हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

अथाह स्थिति

उज्ज्वल जी.सी., (काठमाडौँ)

अफिसमा केही कर्मचारीहरुको बढुवा भएकोले उषाको मुहार ज्यादै मलिन देखिएको छ । अरुबेला हाकिम साहेबसँग जिस्कने ऑंखाहरु आज ऑंसुले टन्न भरिएर टोलिन थालेका छन् । सबै साथीहरुको बढुवा भई बिना कारण उनको मात्र रोकिन जानुले मनभित्र गहिरो पीडाहरु छाएको मौन ऑंखामा प्रष्ट देखिन्छन् ।

भनसुन र चाकडीको सूत्र प्रयोग गर्न पनि उषा अरु कुनै कर्मचारीभन्दा कम थिइन । हाकिमलाई खुसी बनाउन लाए अह्राएको जुनसुकै कामकाज पनि ऊ लगनशीलताकासाथ गर्थी । अझ कुनैबेला आफ्नो नरम पिठिउतिर हाकिमले हात बिसाउंदा समेत कुनै असजिलो संकेत प्रकट नगरी हॉंसेर नै स्वीकार्थी ।

उनको कमजोरी अर्थात् अवगुण भन्नुमा एउटै थियोजुन हाकिमको मातहतमा बसी काम गर्यो, उसको गुणगान जपि अरुको चुक्ली लगाउने ।

वास्तवमा भन्ने हो भने चाकडी र चुक्लीकै भरमा उनले दुई,तीनजना आफ्ना नातेदारलाई अफिसमा घुसाइसकेकी छे । हाकिमसाहेबको मुडलाई विश्लेषण गर्न पोख्त भएकीले कुन समयमा कस्तो काम पट्याउने भन्ने राम्ररी थाहा थियोउनलाई ।

आफ्नो स्वास्र्थपूर्तिका लागि हाकिमसामु कुनैबेला घरका दुःखेसोहरु पोख्दै रुनु र कहिले इज्जतको सीमाबाट दुई फड्को मारी जिस्कनु उनको लागि स्वाभाविक थियो ।

जे होस्, जुनसुकै परिस्थितिमा पनि ढल्किदिन सक्ने क्षमता भएकोले समयसमयमा अफिसमा हुने कक्टेल पार्टीमा रक्सीको साथ उषाको हृदयस्पर्शी मुस्कान आवश्यक पथ्र्योहाकिमसाहेबहरुलाई ।

घरको आर्थिक अवस्था ज्यादै दयनीय भएकोले उषालाई आफ्ना दुईजना छोराछोरीका पढाइ शुल्क र लुगाफाटाहरु समेत टार्न पुग्दैनथ्योमासिक तलबले । त्यसैले उनी हरसम्भव हाकिमकै खेलौना बनी आफ्ना समस्या समाधान गर्ने प्रयत्न गर्थी ।

जागिरे लोग्ने भए पनि उनलाई कुनै आड भरोसा थिएन । लोग्नेसँग महिनावारी तलव लिनुको सट्टा उल्टो समयसमयमा बीस,तीस रुपियॉं अफिस जाने बेला खर्च दिनु पथ्र्यो उनले । जतिसुकै सम्झाए,बुझाए पनि रक्सी पिउने आदतलाई उनको लोग्नेले छोड्न सकेको थिएन । सधै बेलुकी १०/११ बजे रक्सीले धर्मरिदै आउने क्रमले वाक्क भएर उषाले लोग्नेलाई मर्यादाको रेखाबाट धेरै तल राखिसकेकी थिई ।

त्यसैले अफिसमा हाकिमको नजिक बनेर दुई पैसा आम्दानी गर्न उनलाई लोग्नेको कुनै संकोच लाग्दैनथ्यो ।

हुन त थुप्रै कर्मचारीले भित्रभित्र उनको बारेमा नाना थरिका कुराकानी गरेर पनि खुल्ला रुपमा दोषहरु औंल्याउने कसैको हिम्मत थिएन । उनको विरोधमा दुई शब्द मात्र हाकिमले सुने भने भोलि जागिरको म्याद समाप्त हुन्छ भन्ने त्रासलाई सबैले ज्यूदो बनाएर राखेका थिए ।

त्यति हुँदाहुँदै पनि उषाको बढुवा रोकिनु एउटा आश्चर्यको विषय बनेको थियो अफिसका सारा कर्मचारीलाई । उनको बढुवा किन कसरी भएन भनेर सबैले आआफ्नै तर्क दिन्थे । कसैले–‘नक्कली सर्टिफिकेट भएकोले बढुवा भइनभन्ने अनुमान लगाउँथे त कसैले–‘शक्तिको पुजारी मात्र भएर के गर्नु ? कुन कुराले हाकिमको चित्त दुखाई मोरीले ? तर जे होस् बढुवा भएको भए राम्रै हुन्थ्यो ।भन्थे ।

आफ्नो अडकल सबैको थियो तर यथार्थको धरातल भेट्टाउन कसैले सकेका थिएनन् ।

                               ००    ००     ००

छातीमा पीडा बोकेर केही दिन बिताइ उषाले ।

हाकिमसाहेब विगतमा भन्दा अझ राम्रो व्यवहार गर्थे उनीसँग । आफ्नो बढुवा नहुनुको कारण सोद्धा कुरा धेरै गहिरो छ । तिमीले अझै बुझेकी छैनौ । चुप लागेर बस न केही महिना !भन्ने जवाफ आउंथ्योहाकिमसाहेबको । त्यसैले तथ्य कुरा थाहा पाउन उनी एक सॉंझ आफ्नो सम्बन्धित हाकिमसाहेवको घरमा पुगीनौ सय पर्ने रेडलेवलको बोतल लिएर ।

शनिवारको दिन भएकोले हाकिमसाहेब रक्सीको चुस्कीमा लठ्ठ परेर बसिरहेका थिए ।

बेलुकीको समय रक्सीको बोतलसहित उषाको आगमनले उनलाई एकछिन दिन हो वा रात हो भनेर पत्तो भएन ।

दुई हातको नमस्ते खाने वित्तिकै उनले भने–“ओहो... उषा ! यतिबेला आयौ तिमी । के काम पर्यो त्यस्तो ?”

सोह्रवर्षे युवतीले जस्तो औंला टोक्दै उषाले भनि–“नआएर के गर्नु त ? मलाई छोडेर सबैलाई बढुवा गरिबक्स्यो हजुरले ! मैले पनि त अरुले जत्तिकै कामकाज गरेकी थिएं । हजुरको सेवा गरेकी थिएं

–“मैले तिमी काम गर्दिनौ भनेर भनेको छु र ?”

–“त्यसो भए किन मेरो मात्र बढुवा रोकियो त ?”

–“तिमीलाई त म धेरै बुद्धिमानी सम्झन्थे । तर तिम्रो कुरा सुनेर त मेरा सोचाइ झुठा रहेछन् जस्तो पो लाग्यो । मेरो लागि तिमी कहिल्यै टाढा हुन्छ्यौ र ? आजसम्म मैले तिमीलाई के के गरे, के के गरिन सोच न ।

–“मैले पनि हजुरले केही गरिबक्सेन भनेर कहॉं भनेकी छु र ? बढुवा जस्तो कुरा रोकिएपछि दुःख त लागिहाल्छ नि हजुर !

रक्सीको घुट्को निल्दै हाकिमसाहेबले पुनः भन्न थाले –“ठीक छ । दुःख लाग्छ । यस्तो कुराले धेरैलाई दुःख लाग्छ । तर तिमी आफै सम्झ न, मैले किन गरिन भनेर । आजभन्दा झण्डै तीन,चार महिना अगाडि यही सोफासेटमा तिमी र म गफ गरिरहेको बेला अफिसको धु्रबबहादुरले देखेको थियो कि थिएन ? अब तिमी आफै भन, एउटा सानो स्टाफले तिम्रो र मेरो व्यक्तिगत कुराकानी एउटै सोफामा बसेर गरेको देख्छ भने उसले के भन्ठान्ला ?

तिम्रो पनि बढुवा भएको भए, अवश्य त्यसले तिम्रोमेरो सम्बन्धलाई अफिसमा फुक्दै हिड्थ्यो । अनि अरु कर्मचारीले मलाई के भन्थे ? तिमीलाई के भन्थे ? भन त ! त्यसैले चार,पॉंच महिना चूप लागेर बस । म ध्रुबबहादुरलाई बाहिर सरुवा गर्ने पक्षमा छु । त्यसको सरुवा भएको केही दिनमै म तिम्रो बढुवा गराई दिउंला भयो अब?”

हाकिमसाहेबको तर्क सुनेर उषा झसङ्ग भई ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |