बडा दशैं २०७६ को शुभ उपलक्ष्यमा खसखस डट कमका सम्पूर्ण पाहुना, पाठक, श्रोता, लेखक तथा शुभचिन्तकहरुमा मङ्गलमय हार्दिक शुभकामना !

हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

डि.भि. भर्नुभो ?

घनश्याम शर्मा, (काठमाण्डौ)

" डि.भि. भर्नु भयो ?"

" हैन तिमी कति डि.भि., डि.भि. गछ्र्यौ भन्या ! भरिहाल्छु नि तिमीलाई कति हतार लागेको अमेरिका जान अनि त्यो चिट्ठा हो चिट्ठामा तिमीलाई त्यत्रो बिश्वास छ भने शहरमा हजारौं खाले चिट्ठा खुल्छन् जाऊ रत्नपार्कमा र दैनिक जसो चिट्ठा किन अनि कहिले गाडी, कहिले बङ्गला, कुनै दुःख गर्नै पर्दैन नि । "

कार्यालय छुटेर भर्खरै घरमा आएको मलाई श्रीमतीको दैनिक जस्तो डि.भि. भर्नु भो भन्ने प्रश्नले रन्थनायो एकछिन । मैले पनि उनलाई यसरी ठिङ्गुराई दिएँ । मैले खाजा खाई वा खाईन पानी पिउँछु कि आदि प्रश्नहरु उनको प्राथमिकतामा पछाडि नै छन् । पहिलो प्रश्न नै डि.भि.  हुन्छ । मैले उनलाई कति पटक पश्चिमा देशहरुको विकृत संस्कृतिको बारेमा बताईसकं अहँ उनको एउटै सुगा रटाई छ डि.भि. …डि.भि.... ।

" अनि सुन्नस् न, हाम्रो बहिनी र ज्वाइं साहेबले त जावलाखेल गएर भरेका रे । तीनसय पचास रुपैयमा सम्पूर्ण परिवारको फोटो पनि उसैले डिजिटल क्यामेराबाट खिचिदिन्छ रे । फर्म पनि पठाई दिन्छ रे, पुगेको भर्पाई पनि दिन्छ रे, जौंन त्यतै एकदिन छुट्टि मिलाउनस् न अफिसमा । " उनको यस्तो आशयले मलाई लाग्यो उनले मलाई कुनै हालतमा पनि डि.भि. नभराई छाड्ने छैनन् । मैले भने " हेर कुनै दिन मिलाएर भरौंला तर तिमी यो दिन रात मलाई डि.भि. को  सुगा रटाई गरेर दिमाग खराब नगर । पैसा पनि त हुनुप-यो । तिमी अमेरिका गएर पो के गर्छ्यौ र कति पो काम गर्न सक्छ्यौ ?"
 
अमेरिकाको कुरा गर्नेबित्तिकै उनको मुखमण्डल चम्किन थाल्छ । जीऊमा कहिल्यै नभएको फुर्ति निस्किन्छ र भन्छिन् -" हेर्नु म अमेरिका गएपछि काम गर्छु, यति धेरै काम गर्छु कि ३।४ वर्षमा काठमाण्डौमा एउटा आलिसान बङ्गला बनाउँछु कार किन्छु । दुईचार वर्ष त हो नि दुःख गर्नु । "
 
" उसो भए तिमी यो देशबाट पलायन हुन खोज्ने मान्छे फेरि किन यो देशमा फर्केर घर बनाउने कुरा सोच्छ्यौ ?"

"होईन त्यसो त कहाँ हो र सधैभरी उतै त कसरी भासिन सकिन्छ । हेर्नु न जयन्तीहरु गएको १ वर्ष त भयो नि ! उनीहरुले त्यहाँ आफ्नै रेष्टुरेन्ट खोलेकाछन् रे । महिनाको दश हजार डलर लोग्ने स्वास्नी मिलेर कमाउँछन् रे । भाग्यको खेल देख्नु भो झण्डैले त्यो जयन्तीको दुलहाले जयन्तीलाई छोडीसकेको । छोडपत्र गर्न ठिक्क परेको मान्छेलाई जयन्तीको डि.भि. पर्ने बित्तिकै पुनः मेल मिलाप भएर दुवैजना अमेरिका अहिले त कस्तो मिलेका छन् रे । लोग्नेले रक्सीपनि धेरै खाँदैन रे मलाई अस्तिमात्रै फोन गरेको रोएर आँशुमा डुब्न मात्रै नसकेकी जयन्ती हेर्नु त आज उसको अवस्था ।"
 
कस-कसलाई चिट्ठा प-यो । आफन्तहरु सबैको लेखा जोखा छ उनीसँग । अमेरिका गएर कस-कसले के ब्यवसाय गरिरहेछ र कति कति पैसा पठाईरहेछन् उनलाई धेरै जानकारी छ । म यीं सबै कुराहरु प्रति आफ्नो अनभिज्ञता प्रकट गरिदिन्छु बेला बेला र बेपर्वाह भईदिन्छु । उनी मेरो नजिकैमा आउँछिन र मलाई पुनः स्मरण गराउँछिन् -
" तपाईलाई थाह छ मान्छेको भाग्य कसलाई थाह हुन्छ चिट्ठा पर्नु त्यो पनि अमेरिका जान पाउने चिट्ठा ! न त दलाललाई पैसा खुवाउनु पर्ने, न त धेरै पढ्नु पर्ने, कति अन्याय हुन्छ कहिले काहीं त्यत्रो ठूलो श्री सम्पत्ति र वैभवको मालिक पनि उही उच्च ओहदा भएको पनि त्यही दुई दुईवटा घर काठमाण्डौमा महिनाको पचासौं हजार घर भाडा उसैले उठाउने उसैलाई डि.भि. पर्न हुन्छ थुईए । "
 
उनको यो आरिस इर्ष्यामा मलाई झन् रिस उठ्यो मैले भने - " ए बाबा ! जोसकैलाई परोस् नपरोस् तिमीलाई के चासो । तिमी हामीलाई एक पर्दैन, दुई पर्दैन, तीन पर्दैन ल जा मैले भन्दिएँ ।"
 
" हेर हेर छि…छि …अलच्छिनी मुख जानु जानु मुख धोएर आउनु हेर ! मैले त्यत्रो बिहान बिहान पशुपतिमा दूध चढाएको त्यही डि.भि. पर्ला कि भनेर, सिरानीमा साईबाबाको फोटो राखेर रात दिन विभूती लगाएर चाटेर दलेर िहंडेको त्यही डि.भि. पर्ला भनेर, झन् आफु चािहं उल्टो पर्दै पर्दैन भनेर भन्दिने हे राम ! "
 
उनको अनुहारमा अनौठो रोष प्रकट हुँदैथियो मप्रति । उनी साईभक्त भएको त मैले थाह पाएको थिएँ तर हरेक दिन पशुपतिनाथलाई दूध स्नान गराई आफ्नो मनोकाङ्क्षा पुरा गरिदिन दबाब दिईरहेको मलाई थाह थिएन । त्यो कुरा आज उनले अनायासै फुत्काईन् मलाई । मैले सोधें - " अनि तिमीले कहिलेबाट आराध्यदेव पशुपतिनाथलाई यो दूध सेवन गराउने पवित्र कार्यको थालनी ग-यौ ?"

" जुन दिनबाट डिभि खुल्यो त्यही दिनबाट र यो मेरो क्रम चिट्ठा नखोलिन्जेलसम्म जारीहुनेछ  । साथै मैले हरेक मंगलबार गणेशजीलाई लड्डु चढाएकी छु देवीलाई भाकल गरेकी छु । दक्षिणकालीलाई बोका भाकेकी छु, मनकामनालाई कालो बोका, बङ्गलामुखी, भद्रकाली, कात्यायानी, मैतिदेवि, नक्साल भगवती, चण्डोलदेवी आदि सबैलाई भाकल गरेकी छु । कसो न कसो कुनै न कुनै देवी देउताको नजर हामीमाथी पर्ला अनि भएन । "

म तीन छक्क परें । उनले यो सब कतिखेर गरिन् मलाई पत्याउनै गाह्रो भैरहेको थियो । भएभरका सारा सब देवी देऊतालाई पुकारेर ठूलो ऋणी भईरहेकी थिईन् । चिट्ठा प-यो भने त ठिकै छ । सबै देवी देऊतालाई रिनै काढेर पनि मानौंला अन्यथा बाबाको दुहाई हुने भो । मेरो मन यसै यसै छट्पटिन थाल्यो । अनि उनको हरेक पटकको कचकचको रहश्य पनि त यही रहेछ । म बिहान सबेरै खाना खाई अफिस उनी भने भोकभोकै सबै मन्दिर देवी देऊताको दर्शन पश्चात एक दुई बजे मात्रै भोजन गर्दिरहिछिन् । पेट दुःख्यो भनेर दुई पटक डाक्टरलाई देखाईसक्यो डाक्टर भन्छन् " केही छैन ग्याष्टिक मात्रै हो, पेट खाली नराख्नुस्, समय समयमा खाईराख्नुस् ।" यता श्रीमतीको चाला यस्तो छ ।

जे छ ठिकै छ यसैमा रमाउँन सिकौं भन्दै मैले उनको मोह भङ्ग गर्ने प्रयास गरें यसरी -"जीवन दाई भर्खरै अमेरिकाबाट आएको तिमीलाई थाह छ ? उनलाई त्यहाँ कस्तो सकस परेछ, सास फेर्न पनि गाह्रो भए भन्थे, अर्काको देश थुक्क थुक्न पनि नपाईंने । मजाले जताततै बाहिर हिउँ परेको छ चुरोट पिउँन मन लागेको छ, घरभित्र नै चुरोट पिउँन नपाईने रे, थाह नपाएर एकपटक शुरुमै चुरोट सल्काएको त साईरन पो बज्न थालेछ क्वायँ क्वायँ घरभरीका मानिसहरु भेला भएछन् कुन चािहंले दमकलै मगाएछ, आगलागी भयो भन्दै दुई मिनेट भित्रै पुलिस दमकल हाजिर परेन फसाद ! पुलिसले लगेर ठिङ्गु-याएछ पचास डलर जरिवानामा । उनको सातो गएछ । थाह भएन भन्न नपाईने । त्यसपछि चुरोट पिउनु परे झ्यालबाट टाउको बाहिर निकालेर पिउनु पर्ने रे । भन्छन् त्यस्तो देशमा पनि किन बस्नु ।"

" ठिक्क भएछ । किन चुरोट पिउनु प-याथ्यो नि ?" उनको प्रतिकृया थियो । यो अस्त्र त पुनः मैतिर पो फर्कियो बा ! रिपिट भयो आफैलाई । मैले पुनः भनें -
" हरेरामहरु गएको थाह छ नि तिमीलाई । हरेरामको चार वर्षे छोरोलाई किन्डर गार्टेनले शुरुमा के सिकाएछ भने 'तिमीलाई तिम्रो बाबुआमाले हप्कायो गाली  ग-यो भने टेलिफोनको कुन्नि कति नंबर थिच्नु' भनेछ । बच्चो न ठहरियो बिचरा ! घर फर्किने बित्तिकै त्यही नंबर थिचेछ । एकैछिनमा साईरन बजाउँदै पुलिस हाजिर, ए बाबा ठाकुरे, हामीले केही पनि गरेको छैन बच्चाले किन त्यो नम्बर थिच्यो हामीलाई थाह पनि छैन । अहँ उनीहरु पत्याउनेवालै छैन ल िहंड् भ्यानमा पुलिसकोमा कागज गर ! सय डलर जरिवाना तिर अनि फर्कि ।" यस्तो पनि हुन्छ कहीं तिमी भन्छ्यौ अमेरिका, अमेरिका । "

" तपाईले जे भने पनि म पत्याउनेवालै छैन । बरु भन्नुस् ड.।भि. कहिले भर्ने हो म जिस्केकी होईन साँच्चै भनेको । बरु मंगलबार पार्ने हो कि पूर्णेको परेवा अथवा औंशीको चतुर्दशी नपारेर जुन दिन भरेपनि हुन्छ । शनिबार चािहं नभरौं है ।"

उनको यो दृढ अठोट देखेर म छक्क परि नै रहे । भोलिपल्ट मैले हाकिमलाई दिउँशो अलि चाँडै विदा मागें " सर आज अलि चाँडो जान पाए हुन्थ्यो डि.भि. भर्नु थियो ।"  वहाँको अनुहार पनि एकाएक प्रफुल्ल भयो र भन्नु भो -" जानुस् जानुस् भर्नुस् के थाह परि पो हाल्छ कि ।" सरासर घरमा आएर लालाबाला बोकेर गएँ । मेरो श्रीमतीको अनुहारको त्यो कान्ति मैले कहिल्यै देखेको थिईंन । छोराछोरीहरु बाहिर हिड्न पाउँदा यसै रमाउँथे जहिल्यै पनि । हामी सबैको अनुहार कम्प्युटरभित्र कैद भैसकेको थियो । एकै छिनमा कम्प्युटरले भर्पाई दियो- " सक्सेस"

उनको अनुहारमा ज्योतिर्मय आभा जाज्वल्यमान भयो पुनः एकपटक ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |