हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

पहाड र मान्छे

विद्या सापकोटा, (कल्याणपुर -७ नुवाकोट हालः शंकरदेव क्याम्पस, काठमाडौं)

जव म एक्लै हुन्छु
कल्पना र यथार्थको धरातल नाप्न मन लाग्छ
कति मनोरम छ संसार ॥

देख्छु हेर्दाहेर्दै ठडिएको सुन्दर हिमाल
म त्यसलाइ नदेखेरै/नछोएरै राम्रो मान्छु
घामको पहिलो प्रहार उसैमाथी पोखिन्छ
बादलुका घुम्टाहरु उसैमाथी ढाकिन्छन्
पवनका झोक्काहरु उसैसँग ठोकिन्छन्
आगोका लप्काहरु उसैमाथी सल्कन्छन्
जीव जन्तुका कोलाहल त्यही मच्चिन्छन्
र अन्त्यमा
झिनो मुसो पहलमान बनेर उसैमाथी खनिन्छ
र पनी कति सहनशिल छ पहाड ॥

म त्यतिकै सोच्छु
सायद आशावादी छ त्यो पहाड
मननयोग्य छ त्यसको उर्वरता
आफुमाथी पोखिने घामको प्रहरमा ऊ सेकिन सक्छ
बादलुको झोक्काले उसलाइ सिच्न सक्छ
पशुपक्षींको लापरबाहीमा ऊ संगित सुन्न सक्छ
आगोको लप्का र पवनका झोक्काले
उसको रचना गर्भमा नया भ्रुण रोप्न सक्छ
सेता हिउहरुले उसलाइ हँसाउन सक्छ
त्यो नादान मुसाको सामिप्यताले
उसलाइ कुत्कुत्याउन सक्छ
हामी मान्छे त्यति आशावादी बन्न किन सक्दैनौं

हो हामी दुखी छौं
हाम्रा सडकहरु जलिरहेका छन्
घरमा गृहयुद्ध चलिरहेको छ
परिवार विदेशिएका छन्
हामी माथि अपमान र घृणाका भारहरु थचारिदैछ
यसैले हामी हरपल आत्तिरहेको हुन्छौं/भुट्भुटिइ रहेका हुन्छौं ॥

तर हामी किन सोच्न सक्दैनौ कि
हाम्रा घर र सडकले रुपान्तरण खोजिरहेको पनि हुनसक्छ
यसैबाट विचारका अंकुरहरु पलाउन सक्छन्
यहाँ स्वतन्त्रताका पखेटाहरु फटफटिन सक्छ
सदियौं देखिको भार पन्छिन सक्छ
कलमहरु जुर्मुराउन सक्छन्
आवाजहरु बुलन्द हुन सक्छन्
हातेमालोका स्वरहरु गुन्जन हुन सक्छन्

साच्चैं मान्छे त्यति आशावादी बन्न किन सक्दैन ?
हामी वुद्धिमान मानिने मान्छे
त्यति सहनशिल हुन किन सक्दैनौ ?
अलिकती स्वभिमानी बन्न किन चाहन्नौ ?




 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |