हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

के स्वर्ग र नर्क साँच्चै छ त ?

सिर्जना भण्डारी, (आर्लिंगटन, भर्जिनिया)

प्राय सबै धर्मका धर्मशास्त्रहरुमा इश्वर र तीनलोकको उल्लेख गरिएको पाइन्छ । यि तीनलोकहरुलाई स्वर्गलोक, मर्त्यलोक र पाताललोकका रुपमा बुझ्ने गरेको पाइन्छ । मर्त्यलोक पृथ्वीलाई भन्ने गरिन्छ जहाँ सम्पूर्ण प्राणी तथा वनस्पतिका जाती/प्रजातीहरु जीवन यापन गर्ने गर्दछन् । बिभिन्न धर्मशास्त्रहरुका अनुसार मर्त्यलोकको जीवन भोगाइहरुमा राम्रो तथा असल काम गर्नेहरु मृत्यूपश्चात स्वर्ग जान्छन् र नराम्रो तथा खराब काम गर्नेहरु नर्क जान्छन् भनिएको पाइन्छ । धार्मिक दृष्टिकोण अनुसार यि आस्थाहरुमा विश्वास गरिने भए पनि आजको विज्ञान र प्रविधिको यूगमा कोही पनि स्वर्ग र नर्क साच्चि नै छ भनेर मान्न तयार छैन । स्वर्ग र नर्कको अनुभूति कसैलाई छैन किनकी यो त मृत्यूपश्चात भोग्नु पर्ने अवस्था हो ।

तर केही चमत्कारीक घटनाहरु र भगवानका बिभिन्न चमत्कारहरुको अबलोकन गर्दा मर्त्यलोक जस्तै साँच्चै स्वर्ग र नर्कलोक पनि रहेछ । विषयवस्तुमा प्रवेश गर्नु अघि म यहाँ सानो प्रसङ्ग जोड्न चाहन्छु - एकदिन म पुस्तक पसलमा पुस्तक हेर्दै थिएँ । अचानक एक निग्रो वर्गका भलाद्मी अपरिचित ब्यक्तिले मेरो अगाडिको पुस्तक हातमा उठाउँदै सोधे 'ह्याव यू रेड दिस बुक' (तिमीले यो पुस्तक पढेकी छौ) 'नो' मैले छोटो उत्तर दिएँ र नपढेको बताएँ । उसले अचम्म मान्दै भन्यो 'यू मिस ग्रेट नलेज, दिस बुक ह्याज ग्रेट पावर टु चेन्ज आइडियोलोजी अफ लाइफ' (तिमीले महत्वपूर्ण ज्ञान लिन छुटाइछौ, यो किताबमा जीवन दर्शन बद्ल्ने ठूलो शक्ती छ) 'एभ्रीबडी मस्ट रीड दिस बुकु' (यो हरेकले पढ्नै पर्ने पुस्तक हो)। उसको कुराले मेरो मन छोयो र पुस्तक तिर नजर बढाएँ । पुस्तकको नाम थियो हेभेन (स्वर्ग) अनि त्यहीँनेर अर्को किताब पनि थियो हेल (नर्क) ।

यदि कुनै पनि ब्यक्ति धर्ममा अलिकति मात्र पनि झुकाउ राख्छ भने उसलाई स्वर्गलोक, मर्त्यलोक र पाताललोक के हो पक्कै जान्ने इच्छा हुन्छ । अझ झन कसैले जोड दिएर सिफारीस नै गरेपछि त ध्यान नखिचीने कुरै भएन ।

यो प्रसङ्ग हो अमेरीकी इसाई महिला लेखिका मेरी ब्याक्सटर र उनले लेखेका पुस्तक 'ए डिभाइन रेभिलेसन अफ हेल' र 'ए डिभाइन रेभिलेसन अफ हेभेन'। उनको इसाई धर्म सम्बधी अन्य पुस्तकहरु पनि थुप्रै रहेछन् तर खासगरी यि दुई पुस्तक चाहीं बहुचर्चित रहेछन् । पुस्तकहरु पहिलो पटक सन् १९९७ र १९९८ मा प्रकाशित भएका रहेछन् । पुस्तक मै उल्लेख गरे अनुसार अहिले सम्म २ मिलियन भन्दा बढि कपी विक्री भैसकेका रहेछन् र त्यति नै पिन्ट अर्डर गरिएको रहेछ । इसाईहरु यि पुस्तकहरुलाई निकै पवित्र मान्दा रहेछन् । यि पुस्तकहरुमा लेखिकाले आफूलाई भगवान जिसस ले उनको सन्देश वाहक (गड म्यासेन्जर) बन्न आग्रह गरेको र आफ्ना पाँचै ज्ञान-इन्दीयहरु (आँखा, कान, छाला, नाक, जिब्रो) पूर्ण रुपमा क्रियाशिल भएकै अवस्थामा भगवानले पहिले नर्क र पछि स्वर्गको सयर गराएर स्वर्ग र नर्कमा देखे-भोगेका सम्पूर्ण कियाकलापहरु मर्त्यलोकका मानिसहरुलाई बताउ तथा दर्शन गराउ भनी पुन: पृथ्वीमा ल्याएर छाडिदिएको घटना बहुत चमतकारीक ढङ्गबाट चर्चा गरेकी छिन् ।

लेखिका बारे:

लेखिका हाल ५२ वर्षकी छिन्, उनी चर्चकी ठूलो पूरोहित (मिनिस्टर) हुन्, इसाई धर्मावलम्बीहरु उनलाई भगवानको रुप र देबदुत मान्दा रहेछन् । उनले जिससको यो सन्देश विश्वका थुप्रै मुलुकहरुमा गएर फिजाएकी पनि रहीछन् । उनका अनुसार अर्थात पुस्तकमा उल्लेख भए अनुसार सन् १९७६ मा उनी १९ वर्षकी छँदा भगवानको प्रार्थना गरिरहेको बखत जिससले दर्शन दिनु भएको र त्यस पछि ति घटनाक्रमहरु भएका रहेछन् । उनले हेभेन (स्वर्ग) पुस्तकमा स्वर्गमा आफूले देखेका सम्पूर्ण घटनाहरु निकै आकर्षक र चमत्कारीक ढङ्गबाट प्रस्तुत गरेकी छिन् र हेल (नर्क) पुस्तकमा नर्कमा आफूले देखेका सम्पूर्ण घटनाहरु आगैं सिरीङ्ग हुने गरी बिस्तृत रुपमा वर्णन उतारेकी छिन् । साच्चै जीवन र दर्शन जान्न यि पढ्नै पर्ने पुस्तक रहेछन्, यहाँहरुले पनि पढ्ने प्रयास गर्नु होला - यि लिङ्कमा पुस्तकबारे सामान्य जानकारी लिन सक्नु हुन्छ ।

Heaven http://books.google.com/books
Hell  http://books.google.com/books



पुस्तक बारे

हेल (नर्क) - लेखिकाकै शब्दमा
मार्च १९७६ म आफ्नो पूजा कक्षमा भगवानको आराधना गरीरहेकी थिएँ । त्यहीँ मलाई भगवान जिससले दर्शन दिनुभयो, भगवान प्रकट हुनु हुँदा कक्षमा अचानक भयानक ज्योती प्रकट भयो र मेरा भावनाहरुमा मिठा-मिठा र अचम्म लाग्दा भावहरु अनुभूत भए । यो ज्योती इन्द्रेनी जस्तो वहुरङ्गी थियो र एक आपसमा घुमीरहेको थियो । यत्तिकैमा भगवानको वाणी हुन थाल्यो । भगवानले भन्नु भयो - 'म जिसस क्राइष्ट हुँ, म तिमीलाई स्वर्ग र नर्कको सत्यताबारे जानकारी दिन र पृथ्वीका जनताहरुलाई घोर पापबाट मुक्त गर्नका लागि दैवीय शक्ती र सत्यताको खुलासा गर्न मेरो सन्देश वाहक बनाउन चाहन्छु, सत्य यो हो की -नर्क र स्वर्ग वास्तवमै छन् र मेरो फैसला तथा निर्णयहरु सत्य हुन्छन् । के तिमी मलाई सहयोग गर्न चाहन्छौ ?' मैले आफूलाई जिसस सामु समर्पण गरें । भगवानले पुनः भन्नु भयो 'सर्वप्रथम म तिम्रो आत्मालाई नर्कको सयर गराउनेछु र त्यहाँ के के हुन्छ, किन हुन्छ त्यो सबै वयान गर्नेछु र त्यहाँ देखे भोगेका सबै घटनाहरु समेटेर तिमीले पुस्तक तयार गरी पृथ्वीका जनताहरुलाई नर्क, स्वर्ग र मेरो शक्तीबारे खुलासा गर्नेछौ ।'

त्यसपछि भगवानले मेरो आत्मा शरिरबाट बाहिर निकाल्नु भयो, म मेरो कोठाबाट बाहिर निस्कीएँ र भगवान संग आकाशमा माथि माथि उड्न थालें । म आकाशबाटै मेरो श्रीमान र बालबच्चा मस्तले सुतीरहेको देख्नसक्थें । मलाई यस्तो लाग्यो, म मरीसकें मेरो शरिर पृथ्वी मै छ तर आत्मा भगवानसंग आकाशमा उडीरहेको छ । भगवानले नडराउ भन्दै मलाई छुनु भएको अनुभूति गरें । मैले यतिबेला मेरो परिवारको बारेमा सोचीरहेकी थिएँ । भगवान मेरो विचार आफैं बुझ्न सक्नुहुन्थ्यो र घरी घरी मलाई नडराउ भन्नु हुन्थ्यो ।

हामी माथि माथि शुन्य क्षितिजमा उड्दै गयौं, पृथ्वी निकै तल देखिन्थ्यो । धेरै माथि पुगे पछि मैल निकै फोहोरी देखिने ठूलाठूला सोली आकारका ठाउँहरु देखें र ति ठाउँहरुका बारेमा भगवानलाई सोधें । भगवानले 'यिनै हुन् नर्कका ढोका' भन्नु भयो । 'अब हामी यहीँबाट नर्क प्रवेश गर्नेछौं' भगवानले भन्नु भयो । यस्ता काला र अध्यारा ढुङ्गाहरुको निकै लामो दुरी पार गरे पछि हामी नर्कको वास्तविक ठाउँमा पुग्यौं । नर्कभित्र जाने क्रममा बाटामा ठुलठुला भिमकाय चमेरा, ड्रागेन र आकार नै नछुट्छीएका जन्तुहरुले हामीलाई आक्रमण गर्ने प्रयास गरे तर भगवानको शक्तीका कारण तिनीहरुले हामीलाई छुन समेत सकेनन् ।

हामी नर्कमा पुग्यौं, मैले त्यहाँ अन्धकार, चिच्चाहट, हारगुहार, भयानक सिनोको गन्ध, शैतानहरुले भगवान र मलाई आक्रमण गर्न खोज्ने तर असफल हुने दृश्यहरु देखें र सुनें । यस्ता घटनाहरु मध्य कतिपय घटनाहरु मैले बुझिन र भगवानलाई सोधें, ति मध्य भगवानले केहीका जवाफ दिनुभयो र केहीका दिनु भएन । मैले मनमनै डराउँदै र छक्क पर्दै अनुभूत गरें नर्क साँच्चै हुँदो रहेछ अनि कति कष्टप्रद र भयानक हे भगवान! यि मान्छेहरुले किन यस्तो दुःख सहनु परेको ? म मनमनै चिच्चाएँ र डराएँ । त्यहाँ ठूला ठूला कोइला र आगोका कुवा थिए, ति कुवाका माझमा शरिरको मासु सबै डढिसकेर करङ्गको विचमा मैलो रंगको आत्मा र शरीरको कंकाल भएका आत्माहरु चित्कार गरिरहेका थिए, भगवानलाई बचाउ बचाउ भन्दै गुहारीरहेका थिए, आफ्नो पापको प्रायश्चीत गने्र अब कहिल्यै पाप नगर्ने र पृथ्वीमा गएर नर्कको वास्तविक्ता र प्रभुको शक्तीबारे जनचेतना फैलाउने प्रण गरीरहेका थिए । यस्तो चित्कार सुनेर भगवान पनि निकै दुःखी हुनुहुन्थ्यो र घरी घरी आँशु खसालेर नै रुनुहुन्थ्यो । जव म यस्ता चित्कारहरु सुनेर होस् हवास गुमाउथेँ, भगवान मलाई स्पर्स गर्दै नडराउ भन्दै मेरो शरिर, आत्मा र दिमागमा शक्ती प्रदान गर्नुहुन्थ्यो । यस्ता आत्माहरु जति भेट्दै गयो झन झन कठोर यातना सहीरहेका देखिन्थे । कोहीका जिउभरी स्याउँ-स्याउँ किरा परेका, कोही आगोको ज्वालामा सेकाइरहेका, कोही भुङ्ग्रोमा लडिरहेका, कतिको मासु जल्दै गरेको र बोसो पग्लिएर तेल निस्कीरहेको, कति कंकालमात्र हल्लाएर मुक्तीको याचना गरीरहेका, कति ५० औं बर्ष देखि भुङ्ग्रोको आगोमा सुतीरहेका, कसैको मांसपिन्ड सबै जलेको तर कपडा नजलेको, कोही आगोमा सेकीइरहेका तर आगोले तिनलाई जलाउन नसकेको, कोही शरीरमा किरा र आगो संगसंगै खोपीरहेका... आदि । कयौं आत्माहरु संग त भगवानले दोहोरो वातचित पनि गर्नुभयो, कसैलाई भन्नुहुन्थ्यो 'मैले तिमीलाई धेरै पटक मौका दिएको थिएँ तर तिमी सुध्रीएनौ' कसैलाई 'अब तिम्रो आत्मा हराइसक्यो तिम्रा लागि यो सजाय तय भैसक्यो' भन्नुहुन्थ्यो ,कसैलाई 'अब तिम्रो आत्माले अर्को रुप लिन सक्दैन मलाई माफ गर' भन्नुहुन्थ्यो । त्यहाँको चिच्चाहट, दुर्गन्ध र त्रासदीले म कति पटक विरामी भएँ तर मलाई भगवानले शक्ती प्रदान गर्नुहुन्थ्यो । यसरी हामीले पुरै ३० दिन ३० रात नर्कको दुर्दसा हेर्यौं, कतिपय ठाउँमा त मेरा परिवार साथी र छरछिमेकलाई यस्तो ठाउँमा आउनबाट बचाउनेछु भन्ने सोच्दै हेरिरहेको हुन्थें, भगवानले मेरो सोचाइ बुझेर तिमीले यस्तो दुर्दसाबाट सम्पूर्ण पृथ्वीबासीलाई नै बचाउनु पर्छ भन्नुहुन्थ्यो... । कृपया यस भन्दा अगाडि आफैं पुस्तक पढ्नुहोला ।


हेभेन (स्वर्ग) - लेखिकाकै शब्दमा: नर्कको भ्रमण पुरा भए पछि मलाई जिससले अब स्वर्ग जाउँ भन्नु भयो । यति भन्ने वित्तिकै म स्वर्गमा पुगें । स्वर्गको गेटमा देवदुतहरु पालेका रुपमा सुरक्षाका लागि वसीरहेका थिए, उनीहरुले मेरो बारेमा सोधे र यथार्थ थाहा पाए मलाई भित्र प्रवेश गराइयो । त्यो ठाउँ पृथ्वी जस्तै खोलानाला, वनस्पति, चट्टान, पहाड भएको अति सुन्दर थियो । मलाई स्वर्गमा भएका सम्पूर्ण चिजहरु र त्यहाँ हुने कि्रयाकलापहरु सबै विस्तारमा देखाईयो र वताइयो । स्वर्ग तिन वटा हुँदारहेछन्: पहिलो- पृथ्वी माथिको वायूमण्डल जहाँ हावा वहन्छ चराहरु उड्छन्, दोस्रो- अन्तरिक्ष जहाँ हावा छैन केवल शुन्य छ, तेस्रो- ग्रह, उपग्रह, तारा, आकाश गंगा भएको हाम्रो व्रम्हान्ड । हो यही व्रम्हान्ड चाहीँ भगवान वास गर्ने स्वर्ग रहेछ । स्वर्गमा पनि अनेक साखाहरु र ति साखा सम्हाल्ने कर्मचारीहरु हुँदारहेछन् । मलाई अचम्म लागेको कुरा: मर्त्यलोकमा जीवनबाट दिक्क भएर रुँदा मानिसका आँखाबाट खस्ने आँशु पनि हरेक ब्यक्तिको एक-एक बोतल छुट्याइ जम्मा गरीएको हुँदो रहेछ । ति आँशुहरु हरेक दिनु थुप्रै देवदुतहरुले मर्त्यलोकबाट उठाएर सुनको कचौरामा ल्याइ सम्बन्धीत कर्मचारीलाई बुझाउँदा रहेछन् । अर्को कुरा: मर्त्यलोकका मानिसले गरेका हरेक कि्रयाकलापहरुको एक एक टिपणी कापीमा कलमले लेखिदा रहेछन् - कि कसले अपराध तथा खराब काम गर् यो र कसले असल तथा मानवीय काम गर्यो आदि । मानिसको मृत्यू भए पछि यि सबै कि्रयाकलाप र ब्यवहारको हिसावकिताब गरेर ऊ स्वर्ग वा नर्कको भागि हुने, नर्क गए कति समयको लागि र कस्तो सजाय पाउने आदि तय गरिदो रहेछ । स्वर्गमा गरिएका हिसाब किताब र लेखाजोखा बाट मैले थाहा पाएँ कि स्वर्ग जान धर्म तथा मानविय काम धेरै गर्नु पर्ने रहेछ । मानविय कामहरुमा मुख्यतया भोकाहरुलाई ख्वाउने, नाङ्गाहरुको आंग ढाक्ने, अशक्त र विरामीहरुको सेवा गर्ने र हौसला बढाउने, अपराधमा जेल परेका तथा सजाय भोगीरहेका मानिसहरुलाई सहि दिशा देखाउने र जेल तथा अपराधबाट छुटाउने, भगवान तथा धर्मको नाममा दान गर्ने आदि रहेछन् । भगवानको नाममा गरिने दानहरु साच्चै नै मानविय काम मै लगाइँदा रहेछन् । कृपया यस भन्दा अगाडि आफैं पुस्तक पढ्नुहोला ।


विनम्र आग्रह - यो इसाइ धर्मावलम्बीहरुको धार्मिक आस्था र विश्वास भएकोले, कृपया यसमा ठेस पुग्ने गरी प्रतिक्रिया नपठाउनुहुन अनुरोध गर्दछु ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |