म हुॅ आजकी नारी
लालीगुराॅस, ( )
पौराणिक धर्मग्रन्थमा चिनाइएकी
सदा मौन बस्ने देवी होइन म
म भित्र गतिशील हुने चाहना छ ।
भानुभक्तको वधुशिक्षामा परिभाषित
सहनशील शुशील वधु होइन म
म भित्र अन्याय विरुद्ध उठ्ने आवाज छ ।
साहित्यकारको सिर्जनामा श्रृङगारीएकी
सदावहार कामुक सुन्दरी होइन म
म भित्र मेरो शरीरमा मेरो अधिकार भन्ने बुझाइ छ ।
चित्रकारको क्यानभासमा पोतिएकी
निर्वस्त्र अश्लिल नारी होइन म
म भित्र ब्यभिचारलाई रोक्ने सामर्थ्य छ ।
अर्थहीन चलचित्रमा उभ्याइएकी
निमुखा विचरी नारी होइन म
म भित्र आफ्नो रक्षार्थ लड्ने अदम्य बल छ ।
हरेक परिवार र समाजले चाहने
सोझी त्यागी महिला होइन म
म भित्र परिवर्तन ल्याउने आवाज छ ।
घरपरिवार भित्र मात्र सिमित रहने
समर्पित र निस्क्रिय गृहिणी होइन म
म भित्र सक्रिय ब्यक्तित्वको तृष्णा छ|
देश र समाज प्रति उत्तरदायित्वको बोध छ
केही गरेर देखाउने उर्जाशील क्षमता छ
विद्या, शुशीला र ओनसरीको छविलाई
निरन्तरता दिने सुषुप्त मनोकांक्षा छ ।
किनकि म हुँ आजकी नारी
किनकि म हुँ आजकी नारी ।।