गजल
प्रभाकर पण्डित, (बालकुमारी रोड, नारायणघाट, चित्तवन)
आफ्नै आँखाबाट सधैँ झर्छ किन मान्छे
आफैँ पासो लगाएर मर्छ किन मान्छे
करेसाको फल छाडी हिँड्छ तारा टिप्न
देशै छाडी सात समुन्द्र तर्छ किन मान्छे
मौका छोपी च्याँखे थाप्न यताउता हेरी
दाउ हान्ने जुवाडे झैँ सर्छ किन मान्छे
कर्म बिर्सी भाग्य खोज्दै मठ मन्दिर रोजी
विना अर्थ मूर्ति पूजा गर्छ किन मान्छे
आफूलाई धर्ती पुत्र भन्ने नारा दिँदै
त्यै धरतिको अस्मितामा चर्छ किन मान्छे