तर भन्दिनँ म कसैलाई
मुक्तान थेबा , (याम्बु)
औँलाहरुमा नौनी दलिएको छ
र त, झुलेको आँत सुकाएर
दुध आफ्नो ढुङ्ग्रोमा पारिरहेको छ-ऊ
चपाउने दारा लुकाएर
देखाउने दाँत मात्र देखाइरहेको छ-ऊ
उसका चपाउने दाराहरु
चपाइरहेकै छन्-अँधेरोमा
स्वप्नालुहरुबाट लुटेका स्वप्नहरु
नत्र
ओखली आमाहरुले
ओखलमा कुटेको मसिनु धानको चामल
कसरी पाक्थ्यो उसको कसौँटीमा?
उसका देखाउने दाँतहरु त
फूलबुट्टाले सजिएकै छन् नि !
सबैले तारिफ गरेकै छन्-
उसका फूलबुट्टे प्रजातान्त्रिक दाँतहरुका
र त, भएको छ-ऊ
स्वघोषित त जनसेवक
सुनमाया काकीको ठेकिमा नाच्ने मदानीलाई माथ दिने
उसका लोकतान्त्रिक आँखाहरु
घरी-घरी
असारे खेतमा हलिले गाढेको हलो भन्दै चर्को गरी
घिउ भरिएको गम्फुमा गएर जोतिइरहन्छन्
तैपनि उसका आँखामा टाँसिएको
उदारवादी चस्माको तारिफ गर्नेहरु
दिनहु थपिँदो छ-गणतान्त्रिक शहरमा
हिजै बेलुकी हो फुकेको-"घटना र विचार"ले
‘गणतान्त्रिक शहरमा
जनप्रिय, जनसेवक महोदयको भव्य अभिनन्दन् हुँदै छ
एक सय एक किलोको पुष्प मालाले स्वागत गरिने’
माला उन्नेमा तल्लाघरे मानबिरे थारु पनि परेको रहेछ
उसकी दिदी कल्ली कम्लरी
पोहोर साल अस्टमीको रात
जनसेवक महोदयको शयनकोठाको पङ्खामा झुन्डिएकी थिइन् क्यारा!
आत्महत्या ठहरिएको त्यो घट्ना देखि बिछिप्त मानबिरे
मेरो त भाँडा-कुटी खेल्ने साथी
कहिले काहीँको भेटमा भन्ने गर्थ्यो-
‘थेबा, म त्यसलाई सिध्याउँछु’
भित्र-भित्रै डरले चिमोटिरहेको छ मलाई
तर भन्दिनँ म कसैलाई ।।