सम्झना
हरि पौडेल, ( नेदर्लैंड)
अनुहारमा समयको छापहरु
देखिन थालेछन,
पश्चातापको यहाँ ठाउँ छैन,
तर
अफशोच धेर-धेरै छन्,
बिभिन्न सम्झनाहरु
सपना जस्तै भै
बिपनामै देखिन थाले छन्,
बाल्यकालमा
राम राजाको दरवार देख्दा
आफ्नु गाउँकै भव्यता देखिन्थ्यो,
शक्तिको प्रतिक
बुढो बाघ जस्तो देखिन्थ्यो,
समयको चोट
नदेखिने
हुन्छ भन्थे !
देख्दै छु आज
धरासाही भएको त्यो बुढो बाघ,
त्यस दरबारको जग बसाल्न
कति कति मजदुरका
खुन पसिना बगे
कुनै मुल्यांकन छैन,
त्यहि दरबार भित्र
मेनकाको नृत्य भइ
रंगिन साँझ हुन्थ्यो भने
दिन दहाडै
गरिबको चित्कार पनि
सुनिन्थ्यो रे!
गाउँको
गौरवझैँ देखिने त्यो दरबार
आज खण्डहर भएको छ,
किन होला आज
यी सम्झानाहरुले पछ्याएको ?
गाउँकै आँगनमा थियो
ठुलो पकडिको बोट,
अनि खेल्थ्यौं हामी मुन्तिर
बाणी बाणी,
लिच्चिको ठुलो बगैंचा
र
आँपको ठुलो फुलवारी
सुक्कुल बगैंचा,
सम्झना आउँदैछ
सबै मित्रहरु मिलि
वनभात खाएका दिनहरु,
बिहानै लोटा लियी
कतै झ्याङ्गमा बस्थ्यौं,
फर्कंदा मुखमा
सुसुनाको दतुवन,
अनि चोकमा फेरि
जम्मा भै
चियाको चुस्की लिंदै,
लालबाबुको चिया पसलमा
राजनीतिका गफ हाकथ्यौ,
बिर्सुं कसरि
बरेवाको ताडी,
साँझमा सबै मित्रहरु
जम्मा हुन्थ्यौं
ताडिको भट्टिमा,
कहिले जम्मा हुन्थ्यौं
ताडकै रुख मुन्तिर,
आलु र प्याजको पकौडि
कलैयाको सेकुवा,
अनि चिउरा भुजा मिक्स,
चन्द्रप्रकाश,ज्ञानु, बिबेका जी
धुर्व, घनस्याम, बिशाल जी
मित्रहरुको जमघट,
गाउँको गौरव
हाम्रो जनहित पुस्तकालय,
गाउँको गौरव
त्रिभुवन नाट्य परिषद,
दशैँमा नाटक गर्थ्यौं
छठमा पोखरीको स्रिङ्गार,
शिवरात्रिमा
शिद्धेस्वर विद्यालाको सैर,
फागुमा
रंग र भंगको मिलावट,
अति रमाइला दिनहरु,
छाडी आइयो सबै
साथी संगी चाडबाड
र
ती रमाइला दिनहरु
यहा यस निरश शहरमा,
अब
अनुहारमा समयको छाप हरु
देखिन थालेछन,
पश्चातापको यहा ठाउँ छैन,
तर
अफशोच धेर-धेरै छन्,
बिभिन्न सम्झनाहरु
सपनाजस्तै भै
बिपनामै देखिन थाले छन्।
Comments
Hari Paudel
मेरो रचनालाई आफ्नु वेबसाइटमा ठाउँ दिनु भएकोमा खसखस परिवार प्रति आभार प्रकट गर्दै हार्दिक धन्यवाद दिन चाहन्छु साथै यस खसखस साहित्यिक ऑन लाइनको उत्तरोत्तर प्रगतिको लागि शुभकामना प्रकट गर्दछु. हरि पौडेल