हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

बाल्यकालको मेरो गाँउ

बिनोद खड्का, (दुवाकोट ६, भक्तपुर हाल: दोहा कतार)

प्रभातको फेरोसंगै
पूर्वी आकाशले लाली लाउँदा
पंक्षीहरुको गीतसंगै
पधेर्नीहरुको हल्ला छाउँदा
गाँउ मेरो रमाउँछ
गाँउ मेरो नाचिदिन्छ ।

जातोको घ्वार घ्वारसंगै
भाउजूले गीत गुनगुनाउँदा
ढिकीको ढिक्लिक ढिक्लिकसंगै
आमोईले मकै चपाउँदा
घर नै मेरो रमाई दिन्छ
गाँउ नै मेरो नाचिदिन्छ ।

हुक्काको टवार टवारसंगै
हजुरबाको आदेश झर्दा
ठेकीको ढवार ढवारसंगै
हजुरआमाको मदानी चल्दा
काकीआमा भन्नु हुन्छ
हल्ला नगर है भुराभूरी हो
नली टाउकोमा बज्रिएला
चुपचाप बस्यौ भने
हातभरी नौनी मिल्ला ।

हाटवजारको हल्लासंगै
चार आनाको चिया पिउँदा
साँझको आरतीसंगै
परालको भारीबिच लुकामारी खेल्दा
मन त्यसै फूरुंग हुन्छ
बाल्यकालको याद आउँदा ।

दूःख पीडा
केही छैन ।
विछोडको आभास
रत्ती हैन ।
अभावको
भनक पनि छैन ।
परदेशिनु पर्ने
कारण नै छैन ।
लुट, हत्या, अपहरण
मान्छेहरु सोध्ने गर्छन
त्यस्तो पनि हुन्छ र ?
मेरो गाँउ मेरो देश
सबैजना भन्ने गर्छन
अर्को स्वर्ग पनि हुन्छ र ?

त्यसैले
फेरी मलाई मेरो
बाल्यकाल देउ
एकपटक फेरी
मेरो त्यो सुन्दर गाँउ देउ
सिंगो मेरो बस्ती देउ
मेरो प्यारो भगवान
बदलामा बरु मलाई नै लेउ ।




 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |