हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

दलित साहित्यको सौन्दर्य

ध्रुवसत्य, (काठमाडौं)

नेपाल दलित साहित्य तथा सँस्कृति प्रतिष्ठानको चौथो बृहत राष्ट्रिय सम्मेलन यही मिति २०६६ बैशाख १ र २ गते काठमाण्डौमा सम्पन्न भयो । निनु चापागाईंद्वारा लिखित 'नेपालीमा दलित साहित्य र समस्या' कार्यपत्र प्रस्तुत तथा दलितसाहित्यको आफ्नै सौन्दर्यशास्त्रको आवश्यकतामाथि छलफल नै सम्मेलनको सार थियो । कार्यपत्रमा उल्लेखित 'नेपालमा दलितसाहित्यको मूल्याङ्कन पारम्परिक मानदण्डहरुका आधारमा हुन सक्तैन र पारम्परिक सौन्दर्यशास्त्रका मानदण्डहरुभन्दा भिन्न दलितसाहित्यका निम्ति अलग्गै खालको सौन्दर्यशास्त्रको आवश्यकता पर्दछ भन्ने धारणाले टाउको उठाईसकेको छैन' भन्ने अँशले अब नेपाली दलितसाहित्यको आफ्नै सौन्दर्यशास्त्रको आवश्यकतामाथि बहस तथा अन्तरकिरया हुनु पर्ने तर्फ झक्झकाएको छ ।

कार्यपत्रमा भारतीय दलितसाहित्य समालोचनाको विशेष सन्दर्भ विशेषढँगले समेटिएको छ । नेपाली दलित र भारतीय दलितको प्रकृति र पीडा फरक छैन । भारतमा महात्मा गान्धीका हरिजन दलितहरु र नेपालमा महाकविका दिलका ठूला दलितहरुको अझैसम्म पनि आवाज एउटै छ- मानिसको जात मानिस नै हो ।
कार्यपत्रमा उल्लेखित भारतीय लेखक डा. एन. सिँहको 'दलितसाहित्यको शब्दसौन्दर्य प्रहारमा हुन्छ सम्मोहनमा होइन' भन्ने विचारसँग जो कोही साहित्यिक विवेक र संवेदना सहमत भएर मात्र दलितसाहित्यको सौन्दर्यमाथि वहस वा तर्क गरिएला भन्ने मेरो विश्वास रहेको छ । दलितसाहित्य दलित मूक्तिको गुलाब हो र हुनुपर्छ । गुलाबको फूलमा काँडा हुनु स्वभाविकै हो । खासगरी दलित समस्या वर्गीय मूक्तिको सवाल हो भन्ने समग्र ठम्याईले नै भौतिकवादको बगैंचामा मात्र मूक्तिको फूल फूल्छ र फूल्नुपर्छ भन्ने दलितसाहित्यको सार भएको छ । अर्कोतर्फ प्रष्ट छ दलित जातीय समस्या हिन्दुधर्मसँग सम्बन्धित भएकोले देवतावादीहरुलाई दलितसाहित्य प्रहार लाग्दछ ।

दलितसाहित्यको आफ्नै सौन्दर्य भएको सत्य न्यूटनले पृव्थीको गुरुत्वाकर्षण शक्ति पत्ता लगाउनु अगावै पनि पृथ्वीमा गुरुत्वाकर्षण शक्ति भए जस्तै सत्य हो । प्रत्येक मानवले स्वतन्त्रता चाहन्छ । मूक्ति चाहन्छ । कुनै पनि किसिमको दासता मानवका लागि स्वीकार्य छैन । हो दलितसाहित्य दलित मूक्तिको फूल हो । मूक्तिको फूल आफैमा सुन्दर हुन्छ । सुन्दर फूलका लागि भने उर्वर माटो र कुशल माली हुनुपर्ने पकड पक्ष त छँदैछ । सुन्दरताको कुरा गर्दा उपमाको रुपमा फूल आँउछ ।

फूलजस्ती मेरी माया !
फूल जस्तै यौवन !!
फूल जस्तै सुन्दर जीवन !!!

पारिजातको 'शिरीषको फूल' उपन्यासमा एउटा प्रसंग छ "…त्यसपछि फूलबाट आँखा हटाएर मलाई हेर्दै भनी 'फूलबाट तपाईं कति चाँडै जीवनको थोत्रो दर्शनतिर भाग्नु भयो !' मैले निधारमा गाँठो पारें ऊ भन्दै गई 'आफ्नो निम्ति फूल्नु आफ्नै निम्ति फक्रनु झर्नु जस्तो एउटा बाध्यतालाई स्वीकार गर्नको निम्ति भँवरासँग लाप्पा खेल्नैपर्छ झर्न त पर्छ-पर्छ भने भँवराको चोट सहेरै किन झर्ने ! आफू मात्र झर्ने आफ्नू ईच्छाले झर्ने ।' …मेरो रहर मेटिएको थिएन मैलै भने 'त्यो त फूलको कुरा भयो ।'
'हो फूललाई जीवन सम्झनेहरुका कुरा ।'

मानिसले किन र कहिलेदेखि जीवनलाई फूलसँग दाँजेर हेर्न थाल्यो यस जिज्ञासाको वैज्ञानिक खोज गर्नुभन्दा कल्पना गर्नु नै जीवनको निकट हुनु हो । यही कल्पनाको उपज कविता हो । यही कल्पनाको समय कवि-समय हो । यही कवि-समयमा कुनै भ्रान्तिको भूलमा नभूलेर यस परिवर्तनशील प्रकृतिको हर कुरामा क्रान्तिको फूल देख्नु र अँध्यारोको दियोलाई जस्तै क्रान्तिको दियोलाई जलाएर देखाउनु दलितसाहित्य हो । दलितसाहित्य एकैचोटी शब्द र आवाजको आतशबाजी हो । मानवतावादी र समाजवादी दृष्टि हुनेले यो आतशबाजीको सौन्दर्यलाई देख्न सक्छ नहुनेले आवाजलाई सुन्न सक्छ ।

निश्चय नै दलितसाहित्यमा सुन्दरता मात्र देख्नु दलित दृष्टिकोण हुन जान्छ । वर्गीय विचार हुन्छ । नहोस् पनि कसरी दलितसाहित्यको अन्तिम लक्ष्य र सत्य भनेको समतामूलक समाज अथवा समाजवाद हो र हुनैपर्छ ।

अझै पनि नेपालको साहित्यको आँगनमा अभिजातवाद र आधुनिकतावाद अग्लो भएर उभिएको छ । पूँजीवादको पर्खालमा टेकेको यो अभिजातवाद अग्लो देखिनु स्वभाविकै हो । सदियौंदेखि अभिजातवर्ग अर्थात् सामन्तहरुद्वारा शोषित पीडित दलितहरुको प्रहारको केन्द्रबिन्दु पूँजीवादकै पर्खाल हुनु पनि स्वभाविकै मान्नुपर्छ । आधुनिकीकरणसँगै पूँजीवादको प्रगति भएर धनी झन् धनी र गरीब झन्झन् गरीब बन्दै जानु र पूँजीवादकै पक्ष-पोषणमा साहित्य आउनु पनि अस्वभाविक थिएन । चरम गरीबीमाथि अझ जातका आधारमा पीडित दलितहरुको साहित्यले के चाहन्छ सोझो छ-दलितसाहित्य ले समाज बदल्न चाहन्छ समतामूलक समाज चाहन्छ ।

अँध्यारोमा विजुली चम्किएर आफ्नै हजुरबाको तस्विरलाई भूत ठानेर तर्सिए जस्तै सँसारमै अभिजातवर्ग समतामूलक समाज समाजवाद साम्यवाद यी शब्द देखि नै तर्सन्छ । उनीहरुले यी शब्दलाई एकै शब्दमा साम्यवाद भनेर सम्झन्छन् । उनीहरुको बुझाईमा साम्यवाद भनेको सबै मानव सबै प्रकारले समान हुनु हो । उनीहरुले अझबढि के बुझेका छन् भने साम्यवादको शिशु जन्मन आदिम भाले आफूहरु पोथी भएर दलित र सर्वहारालाई भाले बन्न दिनुपर्छ । त्यसैले साम्यवाद एउटा अजातगर्भ हो जसको जन्म असम्भव छ र तुल्याईनुपर्छ । यसरी पुँजीवादको प्रारम्भ देखि नै अभिजातवर्गले अरुबढि बुझेको आजसम्मको अवस्थामा प्रगतिशीलहरु सम्पूर्णले कला-साहित्य तथा आफ्नो अभिव्यक्तिको जुनसुकै माध्यमबाट यो व्यक्त गर्न जरुरी कि- वास्तवममै दलित र सर्वहारावर्गले चाहेको समतामूलक समाज अथवा समाजवाद एउटा यस्तो फूलबारी हो जहाँ सबै प्रकारका फूलहरु फूल्नको लागि मल जल र वातावरण समान किसिमको हुनेछ । त्यहाँ सबै समान अर्थात् एकै प्रकारका फूलहरुको सम्भव पनि छैन र जुन सुन्दर पनि लाग्ने छैन ।

हामी सुन्दरता चाहन्छौ । आइन्स्टाइनको सापेक्षताको सिद्धान्तपछि दुनिया कै दृष्टि बद्लियो । सुन्दर र कुरुप सत्य र भ्रम अर्थात् सापेक्षित सँसार ! संसार यसैले सुन्दर छ कि यो कुरुप पनि छ । संसारमा भ्रम छ र त सत्य पनि छ ।
के हामीले धर्तीमा बाँचिरहेको जीवन सत्य होइन
के संसारका सबै मानवहरुले बाँच्न पाउने अधिकार समान हुनु सौन्दर्य होइन
हो आजको साहित्य सत्य र सौन्दर्यको पक्षपाती हुनै पर्दछ ।

मैले डा. एन. सिँहको 'दलितसाहित्यको शब्दसौन्दर्य प्रहारमा हुन्छ सम्मोहनमा होइन' भन्ने विचारलाई केन्द्रबिन्दु बनाएर दलितसाहित्यको सौन्दर्यको बारेमा आफ्नो बुझाई व्यक्त गर्न यो लेख लेख्दैछु । यहाँनेर डा. एन. सिँहको विचारलाई गाईको निबन्धभित्रको वाक्यलाई जस्तो सोझो अर्थमा बुझियो भने यो लेख मात्र नभएर मेरो समग्र सोच र दृष्टिकोण नै कुरुप हुन पुग्नेछ । झट्ट हेर्दा केही र कोहीमाथिको प्रहार कुरुप कार्य नै हो । तर सम्पत्ति वा अँशको लागि आफ्नै आमाको हत्या गर्न तम्सिएको कपुतलाई सारा समाजले नै प्रहार गर्दछ भने पनि सुन्दर नै लाग्दछ । अर्कोतिर एउटा व्यक्तिको विरुद्धमा समाज नै लागेको सत्य थाहा नभएको तेस्रो व्यक्तिलाई यही कुरुप कार्य लाग्दछ । हो यहींनेर सत्य नै सुन्दर छ र सुन्दर नै सत्य छ ।

अब बाँकी रह्यो प्रहारको पवित्र परिभाषा । सबै प्रकारले प्रहार काँडा नै हो । काँडा निकाल्ने काँडा ! साहित्यको सियो वा प्रहारले समाजमा बिझेको-बल्झेको विकृति विसंगति र विभ्रमको काँडालाई निकाल्ने हो । नयाँ घाउ पार्ने होइन । साहित्य समाजभन्दा पर छैन र मानवताभन्दामाथि पनि छैन । साहित्यले मानव र समाजमाथि स्नेह राख्दैन भने त्यो साहित्य के साहित्य अर्कोतर्फ कला के हो मधुरिमा कला केन्द्रको आयोजनामा हुने 'सिर्जना चौतारी' २०६५ माघ १७ को बान्की बसाईंमा कवि श्यामलले भन्नु भएथ्यो - 'कला मेरी आमाको नाम हो ।'

दलितसाहित्यमा प्रहार नै प्रतिभा हो कलात्मक अभिव्यक्तिको आवश्यकता नै पर्दैन भन्नु साहित्यकै अपमान हुन पुग्छ । तरवारको कला जानेकोले नै तरवार चलाउँदा सुन्दर लाग्छ भने कलमको कला जानेकोले नै कलम चलाउँदाको सौन्दर्य बेग्लै हुन्छ । आज हामी दलितसाहित्यको आफ्नै सौन्दर्यशास्त्रको आवश्यकतामाथि अन्तरक्रियाको आरम्भमा छौं । नेपाली दलितसाहित्यको सौन्दर्यशास्त्रका तत्वहरु के के हुन सक्छन यो राष्ट्रिय बहसको विषय हो । यस सन्दर्भमा दलितमुखी सम्पूर्ण साहित्यकारहरुबाट विचारहरु आउनेमा म विश्वस्त छु ।

अन्तमा एउटा जिज्ञासा उठ्ला- के समतामूलक समाजको स्थापनापछि दलितसाहित्यको सौन्दर्य हराएर जानेछ ? यस्तो नहोला ।
के आज हामीले हाम्रो पुर्खाले शत्रुलाई प्रहार गर्ने ढुङ्गाको आदिम अस्त्र पायौं भने त्यसमा सुन्दरता देख्दैनौ ?
के हामीले आफ्नो पे्रमी वा प्रेमिकालाई पाइसकेपछि उनलाई पाउनु पूर्व लेखेको प्रेम-पत्रमा सौन्दर्य पाउँदैनौ ?
सदा सबै साहित्यले कपुतलाई सपुत बनाउनका लागि प्रहार गरोस् । मानवता र समतामूलक समाजका लागि प्रहार गरोस् ।

जय सत्यवाद !
जय सौन्दर्यवाद !!

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |