हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बिमा भुईचालो

बासु श्रेष्ठ, (उडब्रिज, भर्जिनीया)

मानिसले कुनैपनि क्रय विक्रय या अन्य कारोबार सबैभन्दा पहिले आफ्नै समुह या समुदायबाट आरम्भ गर्छ । त्यसपछि वस्तु या सेवाको प्रकार र प्रभावले समुदाय या समुह बाहिरपनि त्यस्तो कारोबार हुनपुग्छ । यसको मूल कारण हो भाषा र सम्बन्ध । किनभने कुनै व्यक्तिले केहि वस्तु या सेवा बेचविखन गर्न स्वाभाविकरुपले आफ्नै चिनेजानेका या उसको मार्फत प्रचार प्रसार आरम्भ गर्छ । र यसो गर्दा अन्य भाषाको प्रयोगपनि गर्नुपर्दैन र कारोबार सहज हुन्छ । लिनेदिने दुबैले वस्तुको प्रकार तथा आवश्यकताको आधारमा कारोबार गर्छन् । यसरी गरिने कारोबारका वस्तुहरु असल र राम्रापनि हुन सक्छन् भने नराम्रा र नक्कलीपनि हुनसक्छन् । वस्तु या सेवा जेजस्तो भएपनि चिनजानका मार्फत आफु सामु आएपछि नाता या सम्बन्धअनि विश्वसनियताको आधारमा कारोबार हुन्छ । कसैले लोभ लालचमा परेर कारोबार गर्लान् या कसैले राम्रो अध्ययन र अनुसन्धान गरेर निर्णय गर्लान् र सोहि अनुसार वस्तु या सेवाको चर्चा परिचर्चा हुन्छ भई कारोबारमा बृद्धि हुने या खुम्चिने गर्छ । प्रसँग हो अहिले अमेरिकी नेपाली समाजमा चर्चामा रहेको जिवन बिमा । अधिकाँश बिमितहरु नेपालीबाट नै ठगिएको अनुभव गर्दै आफ्नो तीतो सामाजिक सँजाल लगायत केहि अनलाईन सँचारका सतहमा पोख्दै आएका छन् । आर्थिक दृष्टिले आज गाहारो भएपनि भविष्य सुनिश्चित हुन्छ भनेर हिजोसम्म ढुक्क हुनेहरु रातारात अनिश्चितताको खाल्डोमा जाकिएको अनुभव गर्दैछन् । जिवन बिमालाई लगानी ठानेर त्यसको प्रतिफलको आशा गर्नु नै तिनको अपराध हो भन्दा अतिशयोक्ति नहोला । बिमा र लगानी दुई अलग शब्द, दुई अलग अर्थ लाग्ने र दुई अलग क्षेत्रसँग सम्बन्धन राख्दछ । बिमितहरुले बिमा एजेण्टसँग अधिकाधिक प्रश्न गरेर, यथेष्ट अध्ययन तथा शोध गरेर आफ्नो धनको सुरक्षाको सम्भाव्यता आदिको बारेमा बुझेको भए आज आएर आत्तिनु पर्ने अवस्था आउने थिएन होला । तर माथि नै भनिए झैँ एकै भाषा बोलिने, एकै देशको र एक समुदायको र अझ नजिक या आफन्त व्यक्तिको अनुरोधमा र विश्वासकै आधारमा वस्तु या सेवाको कारोबार गरेकोले यो अवस्था आएको हो । त्यसो भन्दैमा वस्तु या सेवा खराब नै छ भन्नपनि सकिन्न । तर, मानिसहरुमा देखिएको कौतुहलता हेर्दा भने अधिकाँशहरु राम्रोसँग अध्ययन नगरी कारोबार गरेका रहेछन् भन्ने स्पष्ट हुन्छ । अर्काेतिर, वस्तु या सेवाको बारेमा त्यसरी प्राविधिक प्रश्न गर्ने, जटिलताबारे बुझ्ने, शँका उपशँका निवारण गर्ने भनेको तत्सम्बन्धी ज्ञान भएकाहरुलेमात्र गर्छन् । सामान्य प्रकारका मानिसहरु विक्रेताले जे भन्यो त्यसैको आधारमा कारोबार गर्छन् । त्यसैले विक्रेतामा नैतिक आचरण भएन भने मानिसहरु ठगिन सक्छन् । भनिन्छ, पैसाको मुख कालो हुन्छ । त्यसैले पैसाको कारोबार गर्दा यथेष्ट विचार पुर्याउनु पर्ने हुन्छ । एक या दुईपटकको कारोबारको कुरा नभई महिनै पिच्छे अनवरत रुपमा पैसा बुझाई रहनु चानचुने कुरा होईन । त्यसमाथि आफ्नो आम्दानीको ठुलो हिस्सा बुझाउँदै जानु भनेको आफ्नो गाँसबासबाट कटौती गर्नु हो । नेपाली रुपैँयाको दाँजोमा क्रयशक्ति बलियो रहेको एक एक डलरको महत्व बढि हुनेगर्छ । तरपनि भोलीको सुरक्षा या प्रतिफलकोलागी कसैले महिनाको १४०० डलरसम्म तिर्ने गरेको मैले थाहा पाएँ । पछि तिर्न नसक्ने भएपछि केहि रकम घटाईएको भएपनि अब त्यो मासिक रकम त्यस व्यक्तिलाई समस्या हुँदै गएको थाहा पाएको छु । अहिले सबैभन्दा बढि विरोधको स्वर सुनिएको बिमाको मासिक शुल्क कम्तीमा दुईशय पर्ने मैले थाहा पाएको छु । मलाई मेरै नजिकको मित्रले बिमा खरिद गर्न पटक पटक गरेको अनुरोध मैले नकार्दे आएको कारण हो म प्रत्येक महिना त्यति रकम बुझाउन असमर्थ छु भन्ने कुरामा स्पष्ट थिएँ र छु भने म भविष्यको प्रतिफलतर्फ लालायित भईन र यसलाई मैले लगानीको रुपमापनि कहिल्यै हेरिनँ । त्यसैगरी म अरुलाई आफ्नो प्रोडक्ट बेच्न सक्ने क्षमता नभएको र अरुलाई कन्भिन्स गर्न नसक्ने तथा ठान्दै यसलाई पन्छाउँदै आएँ । तर, मैले गरेको सोच या सावधानी तथा सजगता नगर्नेहरु आज अन्यौलको भूमरीमा परेका छन् र काननुी उपचार खोजीरहेका छन् । तर, कानुनको देशमा बसेर आफुले दस्तखत गरेको कागज आफैले राखेर मैले कुरा नबुझी मलाई फलानोले झुक्यायो भन्ने आरोप अपराध प्रमाणित हुन्छ हुँदैन त्यो भविष्यकै कुरा हो । अर्काेतर्फ आफन्त या नजिकको व्यक्ति भएको नाताले करकापमा परेर महिनाको ४ ५ शय तिर्ने सम्झौता गरेपनि केहि महिनापछि त्यस सम्झौतालाई रद्ध गरेको भन्नेपनि सुनेको छु । केहि महिना तिरेको पैसा फिर्ता पाए पाएनन् त्यो भने थाहा हुन सकेन । त्यसैगरी, कम्तीमा १२५ डलर खेर गयो भन्नेपनि थुप्रै भेटेको छु । तर त्यसो भनेर बिमा कारोबार पटक्कै खराब होईन । बिमाबाट लाभान्वित हुनेहरु थुपै्र छन् । सबैलाई थाहा भएकै कुरा हो बिमा भनेको आफुलाई आईलाग्न सक्ने सम्भावित आपतकालिन आर्थिक सँकटबाट बच्ने उपाय हो । थोरैथोरै तिरेर आफ्नो आर्थिक अवस्थालाई सहयोगी हुनु पक्कै राम्रो कुरा हो । अमेरिकामा कतिपय बिमा अनिवार्य हुन्छन् जस्तै हालै अमेरिकी सरकारले लागु गरेको स्वास्थ्य बिमा जसलाई ओबामा केयरपनि भनिन्छ लगायत गाडि बिमा तथा घर बिमा । तर जिवन बिमा चाहिँ ऐच्छिक हो । तर लगानी भने पक्कै होईन । खराब के हो भने यसकोलागी तिरिने चर्काे मासिक प्रिमियम र यसको बारेमा विस्तृत जानकारीको अभाव र अज्ञानता । यसको प्राविधिकता, यसको विशालता र जटिलताबारे पूर्ण ज्ञानको अभावमा बिमा एक समस्या नै हुनसक्छ जसरी अहिले धेरै नेपालीहरुलाई अनुभव भई रहेको छ । तर यो भन्दापनि जटिलता मासिक प्रिमियमले उत्पन्न गरेको हो । पिरामिड व्यवस्था अन्तर्गत चर्काे मासिक प्रिमियमले एजेण्टलाई बढि फाईदा पुग्ने भएकोले स्वभावतः एजेण्टले ग्राहकलाई पिरामिड व्यवस्थामा चर्कै प्रिमियममा सदस्य बनाउँछ । यो उसको धर्म हो । पेशा हो । नियत हो । त्यस्ता एजेण्टबाट कुनै नैतिकता खोज्नु, विश्वासपात्र मान्नु, आँखा चिम्लेर कारोबार स्विकार्नु नै ग्राहकको अक्षम्य भूल हो । बिमा सम्बन्धि पूर्णतया जानकारी नलिई एजेण्टबाट देखाईएको प्रतिफलको प्रलोभनमा पर्नु ग्राहककै कमजोरी हो भन्न सकिन्छ । यहि अज्ञानता र अन्यौलका कारण यो विषय दिन पर दिन जनचासोको विषय बन्नाको मूल कारण हो सम्बद्ध व्यक्ति वा सँस्थाबाट हालसम्म कुनै स्पष्टोक्ति सार्वजनिक नहुनु । त्यसकारण, यदि बिमा बिक्रेताहरुले उचित ढँगले सम्बोधन गरेको खण्डमा अहिले बिमकहरुमा देखिएको व्यापक जनचासो अनावश्यक ठहरिन पनि सक्छ । हुनसक्छ कतिपयले लहैलहैको भरमा नै म ठगिएँ भन्ने सोचेका होलान् । त्यसकारण, यथाशिघ्र अन्यौल निर्मूल गर्ने जिम्मा बिमा बिक्रेताहरुको नै हो । विशेष गरि नेपाली समुदायमा पिएफएको ज्यादा चर्चा भएको अहिलेको यो सन्दर्भमा पिएफए र यिनका एजेण्टहरुको दायित्व हुन आउँछ । मैले यो सँस्थासँग आबद्ध केहि मेरा मित्रहरुसँग यसबारे चासो राख्दा अहिलेसम्म कारोबार गरिएका कुनैपनि बिमाहरु शतप्रतिशत ठिक छन् र कसैलाई झुक्याईने काम गरिएको छैन भन्ने जवाफ पाएँ । त्यसो भए समाजमा भएका अन्यौलको बारेमा किन मौन रहेको त? भन्ने पश्नको उत्तरमा आफुलाई यस बारे बोल्ने अख्तियार नभएको भन्ने जवाफ यस लेखकले पायो । मैले व्यक्तिगत तवरले अनुभव गरेको एउटा प्रसँग केपनि हो भने पिएफएको वेबसाईट तथा यिनका एजेण्टहरुको फेसबुक या वेबसाईटमा अध्ययन गर्दा कुन बिमित व्यक्तिले कहिले कति बिमाको फाईदा कसरी पायो भन्ने जानकारी भन्दापनि कसरी बढिभन्दा बढि आय आर्जन गर्ने भन्ने नै बढि प्रचार प्रसार गरिएको पाईएको छ । जसको सोझो अर्थ हुन्छ, तपाई पैसाको श्रोत खोज्नुस् र धनी बन्नुस् ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |