हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

चुरोट खाँदा घट्ने आयु र बढ्ने खर्चको गणित गर्न खोज्दा

तारानाथ शर्मा, (अमेरिका)

[प्रारम्भिक टिप्पणी:            जाँड भाङ सुरती अहिफेन

खाइ जाति कहिलेइ भएन

पूजिँदैन कहिँ अम्मलवाला

मानसम्पति सबै घटिजाला

धेरै जना मेरै आदरणीय पूर्वजहरूको योगदानले गर्दा नै मलाई चुरोट खाने बानी नपरेको हो। ती सबैप्रति मेरो अनन्य श्रद्धा छ, तापनि यो लेख तयार पार्दा मैले तीमध्ये तीन जनालाई मुख्य रूपले सम्झेको छु।

 पहिलो श्रेय त महान् आत्मिक बलसम्पन्न मेरा पिता प्रजापति उपाध्यायमै जान्छ। आफूले चुरोट खाएरै साठी वसन्त काटेका मेरा महान् पिता अकस्मात् एक्कै चोटि चुरोट छाड्ने प्रतिज्ञा गर्दै आफ्नो भीष्मप्रतिज्ञाको पच्चीस वर्षसम्म पचासीको उमेरमा स्वर्गवास नहुन्जेल एकै खिली नतानी अद्वितीय उदाहारण प्रस्तुत गर्न समर्थ हुनुभयो। मलाई सानैदेखि उहाँ स्वस्थकर वायुसेवनको महत्त्व बुझाउँदै हुक्का र चुरोटको धूवाँबाट बच्ने शिक्षा दिनुहुन्थ्यो।

 यसपछि मेरो सम्झनाले मलाई २००३ सालतिर पुर्‍याउँछ जति वेला म इलामजिल्लाअन्तर्गत फिक्कल बजारको 'आदर्श चन्द्र पाठशाला'मा पढ्थेँ। आधुनिक शिक्षाका मेरा प्रथम तथा सर्वश्रेष्ठ गुरु चन्द्रभक्त कसजु एक उदाहरणीय व्यक्तित्व हुनुहुन्थ्यो। काठमाडौँस्थित वटुटोलको सम्पन्न परिवारमा जन्मेका, दार्जीलिङमा पढेका र अङ्ग्रेजको गोर्खा सेनामा कार्यरत कसजु फिक्कलमा शिक्षक भएर बस्ता धोती लगाउने, खराउ लगाएर हिँड्ने अनि अत्यन्त सादा र शुद्ध भोजन गर्ने कट्टर गान्धीवादी हुनुहुन्थ्यो। उहाँको उच्च कोटिको अङ्ग्रेजी भाषाको ज्ञान र संस्कृतनिष्ठ नेपालीको प्रभाव ममा जीवनभरि परेको छ, र त्यसका साथै चुरोट नखाने मेरो बानीमा पनि उहाँको ठूलो भूमिका छ।

 तेस्रो श्रेय माथि उद्धृत श्लोकका रचयिता नेपालीका प्रसिद्ध कवि महानन्द सापकोटालाई दिनुपर्छ। यो श्लोक भएको कविता मलाई चन्द्रभक्त कसजुले तेस्रो श्रेणीमा छँदा पढाउनुभएको थियो। अरू त सबै बुझेँ, तर 'अहिफेन' भनेको चाहिँ के नि भनेर मैले सोधेको र मेरा शिक्षकले 'छन्द मिलाउन अहिफेन लेखिए तापनि त्यो अफिम भन्ने पदार्थ हो जो पपी भन्ने फूलको चोपबाट बनिन्छ र त्यो औधि लाग्छ अर्थात् त्यसले मान्छेलाई लट्ठ पार्ने गरी धेरै बेर मताउँछ' भनी बुझाएको हिजै जस्तो लाग्छ।

 यसरी यी महान् आत्माहरूले सानैदेखि मलाई सुबाटामा लगाएका हुनाले म श्रद्धासाथ उहाँहरूकै सम्झनामा आज यो मेरो लेख पाठकहरूसमक्ष प्रस्तुत गर्दै छु।]

 आज क्राइस्टाब्द २००८को नभेम्बर २०को दिन (अर्थात् २०६५को मङ्सिर ५ गते, बिहीबार) हो। म सपत्निक पूर्व ल्यान्सिङ नगरस्थित मिशिगन राज्य विश्वविद्यालयको चेरिलेनभित्रको ७०३ भवन अन्तर्गत २०१ नम्बरको प्राध्यापकनिवासमा बसेको छु। यहाँ बसेकै पनि तीन वर्षजति हुन लाग्यो। 

 आज बिहान टीभी हेर्दाहेर्दै २४ घन्टासम्म चुरोट नखाने अनुरोध प्रसारित भयो, किनभने आज 'चुरोटनिषेध दिवस' रहेछ। यहाँ यस्तो दिवस पनि मनाइँदो रहेछ भनेर मैले मलाई विश्वविद्यालय जानुअघि प्रभातभोजन बनाउन भान्सामा व्यस्त मेरी जीवनसँगिनी शान्तालाई भनेँ। हामी दुवै छक्क पर्‍यौँ र खुसी पनि भयौँ।

 वास्तवमा चुरोट खाने बानी राम्रो होइन। यस बानीले एकातिर हावालाई दूषित बनाउँछ र फोहोर फैलाउँछ भने अर्कातिर यो फोक्सोसम्बन्धी रोगको कारण पनि बन्छ। त्यसै हुनाले आजभोलि अमेरिकाका शिक्षणसंस्थाहरूभित्र चुरोट खान पाइँदैन। लत बसेकाहरूले जस्तै ठिही वा झरीमा पनि भवनका ढोकाबाहिर निस्केर खुला ठाउँमा मात्र चुरोट खानुपर्छ। कहाँसम्म भने चिया, कफीका पसलहरू अथवा भोजनालयहरूमा पनि कुनै तोकिएको कोठामा मात्रै चुरोट खान पाइने र अरू कोठाहरूमा नपाइने व्यवस्था हुन्छ। बस, रेल वा वायुयानमा र तिनका शौचालयहरूमा पनि चुरोट वर्जित हुन्छ। चुरोटको दूषित धूवाँले खानेलाई त नोक्सान गर्छगर्छ, नखानेहरूलाई समेत यसले सकसमै पार्छ, स्वास्थ्य नै बिगारिदिन्छ।

 सधैँ यस्तो कठोर नियम पश्चिमतिर पनि थिएन। त्यहाँ हाम्रो नेपालमा जस्तै चुरोट खानु ठूलो इज्जतको कुरो मानिन्थ्यो। अझ राजामहाराजाहरू र नवावहरू मात्र होइन, तिनका आसेपासे काजी, जिल्लाका बडा हाकिम र ससाना अड्डाका हाकिमहरूसमेत हुक्का गुड्गुडाएर शान देखाउँथे। थरी, मुखिया र सरकारी कारिन्दाहरू पनि घरमा हुक्का गुड्गुडाउने र बाहिर पातलो कागतमा वा विशेष रूखका सुकेका पातमा गुडको लेदोमा मिसाएको तमाखुको धूलो बेरी चुरोटजस्तै सुइँसुइँ तानेर सारा वातावरण नै धूवाँमय बनाउँथे। त्यसैको नक्कल गर्ने उनीहरूका पत्नीहरूको फुइँको त कुरै भएन। चोर औँला र माझी औँलाका बीचमा चुरोट च्यापेर फुर्ती देखाउँदा समाजमा आफू सभ्य, आधुनिक र प्रभावशाली व्यक्ति भएको गर्व गर्नेहरू जताततै हुन्थे।

 चुरोटसँग गाँसिएका अनेकौँ घटनाक्रमहरूबाट म गुज्रेको छु। तिनमा तीनटा घटनाक्रमलाई म यहाँ कोट्ट्याउनु उपयुक्त मान्छु। पहिलो २०१४ सालसित सम्बद्ध छ र दोस्रो चाहिँ २०२२ सालको अनौठो अनुभूति हो भने तेस्रो भने २०२६ सालतिर घटेको थियो। मेरा धेरैजसो अभिभावकहरू कङ्कट (अर्थात् पातलो कागतमा गुडको लेदो मिसाएर फिटेको सुर्तीको धूलो बेरेको चुरोट) खान्थे। मेरा पिताको घरमा हुक्का तान्ने र अरू वेला त्यस्तो बेरेको चुरोट खाने बानी नै थियो। त्यसो भए तापनि मलाई भने पिता र अरू मान्यजनले चुरोट खानु उचित हुँदैन भन्ने नैतिक शिक्षा सधैँ नै दिइरहनुहुन्थ्यो र मैले बनारस हिन्दू विश्वविद्यालयमा पढेर २०१४ सालमा स्नातक नहुन्जेल कहिल्यै चुरोट चाखेको थिइनँ। जुन दिन म अङ्ग्रेजीमा एम्.. को अध्ययन गर्न कोलोम्बोयोजनाअन्तर्गत छानिएर पटनातिर उड्ने उद्देश्यले काठमाडौँको विमानस्थलमा पुगेको थिएँ, पटना विश्वविद्यालयमै अङ्ग्रेजीमा र राजनीतिविज्ञानमा एम्.. पढ्न उड्ने भनी चैतन्यकृष्ण उपाध्याय र रामकुमार श्रेष्ठ पनि त्यहाँ पर्खेर बसेका मैले भेटेँ। विमान उड्न निकै पर्खनुपर्ने हुनाले अघिल्तिरको चियापसलमा गएर चिया खाने रामकुमार श्रेष्ठको प्रस्तावबमोजिम हामी तीनै जना त्यहाँ गयौँ। चैतन्यले क्याप्स्टन चुरोटको बट्टा झिकेर हामी दुईतिर बढाए। रामकुमारलाई त्यति बानी परिसकेको नभए पनि फुर्तीसाथ उनले एक खिली हातमा लिए र मलाई भने, "तारानाथजी, लिनोस् न!"

 मैले भनेँ, म चुरोट खान्नँ, कहिल्यै खाएकै छैनँ।"

 चैतन्यले भने,"बी.. उत्तीर्ण भइसकेको र एम्.. गर्न जान लागेको मान्छेले त्यस्तो कोर्काली व्यवहार गर्नुहुन्छ? सुइँसुइँ तान्नुहोस् न, भइहाल्छ नि।"

 रामकुमारले थपे,"मलाई पनि चैतन्यको जस्तो बानी नै त कहाँ लागेको हो र? तर चुरोट खाएन भने पाखे भनिने डर हुँदो रहेछ क्या! अभिभावकहरूको डरले पहिले नखाएको भए पनि अब बी.. पढिसकेपछि किन डर र केको सङ्कोच? यी यसरी भित्र घाँटीसम्म नपुर्‍याई धूवाँलाई मुखैबाट फुस्स शानसाथ बाहिर फाल्नोस् न, कस्तो मजा हुन्छ!"

 मैले पनि ठूलो उत्सुकतासाथ एउटा खिली सल्काएर घाँटीसम्म धूवाँ नतानी मुखले मात्रै फुस्सफुस्स गर्दै उडाइदिएँ। यसरी ती दुई काठमाडौँका खप्पिस साथीहरूको सङ्गतले म पटना पुगेपछि क्याप्स्टन चुरोट किन्ने र उनीहरूसँग चिया खाँदा धूवाँ उडाउने गर्न थालेँ। यो क्रम पूरै एक वर्ष चल्यो। त्यसमा पनि हाम्रो अङ्ग्रेजी विभागका अध्यक्ष राधाकृष्ण सिन्हा अक्स्फोर्ड् विश्वविद्यालयमा विद्यावारिधिप्राप्त निष्णात् विद्वान् समेतले सुल्फा तानेको उदाहरण चैतन्य र रामकुमार मलाई दिइरहन्थे। हो, मैले घाँटीसम्म धूवाँ चाहिँ तान्न जान्दा पनि जानिनँ र चाहँदा पनि चाहिनँ, तर चुरोट किन्ने र तान्ने क्रम भने चली नै रह्यो जसले गर्दा दोस्रो वर्षको सुरुतिर मलाई नराम्रो रुघा लाग्दा मैले घाँटीमा धेरै कष्ट पाएँ अनि मैले त्यस्तो अस्वस्थकर लतलाई तुरुन्तै त्यागिदिएँ। त्यसपछि मैले कहिल्यै चुरोट छोइनँ।

 २०२२ सालको अनुभव भने अर्कै खालको छ। त्यस साल म बेलाइती छात्रवृत्तिअन्तर्गत अङ्ग्रेजीको उच्च अध्ययन गर्न लन्डन पुगेको थिएँ। त्यहाँ त युवतीहरू "क्षमा गर्नुहोला" भन्दै युवकहरूका अघिल्तिर चुरोट तेर्स्याउँदै "के तपाईँसँग सलाई छ?" अथवा "के तपाईँसँग 'लाइटर' ?" भन्दै परिचय गर्न खोज्दा रहेछन्। चुरोट खानु केटीहरूको फुर्ती तथा ढाँचा नै रहेछ। केही थोरै सङ्ख्यामा बरु केटाहरू चुरोट नखाने भेटिए पनि केटीहरू भने सबैजसो फुर्तीसाथ चुरोट सल्काइमाग्न मेरा अघिल्तिर आउँथे,"क्षमा गर्नुहोला, यहाँसँग 'लाइटर'छ कि?"

 उच्च कक्षाका छात्राहरूमा त्यस्तो चुरोटको व्यापकता देखेभोगेको म दस वर्षपछि अमेरिका आइपुग्दा तीनछक परेको थिएँ। अमेरिकामा चुरोटनिषेधको कस्तो राम्रो र सफल प्रचार भइसकेको रहेछ भने उच्च छात्रछात्राहरूमा बाह्र प्रतिशतले मात्र चुरोट खान्छन् भन्ने तथ्याङ्क विस्कन्सिन विश्वविद्यालयले निकालेको थियो। त्यहाँ म सातआठ वर्ष बस्ता सो प्रतिशत घटेर आठ भैसकेको थियो। अचेल मिशिगन राज्य विश्वविद्यालयमा एकदुई प्रतिशत युवतीले र चारपाँच प्रतिशत युवकले (त्यसमा पनि चिनियाँ र कोरियालीहरूले) चुरोट तान्दा रहेछन्।

 मेरो तेस्रो अनुभव आफ्नै पितासम्बन्धी हो। म २०२६ सालतिर सपत्निक जमलको प्राध्यापकनिवासमा बस्ता घर इलामबाट हामीलाई भेट्न पिता आउनुभएको थियो। उहाँको उच्च रक्तचाप हुनाले डाक्टर सुन्दरमणि दीक्षितलाई एक पल्ट देखाउने सल्लाह गरी मेरी श्रीमती शान्ता, मेरो भाइ दुर्गानाथ र म पितालाई लिई पाटनढोका गएका थियौँ। डाक्टरले हाम्रा पितालाई दुर्गन्धित चुरोट खाने व्यक्तिको म उपचार गर्दिनँ भन्ने वचनवाणले प्रारम्भमै आहत बनाए तापनि उहाँले आफ्नो स्वाभाविक, तर प्रशंसनीय र अति उदाहरणीय संयमका साथ डाक्टरलाई भन्नुभएको थियो,"पिताको स्वर्गवास सानैमा भएकाले र गाउँमा हुर्केबढेकाले अनुशासन सिक्न पाइएन, गोठालाहरूको कुसङ्गतले बाह्र वर्षकै उमेरदेखि चुरोट तान्ने अस्वस्थकर लत लाग्यो। तर म आजै अहिल्यैदेखि यो नराम्रो बानीलाइ त्यागिदिन्छु।"

 पिताको प्रतिज्ञा कठोर थियो। साठी वर्षको उमेरमा उहाँले चुरोट खाने आफ्नो लतलाई सफलतासाथ चटक्कै छाडिदिनुभएको थियो। त्यसपछि उहाँ झन्नै अरू पच्चीस वर्ष बाँच्नुभयो र २०५० चैतमा स्वर्गवास हुन्जेलसम्म उहाँले कहिल्यै चुरोट छुनुभएन।

 अरू कुरामा पनि हाम्रा पिताको उच्च कोटिको स्वभाव र सत्यवादिताकै प्रभावले होला म उहाँको जेठो छोरो मात्र होइन, अरू छ भाइहरू पनि चुरोट खाँदैनन्। चार जना बहिनीहरूले त झन खाने कुरै आएन, किनभने हाम्रो समाजका मध्यमवर्गी महिलाहरूले चुरोट खाँदैनथे र अचेल त झन खाँदैनन् नै।

 पहिलेपहिले युरोप र अमेरिकाका उच्चवर्गीय महिलाहरू चुरोट खानु ठूलो शान ठान्थे। नेपालमै पनि कि त राणा, शाह र उच्च वर्गका महिलाहरू गर्वसाथ चुरोट फुइँफुइँ तान्थे भने निम्न वर्गका श्रमिक वा तल्ला किसान वर्गका स्त्रीहरू बिँडी र कङ्कट खान्थे, निस्फिक्री धूवाँ उडाउँथे। अझै पनि ती दुवै अर्थात् अति उच्च र अति निम्न ठानिएका वर्गका नारीहरू मात्रै धूवाँ तानेर अफ्ना फोक्सा धमिल्याउँछन्।

 यस्तैमा हालै म एउटा अत्यन्त रोचक दृश्य हेरेर निकै दङ्ग परेँ। सो के भने म मिशिगन राज्य विश्वविद्यालयको भाषाविज्ञान तथा भाषाहरूको विभागस्थित वेल्स् भवनको छैटौँ तलामा मेरो दराजमा कुनै नयाँ खबर, चिठी वा सूचना छ कि भनेर हेर्न जाँदा 'अलिक कम पढाइने भाषाहरू'की संयोजिका ड्यानिएल स्टाइडरको कोठाको ढोकामा एउटा सूचना टाँगिएको देख्न पुगेँ । त्यसमा ड्यानिएलले चुरोट छाडेको एक वर्ष भएकामा उनलाई वधाइ ज्ञापन गरिएको रहेछ। अहिले बयालीस वर्षको उमेरकी ड्यानिएलले पोहोर नभेम्बर १० का दिन अत्यन्त कठीनतासाथ चुरोट छोड्ने प्रतिज्ञा गरेकी थिइन् र त्यसको पालना गर्नुपर्दा लगातार चुरोट खाने बानीले गर्दा तलतल लागेर र छटपटी भएर उनले हुनसम्म यातना खप्नुपरेको थियो।

 त्यस सूचनामा डाक्टर डेक्स्टर शर्नीको कथनअनुसार एक वर्ष ड्यानिएलले नखाएका चुरोटका खिलीको सङ्ख्या ५४९५ पुगेछ र चुरोट नखाँदा उनको जम्मा १३७२ डालर ५० सेन्ट (अर्थात् नेपालीमा रु. १०२९३७ तथा ५० पैसा) खर्च जोगिएछ। त्यसभन्दा पनि रमाइलो कुरो त उनले एक वर्ष चुरोट नछाडेकी भए त्यस अवधिका चुरोटले उनको आयु १ महिना, ११ दिन र २३ घन्टा घट्ने रहेछ। एकातिर यो गणित आकर्षक छ भने अर्कातिर मेरा पिताले पच्चीस वर्ष चुरोट छाड्दाको गणित गर्ने हो भने कति खर्च र आयु जोगिएको तथ्याङ्क निस्कन्थ्यो होला भनेर म निकै चकित भएँ। एक वर्ष मात्रै चुरोट खाँदा पनि झन्नै डेढ महिना आयु घट्ने रहेछ भने जीवनभरि चुरोट खानेले कति आयु घटाइरहेका र अनावश्यक खर्च गरेर आफ्ना आम्दानीहरूलाई बर्बाद गरिरहेका होलान्?

 "के हाम्रो नेपालमा पनि चुरोटनिषेधका यस्ता अभियान चलाउन सकिँदैन र?" भन्ने मेरो मनमा ठूलो उत्साह उब्ज्यो। "लौ न, दाजुभाइ दिदीबहिनी हो! हामी पनि हाम्रो पवित्र मातृभूमिलाई चुरोटमुक्त बनाउने दिशातिर कम्मर कसेर लागौँ!!" भन्दै यो लेख मलाई यहीँ टुङ्ग्याउन मन लाग्यो।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |