एक धर्को सिन्दूर
राज थापा, (लिम्रीक,आयरल्याण्ड )
एक धर्को सिन्दूरको
के भर छ र ?
जीवनको यौवन सँगै मौलाएको
कुरकुरे बैशमा जोडी
बाँधीएको
प्रमाणित गर्थ्यो
सिउदोको सिन्दूर
बेदनाले मनको कथा बोकेर
जिउन विवश थिए सिउदो भरेर
तृष्णाका प्याला
बोकी बर्षौ
बाटो हेरी बस्थ्यौ परदेशीको
आज जमाना पनि
तन्नेरी भएछ
सागर तर्दै सिउदोको सिन्दूर
समय सङ्गै उडी रहेछ
पारपाचुके मागी रहेछ
सुनौलो सपना बोकी
रहेछ
पाश्चात्य साम्राज्यवादको
हावाले एकतमास उडाई
रहेछ
आफ्नो सँस्कार भत्की
रहेछ
खै अब सिन्दूरको के भर छ र ?