मालिक म वौलाएं
प्रकाश विहीन, (काठमाडौँ)
प्रत्येक झिसमिसे विहानीमा
फाटेको एकसरो गुन्यौ चोली भिरेर
काक्रोको चिरा जस्तै चरचरी चिरीएको पैताला
छरछरी रगत बगाउंदै
मुटु काम्ने जाडो यामको
छाला डड्ने घामको वेपरवाह
अढाइसय वर्षदेखी म तपाईको सेवामा निस्वार्थ समर्पित छु मालिक
मालिक आफ्नो खुसीहरु लुटाउंदै
इच्छा र चाहाहरु तिलाञ्जली दिदै
पलपलमा घरीघरी बाँचेर पनि मरिरहेकी छु ।
तर पनि आफ्नो कर्तव्यलाई सधै सधै पुरा गरिरहेकी छु
तर मालिक अव मेरो बलात्कृत इच्छा चाहना र खुसीहरु मात्र होइन
मासिक धर्मको दोस्रो दिन पनि भन्नु भएन
अस्तित्वनै हरण भो, अस्मिता नै लुटियो
पटक पटक यसरी तपाईको स्वभिमान बचाउन अचानो बनि
तपाईको प्रत्येक चोटहरु सहदै आएँ
तपाईको खुसीहरुको लागी म निरीह वनी चुपचाप सर्वस्व नै लुटाएं
तर मालिक कहिल्यै मलाई एक थोपा खुसी पनि दिन सक्नु भएन
मालिक त्यसैले म वौलाएं ।
त्यसैले मालिक आज मलाई किन किन नपिएको नसाका मात चढेको छ
नखाएको विष लागी लठ्ठिएर वरबराउदै
युगौंयुग देखी अड्डा जमाउनु भएको ठाउंमा हजुरुले
मेरो पनि आधा हक लाग्ने कुरा उठाएं
रिसानी माफ होस् मालिक म वौलाएं |
मालिक तपाइले म माथी गरेका यतिका उपकारहरुलाई आत्मसात गदै ,
चुपचाप सहेर वस्नु पर्थ्यो, वेहोसी मै चिच्याएर रहस्य छताछुल्ल बनाएं
मालिक साँच्चै म वौलाएं
आफ्नो लुटिएको स्वभिमान बचाउन
खोसीएको खुसीहरु फर्काउन
जनलहरको ज्वालामुखी विस्फोट बनाएं।
आन्दोलनको भरमा आफ्नो पहिचान स्थापित हुने देखेर ,
युद्धको मैदानमा आएं ।
यतिका समय तपाइकै गुनगान गाएं ,
तपाइकै नुन पनि खाएं ।
तर म तपाइको विरुद्धमा लागें ,
आन्दोलनमा हेलीएं
रिसानी माफहोस मालिक म साच्चै वौलाएं ।
रिसानी माफहोस मालिक म साच्चै वौलाएं ।
prakashbiheen@yahoo.com