हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कार्यक्रम, प्रमुख अतिथि र पीडा

बासु श्रेष्ठ, (उडव्रिज, भर्जिनीया)

कार्यक्रम चल्ने लहर छ । विभिन्न प्रकारका कार्यक्रमहरु हुन्छन् । राजनैतिक, साहित्यिक, उद्घाटन, शिलान्यास आदि आदि । भनौँ जुनसुकै विषय र क्षेत्रको कार्यक्रम हुनसक्छ । र यस्ता कार्यक्रम जहाँतहिँ भईरहेको हुन्छ । स्वाभाविक हो कार्यक्रम हुनु । अनि त्यस्ता कार्यक्रममा प्रमुख अतिथिको रुपमा स्थापित तथा प्रसिद्ध व्यक्तित्वहरुलाई निम्त्याईन्छ ।
यस लेखमा विशेष गरी साहित्यिक कार्यक्रममा उपस्थित हुने प्रमुख अतिथिको अव्यक्त पीडाको बारेमा उल्लेख गर्ने जमर्को गरेको छु ।
देश र विदेशमा साहित्यिक कार्यक्रम मनग्गे हुन थालेका छन् । विमोचन, सम्मान देखि अभिनन्दन लगायत  थुप्रै साहित्यिक कार्यक्रम तथा विभिन्न प्रकारका जयन्ती कार्यक्रमहरु हुने गर्दछन् । यस्ता कार्यक्रमहरुको आयोजना गर्ने आयोजकहरुको प्रशँसा गर्नै पर्दछ । आयोजकहरुले गर्ने पैसाको खर्च, कार्यक्रम बनाउन र सफल बनाउन गरिने प्रचार प्रसार, निम्ताहरु बाँड्ने लगायतकालागी गरिने मेहनतकोलागी उसको योगदानको कदर गर्नैपर्छ । आफ्नो कार्यक्रमको शोभा बढाउन र बहुसँख्यक मानिसको सहभागिता होस्, कार्यक्रमको प्रचार प्रसार तथा समाचार चारैतिर फैलियोस् भन्ने लालसा आयोजकमा हुनुपनि स्वाभाविक नै हो । त्यसकोलागी नै हो उसले कार्यक्रमको विषयगत क्षेत्रमा प्रसिद्धि या ख्याति कमाएका व्यक्तिहरुलाई प्रमुख अतिथिको रुपमा बोलाएका हुन्छन् । यहाँसम्म ठिकै छ । त्यस्ता व्यक्तिको सम्मानपनि हुने, आफ्नो कार्यक्रमले प्रचार प्रसारपनि पाउने । एक तिरले दुई शिकार ।
तर यस्तो आयोजनामा आयोजकहरुले ध्यान नपुर्याएका र मलाई खट्कि रहेका विषय चाहिँ के हो भने निम्त्याइएको त्यस्तो व्यक्तिको स्वास्थ्य तथा खानपिनमा ध्यान नपुर्याईनु ।
स्वाभाविक रुपले आमन्त्रित त्यस्ता व्यक्तिहरु उमेरमा पाको भईसकेका हुन्छन् । उनिहरुलाई मँचमा घण्टौँसम्म एउटा मेचमा आसिन गराएर लम्बेतान भाषणादिका बिच कैदि झैँ बनाएर राखेको हुन्छ । अक्सर साहित्यिक कार्यक्रमहरुमा मैले देखेको आयोजकका यस्ता केहि कमजोरीहरु यहाँ उल्लेख गर्न चाहन्छु ।
एक) काठमाण्डौँको एक साहित्यिक कार्यक्रममा वरिष्ठ आख्यानकार मदनमणी दिक्षित प्रमुख अतिथिको रुपमा हुनुहुन्थ्यो । कार्यक्रमकोलागी ठिक समयमा आईपुग्नुभएपनि कार्यक्रम ढिलो शुरु भएको थियो । उमेरले साह्रै गल्नुभएको प्रष्टै देखिने व्यक्तित्वलाई आयोजकले दुख दिएको अनुभव मैले गरेँ । त्यसो भनेर मैले आयोजकप्रति कुनै दुर्भाव व्यक्तपनि गरेको होईन । तर कार्यक्रमपछि जब मैले वहाँसँग परिचय गरेर केहि कुरा गर्न खोज्दा वहाँ निरापद र थाकेको अनुभव मैले गरेँ । मैले आफ्नो परिचय दिँदा वहाँबाट कुनै प्रतिक्रिया पाईनँ । मैले वहाँको शारीरिक अवस्थाप्रति कुनै अवमूल्यन गर्नपनि खोजेको होईन । किनभने वहाँको उमेर अनुसार कार्यक्रम भर मँचमा बस्नुपर्दा थाकिसक्नु भएको थियो । वहाँसँग फोटो खिच्ने लालसाले स्वाभाविकवश थुप्रै मानिसहरु अघिपछि र तानातान गरिरहेका थिए । मलाईपनि वहाँसँग उभिएर एउटा सम्झनारुपी फोटो खिच्ने रहर नजागेको होईन । तर वहाँको स्थिति र मानिसहरुको व्यवहार देखेर ममा वहाँप्रति सम्मान र माया अनि आयोजक र मानिसहरुप्रति उदेकको भावना जाग्यो र फोटो खिच्ने लालसा त्यागीदिएँ । मलाई मनमनै लाग्यो किन आयोजकहरुले यस्तो व्यक्तित्वहरुलाई आफ्नो कार्यक्रमको शोभा बढाउनकोलागी दुख दिन्छन् होला भन्ने लाग्यो । तर कसैलाई केहि भन्न सक्ने अवस्थामा म त्यहाँ थिईन ।
दुई) केहि वर्षपहिले अमेरिकामा भएको एक साहित्यिक कार्यक्रममा डा. ताना शर्मालाई मँचमा राखिएको थियो । डायविटिजको रोगी शर्मालाई बेलाबेलामा खाईरहनु पथ्र्याे । विना अर्थको लम्बेतान भाषण र कार्यक्रमले वहाँ आफ्नो मेचमा थच्चिनु परेको थियो । धन्न वहाँकि धर्मपत्नीले समयको ख्याल गरेर मँचमा खानुपर्ने सामाग्रीहरु बेला बेला लगेर दिनुहुन्थ्यो । तर आयोजकले कार्यक्रमलाई पाँच दश मिनेट रोकेर फुर्सत दिन जानेन, चाहेन । कार्यक्रम ढिलो शुरु भएको बहानामा विश्राम नलिई समाप्त गरियो । तर रोगी शर्माले आफ्नो शरीरकोलागी सुहाएपनि नसुहाएपनि मँचासिन हुँदाहुँदैपनि केहि खाँदै गर्नुपरेको थियो । त्योपनि श्रीमतिको कर र सहयोगले । आयोजकले यसप्रति अलि ध्यान पुर्याएर कार्यक्रम सँचालन गरेको भए कति राम्रो र व्यवहारिक हुने थियो भन्ने मलाई लागी रह्यो र आजसम्म लागीरहेको छ ।
तीन) हालैको कुरा हो । समालोक शिरोमणी प्रा.डा. वासुदेव त्रिपाठीको अमेरिकामा विभिन्न साहित्यिक सँस्थाहरुले आयोजना गरेको अभिनन्दन तथा साहित्यिक कार्यक्रम । बाह्रबजे शुरु हुने भनिएको कार्यक्रम झण्डै दुई बजे शुरु भएको थियो । यो त हाम्रो नियति र परिचायक नै हो । लगभग दुईघण्टाको अभिनन्दन कार्यक्रमपछि केहि समय विश्राम लिएर दोश्रो चरणको कार्यक्रम गर्ने भन्ने म कार्यक्रम उद्घोषक र आयोजकका सँयोजक गोविन्द गिरी प्रेरणाको सल्लाह भएको थियो । तर प्रमुख आयोजकमध्येका एक आयोजकको जिद्धिले यो योजना तुहियो । प्रमुख अतिथिको रुपमा रहनुभएका त्रिपाठीपनि डायविटिजको शिकार हुनुहुन्छ । वहाँको त्यस रोगको बारेमा आयोजकले पटक्कै बेवास्ता गरेर आफ्नै कार्यक्रमप्रतिमात्र ध्यान दिएको देखियो । अन्ततः मैले पहिलो चरणको कार्यक्रम सकिएको घोषणासँगै माईक दोश्रो चरणका सँचालकलाई जिम्मा दिएँ । तर डा. त्रिपाठीको मँचासिन निरन्तर नै रह्यो । यसरी दुईबजे मँचासिन हुनुभएका त्रिपाठी झण्डै ६.३० बजेसम्म एउटै मेचमा बस्नुपरेको थियो । पानीको बोतल उपलब्ध गरार्ईएको भएपनि डा. त्रिपाठीको स्वास्थ्यप्रति र वहाँको खानपिनको बारेमा ध्यान दिईएको देखिएन । यसले आयोजक आफ्नो स्वार्थमात्र हेर्ने गर्दछ भन्ने पुष्टि गर्दछ ।
यसरी कार्यक्रममा मँचासिन हुने प्रमुख अतिथि बाहेक अन्य पाहुनाहरुपनि हुन्छन । र प्रमुख अतिथिमा भएका समस्या अन्य मँचासिन पाहुनाहरुमापनि हुनसक्छ । यस बारेमा आयोजकहरुले ध्यान दिनुपर्ने अति आवश्यक देखेको छु ।
अर्काे उपाय कार्यक्रम ठिक समयमा शुरु गर्ने, डेढघण्टा वा बढिमा दुईघण्टामा समाप्त गर्ने गरियो भने आयोजकको कुशलता प्रदर्शन हुनाका साथै सबैको समय बचत र व्यवहारिक हुनेछ भन्ने मलाई लाग्छ ।



Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |