हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

त्यो एउटा चाही किन “वी”?

भारती गौतम, (बोस्टन)



झन्डै दुई दशक अगाडी ड्यालसको त्यो तातो घामले मे महीनालाई पनि तताउन सफल भएको थियो। मध्य गर्मी आउन वाकी नै भए पनि टेक्सस को ड्यालस को गर्मी भर्मान्टमा जाडो जस्तै त्यति टाढा नगई यसै वरी परी नै रहने गर्छ। रिचर्ड्सन भन्ने ठाउमा दुईतले काठको एपार्टमेन्टवाट करीव १५ मिनेटको दुरीमा रहेको डोभर ईलिमेन्ट्री स्कूलवाट चार वटा ए’ र एउटा वी
भएको तेस्रो ग्रेडको रिपोर्टकार्ड लिएर कत्तिन स्यावासी पाउछु भनेर घरमा आएको छोराको ग्रेड हेरेपछि हामी वावु आमाले त्यो वाकी बी पनि किन ए भएन भनेर छोरो प्रति असंतुष्टी जनाए पछि सात वर्षको अवोध दिमागले दिएको जवाफ यस्तो थियो-

मेरा चारवटा ए पनि छन् नि, किन तपाईहरु एउटा वि को पछि लाग्नु भएको?

त्यो वि पनि ए हुनु पर्थ्यो हामीले भन्यौं।

ती पहिला चारवटा पनि बि हुन पनि सक्ने थियो, भनेर किन भन्न सक्नु भएन,? निलो भूईमा सेतो पाटा भएको सर्ट र फिका खैरो हाफपेन्ट(यहा सोर्ट्स भन्दा रहेछन) र काला सस्तो ब्रान्डका जुत्ता लगाएर भर्खरै वसबाट असिन पसिन भएर भित्र पसेको छोरो सुंक सुकाउदै कोठा भित्र छिरेको थियो।  ढोका ढ्याम्म लागेको आवाजले टेवुलको गिलासमा रहेको पानी समेत छचल्कियो। उसको प्रतिक्रिया देख्ता उसको मन दुखेको मात्रै पुष्टी भएको थियो, तर त्यो मन दुखाईको कारणले नै भविष्यमा राम्रो गर्ने हाम्रो धारणा चाहि कमसेकम यसबेला  शंकास्पद नै रहेको थियो।

आफूले बिगार्छ अनि लाज पचाउन रुन्छ नि मैले अथवा मेरा श्रीमानले यसो भन्यौं,छोराले सुनेन।

 सात वर्षको छोराले मन दुखाएको बुझ्नु त परै जावोस् त्यो सोच्ने पनि कष्ट गरिएन आफूले। त्यो केटाकेटीले भनेको कुरालाई लिएर एक मिनेट पनि समय किन खेर फालिन्थ्यो र?

आफ्नो व्यबहार वारे केहि सोच्नु त हैन त्यसको आवश्यकता समेत लागेन, सात वर्षको छोराको कुरा भन्दा आफूले जीवन  भरी देखेको सुनेको र पत्याएको कुरा कहां गलत हुन सक्थ्यो र? कुनै विषयमा दोश्रो नम्बर आउदा  जहिले पनि पहिलो चाहि को भयो र कसरी त्यो पहिलो भयो भन्ने प्रश्नको सामना गरेर हुर्किएको मनस्थितिलाई त्यहि बाटो बाहेक अरु वाटो हिड्न सजिलो पनि त थिएन। आफ्ना छोराछोरीले गरेको कहिल्यै पर्याप्त नहुने , छर छिमेक र साथीभाईका छोराछोरी बारेको सकारात्मक धारणा प्रयोग गरेर छोराछोरीको तेजोबध गर्न खोज्ने तुलनात्मक हतियारले सधै छोराछोरीको मन दुखाएर उनीहरुलाई सपार्न खोज्ने मनस्थितिमा बोली फुटेको संस्कारले मेरो गोरुको बाह्रै टक्का कहिल्यै गलत नहुने आमा बाबु आफू किन गलत ठान्न सक्थ्यो र?

तिमीहरुको छोरो त साह्रै मिलनसार, चलाख, आकर्षक र नम्र स्वभावको छ

त्यहि एउटा  ‘वी’ ल्याउने छोराको पहिलो प्यारेन्ट टिचर्स कन्फरनेन्समा जादा उसकी शिक्षिका मिसेस थोम्सम ले भन्दा मेरो छोरो त साच्चै नै दिव्य रहेछ भनेर मख्ख परेका थियौं हामी बाबु आमा। त्यसको झन्डै डेढ दशक पछि र तीन छोराछोरी पछि भएका त्यस्ता अनगिन्ती भेटहरुमा हरेक पटकको प्यारेन्ट टिचर मिटिङ मा सधैं नै सवै छोराछोरी बारे त्यस्तै बढाईका शव्द सुने पछि हामीले यहाको सकारात्मक अभ्यासको परिपाटी चिन्न थालेका थियौं। त्यस्तै गम्भीर समस्या नपरेसम्म नकारात्मक प्रतिक्रिया नजनाउने यदी त्यस्तै गम्भिर समस्या परे पनि सुटुक्क बाबु आमालाई बोलाएर कुरा गर्ने यहाको चलन अनुसार सम्बन्धित केटाकेटीलाई त्यो थाहा पनि हुदो रहेनछ। जान्ने संग नजान्नेको तुलनामा हुर्किएका हाम्रो आंखा खोल्न मद्दत पुर्याउने अर्को चलनमा कक्षामा को उच्च को निम्न आदि दर्जा दिने प्रथम, द्वितीय आदी सवै दर्जाहरु कसैलाई थाहा हुदैन। कक्षाको सवै भन्दा तेज र सवै भन्दा बुद्दु मिल्ने साथी लाई त्यसप्रकारको दर्जा थाहा हुदैन। कलिलो दिमागमा यसप्रकारको प्रतिस्पर्धाको विजारोपण सम्म गरिएको हुदैन।

समय वित्दै गयो, मेरा तीनजना छोरा छोरीहरुले क्रमश: ईलिमेन्ट्री, मिडिल, र हाईस्कूल गर्दै कलेज समेत पुरा गर्न लाग्दा र गरी सक्ता पनि घर आएको उनीहरुको रिपोर्टकार्ड मा भएका उत्कृष्ट ग्रेड भन्दा पनि निम्न ग्रेड खोज्न र त्यसवारेको टिप्पणी गर्न लोभिएका मेरा प्रतिक्रियालाई सम्हाल्न त्यति सजिलो भएको छैन। दुई दशक र तीनवटा छोराछोरी पनि मेरो नकारात्मक मनस्थिति परिवर्तन गर्न सक्षम नभएको अनुभव हुदा वादरको पुच्छर को उखान संझिन कर लाग्छ। चार वटा ए विर्सिएर एउटा वी को पछि लाग्ने त एउटा सानु संकेतात्मक उदाहरण रहेछ। यसले त मेरो व्यक्तित्वको प्रतिनिधित्व गरेको छ, मेरो व्यक्तित्व मेरो संस्कारले बनेको छ, मेरो संस्कार मेरो सामाजिक मान्यताले बनेको छ।  ती मान्यता त्यसका  निर्धारक र त्यसका अनुयायी को समुहले बनेको छ। कमलकोटीले अरु कीराका बच्चालाई पनि गुडमा राखेर बाहिर बाट भुनभुनाउदा भुनभुनाउदा कमलकोटिनै वनाउछ भने जस्तै एक प्रकारको संस्कार र मान्यता सिंचिएको हाम्रो व्यक्तित्व लाई पखालिन घन्टा, दिन, रात, महिना वर्ष र युग का झरी पर्याप्त नभएर एउटा अर्कै पुस्ताको वाढी चाहिने रहेछ भन्ने तथ्य ऊघ्रिएको आकाश जस्तै छर्लङलिन थालेको छ।

मान्छे उसका बिचारहरुको उपज हो, उ जे सोच्छ उ त्यहि बन्छ भनेर महात्मा गान्धिले भनेका थिए रे।

 त्यस्तै प्रसिद्द दार्शनिक एरिस्टोटलले बारम्बार हामी जे गरिरहन्छौं हामी त्यहि हुन्छौं, विशिष्टता हाम्रो कार्य हैन, बानी हुनु पर्छ भनेका थिए रे,

 यो सवै ले पनि यहि पुष्टी गर्छ कि  नजानिदो रुपले संस्कार हाम्रो आदत अनि त्यहि आदत हाम्रो परिचय हुदो रहेछ।

दोकानमा यसै भेट हुदा कहिल्यै नचिनेकी लोराले तिमीले लगाएको सर्टको रंग कस्तो राम्रो लाग्यो भन्ने बित्तिकै उज्यालिएको अनुहार मात्र हैन तर हरेक पटक सोही सर्ट लगाउदा लाग्ने संतुष्टी पनि यसको सवुत हो। तिमीले बनाएको अचार कस्तो मीठो सुन्ने बित्तिकै त्यस्तो अचार बनाउने जांगर तीनगुना बढेर आउछ। अर्काले आफूप्रति गरेको सकारात्मक प्रतिक्रिया को मीठो र आफूलाई आनन्द दिने भएको  अनुभव गर्दा गर्दै पनि नकारात्मक प्रतिक्रिया लाई अपुताली परेको सम्पति, र सकारात्मक प्रतिक्रियालाई घरवार बन्दकी राखेर मात्र पाउन सकिने एउटा बहुमुल्य बस्तु ठान्न पुग्ने हाम्रो प्रवृत्ति शायद हाम्रो पुर्ख्यौली अंश होला। सयवटा नकारात्मक प्रतिक्रिया बरावर एउटा पनि सकारात्मक प्रतिक्रिया व्यक्त गर्न हाम्रो हात काटेर दिनु जस्तै गाह्रो भएको यसैले गर्दा होला।

नेपाली बोल्न त आउदो रहेछ,तर हाम्रो भन्दा अलिक अपठ्यारो हुदो रहेछ, अनि गोरेले बोलेको जस्तो सुनिदो रहेछ,

दश महिनाकी बालिका हुदा देखि २२ वर्षको उमेर सम्म अमेरिका बसेर र नेपाली मान्छे भनेको आफ्ना बाबु आमा मात्र देखेर हुर्किएकि मेरी छोरी पहिलो पटक नेपाल गएर अभ्यास गर्दा गर्दा कनिकुथी वोलेको नेपाली सुनेर उसको नेपाली वारेका सयौं टिप्पणीमा कहिल्यै त्यतिको अमेरिका बसेर पनि नेपाली बोल्न सिकेको रहेछ को एउटा वाक्य सुन्न पाउनु एकादेशको कथा थियो।

ढकमक्क हरियै ढाकिएका रुखहरुले लुगा फेर्ने तयारी गर्न लागेको बेला, गर्मीका पसीना सुक्तैगई जाडो अघिको शितल हावा फर्किन लागेको बेला झन्डै तीन महिना बन्द भए पछि विद्यालयहरु खुरु खुरु खुल्दै छन् , राती अबेर सम्म ब्युझै बसेर बिहान तीनजुवा घाम आउन्जेल सुत्न बानी परेका केटाकेटीहरुले सवेरै उठेर नया ब्याकप्याक, नया लुगा जुत्ता लगाएर सात घन्टा जति समय बिताउने विद्यालय मा हाम्रा छोराछोरीले दिनभरी सुनेका सकारात्मक टिप्पणी मध्येका एक दुई मात्र घरमा बिहान बेलुका प्रयोग गर्न सके उनीहरुको भन्दा पनि हाम्रो आफ्नै जीवन को स्तर वढ्ने थियो होला।  हाम्रा साना साना छोराछोरी ले पहिलो खुट्टा राख्ने प्राथमिक विद्यालयबाट वरावरको पनि सकारात्मक सोचाई उनीहरुको भन्दा  चारगुना उमेर खाईसकेको हाम्रो दिमागले  सोच्न सक्यो भने  हाम्रा  छोरा छोरीको रिपोर्टकार्ड मात्र नभएर जीवनले प्रदान गरेका सवै प्रकारका   उपहारको महत्व विर्सेर आफ्ना छोराछोरी संगको र सारा मानव जाति संगको अमूल्य सम्बन्ध बाट बंचित हुने थिएनौ होला।

मुलुकभरिका बिद्यालयहरुमा भर्खरै आरम्भ भएको नया सेसन संगै हामी पनि हाम्रो संस्कार भएर हामी भित्र कुदिएर रहेको नकारात्मक भावना बाट टाढिने सानो किन्डरगार्टेनरुपी ताते शुरु गरौँ

Comments

K. B. Gurung

भारती दिज्यु !
हुन्छ नि हो, तपाइँ यसरीनै सकारात्मक लेखहरु लेख्दै जानुस अनि म सकारात्मक प्रतिक्रिया लेख्दै जान्छु । राम्रो लाग्यो।

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |