरु आज सत्तासीनमात्र छैनन् प्रतिपक्षमा पनि त्यत्तिकै छन् । हिजो राजासहितको दशैं र आज राजविहीन दशैंको कल्पना गरौं त त्यसमा आकाश जमिनको अन्तर आइसकेको छ । तर दशैं फेरि तिनै कुपात्रहरुलाई राजा बनाउने दौडमा पनि सङ्लग्न देखिन्छ ।
नेपाल धर्म निरपेक्ष देश हो अर्थात कुनै मूल धर्म यस देशको धर्म होइन भन्ने कुरा अन्तरिम संविधानमा प्रष्ट लेखिएको छ । कागजमा जे जस्तो लेखिए पनि अधिकांश नेपाली जनता हिन्दु धर्मप्रति आस्था राख्छन् भन्ने कुरालाई जो कोहीले नकार्न सक्दैन । केही प्रतिशतभन्दा धेरै प्रतिशत जहिले पनि ठूलो हुन्छ र त्यसले गर्ने प्रतिनिधित्वको अर्थ पनि फराकिलो र विशाल हुन्छ । दशैं जे-जस्तो भए पनि अधिकांश नेपालीलाई प्रतिनिधित्व गर्ने एउटा शसक्त माध्यम हो ।
विवादमा के कुरा छैन विवादै नभएको विषय पाउन गार् हो छ । संसारमा सबै कुरा पूर्णताले युक्त छैन । कमी कमजोरी नै नभएको कुनै सन्दर्भ हुँदैन । विवादहरुलाई कम गर्दै लैजान सकिन्छ जसले पूर्णतातिरको यात्रालाई तय गरोस् । दशैंलाई पनि नेपालीपन दिएर त्यसमा रङ्ग भर्न सकिन्छ र आपुनै मौलिक चाड बनाउन सकिन्छ ।
हिन्दूहरुको सबैभन्दा ठूलो चाड दशैं हो भन्दैमा अरुलाई देखाउने गरेर र प्रभावित तुल्याउने तहमा खर्च गर्नु राम्रो होइन । सक्नेले सँधै दशैंको आडमा पनि शासन गर्छ भनिन्छ तर नसक्नेले दशैलाई हतियार बनाएर आपुू अचानो हुने प्रकि्रया मानवताको विरुद्धमा पनि छ । चाडपर्वभन्दा ठूलो त आपुूलाई बचाउने सन्दर्भ हो । चाडपर्वको मात्र खोजी गर्नुभन्दा आफ्नो मौलिक अस्तित्वको लडाई ठूलो हो । मान्छे जबसम्म सम्मानित नागरिक हुन सक्दैन तवसम्म जति नै चाडपर्व मनाए पनि त्यसको कुनै अर्थ छैन ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |