हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

किस्ताबन्दीको माया

सुषमा मानन्धर, (ललितपुर)

कसलाई रहर हुंदैन र
चखेवा र चखेवी झैं
डुबेर मायामा
एक अर्कालाई नियाल्दै
एकाधिकारसंग
एकलौटी माया पाउने ।
बाध्यताको बर्बर वर्तमानमा
कति विवश छु
तिमीलाई थोकमा माया गर्ने
आफनो रहर समेत
खुद्रामा ढाल्नुपरेको छ ।
मेरो यो
टुक्राहरुमा तिमीलाई
तिर्दै गरेको माया
कति टुक्रामा बांडेकी छु
के तिमीसंग कुनै हिसाब छ
सम्वेदनशील एउटा िसंगो माया
टुक्राटुक्रामा
कुनै व्यापारिक योजनाको
मात्र किस्ताबन्दी बनेको छ ।
अचेल थोकमा माया गर्ने
फुस्रद नै पो कसलाई छ र
हर दिनको भागदौडको नियतिमा
अफिस र घर
घर र अफिस
अलिकति उबारेर समय
माया गर्नु पर्ने बाध्यता ।
तिमीलाई गरिएको मायाको
सम्बोधनमा
तिम्रो प्रतिकि्रया नकुर्दै
ग्यांसको लागि कुर्नु पर्ने
कुद्नु पर्ने
पानीको लागि
बस्नु पर्ने लामो लाइन ।
फेरि भएन
तरकारीको जोहो
भान्छामा तातो लाग्यो । लागेन
हेर्ने को
मनमा रहरको बल्छी थापेर पनि
सखारै उठ्नु पर्छ
कतै धारामै पानी आउंछ कि
तिम्रो अंगालोमा
तिमीलाई मात्र एउटा
हतारको म्वांई
फेरि अर्को किस्तामा चुकाएकी छु ।
सुत प्रिय भोलि चांडै उठ्नु छ
धारामा पानी नआए
फेरि छिमेकी कहां पुग्नु छ
फेरि छिमेकी कहां कुद्नु छ ॥

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |