हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

स्वस्थानी कथाका नमिल्दा कुराहरु !

अनिल शर्मा सुवेदी, (पोखरा-७, मासबार)

अहिले स्वस्थानीको माहोल छ । कसैले श्री स्वस्थानीको व्रत लिने गर्छन् भने व्रत नलिएकाले पनि घरघरमा सपरिवार श्रद्धा अनि भक्तिकासाथ स्वस्थानीको कथा वाचन गर्ने परम्परा छ । कथाभित्र  विविध प्रसंगहरु जोडेर मानिसलाई अनुशासित बन्न  प्रेरित गर्दै केही आदर्श र नैतिकताको पाठ पनि सिकाएको छ । वृन्दाको चरित्र प्रस्तुत गरी पतिभक्ति देखाउन खोजिएको छ भने नवराज राजाको चरित्रबाट पितृभक्ति देखाउन खोजिएको छ । हो स्वस्थानीमा यस्ता विवध प्रसंगहरु जोडेर मानिसलाई सकारात्मककतातर्फ मोड्न प्रेरित गरेतापनि केही यस्ता प्रसंगहरु छन् जुन अमिल्दा अवैज्ञानिक र हाँसो उठ्ने खालका छन् । त्यस्ता केही प्रसंगहरु यहाँ जोड्न चाहन्छु ।
 
मधुकैटभको बोसो पानीमा जमेर पृथ्वी, मासुले पर्वत अनि हाडले ढुंगा बनेको कुरा कथामा भनिएको छ । तर हामीले सानैबाट विज्ञानको किताबमा सूर्यबाट चोईटिएर एक टुक्रा कालान्तरमा सेलाएपछि नै पृथ्वी बनेको कुरा पढ्दै आएका छौं । विज्ञानलाई चुनौती दिने यो कुरालाई हामीले कसरी लिने ? स्वस्थानीको प्रसंगलाई विश्वास गर्ने या विज्ञानलाई  ?
 
सामान्यतया: एउटी आमाले दुई-तीन वटा सन्तान जन्माउँछिन् । पहिले पहिलेकाले आठ-दश वटासम्म सन्तान जन्माएका हामीले सुन्दै आएका छौं । तर स्वस्थानीको कथा अनुसार दक्षप्रजापतिकी पत्नी विरणीले तेत्तीस करोड छोरीहरु जन्माएको कुरा उल्लेख गरिएको छ । के नारीले त्यत्रा सन्तान जन्माउन सक्छे त ? अनि त्यत्रा सन्तान जन्माउन कति वर्ष लाग्यो होला सुन्दैखेरि हाँसो उठ्दो विषय छ यो । त्यस्तै पार्वतीले नुहाउने क्रममा बुकुवा घस्दा निस्केको मयलबाट गणेश जन्मिएको कुरा, अनि गोबरलाई तसलामा राखेर तसलाले छोपी राखेको चार दिनपछि गोमा जन्मिएको कुरा यहाँ उल्लेख गरिएको छ । के मयलबाट अनि गोबरबाट मानवको जन्म संभव छ त ? कुनैपनि मानव या अन्य जीवजन्तु जन्मिनको लागि पुरुषको शुक्रकीट र महिलाको डिम्बको समायोजन हुनु जरुरी छ । अहिले पछिल्लो समयमा विज्ञानको उपजस्वरुप आएको टेष्टट्युव बेबी जन्मिनको लागि पनि पुरुषको शुक्रकीट अनिवार्य पर्छ । यसरी सास्वत सत्यलाई एकापट्टि पन्छ्याएर मयल र गोबरबाट मानव जन्मिएको मनगढन्ते कुरा प्रस्तुत गरी केबल काल्पनिकता मात्र देखाईएको छ । त्यसैगरि अग्निले ओकेलेको शिवजीको विर्यबाट बलेको आगो ताप्दा ऋषिपत्नीहरुको गर्भ रहेको कुरा सुन्दा पनि हाँसो उठ्छ ।
 
भित्र छिर्न नदिएपछि शिवजीले आफ्नै पुत्र गणेशको टाउको छिनाएर भित्र छिर्छन् । पछि पार्वतीले बिलौना गरेपछि हात्तीको टाउको जोडेर जीवित तुल्याउँछन् । त्यसैगरी महाकाली र विरभद्रले दक्षप्रजापतिको टाउको काटी यज्ञमा होम गर्छन् । पछि विरणीको आग्रहमा बोकाको शीर जोडी दक्षलाई बिउँताइदिन्छन् । यो एकदम असंभव कुरा हो । पहिलो कुरा टाउको र जीउ छुट्टिएपछि कुनै पनि व्यक्तिको मृत्यु भइहाल्छ  । दोश्रो कुरा व्यक्तिको शरीरमा त्यसरी हात्ती र बोकाको टाउको ठीकसँग फिट हुन सक्दैन । ल एकछिनलाई मानौं देवादिदेव महादेव हुनाले त्यो संभव भयो अरे । त्यसरी हात्तीको टाउको जोडेर व्यूँताउनसक्ने महादेवले आफ्नी प्राणप्यारी सतीदेवीलाई बचाउन किन सकेनन् त ? टाउको काटिएका गणेशलाई बचाउन सक्नेले अझ महादेवको डरले अग्निले पनि डढाउन नसकेकी सतीदेवीलाई किन बचाउन सकेनन् त प्रश्न आँफैमा अनुत्तरित छ ।
 
विष-भाँग र धतुरोले लठ्ठ भएर बसेका भगवान शिव रावणको स्तुतिले प्रसन्न भएर आफ्नी प्राणप्यारी पत्नी पार्वती रावणलाई दिएर पठाउँछन् । पछि विष्णुको चलाखीले गर्दा पार्वती रावणको हातमा पर्नबाट बच्छिन् । के आफ्नी धर्मपत्नी पनि कुनै बस्तु हो र जस्लाई मन लाग्यो उसैलाई त्यति सजिलैसँग दिन ? महादेव कहाँसम्मका हुसु रहेछन् यदि पार्वतीलाई रावणले आफ्नो घरमा लगेर रात बिताएको भए महादेवले ती पार्वतीलाई फेरि स्वीकार गर्थे होलान् त या के गर्थे होलान् हामी आफैंले आ-आफ्नो अनुमान लगाउँ ।
 
एकपटक पार्वती किराँतिनीको रुप लिएर जंगल विहार गर्दा महादेव पनि किराँतको रुप लिएर जंगलमा पुग्छन् । किराँतिनीले आफूले महादेवसँग मात्र विवाह गर्ने कुरा बताएपछि महादेवले हत्त न पत्त म नै महादेव हुँ ल मसँग विवाह गर म पनि तिमीसँग विवाह गर्न ईच्छुक छु भनेका छन् । के ईश्वरले मानवलाई सिकाएको नैतिकताको पाठ यही हो त ?
 
छल-कपट आदि सबै देवताहरुबाटै भएको देखिन्छ । अनेकौं छल गरेर विष्णुले सतीदेवीको विवाह महादेवसँग गराइदिन्छन् । अर्कातिर शिव भट्ट दम्पतीले दान गरेको देखेर देवराज ईन्द्रलाई इर्ष्या लागी शिव भट्ट नै स्वर्गका राजा बन्न आउँछन् कि भन्ने भयले गर्दा महादेवसामु कायरताको प्रदर्शन गर्छन् । अनि शिवजीले पनि बडो बहादुरीसाथ आफू सत्तरी वर्षको वृद्ध बनी बिचरी सात वर्षकी गोमासँग विवाह गरी गर्भवती तुल्याई अनेक दुःख र कष्टको भुमरीमा फसाउँछन् । के शिवभट्टले अरुलाई दान गर्नु अरुको उपकार गर्नु उनको पाप थियो त ? होईन भने किन उनको परिवारमाथि यत्रो ठूलो बज्रपात पारे त ? आफू अगाडि बढ्नको लागि अरुको खुट्टा तान्नुपर्छ भन्ने सन्देश यस कथाले िदंदैन त ? स्वस्थानीको काम मान्छेलाई राम्रो बन्न सिकाउने हो कि अरुको खुट्टा तान्न सिकाउने हो ? भगवानले त यस्तो छल कपट गर्दारहेछन् भने हाम्ले गर्न के भयो र भनी मान्छेले त्यही सिको गर्दैन भन्ने के ग्यारेण्टी छ र ?
 
वृषवगिरिमा पुग्दा सतीदेवीको आसन पतन भयो अनि त्यस भूमिमा कलीले तपस्या गरे ईश्वरी प्रसन्न भएर 'मनुष्यको बुद्धि भ्रष्ट पार्न समर्थ भए' भनी बरदान दिईन् भनी स्वस्थानीमा उल्लेख गरिएको छ । अचम्म लाग्छ- अरुको बुद्धि भ्रष्ट पार्न सके भनेर भनेको कुरा वरदान भयो या श्राप ? के कलीले मैले 'समस्त मनुष्यको बुद्धि भ्रष्ट पार्न सकुँ' भनेर वर मागेका थिए त ?
 
यी यावत् अमिल्दा कुराहरु स्वस्थानी कथामा आउँदा कथा सुन्ने स्रोताहरुको मनमा राम्रो नराम्रो कस्तो असर पर्ला ? हुन त विद्धानहरुले यो भनेको त मान्छेलाई बुझाउनको लागि बनाईएको सामान्य कथा मात्र हो यसको दार्शनिक पक्ष त अर्कै छ भनी तर्क गर्लान् तर त्यस्ता दार्शनिक कुरा बुझ्ने स्रोताहरु कति नै पो होलान् र ! अनि खै त्यो दार्शनिक अर्थ केमा छ त यी कथाहरुलाई हामीले कुन रुपमा लिने यी यावत् अमिलदा प्रसंगहरु आउँदा आम भक्तजनहरुको धार्मिक आस्था घट्दै जाने हो कि एकपटक राम्रोसँग विचार गरौं ! 
 
 
 
 
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |