हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ठूलो बन्ने कसरी?

विक्रम गौतम, (नर्थ क्यारोलाइना)

मेरो त्यतिसारो लेख्ने बानी छैनतर आज मलाई के लेखुँ के लेखुँ भैरहेकोछ। तैपनि लेख्न बसिहालें, केहि लेख्नै पर्यो। अब तपाईंको विचार रुचिसित परिचित छैन अन्यथा तपाईकै विचार रुचिको परिधिभित्र रही मेरो कलम अगाडि बढ्थ्यो होला। तपाईंलाई खुशी पार्न पनि मैले त्यसो गर्नुपर्थ्यो। तर तपाईंको रुचिप्रतिको मेरो अनभिज्ञताले त्यो पनि सम्भव भएन। एउटा उपाय , आज किन आफ्ना रुचिका विषयहरु नपोखुं? त्यसो गर्दा तपाईंलाई दिक्क लाग्दैन होला हैन। यसो कहिलेकाहिँ आफ्नो कुरा गर्न छोडेर अरुको कुरा सुन्ने गर्नुस् न। मलाई माफ गर्नुहोला आज तपाईंलाई अरुको कुरा सुन्ने आग्रह गर्दै आफ्नो कुरा गर्न गैरहेको छु। हुन हामीले सानामा बाह्रखरी पढ्दादेखि नै 'राम्रो ' भनेर पढिआएको हैन र। सानैदेखि आफुलाई राम्रो ठान्ने हाम्रो मस्तिष्कले कसरी स्वलाई छोडेर परको आधिपत्य स्वीकार्न सक्ला। त्यसैले परलाई परपरै हुत्याएर स्वगान गाऊँ, आफ्नै कुरा गरौँ, मपाईत्व दर्शाऊँ, आफ्नै डम्फु बजाऊँ।

ठिक , विषय निर्धारण गरियो, आज स्वपूजन गर्ने जसलाई narcissism भन्छन क्यार अंग्रेजीमा। तर समस्या तेर्सिन्छ, अगाडि बढ्ने कसरी? किन जुनसुकै क्षेत्रमा सबभन्दा गार्हो कुरो अगाडि बढ्नु भएको। यदि अगाडि बढ्न सजिलो हुँदो हो मानिस चन्द्रमालाई पछाडि छोडेर सूर्यतर्फ अगाडि बढ्थ्यो होला। हुन हामी जन्मेकै अगाडि बढ्न हैन , पछाडि हट्नु मानवीय स्वभाव विपरित आचरण हुँदैन र। जहाँसम्म मेरो बुझाइको सीमा मलाई के लाग्छ भने 'उच्चता सबैको आकांक्षा हो ठूलो हुन जो पनि चाहन्छ। यहि आधारभूत मानवीय आकांक्षाले मलाई पनि डोर्याउँछ। यहाँ फ्रायडको मनोविश्लेषणात्मक सिद्धान्तलाई दोहोर्याउन चाहन्छु। उक्त सिद्धान्त अनुसार हरेक मानवीय क्रियाकलापहरु इड (id), एगो (ego) वा सुपरएगो (superego) मध्ये कुनै कुनै एकबाट नियन्त्रित अथवा चालित हुन्छन। इडले सामान्य सुलभ इच्छाहरुलाई बुझाउँछ, एगोले मेरोको भावना बुझाउँछ भने सुपरएगोले कुनैपनि कुरामा विवेकसम्मत सोचलाई प्रष्ट पार्दछ। यि मध्ये मैले रोजेको चाँहि एगो हो। अर्थात् सजिलो बुझाइमा पनि ठूलो मान्छे हुन चाहन्छु। केटाकेटी छँदा मलाई मेरा ठुलाबडाले भन्ने गर्नुहुन्थ्यो, "बाबु, धेरै पढ्नु पर्छ, पढेर ठूलो मान्छे बन्नुपर्छ" त्यो ठूलो मान्छे बन्ने इच्छाले मलाई आजसम्म पनि गाँजिआएकै छ। हामीले बालखैदेखि सुन्दै आएको हाम्रो जीन्दगीको लक्ष्य 'थुलो मान्थे बन्ने', तोतेबोली बुझाइमा। तर फेरि पनि प्रश्न तेर्सिन्छ 'कसरी'? यो कसरीले हामीलाई यसरी अठ्याएको कि हामी गर्न धेरै चाहन्छौं तर हामीलाई यो थाहा हुँदैन...गर्ने कसरी?

तपाईंलाई दिक्कपनको अनुभव भएको छैन होला हैन। एकछिन धैर्य गर्नुहोस् किन यति चांडै टुट्नुहुन्छ। अब तपाईंलाई मेरो कुरोको चुरोतर्फ़ डोर्याउन चाहन्छु। मेरो भनाइको तात्पर्य के भने धेरै कसरीहरुको भीडबाट एउटा कसरीमा जाऊँ अर्थात् ठुलो हुने कसरी? एउटा सजिलो उपाय छ। यो संसारमा भएका ठुलाहरुको जीवन चरित्र बुझ्ने त्यसैलाई आत्मसात् गर्दै लाने, अर्थात् सबै जसोमा पाइने गुण परिश्रमशीलता, लगनशीलता, धैर्यता आदिलाई पछ्याउदै जाने। सबैलाई थाहा भएको कुरो। के सबैजना ठुला? होइन। जसजसले यि गुणहरुलाई अपनाए ति मात्र ठुला अरु सबै ठुला अर्थात् साना। भन्नुको तात्पर्य यि सबै गुणहरुलाई आत्मसात् गर्दै कुनै पनि व्यक्ति जस्तो सुकै कर्ममा लाग्छ भने त्यो ठुलो, चाहे त्यो पसिना चुहाउँदै भारी बोक्ने भरिया वा खेत जोत्ने किसान नै किन नहोस् त्यो मेरो नजरमा ठुलो हुन्छ, मेरो बुझाइमा सम्मानित हुन्छ, मेरो शिर त्यो व्यक्तिको अगाडि नतमस्तक हुन्छ अनि मलाई आफूतर्फ डोर्याउँछ। यतिखेर आफुलाई ईश्वरवल्लभको लेखमा प्रयुक्त वाक्यांशसँग नजिक पाउँछु, "यो संसारमा दुईवटा व्यक्ति छन्, एउटा मै हुं अर्को भन्दा ज्यादै ठुलो "

तपाईं ठुलो महानलाई कसरी बुझ्नुहुन्छ? बुझाइ शतप्रतिशत आफ्नो हो। यो बुझाइ अरुको सित मिल्नुपर्छ भन्ने पनि छैन फेरि बुझाइ गलत वा सहि दुवै हुनसक्छ। त्यसैले तपाईंको बुझाइलाई तपाईंसँगै राखेर मेरो बुझाइको कुरो गरौँ , किनकि मैले माथि नै भनिसकेको छु कि आज आफ्नो डम्फु बजाउँदैछु।

नेपाली बृहत् शब्दकोशले यि दुवै शब्दलाई उस्तै अर्थमा लिन्छ एकलाई अर्काको पर्यायवाचीको रुपमा ग्रहण गरेको छ। तर मेरो बुझाइ अलि भिन्दै छ। सायद मेरो बुझाइ गलत पनि हुनसक्छ किनकि मैले अघि नै भनिसकें कि बुझाइ शतप्रतिशत आफ्नो हो। के बुझ्छु भने मान्छे (, तपाईं वा अर्को कुनै तेस्रो व्यक्ति) ठुलो सायद हुनसक्छ तर महान कहिल्यै हुन सक्दैन। तपाईं यहाँ अलिकति ध्यान दिनुहोस् मैले ठुलोलाई सायदको सहारामा परिभाषित गरेँ। किन थाहा ? थाहा नहुन पनि सक्छ। मैले पनि भर्खरै मात्र थाहा पाएको मेरा एक मित्रबाट। वहाँ मलाई बारम्बार भन्ने गर्नुहुन्छ, “Gautam, try to be good, not to be great” (राम्रो बन्ने कोशिस गर महान होइन) वहाँको यस भनाइमा प्रयुक्त शब्द महानले (great) ठुलो शब्दसँग समान अर्थ राख्दछ, जुन मेरो बुझाइसँग मेल राख्दैन।

यि बुझाइका परिधिभित्र रुमलिंदा रुमलिंदै अर्को यक्ष प्रश्न तेर्सिन्छ, अब हामी के बन्ने कोशिस गर्ने? राम्रो, ठुलो वा महान? महान हामी बन्न सक्दैनौं। बाह्रखरीको 'राम्रो ' ले हामीलाई बारम्बार सम्झाइ रहन्छ कि राम्रो छु हामी छौं। अब बाँकी रह्यो ठुलो, त्यसैले ठुलो हुने कोशिस गरौँ। तर मलाई थाहा छैन ठुलो बन्ने कसरी? थाहा भएको भए ठुलो हुन छोडेर बित्थामा यत्तिका गन्थन किन गरिरहन्थे। यस्तो गाँठी कुरो तपाईंलाई थाहा भने बरु खुसुक्क भन्नुहोस् है। अस्तु!

 

(लेखक नर्थ क्यारोलाइना नेपाली साहित्य समाजसँग आबद्ध हुनुहुन्छ)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |