हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गीत गाएर मात्र कहाँ पुग्छ !

नारायण अधिकारी, (उडब्रिज, भर्जिनिया ।)

अब गीत गाएर मात्र कहाँ पुग्छ !

सूर्यको प्रकाशलाई बेमौसममै बादलले
कैयौं दिन अबरोध गरेपछि
जून अथवा जुनकीरीको पुच्छ्रे बत्तीले
अब अन्धकारमा
बाटो देखाउने बेला गइसक्यो ।

अब गीत गाएर मात्र कहाँ पुग्छ !

सडक, कुना, सार्वजनिक स्थल वा घरहरुमै
बम र बन्दुकले मारामारका खेलहरु चल्न थालेपछि
कपर्दी र टोपी लुकाइका खेलहरुले
मान्छे-मान्छेका बीचमा
सद्भाव जगाउने दिन गइसक्यो ।

अब गीत गाएर मात्र कहाँ पुग्छ !

अन्तर्राराष्ट्रिय सीमानाहरु एकपछि अर्को गर्दै
मानेभन्ज्याँङ्ग,  मेची, सुस्ता र कालापानी हुँदै देशभित्र पसेपछि
सडक आन्दोलन, गोष्ठी वा सेमिनार धाएर
आफ्नै देशभित्र ढुक्कले गर्व गर्ने
स्वाभिमानी शीरहरु! विश्राम गर्ने दिनहरु गइसक्यो ।

अब गीत गाएर मात्र कहाँ पुग्छ !

अकारण द्वन्द्व र अभिमानले
राष्ट्रिय अखण्डता, धार्मिक सामाजिक र जातीय विविधताको
देशीय एकता, अस्मिता र पहिचान
दूतावासका कोठीहरुमा बेचिन थालेपछि
नेपाली हुँ भन्ने स्वाभिमानै गइसक्यो ।

अब गीत गाएर मात्र कहाँ पुग्छ !
००
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |