हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अनुत्तरित प्रश्नहरु…

कुमारी लामा, (काठमाण्डौ)



म एउटै कुरामा घोत्लिरहन्छु बारम्बार । मनिसले मानिसजस्तो भएर बाँच्न धन-सम्पत्ति, प्रसिद्धि, प्रतिष्ठा आवश्यक कि उसको सोचाइको फराकिलो दायरा ? सधैँ मानिस नै मानिसको भीडमा हुन्छु उनीहरुसँगै संगत गर्छु धनि-गरीव पढेलेखेका अनपढ प्रसिद्ध सामान्य सबै खाले मानिसद्वारा म घेरिइन्छु तर किन किन म मानिसबाट टाढा एक्लै छु जस्तो लाग्छ । म मानिसभित्र किन मानिस भेटाउँदिन ?

फेरि पनि त्यही कुरामा घोरिन्छु बारम्बार । मानिस मानिस जस्तो हुन के त्यही सांसारिक मोह, लोभ, लालच त्यही ढाँट-छल, दुष्ट्याई र त्यही धुर्त्याँइबाट पाएको सफलता मात्रै काफि छ त ? सबै जना भागदौडमै व्यस्त छन् । कसैलाई पैसाको मोह छ, कसैलाई प्रतिष्ठाको अनि कसैलाई सच्चा मनको । के हामीमा त्यो सच्चा हृदय छ जसले घृणालाई द्वेष र इर्ष्यालाई पगाल्न सकोस् ? हामी जीवन त बाँच्दै छौँ तर नाममात्रको जीवन बाँच्नुको केही सार्थकता छ ? म दिनप्रतिदिन मानिसबाट ती कोमल भावना र हृदयको स्पन्दन हराउँदै गउको भेट्छु । हामीले पाएका त छौँ एउटा सुन्दर जीवन तर किन यो अनावश्यक लालसा र खुट्टा तानातानमा नै अल्मलि रहेका छौँ । हामी किन यति क्रूर र वास्तविक जीवनबाट टाढिदै छौँ ? किन सिर्फ नाशवान सांसारिक मोह कै पछि लाग्छौँ ?

के किसमस र नयाँ बर्षको निउँमा नसाले चुर भएर लड्दै हिड्नु जीवन हो ? के प्रसिद्धिका लागि आफ्नै साथीको पिढ्युँमा छुरा हान्नु जीवन हो ?  के सम्पत्ति आर्जन कै लागि दुई नम्बरी धन्दामा आफूलाई होम्नु जीवन हो ? म यस्तै प्रश्नहरुबाट जकडिएकी छु । ढाँटछल र धुर्त्याँइ बिनाको जीवनले किन हामीलाई पोल्छ ? हामी किन इमान्दारिताको कमाइको रोटीले पेट भरेको महसुस गर्दैनौ ? हामीलाई किन परिश्रमले आर्जेको पैसाले किनेको सुकुलमा निन्द्रा लाग्दैन ? किन हामी सधैँ आफूबाट भाग्दै हिड्छौँ ?

हामीलाई भीडमा आनन्द लाग्छ र सुरक्षित महसुस गर्छौ कारण त्यहाँ हामी आफैसँग हुदैनौँ । हामी आफ्नो वास्तविक पहिचानबाट आफूलाई लुकाउन सक्छौँ त्यहाँ । हामीलाई कोलाहलमा हराउन रमाइलो लाग्छ किन कि त्यहाँ हाम्रो मनले बोलेको सच्चा भावनालाई हामी सुन्न सक्दैनौ । हामीलाई वास्तविकतासँग भय छ । हामी दिनानुदिन दुविधा र भ्रमको संसारमा डुब्दैछौँ । उज्यालोसँग हामीलाई डर लाग्छ त्यसैले हामी अँध्यारो कोठाको मधुरो बत्तीमा आफूलाई सहज महसुस गर्छौ । आफ्ना अस्तित्वका लागि हामी अरुको अस्तित्वलाई कुल्चिन्छौँ । चन्द्रमाको शितलतामा हामीलाई जलन हुन्छ बरु घामको प्रचण्ड ताप हामी सहर्ष स्विकार गर्छौ । यो हाम्रो विक्षिप्त मानिसकता होइन त ? कारणहरु धेरै छन् हामीलाई रोगी बनाउने तर के त्यस्तै परिस्थितिको सामुमा पनि हामी मानिस हुनुको धर्म पालना गर्न सक्दैनौँ । लामो शितलहर पछि पनि त प्रकृतिमा फूलहरु फुल्छन् नै । कहिल्यै पनि ती कलिला कोपिलाहरु आफूलाई नफक्राई रहदैनन् जति नै मुरि बादल र हिउँमा पनि । तर हामी मानिस नै चाहि किन यति गिर्छौँ आफ्नै धरातलबाट ?  प्रकृतिमा हर क्षण भइरहने परिवर्तन हामी सामु उदाहरण छदै नै छन् । तर हामीमा त्यसलाई आत्मासात गर्ने धैर्यता र साहस खोइ ?

हामी आफै सामु प्रत्येक बिहानीसँगै अदृश्य पर्खालहरु अग्ल्याउँदै छौँ । ती पर्खालहरुलाई भत्काउन नभई अग्ल्याउन नै हामी दिलो ज्यानले हाजिर हुन्छौँ सबै काम पन्साएर पनि । ती अनगिन्ति काँढाहरु सामु मुस्कुराउने गुलावले आफ्ना सुन्दरताद्वारा केही न केही सन्देश दिएकै छ हामीलाई तर हामी त्यसलाई मनन गर्नै सक्दैनौ । हाम्रो आँखा अगाडि त्यो गुलाव हैन काँढाले नै राज गर्छ । हामीमा एकप्रकारले बानी परिसकेको छ खराव कुराकै पछि लाग्न । त्यसैले त हामीलाई गुलावको रङ्गीचङ्गी सुन्दरताले आनन्द दिन भन्दा बढी ती काँढाहरुले घोच्छन् । हाम्रा सारा दृष्टिमा भ्रमका पर्दाहरु लागिसकेका छन् । ती पर्दाहरु च्याती उज्यालोतिर दृष्टि फैल्याउन हामीलाई पटक्कै आउँदैन । हामी आफै वरिपरिको अन्धकारमा रुमलिरहेका छौँ । हामी बारम्बार भुल्छौँ रातपछि फेरि उज्यालोको आगमन स्वाभाविक तरिकाले हुन्छ भन्ने कुरा । हामी औँशिकै रातलाई आँखाभरि टाँसेर हिडिरहन्छौँ अन्तहीन यात्रामा । हामीलाई पटक्कै चेतनामा आउँदैन आँखा चिम्लिएर हिड्दा खाडलमा परिन्छ भन्ने सत्य । हामी बेपर्वाह लम्काइरहन्छौँ हाम्रा पाइलाहरु अनिश्चित यात्रामा । न हामीलाई पर्वाह छ लड्नुसँग न त छ उठ्नुसँग नै । लाग्छ हामी भ्रमको कहिल्यै अन्त नहुने महायात्रामा हिडिसकेका छौँ । त्यही भ्रम नै भ्रमको संसारमा डुल्दा डुल्दै यो अमूल्य जीवन अन्त भइसक्छ तर हामी पत्तै पाउँदैनौँ । यसरी अन्यौलको भूमरिमा बाँच्नु पनि जीवन हो त ?

सबैको मनको धुकधुकीलाई सुन्ने हो भने अझै पनि झरिपछिको खुलेको आकाश जस्तै सफा र कंचन भई वेगमा उड्न चाहेको महसुस हुन्छ । साँचो अर्थमा हामी भित्रको निस्छल मनलाई दुष्ट्याइँ र धुर्त्याँइ मन पर्दैन । तर हामी मनको कुरा सुन्नु भन्दा बढी संसारको कुरा सुन्छौँ । अनि संसारले त सधैँ सांसारिक तुक्ष मोह र मायातिर नै धकेलिरहन्छ । हामी यति बिघ्न दुःखी आफ्नो मनको भावनालाई नसुन्नाले भएका हौँ । हामी बाहिरी आँखाले सबैतिर निह्याल्छौँ र ती सम्पूर्ण क्षणिक झिलिमिलीतिर तानिन्छौँ । हाम्रा भित्री आँखाहरु खुल्न सकेकै छैनन् । त्यो चेतनारुपी आँखाले संसारलाई निह्याल्न सके हामी कहाँ यी सबै नाशवान र देखावटी संसारमा अल्मलिने थियौँ र ? तर जब म भ्रमको जालोले बेरिएर अन्धकारतिर धकेलिदै गरेको विशाल जमातलाई देख्छु यसैले म मा निराशा पैदा गरिदिन्छ । संसारमा मानिस नै मानिसको भीड छ तर वास्तविक मानिसको खोजीमा भौतारिनुको विकल्प छैन हामीलाई ।

आँखाहरु छन् हामीसँग त्यसैले सुन्दरतातिर तानिन्छौँ, कानहरु छन् त्यसैले मीठा मीठा कुराहरु सुन्न तमतयार हुन्छौँ । तर के आफैले आफैलाई टाढा पन्छाई ती सुन्दरता, ती कोमलता र ती मीठा धुनहरुतिर तानिनु जायज हो ?  संसार परिवर्तन गर्न क्रान्ति र हिँसा हैन सवैभन्दा पहिले आफू बद्लिनु पर्छ आफूले आफूलाई चिन्नु पर्छ । बुद्धले आफैभित्र भेटेका थिए सम्पूर्ण ज्ञान । हामी ज्ञानी हुन नसक्नुको कारण हामीले आफैलाई बुझ्ने प्रयत्न नगरेर नै हो । हामी त मानिस हुनुको धर्म निभाउन अरुलाई दिनरात औँल्याई रहन्छौँ । अरुको कुरा काट्दा खुसी हुने हामी आफ्नो अवश्था निह्याल्ने कहिल्यै प्रयत्नसम्म पनि गर्दैनौँ । त्यसैले त हाम्रै मनमा पहिरो जान्छ, डढेलो लाग्छ र हिउँ पर्छ । हामी आफ्नै मनमा सल्किएको आगोले डढेर भष्म हुँदै दुःखद अन्ततिर लाग्छौँ । अझै पनि मभित्र अनगिन्ती प्रश्नहरु उर्लिरहन्छन् । हामी मानिस भएको पुष्टि गर्न यी सब रीस घृणा र लुच्छाचुडी जरुरी छ ?

१० पौष २०६५

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |