हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

छोरो-मान्छे

ध्रुवसत्य, (काठमाण्डौ)

सानो छँदाको साँचो कुरा भन्नु पर्दा-
म मेरो हजुरबाको मृत्युमा रोइन ।

मेरो कपुरी 'क' दुब्लाएर भने होइन
हो हजुरबालाई 'मुना-मदन' पढेर सुनाउँदा
म धर्धर्ती रोएको थिएँ
त्यति बेला म कुन संवेदनामा रोएको थिएँ-
थाहा छैन !
तर ताजा सम्झना छ
हजुरबा भन्नु हुन्थ्यो-
'छोरो मान्छे भएर रुनु हुँदैन ।'

सानो छँदाको साँचो कुरा भन्नु पर्दा-
म मेरो हजुरबाको मृत्युमा रोइन ।

वास्तवमा
मेरो हजुरबाको मृत्यु भएको कुरामा
किन-किन मलाई विश्वासै लाग्दैनथ्यो
हजुरबा न भूतसँग डराउनु हुन्थ्यो
न बाघसँग डराउनु हुन्थ्यो
अनि मलाई मृत्यु भनेकै भूत र बाघ हो भन्ने लाग्थ्यो
खैर आज हजुरबा बाँचेको भए
यो विकास र परिवर्तनलाई देख्नुहुन्थ्यो-
अचेल भूतहरु ठूला-ठूला भवनमा बस्छन्
बाघहरु विस्थापित/ लोप हुँदैछन्
बाघहरुलाई सुरक्षा दिनु पर्ने बेला आएको छ
तर स्यालहरु बाघको छाला ओडेर झुक्क्याउँदै छन्
यी दुबैथरी त्यति भयङ्कर लाग्दैनन्
सायद यिनीहरु जनतासँग डराउँछन्
र हिजो-आज मुनाहरु पनि भोट पुर् याइन्छन्
तर मुनाहरु फर्केर नआएको सुर्तामा
मदनहरु मर्दैनन्
अचेल मुनाहरुलाई बेच्न पनि मदनहरु पछि पर्दैनन् ।

मलाई माफ गर्नुस् हजुरबा !
म दिनहुँजसो नरोई रहन सक्दिन
मलाई डर लाग्छ
मेरी मुनालाई पनि कसैले बेचि पो दिन्छ कि !
कतै मैले नै मेरी मुनालाई बेचिदिन्छु कि !!
हो मभित्र पनि एउटी मुना छे
र सायद म रुन्छु
हजुरबा ! के साँच्चिकै छोरो मान्छे रुनु हुँदैन
कि कतै म छोरी मान्छे त होइन

सानो छँदाको साँचो कुरा भन्नु पर्दा-
म मेरो हजुरबाको मृत्युमा रोइन ॥

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |