हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

देशप्रेम

जय प्रकाश विवश, (आँखिभूई ८ संखुवासभा)

हिजो बेलुका अफिसबाट घर फर्केर चियाको तलतल लाग्यो। बहिनीलाई भनेर चिया बनाउन लगाएँ अनि चुस्की लगाउने तरखरमा थिएँ एक नजिकका मित्रको फोन आयो । उनको आवाज अलि फरक थियो त्यो बेलामा । सर म माफी माग्छु तपाईँसँग समय भएन बिदाईको भेट पनि भएन म त जान लागेको साँढे सात बजेको फ्लाईट छ। म अवाक भएँ । अस्ति मात्र उनीसँग सँगै बसेर चिया पिएको थिएँ मैतिदेबीको मन्दिर नजिक उनको कोठा छेउमा बसेर । सँगै कति आन्तरिक कुरा गरियो कति ब्यवहारिक कुरा भएका थिए । पढाई सँगै गाउँ पनि सँगै नै हो त्यस्तै एक दिनको बाटो पहाडमा त्यो पनि नजिकै हो नि । उनका निकै कुरा मलाइ थाहा थियो मेरा निकै कुरा उनलाइ थाहा थियो सायद निकै लामो सहकार्य हुनुको फाइदा होला यो पनि । पढाई पनि राम्रै थियो स्नातकोत्तर राम्रै श्रेणीमा उतिर्ण भएका थिए । परिवार पनि ठिकै थियो काठमाण्डौमा राखेर सन्तानलाई उच्च शिक्षा दिलाउन सक्षम । उनमा एक प्रकारले शिक्षा प्रतिको लगाव राम्रै थियो  मेहनती थिए । हरेक कुरालाइ राम्ररी नबुझेसम्म नछाड्ने उनको बानी थियो । लगावले उनमा असल शिक्षाको प्राप्तिमा सघाएको थियो नै साथीभाइमा पनि इमान्दार र मिलनसारको छवि बनाएका थिए उनले ।

यसरी विगतको पर्दा विस्तारै खुल्दै गयो मेरो मानसपटलमा उनीसँगको सहकार्य र संगतको । उनको बिहेको कुरा भाइ बहिनी तथा दिदीहरुको बिबाहको कथा अनि उनका अनुभूतिको कुराको रिल मेरो मनमा खुब घुम्यो फनफनी । मेरो देशको कथा राष्ट्रभक्तिका कुरा सबै निकैबेर मेरो मनमा तितो अनुभूतिको रुपमा घुम्यो पुरानो रिल घुमे झैँ फनफनी । युवा जनशक्तिको लागि रोजगारीको कुरा कति भए कति यहाँ हरेक राजनीतिक दलका घोषणापत्रका पानामा हुन्छन समाधानका कुरा अनि नीति रणनीतिहरु । कति चुनाव आए गए कसैको घरमा दाल भरेनन्  तिनले कहिल्यै कुरा कुरा भन्दा माथि उठेनन् पनि । हरेक दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हजारौँ युवाहरु हातमा राहदानी बोकेर लाइनमा हुन्छन त्यहाँका सुरक्षा प्रदायकहरु निरिह आफ्नो कर्तब्य ठानेर खुब नियामक बनेको भ्रम पाल्छन् त्यहाँ चार पाँच घण्टा लाइनमा कुरेर गल्फको मरुभूमिमा पसिना बगाउन जाने हजारौँको जमात हुन्छ ।  हेरेको छु त्यहाँ रोएर जानेहरुको जमात अनि रोएर फर्किनेहरुको पनि उस्तै जमात । भर्खर ओठमा जुँगाको रेखी बस्न थालेका बालकहरु विश्वमा सस्तो श्रमको आपुर्ति गर्छन यो नियति छ हाम्रो । श्रम नीति तथा अन्य नीतिहरु बनेका छन कार्यान्वयन पनि हुन थालेको सुनेको छु। बस कान बैरिएका छन सुन्दासुन्दा कैलेकाँही फुर्सदमा पुग्छु एअरपोर्ट र हेर्छु जिम्मेवारीको पहाड बोकेर जन्मजात रिनको चङ्गुलमा फसेका बाल युवाहरुको कहाली लाग्दो जमात अनि अज्ञात कल्पनामा रमाउनेहरुको निर्दोष  अनुहारले मलाइ पनि बेस्सरी उराठ्याई दिन्छ ।

मित्रको फोनको कुराले मलाई यसरी देशसँग जोड्छ अनि राष्ट्रप्रेमसँग पनि  देश हेरेर अझ भनौँ भने देशमै राम्रो जागिर खाएर देश सेवा गर्ने सपना पालेर बस्ने सबै उ जस्ता युवाहरु जो सकेसम्मको आफ्नो बलबुताले भ्याएसम्म प्रयास गरी सिद्दयाएर अन्तिम विकल्पका रुपमा  विदेश पलायन हुन्छन । बालकृष्ण समले चुत्थो देश भए पनि राष्ट्रभक्ति मर्दैन भनेथे क्यारे तर चामल र दाल नभरे पछि प्रमाणपत्र खान या ओढ्न ओछ्याउन नहुने रहेछ नत जिउ ढाक्न नै मिल्ने । त्यसैले विकल्प नै परदेश भएको कुरा कतैबाट पनि छिपेको छैन । कसरी हो यस्तो भएको किन हामी ‍जागिर मुखी साक्षर उत्पादन गर्छौँ  किन स्वरोजगारमुखी बनाउँदैन नागरिकलाइ हाम्रो शिक्षाले । हुन त हाम्रो पद्दति नै यस्तै छ सोच यस्तै छ गाउँबाट या शहरबाट निस्कदा नै जागिरको मनस्थिति बनेर आउँछ पैसामुखी संसार छ तुलना हुन्छ घर टोल छिमेक अनि अरुसँग । अनि जाग्छ सबैमा पैसा कमाउने भुत। कम्तीमा दुइ पैसा कमाइन्छ विदेशमा घरमा बाआमा देखि श्रीमतीसम्म दाजुभाइ देखि जोरीपरी सम्म सबैको मुखमा बुझो लगाउने भनेकै पैसा भएको छ । नभएर पनि के गर्ने स्वदेशमा न त अवसर छ न त सुरक्षा नै  न प्राइभेटमा छ न त सरकारी न समयमा काम छ न त रोजीरोटीको जोहो गर्न कसैको पढाइले सघाउँछ ।

देशप्रेमका कुरा सबैका देखाउने मात्र भएका छन के गर्ने देशले पेट नभरे पछि मेरा मित्र पनि उही मनोदशाका शिकार भएका थिए राम्रो पढाई स्नातकोत्तर पनि राम्रो अङ्क सहितको छ अन्य सहायक पढाई पनि छ प्राविधिक कानुन र मास्टरीको पनि प्राविधिक ज्ञान । मेहनतीमा मेहनती ईमानदारीमा ईमानदारी सबै थोक थियो उनमा ।धैर्य पनि थियो नै तर सबैले निकै ठूलो धैर्यताको कुरो गर्न सकेनन् । राजधानी शहरमा बसाइ साह्रै महङ्गो हरेक पाइलामा पैसा परिवारमा पनि कति गर्ने लगानी भन्ने कुराले धैर्यतामा पूर्ण विराम लगाइदियो  अन्तिम विकल्प बन्यो उनको परदेश । हरेक कुराको समाधान त छ क्यारे तर मानसिकतामा परिवर्तन आए देखि पढ्ने जागिर खाने माध्यम मात्र होइन भन्ने विचार समाजमा आए यस्ता योग्य  र राष्ट्र निर्माणमा आवश्यक जनशक्ति यसरी हजारौँका संख्यामा विमानघाटमा ओर्लनु पर्ने आवश्यकता पर्ने थिएन ।

सोचेँ उनी मात्र होइन उनी जस्ता हजारौँ युवाहरु जसमा राष्ट्रको लाखौँ लगानी छ जसको शिक्षा दिक्षामा देशले करोडौँ  खर्च गरेको छ  र प्रत्यत्पादनमा राष्ट्रले उनीहरुको पसिना बापत रेमिट्यान्स मात्र पाउँछ। यतै यस्ता सिपयुक्त युवाहरु राख्न सके पक्कै पनि देशको विकासका लागि अरुको मुख ताक्नु पर्दैन कि । साथी विमान चढेर सपनाको परदेश पुगिसके म उनका र म अनि उनी जस्तै साथीहरु जो साक्षर योग्य र दक्ष बनेर विदेश पुग्छनको निम्ति सोच्छु सोचिरहन्छु ।


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |