हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

फूलको चोट

शिव प्रकाश, (बोस्टन)



उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर "हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ" उ अहिले आफ्नै कथा आफैं भनिरहेछ - "फूलको चोटको कथा !"
उसले सेतो फूल मन पराउन छोडेको छ !
ढुङ्गाको चोटभन्दा फूलको चोट झन् गहिरो हुदोरहेछ, झन् पीडादायक हुँदोरहेछ । निको भएर जाँदोरहेछ ढुंगाको चोट, तर कहिल्यै निको नहुदोरहेछ फूलको चोट ! सधैं दुःखिरहदो रहेछ चस्सचस्स भित्रभित्रै, सधैं दुखिरहदो रहेछ ! सायद ढुङ्गा र फूलमा फरक पनि यतिमात्र हुँदो हो …। !
सीताशालाई सम्झदाँ शिवासु सधै त्यो सेतोफूल सम्झन्छ । मुटुमा बिजेको काँडा भएर बसेको छ त्यो सेतोफूल शिवासुको छातीभित्र ! खुशीका क्षणहरु सम्झन्छ तर ती क्षणहरुसँगै पीडाका भेलहरु उर्लेर आउँछन् । शिवासु अझै भित्रभित्रै आतंकित हुन्छ "कतै ती भेलले अझै मलाई नबगाउन् ।" उ आफूलाई अझै भयभीत देख्छ ।
पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्रवर्ष वितिसक्दा पनि सीताशाका वारेमा उभित्र द्धन्द अझै छ । मानौं उभित्र एकप्रकारको युद्ध चलिरहेछ ! उ आफैं एउटा युद्धभूमि भइरहेछ र एउटा युद्ध नायक पनि ! दुबैपक्षको नेतृत्व उ आफैंले गरेको छ । यो युद्धमा उ आफै एक अर्काको शत्रुपक्ष भएर उभिएकोछ !
सीताशा ठीक थिई वा म आफू गतल थिए ? सीतासा गलत थिइ वा म आफू ठीक थिएँ ? युद्ध निरन्तर छ उभित्र ! सीताशा-शिवासु ! शिवासु-सीताशा ! गलत-ठीक ! ठीक-गलत ! एउटा भीषण मनोवैज्ञानिक युद्ध विभिषिका उसको मनमस्तिष्कमा अझै मडारिरहेछ । उ मुक्ति चाहन्छ यो द्वन्दबाट । तर न सीताशालाई विर्सन सक्छ न त्यो फूललाई ! न त आफ्नो भूललाई ! न त्यो युद्दबाट मुक्ति !
उ सोच्छ - द्वन्दको कारण सीताशा हैन, फूल हो । हैन, द्वन्छको कारण फूल हैन; सीताशा हो । दुबै थरी सोच्छ, दुबै थरी स्वीकार्छ, दुबै थरी नकार्छ ! हो पनि, होइन पनि ! होइन पनि, हो पनि ! सायद मान्छेमात्र यस्तो प्राणी हो - जो हो र होइनको विचित्र व्यवहार र अनिश्चित विचारभित्र बाँचेको हुन्छ ! शिवासुको क्षणिक विश्लेषण हो यो मान्छेका बारेमा - हो पनि, होइन पनि; होइन पनि र हो पनि !
पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्र वर्षमा उसले एउटी आइमाईमान्छे सीताशालाई चिन्न सकेन । तर एउटा लोग्नेमान्छे उ आफैंले आफैंलाई पनि आजसम्म चिन्न सकेको छैन । उ अझै रनभुल्लमा छ । यो संसारले नबुझ्ने र नसुन्ने एउटा प्रश्न यही संसारलाई गर्छ - 'मान्छे सबै मजस्तै हुन् कि म अरु सबै मान्छे जस्तो हुँ ?' उसका यस्ता हरेक प्रश्नहरु त्यो फूलसँग सम्वन्धित छन् । हरेक घटनापरिघटना, दृष्यपरिदृष्य सबै त्यो फूलसँग सम्वन्धित छन् । अर्थात फूल नहुदो हो त यी कुनै कुरा हुदैनथे ! अथवा सीताशा नहुदी हो त त्यो फूल पनि हुदैनथ्यो ! अथवा त्यो फूल त्यतिबेला नै फ्याकिदिएको भए .....?
सीतासाको नाउँसँगै सधैं त्यो सेतोफूल सम्झन्छ । वास्तवमा सम्झनु पनि पर्देन नदी सम्झने वित्तिकै नदीसँग पानीको विम्ब आए जस्तै सीताशासँग फूल आउँछ । नदीको पर्याय पानी भए जस्तै सीतासाको पर्याय फूल भएको छ त्यो सेतोफूल ! तर पानीको पर्याय नदी नभए जस्तै फूलको पर्याय सीतासा भने हैन - भन्ने ठान्छ ।
फूल धेरै प्रकारका हुन्छन् र मान्छे पनि ! उसले एउटा कविता पढेको हुन्छ -
निश्छल छ फूल
फूलको निश्छलताभित्र प्रतीक छ प्रेमको
उपमा छ आत्मीयतको, वैभव छ विश्वासको
तर फूलभित्र काँडा पनि हुन्छ !

फूल कागजकोपनि हुन्छ !
फूल सम्झेर सुम्सुम्याएको सीतासाभित्र तिखारिएर बसेका विषालुकाँडाको अनुभव उसले गरसिकेको छ । अब न फूलप्रति विश्वास हुन्छ उसलाई न मान्छेप्रति !
सीताशासँग हिडेका बाटाहरु सम्झन्छ, पाटाहरु सम्झन्छ । खेतबारीहरु सम्झन्छ, उकालीओरालीहरु सम्झन्छ । हातहरु सम्झन्छ, साथहरु सम्झन्छ; सँगै विताएका रातहरु सम्झन्छ । रातका मातहरु सम्झन्छ, रातका बातहरु सम्झन्छ । रातको मौनता सम्झन्छ, रातको मादकता सम्झन्छ । रात बौलाएको सम्झन्छ, रात मुर्झाएको सम्झन्छ । घोडा चढेको सभ्झन्छ, बग्गी चढेको सम्झन्छ । समुन्द्रको किनार सझन्छ, जंगलको बाटो सम्झन्छ । हिउँका फाल्सा सझन्छ, गाउँका खोल्सा सम्झन्छ । शरह सम्झन्छ, गाउँ सम्झन्छ । हिलो सम्झन्छ, धूलो सम्झन्छ । तर प्रत्येक सम्झनासँगै त्यो सेतोफूल सम्झन्छ ।
सीताशाबाट शिवासुले धेरै राम्रा कुराहरु सिक्ने मौका पाउँछ ति सबै सम्झन्छ तर तिसँगै त्यो फूल पनि सम्झन्छ ! राम्रासँगै केही नराम्रा कुराहरु पनि सिक्छ ति पनि सबै सम्झन्छ र ति सबैसंग त्यो फूल पनि सम्झन्छ । फूल - सीताशा ! सीताशा - फूल ! अर्थात शिवासुको मुटु छेड्ने त्यो शूल…त्यो सेतोफूल !
शिवासुले एउटा झिनो निष्कर्ष निकाल्छ - मैले आफूलाई भन्दा सीताशालाई राम्ररी चिनेको छु, यस अर्थमा चिनेको छु कि मैले आफूलाई सम्पूर्णरुपले हेर्न सक्दिन तर सीताशालाई सम्पूर्ण देखेको छु । सीतासाले मलाई लुकाउँन बाँकी नै के थियो र ? तर ……! उ मनमनै भन्छ - 'सीतासाको मन बाहेक सबै देखेको छु । देखेँ तर चिनिन, चिन्नु पनि कसरी ? मन त मैले कहिल्यै देख्दै देखिन ! ‌‌‌‌। मान्छे चिने पनि मान्छेको मन नचिन्नु भूल हो त ?'
हरेक फूल देख्दा उ सीताशा सम्झन्छ । सीताशा जस्ता हरेक आइमाइहरु देख्दा उ त्यो सेतोफूल सम्झन्छ । सीतासालाई चाहेर पनि विर्सन सक्दैन र सम्झेर पनि सधैं सम्झन चाँहदैन । तर विडम्बना …सोचेजस्तो जीवन र जीवन जस्तो सोचाइ कहाँ हुन्छ र ! सीताशा पनि छे, त्यो फूल पनि छ । सीतासा अझै हाँसिरहेकी छे यो धरीतमा, त्यो फूल पनि अझै सुरक्षित बसेको छ तर कतै कुनै पत्रुमा ! तर त्यो फूलको चोट अझै फक्रिरहेछ शिवासुको हृदयमा ! सायद सीताशालाई त्यो फूलको कुनै हेक्का छैन - सीतासाले यस्ता फूल धेरैलाई दिएकी हुन सक्छे ।
त्यो दिन साँझ झमक्क परिसकेको थियो । गेटमा उभिएर सीताशाले उसलाई हातमा सेतोफूल, गालामा रातो हुनेगरि चुम्बन र हृदयभरीको शुभकामना दिएर विदा गरेकी थिई । सीताशाका शव्दहरु सम्झन्छ - 'शिवासु धेरैधेरै शुभाकामना ! तर विदेश गएर यताउता धेरै नबरालिनु, यसपटका तिम्रो पालो । तिमी जानु र म जानु भनेको एकै हो शुभकामना …! शुभकामना …! ! शुभकामना ,,,,,! ! !
जागीर खाएकोदश वर्ष भै सकेको छ, उसको यो पहिलो विदेश भ्रमण ! उभित्र उत्सुकता र कौतुहलताहरु उद्वेलित भइरहेकाछन् । एक दिन कै लागि भए पनि विदेश जानु भनेको हाम्रो समाजमा यसै पनि इज्जतिलो ठानिन्छ त्यसमाथि करीव एक महिनाको भ्रमण, त्यसमाथि सुख्खा जागिरेका लागि एउटा रसिलो र भरिलो आम्दानी । सोच्यो - 'जीवनमा पहिलोपटक डलर पनि देख्ने भइयो ।' शिवासु फुरुक्क परेर घर फर्कियो । बाटामा उसले पहिलो पटक पुरा एक किलो खसीको मासु किन्यो साथमा एक क्वाटर मन्जो पनि ! औधी खुशी थियो घर आइपुगेको थाहै भएन । सीताशाप्रति विषेश शिष्टाचार तथा कृतज्ञता ज्ञापन गर्न फोन गर्यो, फोन उठेन ! आधाघण्टा पछि फेरि गर्यो, फेरि उठेन ! अर्कोआघा घण्टा पछि फेरी गर्यो, फेरि उठेन ! हरेक आधाघण्टा पछि उसले लगातार गरिरह्यो, बल्ल छैठौं पटक फोन उठ्यो तर फोनमा आवाज अर्कै थियो ! साध्यो - जवाफमा 'म काम गर्ने देवकी' भन्ने आयो । सीतासाका बारेमा सोध्यो - 'दिदी आउने वित्तिकै बाहिर जानु भो र बाहिरबाट आउने वित्तिकै घप्लक्क सुत्नु भो' ।' अपत्यारिलोजवाफ पायो, आश्चार्यचकित भायो ! तर पनि खुशीले रातभर रातसँग बातमारी रह्यो, निदाएन ।
अब सारा साथीभाइबाट वधाइ पाइने भइयो- नाना कल्पनापरिकल्पना गर्दै खुट्टा भुँइमै भएता पनि मन बोइङ्गमा उडाउँदै भोलीपल्ट उ विषेश स्फुर्तिसाथ अफिस पुग्यो । तर अफिसको सूचनापाटीमा उसको नाउँ थिएन, त्यो सीटमा एकमात्र निर्विकल्प उमेद्वार भनेर सीताशाको नाउँ टाँसिएको थियो । सीताशाको घरैछेउमै डेरा बस्ने उसको सहायकले खुसुक्क कानमा भन्यो - 'सर सीताशा म्यामलाई हिजोराति अबेला मन्त्रीको गाडीले पुर्याउन आएको देखेको थिएँ ।'

शिवासुले त्यो दिनदेखि सेतोफूल मन पराउन छाडेको छ ।
आखिर प्रेम गर्ने र नगर्ने दुबैले गर्ने त एउटै हो - भोग ! अर्थात भोक मेटाउने भोग - सम्भोग ! प्रेम र मित्रता त एउटा नाउ मात्र हो जुन नाउमा सबै प्रेमी र मित्रहरुले दुबै खुट्टा हालेका हुदैनन्, त्यसैले प्रेमामा मित्रतामा घात-प्रतिघात हुन्छन् - मैले सुनिरहे ।
मित्रता ! मित्रताभित्रबाट प्रेम ! प्रेमभित्रबाट धात-प्रतिघात ! घात-प्रतिघातबाट शत्रुता ! शत्रुताभित्रबाट पुनः मित्रता ! यसरी नै सुनायो शिवासुले त्यो फूलको चोटको कथा …!

Comments

KISHAN SANGIT

शिव जी,
जीवन भन्नु नै फुल काँडा हाँगाबिङ्गा र पातहरुको िसंगो संयोजन त हो नि है  तर खै किन-किन मलाई पनि आजकल यो फुलको कुरा गर्न मनै लाग्दैन फुलको सौन्दर्यतासँग पनि त्यति विश्वास लाग्दैन र यसको वासनासँग पनि मलाई मोह मरिसकेको जस्तै लाग्छ । सायद फुलजस्तै मेरी प्रकृति आज म बाट भूगोलका हिसाबले भूमिकाको हिसावले टाढिएकी छन् सम्बन्ध उस्तै छ । तरपनि मलाई यस्तै यस्तै लागीरहन्छ……………Kishan

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |