हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

धर्म र धारणा

भुवनेश्वर भण्डारी, (हाल: अमेरिका)

विश्वमा उत्पन्न भएका जंगम (हिनडुल गर्ने) प्राणिहरुमा विविधता पाइन्छ । शरीरको बनोट आहार-विहार, क्रियाकलाप, बसाई, हिडाई, अनुहार, रंग, वर्ण जस्ता कुरा सवैको एकैनास हुदैन । कीट पतंग पंक्षी पशुहरु भन्दा मानिस फरक प्राणि हो, त्यो फरक पार्ने प्रमुख तत्व विवेक वा धर्म हो । समाज शास्त्रमा भनिएको छः "आहार निन्द्रा भय मैथुनश्च एतत्समानो पशुभि नराणाम् ॥ धर्मो हितेषोंमधिको विशेष धर्मेण हीना पशुभिः समाना ।" अर्थात् जीवित प्राणिहरुमा खानु सवैले अनिवार्य छ, सुत्नु सवैका लागि समान छ, डर त्राश सवैमा वरावर हुन्छ, सन्तानको उत्पादन सवैबाट हुन्छ । तर अरु प्राणिबाट मानिसलाई फरक पार्ने एकमात्र विशेष तत्व विवेक हो । विवेक नभएको मानिसमा धर्म हुँदैन । धर्म विना मानिस मानव बन्न सक्दैन । धर्म नभएको मानिस र पशु समान हुन्छ । तसर्थ धार्मिक तथा विवेकशील व्यक्ति वन्नका लागि पालना गर्नै पर्ने नियमहरुको संगालोलाई नीति भनिन्छ । आफ्नो समाजले मानेको, अघि देखि चलिआएको नीतिको पालना गर्नुलाई धर्म भनिन्छ । धर्म समाजैपिच्छेका फरकफरक छन् । धेरै समाजले मानेको धर्म महत्वपूर्ण हुन्छ भने सानु समुहले मानेको धर्म कम महत्वको मानिएला तर धर्मको अर्थमा फरक आउँदैन ।

धर्मको लक्ष्य सवैलाई विवेकशील समाज बनाउने हो । धेरै थरिको समाज भएको देशमा धेरै धर्महरु मानिएका हुन्छन् । त्यस्तो देशमा एउटा मात्र धर्म मान्न राज्यले दवाव दिनु मनासिव हुँदैन । नेपाल जस्तो बहुभाषी, बहुसाँस्कृतिक र बहुधार्मिक समाजले मान्यता पाएको देशमा धर्म निरपेक्ष्य हुनु नै वेस हुन्छ । धर्म परिवर्तन गर्नु मनासिव हुँदैन । अर्काले मानेको धर्म कदापि राम्रो हुन सक्दैन । पर धर्म भन्दा आफ्नो धर्म दोषयुक्त भएपनि आफ्नो धर्मनै राम्रो मान्नु पर्दछ किनकि धर्ममा रहेका कस्मलहरु (खराबपन) ह्टाएपछि स्वच्छ बन्दछ । गीताको तेस्रो अध्यायको ३५ सौँ श्लोकमा भनिएको छ: "श्रेयान्स्वधर्मो विगुणःपरधर्मात्स्वनुष्ठितात् ॥ स्वधर्मे निधनंम् श्रेयःपरधर्मो भयावहः॥" अर्थात् अर्काको धर्म डरलाग्दो हुन्छ । आफनै धर्ममा रहेर चोला बदल्नु बेश हुन्छ तर धर्म बदल्नु राम्रो हुँदैन । धर्मको लक्ष्य सवै धर्मको एकै हुन्छ । यो धर्म राम्रो या त्यो नराम्रो भन्ने धर्मको खोल ओढेर आफ्नो स्वार्थ सिद्धगर्न खोज्ने आडम्वरीहरु संग सधै होसियार वन्नु पर्छ । धर्म सधै स्वच्छ हुन्छ । लक्ष्य सवै धर्मको शान्ति, सुख तथा आनन्दप्राप्त गर्दै जीवनोपरान्त मोक्ष प्राप्त गर्नु हो । धर्मका नाममा साम्प्रदायिक झगडा गर्नु, छुवाछुतको तगारो हाल्नु, जात विजात छुट्याउनु, ठूलो सानुको गणना गर्नु आदि सवै कुराहरु तिनै धार्मिक दलालहरुको कुकर्मको परिणाम हो । यी दलालहरुबाट हाम्रो समाजलाई बचाउनु हरेक व्यत्तिको कर्तब्य हुनआएको छ र हरेक राष्ट्रको दायित्व पनि थपिएको छ । धर्म पानी जस्तो सफा छ तर धर्मावलम्बीहरुले विविध रंगका वोतलहरु वनेर विश्वमै धार्मिक आतंक मच्चाएका छन् । कुनै एक धर्ममा निश्चिन्त भएर बस्नुनै मानवजातिका लागि महत्वपूर्ण कुरा हो । धर्मले मानिसलाई निश्चित दिशा तर्फ डोर्याउँछ । एकै समाजमा आबद्ध भएर बस्न धर्मले प्रेरणा दिन्छ । धर्मरुपी धागोमा व्यक्तिरुपी फूलका थुंगाहरु उनेर माला सजाएको जस्तै धर्मले समाजमा रहेका प्रत्येक व्यक्तिहरुलाई एक अर्काका समास्याहरुका बावजुद एकै ठाउँमा आबद्ध हुन प्रेरणा गर्दछ । समाजको कल्याण गर्ने एकमात्र साधन धर्म हो । भनिएको छ: "यतो धर्म ततो जय।" अर्थात् जहाँ धर्म छ त्यहाँ विजय हुन्छ । धर्ममा आस्था नभएको व्यक्ति निरंकुश हात्ती सरह हुन्छ । त्यस्ता व्यक्तिहरुको समाजमा बाहुल्यता भयो भने चलेको सामाजिक संरचना पनि ध्वस्त हुन्छ । मानब समाज दानबको रुपमा परिणत हुन्छ ।

तसर्थ, हरेक ब्यक्ति तथा हरेक समाजमा धर्म प्रति गहिरो आस्था रहनु नै मानब जातिका लागि कल्याण हुन्छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |