हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पर्सीपेनीको त्यो रात

विश्वराज अधिकारी, (हाल: ओक्लाहोमा, अमेरिका)

बिहान काममा जाँदा भान्जाले गराजको ढोका खोल्दै भनेका थिए “मामा, भरे एक ठाउँमा हाउस वार्मिंगको पार्टी छ। यता (अमेरिका) काहरुले कसरी पार्टी गर्दा रहेछन् तपाइँलाई हेर्न रमाईलो होला। त्यो पार्टीमा जान तयार भएर बस्नु होला।”
अफिस जान ढिलो भएकोले यति भन्दा बढी खबर मैले भान्जाबाट पाउन सकेको थिन। कसको घरमा त्यो पार्टी हो? कुन समयमा हो? कुन सहरमा हो? यो सबै मैले केवल अनुमान लगाउने किसिमले भान्जाले छाडेर गएका थिए। घरमा भान्जा र ममात्र भएकोले त्यस पार्टी बारे थप कुरा थाहा पाउनु सम्भव थिएन।
साँझ भान्जा कामबाट फर्किए। हतारिएर घरभित्र पस्दै भने “मामा, हामी अहिले यहाँबाट पर्सीपेनी भन्ने सहर जानुपर्छ। पर्सीपेनीमा नै त्यो पार्टी छ। पार्टी भने उदय श्रेष्ठको घरमा हो। उसले घर किनेको एक महिना भयो। उदय सफ्टवेयर इन्जिनियर हो। बुढा बुढी दुबै काम गर्छन्। आम्दानी पनि गतिलो छ। यो पार्टी पनि त्यै आम्दानीको परावर्तन हो।”
“म त अफिस जाँदा लगाएर गएको यो सोर्ट (हाफपैन्ट) नै लगाएर जान्छु। यहाँ (अमेरिकामा) कसले, कस्तो लुगा लगायो भन्ने कुराको चियोचर्चा हुँदैन। जस्तो लगाए पनि चल्छ। मामा, बरु हजूर छिट्टै कपडा चेन्ज गरेर आउनु होला।” भान्जाले थपे।
हामी पर्सीपेनी पुग्दा रातको दस बजि सकेको थियो। राति त्येही (पर्सीपेनी) बस्ने भएकोले भान्जा पनि ढुक्क र रिलेक्स देखिन्थ्ये। भोलिपल्ट शनिवार पर्ने संयोगले उनको खुसीलाई धरहरा जत्तिकै अग्लो पारेको थियो।
राति एघार बज्दा धेरैले डिनर खाइ सकेका थिए। भोलीपल्ट काम हुने दुइ चार जना घर फर्किने सुरसार गर्दै थिए।
भान्जाले मतिर हेर्दे भने “मामा, सुत्ने इच्छा छ भने सुत्न जानुभए हुन्छ। हजुरकोलागि सुत्ने व्यवस्था उदयले गरिदिएका छन्।”
“तिमी पनि सुत्ने होइन?” मैले प्रश्न गरें।
“नाचगान त अझ बाँकि नै छ मामा, सबैले खाइसके, अब पो पार्टी शुरु हुन्छ। अहिले सुत्ने त कुरा  आउनै सक्तैन। झन् भोलि त काममा जानु नै छैन। मस्ति  छ, मस्ति......................।”
“म पनि रमाइलो हेर्छु नि, हुँदैन?” मैले मौकाको फाइदा उठाउन खोज्दै भनें।
“हामी जवानहरुको बीचमा मामालाई बोर त हुँदैन? हाम्रा उटपट्यांग कुराहरु....................?”
“कुनै समय हामीपनि जवान थियौ, भान्जा। मन त अझै.............।
म भान्जाको पछिपछि हिंडे।
भान्जा सानोबाट ठूलो बैठकमा आए र साथमा पन्ध्रबीस जनालाई आफूसँगै तानेर पनि ल्याए। ती मध्ये एक जनाले गिटार बोकेका थिए भने तीन जनाले मादल।
कुमारले मतिर फर्केर भने “साथी हो, उहाँ मेरो मामा.....  काशी अधिकारी.....। अमेरिका घुम्न भनेर आउनु भएको। अनि बोस्टनमा बस्ने छोरीहरुलाई भेट्न पनि। म कहाँ भने मलाई बिहे गर्न राजी बनाउन रे ...........। तर मैले भने अहिलेसम्म पनि गर्लफ्रेन्ड बनाउन सकेको छैन ......................।”
यति भनेर भान्जा मरिमरि हाँसै अनि उनको त्यो हाँसोमा साथीहरुले पनि जमेर साथ दिए। भान्जाले साथीहरुतिर हेरेर केही सम्झे झै गरी भने “मामा यी सबै मेरा साथीहरु हुन। कसकसको नाम लिउँ? एकजना दुईजना भए पो भन्नु, साथीहरुको नाम। भान्जाको कुरा सुनेर उनका सवै साथीहरु निकै बेर गलल हाँसे। म पनि हाँसें। उनीहरुलाई त्यसरी हँसाउनमा बियरको विषेश भूमिका हुन सक्ने मैले अनुमान गरे।
गीत संगीतको कार्यक्रम प्रारम्भ भयो। गीत गाउने क्रम नारायण गोपालको गीतबाट सुरु भयो। केहीले प्रेमध्वजको गीत गाए। केहीले तारादेवीको। केहीले कुमार बस्नेतको त केहीले हरि प्रसाद रिमालको। पछिल्लो पुस्ताका अन्जु पन्त देखि रामकृष्ण ढकालसम्मको गीत गाए। नेपालका अनेक गायक गायिकहरुको गीत गाए। क-कसले क-कसको गीत गाए त्यो सम्पूर्ण मलाई अहिले याद भएन पनि। तर एउटा कुरा भने राम्रो गरी याद छ। कुमार बस्नेतको गीत गाउँदा भने मादल पनि खुब घन्किन्थ्यो अनि दुईचारजना युवायुवतीहरु नाच्न सुरु गर्थे पनि।
यसै बीच एक व्यक्तिले क्रम भंग गर्दै भने “कुमार दाइ, तपाइँको मामालाई पनि एउटा गीत गाउन भन्नु पर्यो।”
भावी समस्यालाई टार्दै मैले भने “हेर्नुस बाबुहरु, म मान्छे पहाडे तर जन्म कर्म मदिसे। एक त गीत कसरी गाउने त्यो नै आउँदैन। दोस्रो, नेपाली गीतहरु अलि अलि आउँछ तर पूरा भने गाउन सक्तिन। हिन्दी सिनेमाहरु हेरेर हुर्केको, जवान भएको हो म। तर त्यो हिन्दी गीत पनि ठीकसँग गाउन आउँदैन।”
“मामालाई गीत गाउन आउँदैन भने गाउने कर नगर” त्यो भीडबाट कसैले भनेको सुनियो। आफू जोगिएकोमा म दङ्ग परें।
फेरि शुरु भयो एक पछि अर्को नेपाली गीत आउने सिलसिला। लोक गीत, आधुनिक गीत, झ्याउरे गीत, पप, रक, एकपछि अर्को गीत गाउने क्रम चलि रहेको थियो | मेलबादेवी देखि माष्टर रत्नदास प्रकाश सम्मका गीतहरु खोजी खोजी गाउने क्रम टुट्ने छाँटकाँटमा थिएन। तर जे जति गीत गाइए सबै केवल नेपाली गीतहरु थिए।
“होइन, मामाले पनि गाउनु पर्यो। आफ्नो जमानाको कुनै झ्याउरे गीत गाए पनि हुन्छ” बिर्सिएको अध्यायलाई फेरि कसैले दोहर्यायो। अर्काले पनि त्यसमा होमा हो मिलाए। धेरै जनाले मैले गीत गाउन दबाब दिएपछि त्यो ठूलो दबाबलाई मैले थेग्न सकिन। मैले आफूलाई गीत गाउन तयार पार्नु पर्ने वाध्यात्मक स्थिति उत्पन्न भयो र गरुङ्गो गरी एउटा हिन्दी गीत गाएँ । गीत अति नै मुस्किल गरी गाएँ तर जे होस पूरा गीत गाएँ ।
मैले गाएको गीतमा भने अघिअघि  अरुहरुले गाउँदा अन्य स्रोताहरुले दिने जस्तो ताली र उत्साह मैले भने पाइन। मेरो गीत सुनिरहँदा एक किसिमको अघोषित मौनता जस्तो नै छायो। राति दुई बजे गीत संगीतको कार्यक्रम सकिएर प्राय: सबै आ-आफ्नो घरतिर गए। हामी जस्तो अलि परबाट आउने केही परिवारहरु उदयको घरमा नै राति सुत्यौं।
भोलि पल्ट, अर्थात शनिवार हामी मामा भान्जा दिउँसोको समयमा पर्सीपेनीबाट इस्ट ब्रन्सविक फर्कदै थियौं। हामी बीच निकै कुराकानी चलिरहेको थियो। कारको पांग्रा घुम्ने र हाम्रो कुरा अगाडि बढ्ने एकसाथ भइरहेको थियो। कुरा खास गरी अमेरिकी र नेपाली जीवन शैलीको तुलनात्मक अध्ययनमा नै केन्द्रित भएर चलिरहेको थियो।
चलिरहेको प्रशंगमा झ्वाट्ट परिवर्तन गर्दै मैले भने “भान्जा मैले हिँजो गीत गाउँदा के साँच्चै गीत गाएको मिलेको थिएन? के मैले बेसुरमा गाएको थिएँ?”
“गीत गाएको मिलेको थियो मामा।”
“अनि, किन अरु गीतमा जस्तो श्रोताहरुको उत्साहपूर्वकको प्रतिक्रिया मेरो गायकीमा भेटिएन?”
“मामाले नेपाली गीत गाउनु भएको भए हुन्थ्यो।”
भान्जाले थपे पनि “मामा, विदेशमा बसेर पनि हामी आफ्नो मुलुकको कला संस्कृतिको विकास र विस्तार गर्नमा लागि परेका छौ। हरदम सक्रिय छौ। मामाले हिजोको त्यो गीतसंगीतको कार्यक्रममा देखि हाल्नु भयो नि। सबैले केवल नेपाली गीतहरु मात्र गाए। होइन त, मामा? अस्ति नेपालमा ठूलो र अति विनासकारी भूँइचालो गएको गयो, थाहा नै छ होला, मामालाई। पीडितहरुको सहयोगमा हामीले यता (अमेरिका) बाट राम्रो रकम पठायौं। कतिपय साथीहरुले त क्रेडिट कार्डबाट लोन लिएर पनि नेपाल पठाए, डोनेसन दिए।”
मैले सहमतिमा शीर हल्लाए।
भान्जाले मुहार मलिन पार्दै भने “हामीले यति गर्दा पनि विदेशमा बसेकाहरु मौज मज्जा गर्न उता (विदेश) गएका हुन। विदेश गएपछि स्वदेशलाई बिर्सने गर्छन। यस्ताहरुलाई देशको के माया हुन्छ भनी नेपालतिर आलोचना हुन्छ रे। अझै, कतिपय नेताहरुले त स्वदेशको माया मारेर विदेश जानेहरुलाई खोलामा बगाइ दिएपनि हुन्छ भन्छन रे।”
थाहा छ मामा, यस्ता कुराहरुले हाम्रो चित्त कति दु:ख्छ? स्वदेशमा भएकाहरुलाई भन्दा बढि विदेशमा भएकाहरुलाई आफ्नो मुलुकको माया लाग्छ। एक किसिमले आफ्नो मुलुक हरदम आफू साथै लिएर हिंडेका हुन्छन्, विदेश बस्नेहरु। स्वदेशमा भएकाहरुलाई त नजिकको तिर्थ हेला भने जस्तो हुन्छ। होइन त मामा?” भान्जाले थपे।
भान्जाको कुरा काट्ने शब्दहरु मसँग पटक्कै थिएनन्।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |