हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

अन्ततः

गीता त्रिपाठी, (काठमाण्डौँ)



एउटा प्रतीक्षालय छ मनभित्र निरास निरास र अर्को छ आँखासामु केही आशप्रद ।
फराकिलो भित्तामा साइबाबाको सकरुण तस्वीर छ आशीर्वादात्मक शैलीमा ।
रेणुलाई डाक्टरको अन्तिम वाक्यले झस्काइरहन्छ बारम्बार- "तपाईंहरुको सहयोगले हामी पूरा कोसिस गरिरहेका छौँ बाँकी भगवानमा विश्वास गर्नुहोस् ।" अकस्मात् उनका पाइलाहरु तस्वीरतिर खिचिँदै जान्छन् र गन्तव्यमा पुगेर स्वचालित आफै रोकिन्छन् यन्त्रवत् टक्क । जोडिएका हातहरुसँगै थालीको प्रसादजस्तो उनको एकथान शिर नतमस्तक झुकिरहन्छ तस्वीरसामु । बन्द परेलीहरुभित्र मातृत्वका छालहरु उर्लन खोज्छन् तर गलामै अवरुद्ध अड्किरहन्छन् र खसिरहन्छन् मात्र थोपा थोपा शीतविन्दुहरु ।
साकार उनको कान्छो सन्तान । अतीतका स्मृतिमा दृश्यहरुको रिल फनफनी घुम्न थाल्छ । दुई दशकपछि पनि उसैगरी आफ्नॊ कोखमा कौतुहलताको न्यानोपन अनुभूत गर्छिन् उनी कस्तो हुने होला यो हाम्रो नयाँ पाहुना ! भ्रमपूर्ण लाग्ने ती सुन्दर क्षणहरु ! असिनाले चुटिएका वसन्तका फूलहरुझैं  निरीह उनका सपनाहरुसित उनैभित्र संघर्ष गरिरहेछन् आज- 'के साकारले आफ्नो यो अवस्था बनाउनुमा उसका आमाबाबुको केही दोष छैन ।' युद्धमैदानजस्तो छातीमा तुवाँलोका मुस्लाहरु मडारिहेछन् रेणुका अश्रुधारहरु बग्न छोडेका छन् यतिबेला । उनको मस्तिष्कमा चट्याङ्को एक झिल्को आगो खस्छ र एकाएक जडवत् बनाउँछ उनको संवेदनालाई ।
कस्तो दुर्घटना यो ! आइ. सि.यू. कक्षमा उसको बेहोश शरीरमाथि विभिन्न परीक्षणहरु भइरहेछ । बाहिरै बगेका छन् उसका नशा-धमनीहरु । आज तीनदिन भई नै सक्यो ऊ यसरी भेन्टिलेटरद्वारा साचालित भएको । ऊसँग कुनै चेतना छैन । बाहिरबाट ऊ निदाएजस्तो देखिन्छ कसलाई थाहा भित्र उसको आत्मा उसँग छ कि छैन

रेणु सम्झि रहिछन्- काठमाडौँ हिँड्नु दुई दिन अघिदेखि नै उसले खानामा मन लगाएको थिएन । गीतारका तारहरुसँग खेलिरहने उसका औंलाहरु पनि बिगत केही महिनादेखि स्थीर थिए । सानैदेखि सङ्गीत नै मेरो मुख्य लक्ष्य हो भन्थ्यो साकार यही महत्वाकांक्षाले उसलाई पढाइमा मन लाग्न पनि दिएन । अन्ततः उसका समयहरु बरालिन थाले त्यसैत्यसै । सङ्गीतको बहानामा जिन्दगीदेखि नै हारखाने युवाहरुको सङ्ख्या यसरी नै त बढिरहेछ सहरमा । एउटा नयाँ व्याण्ड रक र मेटलका त्रासद म्युजिक गीतका निरस बोलहरु अनि अधकल्चो यौवनको भयावह रोग ।

एकदिन उसले बाबुसँग भन्यो- 'म अष्टे्रलिया जान्छु, छ लाख रुपैयाँको व्यवस्था गरिदिनोस् म त्यहाँ कन्सर्ट गरेर दोब्बर कमाएर फर्कनेछु हाम्रो ग्रुप छ ।' बिचरा बाबु ! त्यसै त्यसै िरंगटा लागेको थियो उनलाई । तीन तीन सन्तानको जिम्मेवारी के कम थियो र एउटा साधारण जागिरेका लागि । यस्तो अबुझ त ऊ पनि थिएन । बाबुलाई विश्वासै हुँदैन पाँच रुपैयाँकोलागिसम्म शिर निहुराएर अघि उभिने उनको साकार छ रुपियाँजस्तो गरी माग्दैछ छ लाख रुपैयाँ । उनलाई आफ्नो विश्वासको खिल्ली उडाएकोमा भित्रभित्रै रिस उठ्छ । यस अघि छोराछोरीप्रति उनी त्यति कठोर कहिल्यै देखिएको थाहा थिएन । सन्तानप्रतिको विश्वासले हो वा आफूले बाल्यकालमा भोगेका अपार दुःखको अनुभवले हो उनी सकेसम्म छोराछोरीलाई सुविधाहरु पुर्याउने कोसिस गर्थे । उनको उदारतालाई देखेर भन्नेहरु भन्थे- 'खुब पुल्पुल्याएका छन् सुब्बासाबले छोराछोरीलाई कुनदिन टाउकामै टेकाउने हुन् ।'

उसको ग्रुपमा सबैको आशाको केन्द्र उही थियो । साथीहरु उसलाई पैसाको लागि उक्साइरहेका थिए । बाबुले पैसा दिन नसक्दा ऊ आफूले पाउनसक्ने अविश्वास उपहास र तिरस्कारको कल्पनाले उत्तेजित भइरहेको थियो । बाबुको असमर्थतालाई त्यस दिन चुनौति दिएर बाहिरिएको थियो ऊ । सुब्बासाबले सबैभन्दा विश्वास र माया गरेको कान्छोछोरो । उसका गीत गुाजनमा अफिसका सारा थकानहरु बिर्साउने क्षमता छ भन्ठान्थे उनी । सुरुसुरुका दिनमा छोराले नपढेकामा जुन दुःख थियो उनको मनमा अब विस्तारै त्यो दुःख सुखान्ततिर मोडिने सम्भावना पनि थियो । आशाका केही रेखाहरु उनको आँखामा उत्रिएको देखिन्थ्यो । तर आज एकाएक उसको यो चुनौतिपूर्ण असमझदारीले उनमा एकप्रकारको आवेगमय नैराश्यले जन्म लियो र रेणुको जीवनमा त्यही दिनबाट सुरु भयो एउटा कहालीलाग्दो दाम्पत्य र असफल मातृत्वको अन्तहीन पीडा ।

झमक्क साँझ रोइसक्दा पनि लोग्नेको पत्तोअत्तो थिएन । न त छोरो नै समयमा आयो । रातले साँझलाई निल्यो र निल्यो घरको सम्पूर्ण सुख-शान्तिलाई पनि । झण्डै आधारातमा चलेको आँधीजस्तो ढोकामा आएर बजि्रयो कुनै बेहोशी मात र घरभरी फैलियो दुर्गन्धको राक्षसी प्रश्वास ।
'मेरो घर बिगार्ने तैँ होस् । मैले हाड घोटेर ल्याएको उडाउने पनि तैँ होस् । आमा गतिली भए पो छोराछोरी गतिला हुनु । छोराछोरीलाई उचाल्छेस् भड्काउँछेस् हैन मेरो घरबाट तँ निस्किहाल तँ ।'- पराकाष्ठा नाघ्यो आजको मातले । एकछिन पछि लर्बरिएको आवाजले पहिलो श्रृङ्खलाबाट छुट्टी लियो । रेणुको जिन्दगीको निरिहता उनका वृद्ध बाबुका लागि पनि असह्य थियो तर के गरुन् पत्नीविहीन हुनुको पीडामा अरु आश्रय खोज्नु हातखुट्टा चल्न छाडेपछि सम्भव पनि त हुँदोरहेनछ । पितातुल्य ससुरामाथि पनि सुब्बासाबको वचनवाण एउटा दैनिकी नै हुँदै गयो । आफ्नै अगाडि बाबुले झेल्नुपरेको अपमानमा सन्तानको रुपमा पनि आफू एकदम असफल भएको महसुस गरिन् उनले । यसपछि धारावाहिक चलिरह्यो क्रमशः हरेक रात नयाँनयाँ विषयका पूरानै विभत्स अभिनयहरु । न पात्र फेरियो न दर्शक मात्र फेरियो हिजो र आजको रङ्गमाचीय दृश्य ।

साकारको व्यवहारमा असामान्य परिवर्तन आइरहेको थियो । एक्लै एक्लै बस्न मन पराउँथ्यो । कोठामा एकोहोरो झुमिरहेको उसको मादक प्रतिबिम्ब रेणुका लागि असह्य हुन्थ्यो । उनले सम्झाईबुझाई अनेक गरेर एकचोटि सही बाटोमा ल्याएकी पनि हुन् तर आमाबाबु बीच चिसिएको सम्बन्धले उसमा मायाको भोक असह्य हुँदै गयो । ऊ आफैले पनि त आफ्नो जीवनलाई न्याय गर्न सकेन । प्रत्येक रात ऊ ढिलोगरी फर्कन्थ्यो । परिवारका सदस्यहरुसँग बोल्नै चाहँदैनथ्यो । रक्सीले मातिएको बाबुको खल्तीबाट सुटुक्क पैसा  झिकेपछि उसको गन्तव्य एकैछिनमा तय हुन्थ्यो कसले रोक्नु र उसलाई । ऊ आफै आफ्नो चाहनाको अधिपति बन्दै गयो । बाबुको सुरक्षाबाट झर्दै गएको एउटा बेवारिसे जिन्दगी किन प्यारो वस्तुझैं रोज्यो उसले कुन आकारको खोजीमा उसले आमाको ममताको स्पष्ट आकृतिलाई भ्रमपूर्ण ठानेर धोका दियो यिनै प्रश्नका उत्तरहरु खोज्दाखोज्दै रेणुका आँखाका आँसु रित्तिए तर टुङ्गिएन उनको ह्दयबाट उठेको भावातीत आलाप जसको केन्द्रमा उनकै मुटु सयौँ टुक्रा भएर छरिएको थियो ।

आज पनि उसको होश खुलेको थिएन । आफन्तहरुसँग लिएको ऋण चुलिँदै थियो । विवाह योग्य उमेरमा सपनाहरु झरिरहेका छोरीहरु व्यङ्ग्यका प्रतीकजस्तै उभिएका थिए उनको सामु । यही समयान्तरमा अधिकृत भएका निवर्तमान सुब्बासाहेब संविधानसभाको चुनावमा विशेष भूमिका निर्वाह गर्दै थिए । रेणु आफ्नै जीवनका पानाहरुमा मेटिँदै गएका विधानहरु सकेसम्म हाइलाइट गरिरहेकी थिइन् उनलाई यतिखेर नयाँ संविधानमा महिलाअधिकारको विरसिलो नारा लेख्नु थिएन हारेको मातृत्वको स्वाभाविक खोज थियो र आशा थियो यसलाई पुनर्लेखन गर्न नवनियुक्त अधिकृत उनको जीवनमा नयाँ उत्साहका साथ पुनः प्रवेश गर्लान् र भन्लान्- 'रेणु ! म आएको छु अब तिमीले निरास हुनु पर्दैन ।'

पाचौँ दिन साँझमा नभन्दै पिता पुत्रलाई भेट्न आइपुगे हवाइजहाजबाट । असमाजस अनुहारमा रेणुले आफूप्रतिको उपेक्षा अझैँ यथावत् पाइन् । दुब्लो शरीरमा उदास टाँसिएका आँखाहरुबीच पति-पत्नीको कुनै संवाद भएन बरु अरुबाटै खबर लिए पुत्रको अवस्थाका बारेमा पिताले । यी सबै घटनाहरुले रेणुको मस्तिष्कमा नराम्रो झट्का दिइरह्यो ।

बर्षौँ पहिले जागिरको खोजमा तराई झरेको युवक आकृति अकस्मात् रेणुको मस्तिष्कमा सचारित भयो । झण्डै झण्डै साकारकै प्रतिरुपको त्यो मान्छे उनको सामु दुःख बाँड्न आइपुगेको थियो । आज कसरी बद्लिएको छ उनको संसारमा सबै कुराहरु । कति कठिन भएको छ यो संयुक्त यात्राको एउटै बाटो सँगसँगै हिँड्न । एउटा मान्छे बद्लिँदा बद्लिन केही बाँकी हुँदोरहेनछ- रेणुको आँखाको आँसु साँझको शीतजस्तै गरी बिलाएको पत्तै भएन कसैलाई ।

अर्कोदिन डाक्टरहरुसँग कुराकानी हुँदै थियो । रिपोर्टमा प्रस्ट लेखिएकै थियो- ूड्रग केश ।ू त्यसदिन बेहाशीका अस्पष्ट शब्दहरु उच्चारण गर्दै थियो साकार । उता रेणु भन्दै थिइन्- ूतीन बर्षजत्ति भयो होला यसको व्यवहारहरु यसरी परिवर्तन हुँदै आइरहेको । ू सँगै उभिएका आफन्तले सम्झाउँदै थिए- 'अब सुधार गृहमा उपचार गरेर भएपनि यसबाटोबाट मोड्नुपर्छ ।' केही समयदेखि पत्रिकामा आइरहेको सिद्धार्थको सुन्दर तस्विर देखाएर उनका आफन्त भनिरहेका थिए- 'यो केटो पनि त्यसरी नै बिगिएको थियो अहिले आफू सुधि्रएको मात्र होइन अरुका निम्ति आफै उदाहरण बनेर हिँडेको छ परिवारको प्रयास भयो भने असम्भव केही छैन तपाईंहरु दुवैको सकारात्मक प्रयास हुनुपर्यो ।'

समाजमा तल परिने डर सायद प्रबल थियो अधिकृत ज्यूमा । उनले एउटा नयाँ कथाको पुनर्निर्माण गरे- 'मेरो छोरो अपहरणमा परेको थियो । उता मैले पत्रकार सम्मेलनबाट सार्वजनिक गरिसकेको छु । उसँग भएको पैसाहरु लुटेर कसैले उसलाई ड्रगको इन्जेक्सन लगाइदिएको हुनुपर्छ नत्र पानपरागसम्म नखाने मेरो छोरो कसरी यस्तो अवस्थामा पुग्यो ?'

एउटा नयाँ भ्रममा पुरानै प्रतिशोधको धुवाँले रेणुलाई नराम्ररी घाइते बनायो यसपटक पनि ।
आमाको निरीहतामा पानी पसेको डुङ्गाजस्तो जिन्दगी देखेर अवाक् थिए उनका दुई छोरीहरु ।
एउटीले भनिन्- 'बुबाको प्यारो छोरा ! अब उहाँले नै भोग्नु हुनेछ बाँकी समस्याहरु । तर आमा, के रेणु यस्तो प्रतिकि्रया दिएर चुपचाप बस्न सक्थिन् 

 

Comments

siddha sharu QATAR

gita g malai ramoro lagyo thanks

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |