हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

शरणार्थी

केशु बिरही, (तेर्हथुम)

“बाबा !”
“भन बाबु !”
“हामी घर नफर्कने बाबा ! तपाईंंले त हामी यहाँ केही दिनका लागि मात्र आएका हौं । हामी चाँडै नै हाम्रै घर फर्कन्छौं भन्नुभएको होइन र ! खोइ त यतिका महिना भैसक्यो । घर फर्कने कुरै गर्नुहुन्न ।”
“हो बाबु, हामी यहाँ केही दिनका लागि मात्र आएका हौं । printing machine अब चाँडै नै हामी हाम्रै घर फर्कन्छौं । ल, अब बाबु सुत्छ । भोलि बिहानै उठेर हामी पनि मामल जानुपर्छ । मामलबाटै बजार पनि जाउँला । म बाबुलाई बजारमा धेरै समान किनिदिन्छु । ल, अब सुत है ।”
“बाबा, मलाई खेलौनाहरु पनि किनिदिनुहोस् है । म घर फर्कंदा धेरै खेलौनाहरु लिएर जानुछ । अनि, मेरा साथीहरूलाई पनि लगिदिनुछ ।”


“ठीक छ, किनिदिउँला । ल, बाबु अब सुत है ।”
सानो छोरो प्रश्नमाथि प्रश्न तेस्र्याइरह्यो । ऊ सुत्नै मानेन । तर ज्ञानबहादुर भने छोरालाई सुताउन चाहन्थ्यो । जसरी भए पनि उसले छोरालाई सुताउनु थियो । काम विशेषले सुबोधकी आमा माइतीघर गएकी थिई । फोन मार्फत नै ‘आमा साह्रै हुनुहुँदोरहेछ, आम्दा लैजानुपर्नेभयो । म आउन भ्याउँदिनहोला । बरु,
printing machine
तपार्इं पनि भोलि बिहानै आम्दा आउनुहोला । छोरालाई खाना खुवाएर राम्ररी सुताउनुहोला है’ भनेकी हुनाले आज छोरो सुताउने पालो परेको थियो उसको ।
छोरो सुताउन प्रयत्नरत थियो ऊ । निरन्तर लागिरह्यो । उसलाई छोरो सुताउनु एउटा कडा परीक्षामा सामेल भएझैं लागिरहेको थियो । तर छोरो सुत्नै मानेन । निदाउनुको सट्टा ऊ झन् प्रश्नमाथि प्रश्न थुपारिरह्यो, इँटाको थाकमाथि अरु इँटाहरु थपेझैं ।
त्यही प्रश्न पुनः बुबासामु पस्कियो,– “भन्नुहोस् न बाबा ! हामी किन यति सानो घरमा बसेको ? हाम्रो त वहाँ कत्ति ठूलो घर थियो नि, होइन र ?”
ज्ञानबहादुरले छोरालाई सम्झाउँदै भन्यो, “हो बाबु, वहाँ हाम्रो ठूलो घर छँदै छ । त्यसैले अब हामी केही दिनमै आफ्नै घरमा जाइहाल्छौं ।”
“अब हामी चाँडै नै आफ्नै घर जाइहाल्छौं,” भन्दिए पछि सुबोधको मन त्यसै प्रफुल्ल भयो । केटाकेटी न हो । कुन चाहिँ केटाकेटीको मन आफ्नो घर फर्कने भने पछि खुशी न होला र ! ऊ त्यसै फुरुङ्ग भयो । मनभित्र खुशीका ज्वाराभाटाहरू विष्फोटन हुन थाले । बालसुलभ मन न हो । त्यही मनबाट printing machine अनेकन तर्कना–वितर्कनाहरू आउन थाले ।
“आहा ! अब चाँडै घर जान पाइने भइयो । घर गएपछि म आफ्नै घरको आँगनमा खेल्न पाउँछु । यहाँ त आँगन पनि कत्ति सानो छ । नुहाउने धारा पनि छैन । चर्पी पनि कति नराम्रो छ । वहाँ हाम्रो त्यति राम्रो धारा र चर्पी त्यत्तिकै छ । यहाँ भने आमा र दिदीलाई धारामा पानी पर्खंदै हैरान ।”
“अनि, खाना पनि कति नमिठो । यत्रायत्रा फब्लेटा परेका चामल हुँदारहेछन् । सब्जी पनि खान नपाइँदोरहेछ । सधैं दालसँग मात्र भात खानुपर्ने । उहाँ त सब्जी पनि कति धेरै पाइन्थ्यो ।” ऊ यस्तैयस्तै कुराहरू मनभरि खेलाइरह्यो ।
ऊ कहिले आफ्ना बालसखीहरू त कहिले खेतबारी र आफ्ना घरमा पालेका गाईबस्तुहरूलाई सम्झन थाल्यो ।
उसको घरमा एउटा सानो कुकुरको छाउरो थियो । ऊ त्यसलाई औधी माया गर्दथ्यो । आफै नुहाइदिन्थ्यो, आफै खाना खुवाउँथ्यो । र, कहीँकतै जाँदा पनि साथमै लिएर जान्थ्यो । यहाँ पनि उसले त्यही छाउरोलाई सम्झिरहन्छ ।
“बिचरो त्यो सानो पप्पी, के गर्दै होला? के खायो होला ? कसैले खाने कुरा दिए, दिएनन् ।” यस्तैयस्तै कुराहरु मनभरि खेलाइरहन्छ । उसले त्यो सानो पप्पीलाई आउने बेलामा ल्याउन कम्ति प्रयास गरेको थिएन । तर लिन सकेन ।
जति निदाउने प्रयास गरे पनि ऊ निदाउनै सकेन । अरु भन्दा पनि कहिले आफ्नो घर जान पाइएला र सानो पप्पीसँग खेल्न पाइएला भन्ने कुराकै चिन्ता छ उसलाई । कहिले घर गएर आफ्ना साथीभाइसँग भेटघाट होला, ठूलो फराकिलो आँगनमा रमाउन पाइएला भन्ने मात्रै धेय छ उसको ।advertising player
आँखा झिम्म हुन मात्र के आँटेका थिए, ऊ फेरी बोल्न सुरु गर्यो, –“अब कति दिन बाँकी छ बाबा, हामी घर फर्कन ?”
ज्ञानबहादुरलाई अब त छोरो निदायो कि, भन्ने लागिरहेको थियो । तर छोरो भने निदाउनै सकेको थिएन । ननिदाइकन पुनः प्रश्नमाथि प्रश्न तेस्र्याइरहेको थियो ।
यसरी छोराले प्रश्नमाथि प्रश्न तेस्र्याइरहँदा ऊ थकित भयो ।
उसलाई छोराको पछिल्लो प्रश्नले त्यत्तिकै मर्माहत पनि बनाएको थियो । अरु प्रश्नहरूका उत्तर सरल रुपमा दिँदै आएको ज्ञानबहादुरलाई सानो छोराको यो पछिल्लो प्रश्नले भने अनुत्तरित तुल्याइदियो । अब के भनेर छोरालाई सम्झाउने ?
छोराले सोधेको प्रश्नको उत्तर कसरी दिने भन्ने कुराले ऊ चिन्तित बन्यो । अझ भन्नुपर्दा उसलाई यस्तो लाग्यो कि, छोराको त्यो प्रश्नको उत्तर नै उसँग छैन ।
अर्थात् भएर पनि ऊ त्यसको उत्तर दिन सक्दैन । अनेकन बहाना बनाएर छोरालाई सुताउने उसको प्रयास असफल भैरहेको थियो । त्यसैले कताकता ऊ आफूलाई समस्याको भूमरीमा भासिएको अनुभव गर्न थाल्यो ।
आफ्नो माटो छाड्नु पर्दाका पीडा ताजै छन् । परिचय गुमाउनु पर्दाको पीडा उस्तै छ । त्यो खपिसक्नुको छैन । त्यो पीडा अलिकति पनि कम हुनसकेको छैन । आँखाका आँसु अलिकति पनि ओभाएका छैनन् । अझै पनि त्यही सम्झिएर रातदिन आँखा रसाइरहेका छन् । सम्झ्यो कि, आँखामा आँसु बररर् झरिहाल्छन् । ती आँसु कहिले सम्झना बनेर त कहिले आक्रोश र प्रतिशोध बनेर झरिरहन्छन् ।
उसलाई थाहा छ, –माटो आमा हुन् । आमाको माया भन्दा advertising player ठूलो कुरा यो संसारमा केही पनि छैन । यही माटोको लागि, आमाको माया–ममताका लागि विश्वमा कति ठूल्ठूला युद्ध–महायुद्धहरू भएका छन् । सयौंले ज्यान गुमाएका छन् । अरबौंको भौतिक सम्पत्ति खरानी भएको छ ।
केही वर्षअघि मात्र आफ्नै छिमेकी देश भारतमा माटोकै लागि भएको त्यति ठूलो गोर्खाल्याण्डको लडाईं उसको आँखाबाट ओझेलिन सकेकै छैन । अझैसम्म पनि त्यो आन्दोलन जारी नै छ । आफ्नो छुट्टै अस्तित्वको लागि, आफ्नो माटोको लागि, आफ्नो पहिचानका लागि कतिले ज्यान गुमाएका थिए । कति घरबार विहिन भएका थिए ।
ठीक त्यही अवस्था भएको थियो उनीहरूको पनि । घर–बारी, छर–छिमेक, गाई–बस्तु अनि भए भरको सर–सम्पत्ति चटक्कै छाडेर हिँड्नुपरेको थियो । मात्र लगाएका एकसरो कपडाका भरमा उनीहरूले घर छाडेका थिए । चुलामा भर्सिएको भात पनि भन्न पाएका थिएनन् । बारीमा भित्रिन आँटेको बाली पनि भन्न पाएका थिएनन् ।
अब आफ्नो जन्मस्थलोमा फर्किएर जान पाइने हो कि, होइन ? आफूले त्यति मायाले सुम्सुम्याएर बनाएको घरको भित्तो टाल्न पाइने हो कि, होइन ? अरु भन्दा पनि आफ्नो निधारमा लागेको अनागरिकको धब्बा हट्ने हो कि, होइन ?
आफ्नो गुमेको परिचय फर्किने हो कि, होइन ? उसका यी सबै सवालहरू निरुत्तरित–निरुत्तरित बन्दै गएका छन् । र, कहिलेसम्म बनिरहने हुन्, उसलाई पनि केही थाहा छैन ।
छोरालाई भूल्याउनलाई भए पनि, मनभित्रको पीडालाई मनमै दबाएर उसले ‘अब आउने दसैंमा घर जाने’ भनिदियो । दसैंमा घर जाने भनेपछि छोरो पनि फुरुङ्ग भयो ।
“आहा ! अब दसैंमा घर जाने । उहीँ गएर दसैं मनाउने । आहा ! अब कत्ति रमाइलो हुन्छ ।” उसको उमङ्गको सीमा यति माथि पुग्यो कि, ऊ ओछ्यानमै उठेर नाच्न थाल्यो । त्यही बालसुलभ मनमा खुशीको बाढी झन्झन् छचल्किन थाल्यो ।
“बाबा, त्यो घोर्लेखसी नबेचौं है । घर गएर मात्र काट्नुपर्छ है । वहाँ गएर काटियो भने मेरो सानो पप्पीले पनि खान पाउँछ । अनि, म मेरा साथीहरू फुर्वा र निङ्वालाई पनि बोलाउँछु । घर जानेबेलामा मलाई दुईवटा ढाकाटोपी पनि ल्याइदिनुहोस् है बाबा ! म उनीहरूलाई चिनो लगिदिन्छु ।
थाहा छ बाबा, परारसाल उनीहरूले पनि मलाई थिम्पुबाट आउँदा एउटा कति राम्रो झोला ल्याइदिएका थिए । त्यो झोला अझैसम्म पनि मैसँग छ । मैले साथमै लिएर आएको छु ।” ऊ बर्बराइरह्यो । छचल्किरहेको खुशीको बाढी यसरी छताछुल्ल भएर पोखिइरह्यो ।
छोरालाई सुताउनलाई भए पनि उसले ‘हुन्छ, हुन्छ’ भनिदियो । जसोतसो छोरो त निदायो । तर ज्ञानबहादुर भने निदाउनै सकेनँ । अरु भन्दा पनि उसलाई छोरासँग झूठ बोल्नुपरेकोमा पीडाबोध भैरहेको थियो ।
ऊ सोच्न थाल्यो । अब घर फर्कन पाइने हो कि, होइन ? छोरालाई आउने दशैमा घर जाने त भनियो । अनेकन कुराहरू मनभरी खेलाएरै रातका पूरै प्रहरहरू बिते ।
तर ज्ञानबहादुरका मानसपटलबाट ती सारा सम्झनाहरू ओझिलिन सकेका थिएनन् । आफ्नो जन्मभूमि, आफ्ना छरछिमेकलाई ऊ जति गरे पनि भूल्नै सक्दैनथ्यो । टाहारी परेको खेत–बारी, लटरम्म फल्ने सुन्तलाको बगान । कति दुःख गरेर त्यो बगान बनाएको थियो उसले । खाइनखाइ गरेर जोडेको सम्पत्ति त्यत्तिकै छोडेर हिँड्नुपरेको थियो ।
सहोदर दाजुभाइझैं ‘ज्यूँदाका जन्ती र मर्दाका मलामी’ बनेर बसेका छरछिमेक छाड्नुपर्दाको पीडा उस्तै थियो । आफ्नो भाषा–संस्कृतिमाथिको आक्रमण झनै कहाली लाग्दो थियो । उनीहरूले आफ्नो भाषा बोल्न पाएनन् । पुर्खाले लगाएको दौरा–सुरुवाल लगाउन पाएनन् । ढाकाटोपी पहिरन पाएनन् । आफ्नो चाडबाड मान्न पाएनन् । कति दर्दनाक थिए ती क्षणहरू । यी सारा कुराहरू सम्झँदा मात्र पनि उसको मन छियाछिया पर्न थाल्यो ।
झन् त्यहाँका डुक्पाहरूले आफ्ना छोरीबुहारीमाथि गरेको दुव्र्यवहार र कुकृत्यहरू सम्झँदा मात्र पनि उसलाई ऐठन लागेर आउँछ । उनीहरूको व्यारेकमा आफ्ना छोरीचेलीलाई पठाउनुपर्ने उर्दी गरियो । नाइँ, पठाउन्न भन्नेले गोली हानेर मारिदिन्छौं भन्ने जवाफ पाए । ती सबै सम्झेर ल्याउँदा त कहिलेकाहीँ उसलाई त्यस ठाउँमा कहिल्यै पनि फर्किएर जान नपाए पनि हुन्थ्यो जस्तो लाग्छ । तिनीहरूको मुखै हेर्न नपरोस् जस्तो लाग्छ । तर ऊ त्यसो गर्न सक्दैन । आफ्नो जन्मभूमिको मायाले उसलाई त्यसो गर्न दिँदैन ।
‘जननी जन्मभूमिश्चः स्वर्गादपि गरियसी’ भन्ने श्लोक सम्झियो । त्यही श्लोक पुनः दोहोर्यायो । त्यही जन्मभूमिको मायाले गर्दा त्यस्तो सोच्न पनि सकेन । मनमा उर्लिरहेको प्रतिशोधको बाढीलाई मनमै दबाउन बाध्य भयो ।
०००
ज्ञानबहादुरको परिवार बेलडाँगी शरणार्थी शिविरको सेक्टर बाह्रको छाप्रो नम्बर बीसमा बस्दै आएको छ । उसको सानो फुसले छापेको दुुई कोठे घर छ । घरको भित्ता साधारण बाँसका कर्ची तथा चित्राले बारेर बनाइएको छ । एउटा सानो भान्साकोठा पनि छ, जुन घरसँगै जोडिएको छ । त्यो बाँसकै कर्ची तथा चित्राले नै बनाइएको छ । भान्साकोठाको छानो पनि बाँसकै छ । झ्याल–ढोका पनि बाँसकै छन् । बाँसकै चित्राले सजाइएका छन् । त्यति मात्र होइन, टेबुल कुर्सी र फूलदानी पनि बाँसकै छन् ।
उसको घरमा स–साना दुईवटा कोठा छन्, जहाँ कठीनले मात्र तीनचार जना अटाउन सकिन्छ । एउटा कोठामा उसको सुत्ने खाट छ, अर्को कोठामा श्रीमती र छोरा छोरीको । सबै कोठा साँघुरा छन् । त्यत्तिकै अस्तव्यस्त पनि छन् । कोठाको साँघुरोपनले गर्दा अलिअलि भएका, गास खोट्याएर जोडेका सामानहरू पनि राख्ने ठाउँ छैन । यत्रतत्र छरिएका छन् । धन्न उसको त सानो परिवार भएकोले मात्र हो । सानै ठाउँमा भए पनि उनीहरू अटाएका छन् । उसको छिमेकमा त नौनौ जनाको परिवार छ । उनीहरू त्यस्तै सानो छाप्रोमा भेडाबाख्राझैं कोचिएर बसेका छन् । त्यहाँ सधंै झ्याउँकिरी कराएझैं भैरहन्छ ।
०००
ज्ञानबहादुरले छोरालाई सुतायो र छाप्राको दैलो उघारेर त्यहीबाट बाहिर नियाल्न थाल्यो । एकपछि अर्को गरेर लहरै रुपमा बनाइएका स–साना, एकछत्तका छाप्राहरू छन् । खुट्टै अडिन नसक्नेगरी एकपछि अर्को गरी लहरै बनाइएका बाँसे झुप्राहरू छन् ।
ती उसको घरबाट प्रष्टै देखिन्छन् । एकैनासका पटुके आकारका आँगनहरू छन् । तिनीहरू पनि पातलिँदै गएका छन् । साँघुरिँदै गएका छन् ।
उसले तिनै छाप्रालाई आँखाले भ्याउञ्जेल सम्म नियाल्न भ्यायो । छाप्राको वीचमा साना र साँघुरा गल्लीहरू छन् । तिनीहरू पनि दिनानुदिन अतिक्रमित हुँदै गरेका छन् । यस्तै छ, उसको बस्तीको परिचय । यस्तै छ, उसको नयाँ परिचय । आफ्नो परिचय गुमाएर जबर्जस्ती थोपरिएको नयाँ परिचय हो योे उसको । नागरिकबाट अनागरिक बनाइएको परिचय हो यो उसको । देश भएर पनि देश नहुनेको परिचय हो यो उसको । ऊ यस्तै परिचय लिएर बाँच्न विवश भएको छ ।
यस्तो त उसले सानो हँुदा गोठहरूमा मात्र देखेको थियो । लेकमा यसरी नै लहरै गोठहरू बनाइएका हुन्थे । त्यहाँ गाई–भंैसीहरू यसरी लहरै रुपमा बाँधिएका हुन्थे ।
ऊ बारम्बार आफ्नो बुबासँग गोठमा गैरहन्थ्यो । तर उसले शिविरका छाप्राहरू ती गोठहरू भन्दा पनि अझ कमजोर भएको महसुस गरिरहेको छ । किनभने ती गोठहरूको त एउटा छुट्टै परिचय थियो । फलानाको गोठ भनिन्थ्यो । त्यहाँ कसैको स्वामित्व रहन्थ्यो । उसको अनुमतिविना कसैले पनि प्रयोग गर्न पाउँदैनथे । उसले चाहेको बेलामा त्यसलाई बेचबिखन गर्न पनि पाउँथ्यो । कसैले तँ यो गोठ छाडेर जा भन्ने हिम्मतसम्म गर्न सक्दैनथे । तर यहाँ त न स्वामित्व छ, न अधिकार नै । न अपनत्व छ, न स्थायीत्व नै ।
जुनेली रात थियो । आकाशमा टहटह जुन लागिरहेको थियो । उसलाई अझ बाहिरै निस्कन मन लाग्यो । बाहिरै निस्कियो र टाढाटाढासम्म नियाल्न थाल्यो ।
जुनको उज्यालोेले टाढाटाढासम्मको दृश्य नियाल्न उसलाई कुनै कठिन परेन । छाप्राअघि उत्तर–दक्षिण भएर रतुवा खोला आफ्नै पारामा बगिरहेको छ । हावा सिरसिर चलिरहेको छ । यो रतुवा खोला अहिले उसलाई अहिले आफ्नै मानस नदी जस्तै लाग्न थाल्छ । यो खोला अहिले आफ्नै गाउँ नजिकै भएर बगिरहेको छ जस्तो लाग्छ । आफू त्यहीँ पुगेको आभास हुन्छ उसलाई । त्यही चिसो कलकल पानीमा पौडी खेलेको अनुभव हुन्छ उसलाई । हावाको एक झोक्का आएर त्यहीबेला उसलाई स्पर्स गरेर जान्छ । र, त्यही खोलामा गएर समाहित हुन्छ । त्यो हावाको झोक्काले आफूलाई चिनेझैं लाग्छ । आफ्नै गाउँबाट, आफ्नै लेकबेसीका झरनासँग मिसिएर बहेकोे जस्तो महसुस हुन्छ । उसको मन त्यसै फुरुङ्ग हुन्छ । ऊ क्षणभरलाई भए पनि रमाउँछ । तर त्यो सबै भ्रम मात्र हुन्छ । त्यो सबै मृगतृष्णा बनेर क्षणभरमै विलय हुन्छ । ऊ आफूलाई पराईभूमिमा पाउँछ । उसको मन त्यसै अमिलो भएर आउँछ । मनलाई काबुमा राख्न खोज्छ । तर ऊ असमर्थ रहन्छ ।
०००
बाबुले दसंैमा घर जाने भनिदिएपछि यता सुबोध शिविरभित्रको सानो कोठामा झुण्ड्याइएको क्यालेण्डरमा नियाल्न थाल्यो । त्यति खेर श्रावणको महिना थियो । दसंै आउनलाई अब तीन महिना मात्र बाँकी छ भन्ने थाहा पाएपछि दिदीलाई भनेर उसले दसंैको मितिमा गोलो चिन्ह लगायो ।
आफ्ना साथीभाइहरूसँग पनि ऊ त्यही कुरा सुनाउन थाल्यो, “बुबाले भन्नुभएको, यसपालीको दसैंमा त हामी हाम्रो घर जाने रे । दसंै पनि उही गएर मनाउने अरे । मैले बुबालाई घोर्ले खसी पनि उहीँ गएर काटौं भनेको छु । बुबाले पनि हुन्छ भन्नुभएको छ ।”
अब दसैं आउन कति दिन बाँकी छ भनेर ऊ दिनहुँ जसो क्यालेण्डरमा आँखा पु¥याउँथ्यो । ऊ बिहानै उठ्थ्यो र क्यालेण्डरमा गोलो चिन्ह लगाउँथ्यो । त्यो काम नगरी ऊ अरु केही पनि गर्दैनथ्यो । चिया पनि खाँदैनथ्यो । बिहानै उठ्ने र क्यालेण्डरमा चिन्ह लगाउने त सुबोधको दैनिकी नै बनिसकेको थियो ।
दसंैमा घर जाने भनिदिएपछि उसको दिनचर्या नै बदलिएको थियो । बानीव्यवहारमा पनि ठूलै परिवर्तन आएको थियो । ऊ बिहानै उठ्थ्यो । उठेपछि हातमुख धोएर पढ्न बसिहाल्थ्यो । पहिले जस्तो दिदीसँग झगडा पनि गर्दैनथ्यो ।
आमासँग खाना मीठो भएन भनेर कलह पनि गर्दैनथ्यो । जस्तो दिए पनि चुपचाप मीठो मानेर खान्थ्यो । खाना खाने बित्तिकै होमवर्क गर्न बसिजान्थ्यो । ऊ होमवर्क नगरिकन सुत्न पनि मान्दैनथ्यो ।
घरमा मात्र होइन, उसको बानीव्यवहार विद्यालयमा पनि उत्तिकै परिवर्तन भएको थियो । कक्षामा पनि अनुशासित भएर बस्न थालेको थियो । गुरु–गुरुआमाहरू पनि आजभोलि सुबोधसँग औधी खुशी देखिन्थे । पढाइमा राम्रो प्रगति भएकोमा दङ्ग थिए ।
जतिजति दसैं नजिकिदै जान थाल्यो त्यति नै ज्ञानबहादुरको मनमा भने पीडा थपिँदै जान थाल्यो । शरीर गह्रौंै भएर आउनथाल्यो, एकमनको ढुङ्गो छातीमा राखेझैं ।
कहिलेकाहीँ त मनमा अनेकन नराम्रानराम्रा सोचहरू पनि पैदा हुने गर्दथे । छँदाखाँदाको सम्पत्ति लुटाएर कति दिनसम्म यस्तो भिखारीकोजस्तो जीवन व्यतीत गर्ने ? अरुको आशमा कति दिनसम्म बाँच्ने ? न कुनै व्यवसाय गरेरै खान पाइने ? अरुको सहारामा यसरी कति दिन जिउने ? थुइया, यो कस्तो जीवन !”
अरु भन्दा पनि उसलाई सधैं स–साना छोराछोरीको भविष्यको बारेमा चिन्ता लागेर आउन थाल्यो । ऊ सोच्न थाल्यो, “यसरी सधैंभरि सुकुम्बासी जीवन गुजार्ने हो भने भोलि यी साना केटाकेटीहरूले के गरी खालान् ? यिनीहरूको भविष्य के होला । यदि यसरी नै सधैं सुकुम्बासीकै जीवन बिताउँदाबिताउँदै केटाकेटीले आफ्नो भाषा–संस्कृति पनि कसरी नभूल्लान् र !”
समय बित्न कति नै बेर लाग्दो रहेछ र ! समय त थाहै नपाई बित्दोरहेछ ।
मानौं, समय एउटा वायुपंखी घोडा हो । यसले दिनहरूलाई हतारहतार आफूसँगै सयर गराइरहेको छ । यस्तो लाग्छ कि, त्यो समयरुपी घोडाले जबर्जस्ती समयलाई अगाडि धकेलिरहेको छ ।
दिन बित्छ, रात बित्छ । हप्ता हुँदै महिना बित्छ । अनि, महिना हुंदै बर्ष र बर्ष हुंदै पूरै शताब्दी नै बित्दोरहेछ । यस क्रममा कैयौं जीवनहरू आउँछन् र विलय हुन्छन् । यो समयको नियम नै हो । यो नियमलाई कसैले पनि चुनौति दिन सक्दैन । र, आजसम्म दिन सकेका पनि छैनन् । यो कुरा ज्ञानबहादुरलाई पनि राम्ररी थाहा छ ।
यही क्रममा दिन–रात, हप्ता र महिना हुँदै ज्ञानबहादुरले छोरालाई घर जाने भनेर दिएको समय पनि आउन थाल्यो ।
हेर्दाहेर्दै दसंैले गाउँघरमा पाइला टेक्यो । दशैको रमझम चारैतिर देखिन थाल्यो । जमरा राख्न सुरु भयो ।
सबैले आ–आफ्नो गच्छे अनुसारको दसैंको किनमेल गरिसकेका छन् । ज्ञानबहादुरको छाप्रोमा पनि दसैंको किनमेल भैसकेको छ ।
०००
आज फूलपातीको दिन । शिविर आसपासका केटाकेटीहरू नयाँनयाँ कपडामा सजिएका छन् । नयाँ कपडा लगाएर रमाइलो मनाइरहेका छन् । कोही चचाहुइया ! चचाहुइया !! भन्दै पिङ्गमा मच्चिरहेका छन् । कोही दसैंमा मामाघर जाने । मेरो त मामलीघर पनि धेरै छन् । यति पैसा हुन्छ । उति पैसा हुन्छ । म दसंैको पैसाले गुडिया किन्छु । बाबासंग भनेर साइकल किनिदिन भन्छु भनेर योजना बनाइरहेका छन् । कोही भने यसपालीको दसैंको पैसाले नयाँ फिलिम हेरिन्छ पनि भन्दै छन् । तर सुबोधलाई भने ती कुनै कुराको पनि चासो छैन । ऊ
कहीँकतै पनि सरिक भएको छैन । ऊ बिहानै उठेर आफ्ना सामानहरू जम्मा गर्नमै व्यस्त छ । उसलाई हतारो छ । सकिनसकी ऊ आफ्ना कपडाहरू एउटा झोलामा राख्छ । किताबहरू भने बाकसमा राखिदिन दिदी सुधालाई अह्राउछ ।
०००
दसंै आइसक्दा पनि सुबोधको परिवारमा घर जाने सुरसार थिएन ।
त्यसैले ऊ दिक्क मान्दै बुबासामु आयो । र, भन्नथाल्यो, “बाबा दसैं त जान आँटिसक्यो, आज त फूलपाती पनि भैसक्यो, अब त घर जाने हैन ? खै त घर जाने तयारी गरेको ? आजै जानुपर्छ । नत्र हामीलाई घर पुगेर दसैं मनाउन गाह्रो पर्छ । घर पनि पूरै फोहोर नै फोहोर भएको होला । सरसफाई पनि गर्नुपर्यो । रङ पनि लगाउनुपर्यो । ल, आजै हिँड्नुपर्छ है । मैले त अघि नै मेरा सबै कपडाहरू पनि झोलामा राखिसकेको छु । किताबहरू पनि दिदीलाई बाकसमा राख्न भनेको छु । ल, तपार्इंहरू पनि आ–आफ्ना कपडाहरू झोलामा राख्नुहोस् ।”
सुबोधले शिविरभरिका साथीभाइहरूलाई पनि आज घर जाने भनेर अघि नै बिदा मागिसकेको थियो । त्यही कुरा बुबालाई पनि बताउँछ, “बाबा, मैले त साथीहरूसँग पनि अघि नै बिदा मागिसकेको छु । अनि तपाईंहरूले चाहिँ बिदा माग्नु पर्दैन त ? कपडा पनि लगाएको देख्दिनँ । छिटो गर्नुहोस् । नत्र भरे ढिला हुन्छ । बेलैमा पुगिएन भने भरे कहाँ बास बस्ने ?”
सुबोध बोलिरह्यो । तर अरु भने चुपचाप रहे । केही पनि नबोली उसको कुरा मात्र सुनिरहे । बुबाआमा दुवैजना मौन देखेर सुबोध नमीठो मान्दै भन्यो, “बाबा ! बोल्नुहोस् न, किन नबोल्नुभएको । छिटो जाऊँ न ।”
उसले त्यसो भनिरहँदा पनि कोही बोलेनन् । ऊ झनै छक्क पर्यो ।
आश्चर्यभावमा पुनः बर्बराउन थाल्यो, “भन्नुहोस् न बाबा, भन्नुहोस् न, दसैंमा घर जाने भनेको होइन, कि नजाने ?”
सुबोधको कलह झन्झन् बढ्न थाल्यो । त्यो देखेर सबै जना चिन्तित भए । सुबोध ढिप्पी गरिरह्यो, ‘भन्नुहोस् न बाबा, भन्नुहोस्’ भनेर ।
छोराले ज्यादै ढिप्पी गरेपछि भने ज्ञानबहादुरले सत्यता नओकली धरै पाएन ।
उसले साँचो कुरा बताउनै पर्ने भयो । हुन त यो कुरा उसले धेरैअघि बताउने प्रयास नगरेको पनि होइन । तर, सधैं असफल हुँदै आएको थियो । त्यसो त त्यो सत्यतालाई छिपाउनुमा उसको बाध्यता पनि थियो । छोराको कलिलो मस्तिष्कमा असर नपरोस् भनेर नै उसले त्यो सत्यलाई उद्घाटन गर्न नचाहेको थियो । छोराको अवस्था देखेर ज्ञानबहादुरका आँखा अघिदेखि नै रसाइरहेका थिए । अरुको पनि हालत उस्तै थियो ।
छोराले कलह गर्न छाडेकै थिएन । अब भने उसलाई रहस्य लुकाइरहन गाह्रो पर्यो । गाँठी कुरा नभनी उसले धरै पाएन । अन्त्यमा ज्ञानबहादुरले वास्तविकता बताउनु नै मुनासिव ठान्यो ।
आँखाभरि आँसु ढिलपिलढिलपिल पार्दै छोरालाई काखमा लियो र भन्न थाल्यो, –“बाबु, अहिले हामी चाहेर पनि हाम्रो घर जान सक्दैनौं । हाम्रो घरलाई आज अरु कसैले आफ्नो बनाइसकेका छन् । हाम्रो घर लुटिएको छ । हामी लुटिइएका छौं । हाम्रो सारा सम्पति लुटिएको छ । हाम्रो परिचय लुटिएको छ । हामी त्यही लुटिएको परिचय लिएर यहाँ बस्न विवश छौं । त्यसैले त हामी आज यहाँ यति सानो घरमा शरण लिएर बसिरहेका छौं । छोरा, हामी शरणार्थी हौं । शरणार्थी । त्यसैले चाहेर पनि हामी अहिले हाम्रो घर जान सक्दैनौं ।”
बाबुले यसो भनिरहँदा सुबोध अघि नै बेहोस भैसकेको थियो । ज्ञानबहादुरले हतारहतार भित्र गएर एकगिलास पानी ल्यायो र छोराको अनुहारमा छर्कन थाल्यो
। त्यति बेलासम्ममा शिविर वरिपरिका मानिसहरू भेला भैसकेका थिए । सुबोधकी दिदी सुधा पनि हस्याङ्फस्याङ् गर्दै बाहिर निस्की ।
“भाइ ! भाइ !! के भयो तिमीलाई ! उठ बाबु, उठ ।” ऊ पनि चिच्याउन थाली । तर सुबोध उठेन । ऊ अर्धचेत अवस्थामा दिदीको अनुहारमा मात्र हेरिरहेको थियो ।
सुधा भाइलाई सम्झाउँदै थिई,–“भाइ, किन चिन्ता लिन्छौ । अहिलेको दसैंमा घर जान नपाएर के भयो त । एक दिन त अवश्य पनि हामी हाम्रै घर गैहाल्छौ नि । अनि, त्यसपछि हामी सबै जना मिलेर आफ्नै घरमा दसैं मनाउँला । खसी काटौंला, हुन्न र !”
दिदीले त्यसो भनिरहँदा सुबोध केही बोल्न सकेको थिएन । ऊ मौन थियो ।
टाउको मात्र हल्लाइरहेको थियो ।

birahikeshu@gmail.com


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |