हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

सिद्धान्त र व्यवहारको विपर्यासमा : शंकर लामिछाने

गीता त्रिपाठी, (काठमाण्डौँ)

सिद्धान्तले अँगालेको जीवनमूल्य व्यवहारमा पाउन प्रायः असम्भव हुँदोरहेछ । असम्भव हुँदोरहेछ -आफ्नै दृष्टिकोणबाट आफैलाई बचाएर राख्नु पनि । जीवनका भोगाइहरुले भावलाई मात्र होइन विचारलाई पनि कता हो कता बहकाएर लैजाँदोरहेछ । त्यसैले त जीवनभरको प्रयासमा पनि आफैलाई चाहिँ चिन्न सक्दैन मानिसले अरुका सन्दर्भमा निकै समालोचकीय अवधारणाहरु बनाउनेले पनि आफ्नै परिचयको ऐनाभित्र भने सधैँजसो धमिलो छायामात्र भेट्छ विश्वका चर्चित स्रष्टाहरुका जीवनीका पाटाहरु यसरी नै रहस्यपूर्ण पहाडमय भएको पढिन्छ र सुनिन्छ तिनमा अव्यवहारिकताको चरम आरोप लागेको हुन्छ । भावनाको केन्द्र प्रबल हुनुलाई असामाजिक यात्राको थालनी मानिदिन्छ समाजले र परम्परा तोड्न सङ्घर्षरत योद्धा आफ्नो प्रहारले आफै घाइते भइरहन्छ बारम्बार । उसलाई लाग्छ जीवन कॆही हो कि जस्तो अथवा केही होइन कि जस्तो पनि । अनि अल्झिरहन्छ- उसैमा उसका प्रतिबिम्बहरु ।


सन्दर्भ शंकर लामिछानेको हो । नेपाली साहित्यमा उनै स्रष्टा मृत्युको पच्चीस वर्षपछि पुनः परिचित भए वि.सं. २०५७ सालमा । त्यो पहिचान दिलाउने स्रोत नै उदार युवा ढुकढुकीको अभियान- भावक अभियान थियो । "केवल एक पाठकका रुपमा उहाँका पुस्तकहरुसितको मेरो सामीप्यता त्यतिबेला टुट्दछ जब मेरा र्याकबाट "एब्स्ट्रयाक्ट चिन्तन : प्याज" हराउँछ वा साथीले पढ्न लगेको "बिम्ब-प्रतिबिम्ब"  फर्काइ दिँदैन । अझै भनौँ बिहान-बेलुका हप्तामा एकाधपटक पढ्दापढ्दै च्यातिएको 'गोधूलि संसार'को अन्तिम अवस्थाप्रति डरले मुटु काम्न थाल्दछ । अब यसपछि मसँग पढ्न योग्य पुस्तक छैनन्- म अक्षरहीन हुँदैजान्छु…। यसपछि सुरु हुन्छ महान् शङ्करको खोजी र बचाव' -सायमी- बिम्ब-प्रतिबिम्ब  २०५८ । त्यो प्रयासपछि उनको निबन्ध-प्रवृत्ति र योगदानको व्यापक चर्चा सुरु भयो । नेपाली निबन्धको यात्रामा उनका निबन्धहरु वरदान साबित भए र शंकर लामिछाने र उनका निबन्धकारितालाई चिनाउन अब अर्को पुस्ताले सायद अर्को लडाईं लड्नु नपर्ने भयो । तर अन्तरमा अझै पनि उनकै जीवनजस्तो सरस या निरस उनका प्रयोगधर्मी निबन्धहरु आज पनि अधिकांश नेपाली पाठकको मस्तिष्कमा बिजुली झै चम्किएर उज्यालोको आन्दोलनमा हृदयलाई तानिरहेकै छन् । पाठक त्यस आन्दोलनमा जति गहिरिन सक्यो त्यही नै उनको निबन्धको बोध पनि बन्दै गएको छ । आज झन जटिल बन्दै गएको परिस्थितिको यो विकराल उठानमा उनका नयाँ पाठकहरु उनको शैलीमा जीवन लेख्न उक्सिरहेको वर्तमान यथार्थ छ । उनी परम्परित नेपाली लेखन-चिन्तनबाट पाखा आउन चाहन्थे । दर्शनको विविधताले नै स्वतन्त्र लेखकलाई विविध सोच र शक्ति प्रदान गर्दछ । बल्ल आज हामी विविधताको महत्व चिनाउन खोजिरहेछौँ, बहुलताको विशेषता बुझाउन खोजिरहेछौँ । 'उसैबेला शङ्करले भनेका थिए- "लेखनको प्रशस्त विषय छन् जो छोइएका छैनन् र पर्खिरहेछन् कलमको कोराइलाई ।" यसरी नेपाली साहित्यको सङ्कुचित एवम् शास्त्रीय परम्परालाई नाघेर उनले टाढा र पर हेरेका थिए' भट्टराई -उत्तर आधुनिक विमर्श : २०६५ । यो तथ्यबाट उनको लेखन धर्म र कालिक चेतनाको फड्को अनुमान गर्न सकिन्छ । तथापि शङ्करले जस्तो जीवनलाई आफ्नै अनुभूतिको छुराले चिरफार गर्नसक्ने दक्षता प्राप्त शब्द-शिल्पी आजसम्म अर्को जन्मिएको छैन । उनले जस्तै जीवनलाई नजिकबाट भोग्ने त अरु पनि होलान् तर जीवनले नै उनलाई यति अविभाज्य र व्याख्यातीत तरिकाबाट भोग्नेछ,  त्यो निकटतामा उनका पूर्व धारणाहरु एकदिन उनीबाटै पराजीत हुनेछन्, बीस वर्षे उमेरको परिवर्तनप्रिय युवा जोशले अर्को आउने पच्चीस वर्षपछिको नियतिका बारेमा संभवतः आँकलन गर्न सकेको थिएन र त पहिलो रचना आफ्नै आउने जीवन-समयको विपरीतार्थकमा लेख्न पुगे । यद्यपि यो पहिलो रचनामार्फत उनले समाजमा महिलाको अवस्थालाई चित्रण मात्र गरेनन् पुरुषका तर्फबाट हुने पुनर्विवाहका पक्षका निरर्थक तर्कहरुलाई समेत पराजित गरी महिलाका पक्षबाट वकालत गरे अर्थात् उनी सतशः बहुविवाहका विपक्षमा उभिएर महिलाहरुलाई उनको स्थान बहाली गर्न तत्पर रहे ।

निबन्धकारका रुपमा वि.सं. २००४ को साहित्य स्रोतमा उनको उल्लेखित पहिलो रचना प्रकाशित भयो- 'हाम्रो समाजमा नारी' यद्यपि अन्यत्र यसलाई हाम्रो समाजमा नारीको मूल्य भनेर शीर्षकीकरण गरिएको पाइन्छ । यसका सम्पादक थिए- हृदयचन्द्रिसंह प्रधान । साहित्यस्रोतमा प्रकाशित त्यो मूल पन्ना नै केही दिन अघि मेरो हात पर्यो, यसलाई मैले धेरैचोटि पढेँ दोहोरयाउन मन लाग्ने कारण शंकर लामिछानेको निबन्धकारिता त थियो नै अझ लेखनको विषय मुख्य थियो । हरेक नवलेखकहरु लेखनको अभ्यासकालमा असमन्जसमा पर्नु, आफ्नै लेखनप्रति आत्मविश्वास नहुनु अस्वाभाविक प्रक्रिया होइन । साहित्यलेखनलाई सौख मान्ने निबन्ध शिरोमणिको अभ्यासकालीन लेखन जान्ने केही उत्सुकता पनि म मा थियो नै -

'आमा मलाई भएन अर्को विवाह गर्छु ……। यो पानी फोहर छ अर्को गिलासमा ले !…तर कुनै दिन पानी अप्राप्य भो भने…। हामी कसैले पनि आमा यो भएन भन्ने छैनौँ…।" शङ्करप्रसादसाहित्यस्रोत २००४ पृ.११  । उनको पहिलो प्रकाशित निबन्धका यी हरफहरुमा स्त्री जातिको महत्व र गरिमाको चिन्ता र चिन्तन गरिएको छ । कलाका पारखी उनले विषयलाई ज्यादा महत्व दिनुले उनीभित्र विद्यमान नारी-श्रद्धा-वादी भावनाको प्रवलता तर्फ सङ्केत गर्दछ । जन्मनासाथ सुरु हुने नारीहरुका निम्ति बनेका संस्कारजन्य आडम्बरहरुले उनको पुरुष मानसिकतालाई धिक्कारेको छ र सत्यवक्ता उनी देवकोटाले मानिएको उच्च ब्राह्मण कुलको भएर पनि जातलाई ठूलो नमानेर 'मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन' भन्नु इब्सन र रिमालले (पुरुष भएर पनि) नारी अस्तित्वको चेतना प्रवाह गर्नुजस्तै पुरुषका तर्फबाट महिलाको स्थानको लागि शब्द-युद्ध लड्ने योद्धा हुन् शंकर लामिछाने । उनमा जातिभेद नीति पनि पटक्कै थिएन । यसलाई सिद्धान्तमा भन्दा उनको व्यवहारिक स्वीकारोक्तिमा अझै बढी पाउन सकिन्छ- पत्नीहरु रत्ना राई र सुवर्ण श्रेष्ठ । आफू ब्राह्मण भएर पनि साथीहरु अन्य जातका धेरै भएको उनैबाट प्राप्त जानकारी यसका पुष्टक हुन् । आज पनि सङ्गीतज्ञ अम्बर गुरुङले सबैभन्दा बढी श्रद्धाकासाथ सम्झने व्यक्तित्व हुन्-शंकर लामिछाने । न भूगोलले छेक्यो न त जातले । "म सङ्गीत छोडेर खेतीमा लाग्न खोज्दै थिएँ शंकर दाइले 'अम्बर ! तिमीलाई सङ्गीतजस्तो खेती फाप्छ भन्ने के ग्यारेन्टी छ ? भन्नुभयो । यस भनाइले मलाई आफ्नो मूल्यको खोजमा झकझकायो र म फेरि सङ्गीतमै फर्किएँ" भन्नुहुन्छ- अम्बर गुरुङ ।

यसरी पहिलो लेखबाटै नारी-अस्तित्वको आवाज लिएर तिनका मूल्यको उद्घोष गर्ने र धेरैका जीवनमा मित्रता र लेखन-धर्मिता दुवैका माध्यमबाट सकारात्मक जिउने कलाको प्रत्यारोपण गर्ने सामर्थ्य भएका लामिछाने स्वयम्ले थप पन्ध्र वर्षपछि वि.सं. २०१९ मा लेखे- "…कुनै ग्राहकले आएर सोध्यो भने उसले आफ्नो मूल्य कति भन्ने आफ्नो वरिपरि रहेका सबै वस्तुको मूल्य उसले जानिसकेको छ उसलाई खाली आफ्नो मूल्य थाहा छैन" लामिछाने शङ्कर स्मृति पृ, ३१

ऊ अर्थात् शंकरप्रसाद (पहिलो र सुरुका अन्य केही लेखनमा) शंकर गार्गेय (सुरुका केही कवितामा) अन्ततः शंकर लामिछाने पछिल्लो समयको मूल प्रयोग र परिचय जसलाई आफ्नै जीवनानुभूतिले धेरै कुरा सिकायो । उनको लागि जीवन एक प्राध्यापक बन्यो- '…जीवनमा सिक्न कहिल्यै छाडिँदैन रहेछ वा भनौँ जीवनले हामीलाई कहिल्यै छाड्दैन रहेछ" लामिछाने- गोधूलि संसार पृ.८४ ।

'एब्स्ट्रयाक्ट चिन्तन प्याज' 'गोधूलि संसार' 'बिम्ब-प्रतिबिम्ब' 'गौंथलीको गुँड' 'शङ्कर लामिछानेका निबन्ध' उनले आफ्नै जीवनका पाठशालाबाट उतारेका ज्ञान अनुभव र चिन्तनका मापक कृतिहरु हुन् । यी कृति मार्फत् उनले रहस्यका पत्रहरु फुकाउँदै गएका छन् । जीवन भोगाइहरुको एकमुष्ठ आस्वादन होइन । यसलाई शृङ्खलाबद्ध मिलाउन सकिँदैन । विशृङ्खल यात्राको गन्तव्य सुनिश्चित नहुनु अस्वाभाविक होइन पनि । अर्को थप दस वर्षपछि उनले आफ्नै सिद्धान्त विपरीत दोस्रो विवाह गरे- सुवर्ण श्रेष्ठसित । यसरी बहकियो उनको हृदय र आफ्नै हेराइमा आफै अपरिचयको गुफामा फस्न पुगे । भारतकी प्रसिद्ध लेखिका इन्दिरा गोस्वामीलॆ 'लाइफ इज नो बार्गेन' मा लेखेकी छन्- तुलसीदासले महिलाहरुका प्रति जुन नकारात्मक श्लोक बनाए निश्चय नै त्यो स्वागत योग्य कुरा त होइन तर तुलसीदासले निर्वाह गरेका महिलाहरुबाट उनले जुन चोट पाए त्यसले गर्दा उनको निजी दृष्टिकोण बन्यो नारीप्रतिको । अनु. बनर्जी ई. १९९९ पृ.१११ त्यसैले भोगाइ सापेक्ष हुँदोरहेछ दृष्टिकोण पनि मानिसका आ-आफ्नै परिवेश सापेक्ष हुँदोरहेछ व्यवहारिक जीवन पनि आ-आफ्नै ।

वि.सं. २०३२ मङ्सिर ७ गते अन्तिम पटक फेरि पनि उनले जीवनलाई नबुझिएको नै पाए- "…आज आएर जीवनको लेखाजोखा गर्न मन लागिरहेछ । जत्ति जत्ति बाँचिदै जाइन्छ उत्ति उत्ति यो जटिल हुँदै जाँदोरहेछ…हामी स्वयम् बुझ्न नसक्ने भइसक्दा रहेछौँ ।" भाव-चिन्तन र अभिव्यक्तिकलाको शिखर हुन् उनी । आफ्नैपनको बौद्धिक आरोहणले सार्थक बनेका निबन्धहरुका स्रष्टा । उनलाई मानिसको जीवन एब्स्ट्रयाक्ट लाग्छ । पत्रपत्रभित्र गुम्स्याइएका विकृतिहरुको विराटरुप मानिस । उनले एउटै कुरा बुझेका छन्- "…सिर्फ एक गुण आजको मानिसले हराएको छ र त्यो हो मानिसको गुण ! त्यो सच्चा मानिस जो सिर्फ छ र मरुन्जेल मानिस नै भइरहन्छ र मानिसकै रुपमा मर्दछ ।"

शङ्कर लामिछानेले आफ्ना जीवनका अनेक बल-दुर्वल पक्षहरुलाई स्वीकारे । यो क्षमता असामान्य क्षमता हो खासगरी त्यस्ता व्यक्तिको लागि जो समाजमा स्थापित भइसकेको छ र ऊ त्यो स्थानबाट झरुँला बनेर अनेक असत्यको खेती गरिरहन्छ ।

प्रायः भविष्यले विवश बनाइरहँदोरहेछ मानिसलाई । विगतमा उनले लेखे- "…भोटमा जस्तै यहाँ स्वास्नीमानिसको कमी भइदिएको भए…। आमा ! यो पोइ त भएन…हाम्रो टाउकोमा जब सौतेलो पथ्र्यो…स्त्रीको मूल्य हामी जान्ने थियौँ ।" उत्तम कुँवरको प्रश्नको जवाफमा उनले वर्तमानमा भने- "न्यायसङ्गत रुपमा त निश्चय पनि रत्ना कान्छी हुन् ।" र भविष्यमा जीवनको जम्मा तीन वर्ष बाँकी हुँदा गरे- सुवर्ण श्रेष्ठसित दोस्रो विवाह । यसरी अविवाहित युवा जोशमा बहुविवाह प्रथाको विरोध गरी हाम्रो समाजमा नारीको मूल्य स्थापना चाहने समाज परिवर्तनका अग्रगामी निबन्धकारले अन्ततः आफ्नै सिद्धान्तको विपर्यासमा जीवन भोग्न वाध्य भए ।

यस्तै विपर्यास उनका लेखनमा शौख र रुचिका सन्दर्भमा पनि देखिएको उनी स्वीकार्छन्- "मैले प्रारम्भमा भनेजस्तो साहित्यलाई व्यवसाय नमान्ने व्यक्तिले जीवनको सबभन्दा ठूलो विरोधाभास अपनाई जीवन-यापनका लागि रचेका सङ्ग्रह नै यो पुस्तक हो । पुरानो शङ्कर लामिछाने र यो नवीन शङ्कर लामिछानेमा जस्तै विरोधाभास भए पनि व्यक्ति उही हो जीवन उही हो आंशिक निबन्धका पूर्ण तत्व उही हो" लामिछाने- गोधूलि संसार,  २०२६

हरेक मान्छेको जीवनमा कुनै न कुनै प्रसङ्ग आफ्नै दृष्टिकोणको विपर्यासमा उभिएको हुन्छ । संभवतः यो मानिसको जीवनभित्र कै एउटा अर्को परिचय हो आफूले चाहनु वा नचाहनुको सीमाबाहिर उभिएको परिचय ।


सन्दर्भ ग्रन्थ सूची:
भट्टराई, गोविन्दप्रसाद : २०६५ उत्तर आधुनिक विमर्श, प्रका.- मोडर्न बुक्स ।
लामिछाने, शङ्कर २०२६ : गोधूलि संसार, प्रका.-साझा प्रकाशन ।
लामिछाने, शङ्कर २०५८ : बिम्ब-प्रतिबिम्ब, प्रका.- भावक अभियान नेपाल ।
सायमी, प्रकाश (सम्पा.) : २०६३ शङ्कर स्मृति, प्रका.- पैरवी बुक्स एण्ड स्टेशनरी सेन्टर ।
हृदयचन्द्रिसंह प्रधान (सम्पा) : २००४ साहित्यस्रोत ।







Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |