हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

योद्धाको अधुरा सपनाहरु

सन्तोष थपलिया, (न्युयोर्क)



"विचार त समुद्र हो, यसमा कति खहरे मिसिन्छन, कति छिटाहरु उछिट्टिन्छ्न्, कति फोहरमैला थेग्रिन्छन अनि कतिलाई छालले पाखा लगाई दिन्छ ! कुनै पनि दासतालाई  स्वीकार नगरी सफा पानी जस्तै पारदर्शी विचार र चिन्तन जनताबाट कहिले पनि टाढा हुँदैन तर वेग भने परिस्थिती अनुसार घटीबढ हुन सक्छ ! सामुहिक लक्ष्य प्राप्तिका लागि छाती जोगाएर भाग्नुभन्दा एक्लै भएपनि सत्य र सदबिचार बोलीरहनु सहीद बाँच्नु जस्तै बाँच्नु हो !"

अशोक आफ्नो अतित सम्झेर आज एक्लै बर्बराई  रहेको छ, आफ्नी आमाले आफ्नै हातले छाएको खरछाने झुप्रामा ! सम्पतिको नाममा दुइवटा बाख् ाहरु र खरानीले खाइसकेका हाडाभाडा र हराएकी एक्ली छोरी बाहेक केहि पनि छैन उ संग ! आज उसको आफ्नै आँगनमा आफ्ना रहरका फूलहरु फुल्दैनन ! आफ्नो जवE0नी छउन्जेल गाउँ गाउँ पुगेर, घर घर छिरेर स्वतन्त्रता र नागरिक अधिकारका जनउभार उराल्न पोखिएका शीतका थोपा झैँ रात-बिरात पहा , जंगल र खोलाका किनारै किनार असहाय पीडा खप्दै र त्रस्त्र मन लिएर आफ्नो मातृभूमिका शीरदेखि पाउ सम्म छिचोली सकेको अशोक आज न आफ्नै देशको हुन स क्यो न आफ्नै घरको !

आफ्नी प्रियाले उसलाई बुढीआमा, अर्धांगिनी र पेटमा हुर्कदै गएको मुनालाइ सामुहिक एक्लो छाडेर भूमिगत नहुन गरेको अनुनय विनय सम्झेर आफ्नो भक्कानो सम्हाल्न खोज्दै अनि फेरी फुटेको बाँधबाट उम्किएको पानी जस्तै भुइमा खस्न आतुर आँशुहरु पुछ्न भ्याई नभ्याई छ आज ! आफ्नो अतित जति बढी सम्झ्यो त्यतिनै विह्वल र विछिप्त हुदैछ अशोक !

के गरेन उसले आफुलाई मनपर्ने संगठनभित्र रहेर ! घरवार, बुढी आमा, नव दुलही र उनिभित्र हुर्कदै गरेको नव पालुवा त्यागेर देश र जनताको मुक्तिका लागि मृत्युका सम्भावनाहरु  टड्कारो देखिदा देखिदै पनि उज्ज्वल भविष्यको आशा बोकेर कल्पनाको "सुनौलो दिन" का लागि लड्यो ! वेलावेलामा आफ्नो घरको समाचार ल्याएर कसैले उसको कानमा प्वाक्क हानिदिन्थ्यो ! "अशोक तिम्री आमा बिरामी रहिछन, भैसी मरेछ, घरको पाली खसेर तिम्री नीलिमाको खुट्टा भाचिएको रहेछ, तिम्री छोरी आठ बर्षकी भैछन तर स्कूल जान थालेकी छैनन् आदी इत्यादी !"

अशोकको पहाड जस्तो विशाल छाति कति पल्ट हिउँ बनेर पग्लिन्थ्यो ! सहि बिचारहरु पुग्न नपाएर निरस सुतेका गाउँ बस्तीहरु जगाउंदै हिड्ने अशोककी आफ्नै छोरी भने स्कूल हेरेर बाबा पर्खिन बाध्य थिईन ! आमूल परिवर्तनका लागि खाएका कसमहरुल भने उता अशोकका दिनहरु, महिनाहरु हुँदै बर्षहरु निल्दै गए !

उसका अधुरा सपनाहरु ओछ्यान भिजाउने गरेर तप्किन्दैछन आज ! उसको मित्रताको न्यानो अंगालोमा नीलिमा कसिंदा मुलुकमा पासविक बर्बर आतंक मच्चिरहेको थियो ! रैतीहरु नागरिक बन्न आफुलाई बिर्सिएर पोखिएका थिए सडकमा ! न्याय खोज्नेहरु अराजक र अराष्ट्रिय तत्व बनाइएर खोजी खोजी मारिदै थिए एकातिर भने अर्कोतिर मुक्तिको तृष्णा बोकेर उर्लिने भिड आंधीभन्दा बेगवान हुँदै थियो ! अशोकका बालापनदेखिका दौतरीहरु आधा त सहीद भैसकेका थिए, आखिर उसको रगत पनि धमिलो पानीको थिएन ! नीलिमाको पेटमा हुर्कदै गरेको शीशुको कसम खाएर, डांडापारिकी जुन हुनै लागेकी आमालाई छोरो हुनुको पाठ पढाएर आशिर्बाद लिएको थियो उसले बिदा हुनु अगाडि ! नीलिमालाइ मीठो चुम्वन दिंदै भनेको थियो "तिम्रो साथ रहुन्जेल म कदापि हार्दिन!"

वर्तवानमा उभिएर आफुलाई अतितमा डुवाएको छ अशोकले आज ! आफु भित्रका उद्वेगहरु उसलाई स्वास फेर्न नदिई प्रश्नका झटाराहरु फ्याक्दै छन् ! अशोक अलमल्ल रुन्छ, अशोक सम्हालिन्छ, अनि अशोक बोल्छ ! " म कहाँबाट शुरु गरौँ मेरी दुखी तर साहसी, सहृदही र ममतामयी आमाको स्नेह र अमरगाथा !" जुन आमाको अपार ममताबाट हुर्कियो उनकै शरीरमा दागबत्ति दिन र सदगत गर्नसम्म पाएन उसले ! अहिले त्यो तीतो विगत सम्झेर उ सम्हालिन पनि सक्दैन, जुन उसको जीवनको सही यथार्थ हो ! जीवनभर मुटुभन्दा प्यारो गरेर, आँखाको नानीमा राखेर उसलाई हुर्काउने प्यारी आमाको प्राणपखेरु उड्दा उ अरु धेरै आमाहरुको पहरा दिदै थियो ! उसकी आमाले अन्तिम स्वास फेर्दा उ शत्रुहरुबाट जोगिएर लामो स्वास फेर्दै थियो आफ्नी आमाको मायाको खातिर ! मुक्त आकाशको खोजीमा थियो नीलिमा र मुनाको सपनाको खातिर ! यधपी देश सिंगो बाँचेको थियो उसको छातीमा !

वियोगको त्यो अव्यक्त पीडा आज उ कसैगरी शब्दमा उतार्न सक्दैन ! " एउटी आमाको मुक्तिका लागि अर्की आमाको अवशान" यो भन्दा ठूलो पीडा के हुन सक्छ एउटा घरपरिवार र देशको सिपाहीका लागि? उसको घर-संसार चलाउने मूल व्यक्ति आमा नै थिइन ! उसको आफ्नो संसार पटक पटक तहसनहस हुँदापनि उसकी आमाले खरानी बटुलेर दृढ साहसका साथ  नयाँ संसार सृजना गरेकी थिइन ! चुचोमा चारो टिपेर गुंडमा बचेराको पेट भर्ने पन्छी थिइन उसकी आमा ! पसिनाको सुन्दर महल बनाएर आफ्ना लालावालाहरुलाई कर्मठ बनाउने उसकी आमालाई उ लाख लाख अभिवादन गर्दै धित नमरुन्जेल रुँदै छ अशोक आज !

उता आफ्नो पति भूमिगत भएपछि नीलिमालाइ नसोचेकै आपत पर्यो ! ढोंगी समाजले चोर औला तेर्स्याउदै उनको पेटमा हुर्कदै गरेको शिशुको आधिकारिकतालाइ लिएर तिललाइ पहाड बनाउदै गयो ! पति बोलाएर पापी समाजको मुख थुन्नलाइ उनीसंग अशोकको ठेगाना सम्म पनि थिएन ! रगतका आँसु वहाउदै जन्म त दिईन एउटी निर्दोष शिशु लाइ तर जानीजानी चिम्लेको आँखा उघार्न चाहेन समाजले ! "ओरालो लागेको मृगलाई बाछाले पनि खेद्छ" भनेझैं नीलिमाका माइतीदेखि घरसम्मका संगिनीहरु नजानिँदो तरिकाले परिवर्तन हुँदै गए नीलिमासंग ! अन्तमा उनि फगत एक्ली भइन ! आफ्नै देश, परिवेश र समाजमा यति तल्लो रुपले आफ्नो मानमर्दन होला भन्ने न उनलाई थियो न अशोकले सपनामै देख्न सक्यो !
एककान, दुइकान मैदान हुँदै हल्ला चल्न थाल्यो कि नीलिमाको पति एउटा छापामार हो, उसले धेरै मान्छेहरुको निर्मम हत्या गरिसक्यो, उसलाई समाउने एउटा मात्र आधार उसकी पत्नी हो ! कठै! कतिले त उनलाई सान्त्वना दिन्थे तर धेरै जसो उनको सर्वनाश गर्ने बहादुरीको खेलमा उत्रिए ! उनको डगमगाएको समस्याको पहाड नियाली दिने आँखाहरु स्वयम्भुको पथरमा कुँदिएका थिए, न देख्न सक्थ्यो न बोल्न सक्थ्यो ! कति रोईन, कराइन तर उनका आँशु गोहीको आँशु बताइदियो समाजले !

जब एउटी अवला र निर्दोष बिस्तारै खतरा बन्दै गईन तात्कालीन कालो मुटु बोकेको तानाशाहको अनि उबाट पालित- पोषित भुस्याहाहरु मालिकको दीर्घ जीवनको लागि हसिन पसिन भुक्न लागे नीलिमा माथि, मानौं उनि हात लागेकी शिकार हुन् ! उनको एउटा निर्दाही कालखण्ड एउटा कालरात्रि भएर यसरी भित्रियो कि उनले देश र जनताप्रति लुकाएको माया अशोक मार्फत बाँड्न नपाउदै सर्वस्व लुटिए, भताभुङ्ग भएर धुँवामा बिलाए ! अशोकलाइ भेटेर आफ्ना कथाहरु सुनाउनु अघि नै उ को सिंगो र भयावह युग नै सदा सदाका लागि समाप्त भयो !

अशोक आफुलाई सम्हाल्नै नसकी गर्ल्याम गुर्लुम ढल्छ ! आफुलाई उठाउने कोहि छन् कि भनि यताउति हेर्छ, तर दुर्भाग्य, एक्लो ढलाई ! आफ्नो छातीमा तेर्सिएको बन्दुकको नाल भाँचेर देश र जनताको सफल मुक्तिका लागि बाचेको अशोकले आमा बचाउन सक्यो, न नीलिमा, न त हराएकी छोरीको ठेगाना पाउन सक्यो ! खै त उसकी नदेखेकी छोरी दिक्षा ? समय यति निष्ठुरी बनेर उ माथि भाला लिएर जाइलाग्ला भन्ने कुरा सोचेको पनि थिएन अशोकले ! अझ "आमूल" परिवर्तनका लागि जनताका रगतले छयाप्पै भिजेका वीर शरीरलाई मलमल कपडाले छोपेर अत्तर छरी गुपचुप फ्याकिंदा उसलाई कति सतायो होला ? आखिर ठालुहरु ठालु नै रहे, शहीदका रगतले परिवर्तन हैन एक एक लाख लिएर पखालिनु पर्यो, ज्यान अर्पेर रगतको मूल्य पैसामा साट्नु पर्यो !

वीर शहीदहरुका अपार न्यानोले अशोकमा अलिकति बल थपिन्छ ! आफ्नो ढलेको शरीरमा मुक्तिको रक्तसंचार हुन्छ उसलाई ! उसको रगतमा बेइमानी छैन, देश र जनता छन्, अझै, दीक्ष्या जस्तै अरु कति दीक्ष्याहरु जो बागचालमा बाख्रा बनेर बाघहरुसंग भिड्दै होलान, वाल अस्मिताका खातिर शिकारीहरुलाई बाबा, दादा र अंकल भन्दै रुँदै होलान बक्सिसका लागि ! कति भोक, रोग र शोकले बिलाए होला, कति आमूल परिवर्तनका लागि झासींकी रानी बन्न आगो चपाएर जीउदै होलान !

अशोक घाइते बाघ जस्तै गर्जिन्छ ! "सामुहिक लक्ष्य प्राप्तिका लागि युद्ध मैदानबाट पीठ फर्काएर भाग्नु भन्दा छाति खोलेर गोली सहनु उपयुक्त हो!" "म भाग्दिन, म सस्तो मर्दिन, म देशका लागि आमा, नीलिमा र दीक्ष्या सहन सक्छु भने अर्को एउटा लडाई पनि लड्न सक्छु!" "आज मेरा आँशुहरु कोशी, गण्डकी र कर्णाली बनाएर पुनः भत्काई दिन्छु असमान सन्धिहरुका कागजका बाँधहरु, म आगो ओकल्छु र जलाई दिन्छु समर्पणबादीका रहरहरु!"

अब अशोक पुरै होसमा खुट्टा टेक्छ ! फेरी उसैले गाउँ गाउँमा सिकाएका हरफहरु बोल्छ "म त समुद्र हु , अनि मीठो सपना बोकेको योद्धा हुँ ! "विचार त समुद्र हो, यसमा कति खहरे मिसिन्छन, कति छिटाहरु उछिट्टिन्छ्न्, कति फोहरमैला थेग्रिन्छन अनि कतिलाई छालले पाखा लगाई दिन्छ ! कुनै पनि दासतालाइ स्वीकार नगरी सफा पानी जस्तै पारदर्शी विचार र चिन्तन जनताबाट कहिले पनि टाढा हुँदैन तर वेग भने परिस्थिती अनुसार घटीबढ हुन सक्छ ! सामुहिक लक्ष्य प्राप्ति का लागि छाती जोगाएर भाग्नुभन्दा एक्लै भएपनि सत्य र सदबिचार बोलीरहनु सहीद बाच्नु जस्तै बाच्नु हो !"

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |