हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जीवन , मोड र प्रवाहहरु

कुमारी लामा, (काठमाण्डौ)

बिहानीले झिसमिसे उज्यालोको घुम्टोबाट आफ्नो सुन्दर मुहार चिह्याउदै गर्दा एउटा भर्खरै जुङ्गाको रेखी बस्दै गरेको सुकुमार ठिटो आफूभित्र सङ्गालेको विशाल  सपना जत्रै भारी साइकलमा हाली एउटा किराना पसल अगाडि टक्क अडियो । उसको साइकल पाउरोटी, पप केक र अन्य यस्तै बिस्कुटहरुको ठूलो झोलाले थिचिई त्यस पसल अगाडि ठिङ्ङ उभिएको थियो । त्यो केटॊ केही प्याकेट पाउरोटी र पपहरुले आफ्ना हातहरु भर्दै पसलतिर लाग्यो । केही क्षणमा नै कताबाट हो कुन्नी एउटा कालो रङ्को ठूलै कुकुर बेतोडले हानिएर साइकलनिर आइपुग्यो अनि आँखा झिमिक्क गर्न नपाँउदै उफ्रिएर एक प्याकेट पाउरोटी मुखमा च्यापी दौडिहाल्यो । यी सब यति छिटो भयो कि त्यस केटोले केही गर्नै भ्याएन । कुकुर निकै पर पुगी सकेपछि मात्र बल्ल त्यस केटो दौडिएर अलि परसम्म पुग्यो तर कुकुर आँखाबाट ओझेल भइसकेको थियो । केटोको पराजित आँखाहरु एकपटक साइकलतिर दौडियो अनि एकपटक फेरि कुकुर दौडिएको दिसातिर । उसको मुहार एकाएक अँध्यारो भयो । त्यस एक प्याकेट पाउरोटी बराबरको पैसा निश्चय पनि साहुलाई उसैको आफ्नो खल्तीबाट बुझाउनु पर्छ । यी सम्पूर्ण कियाकलापलाई गहिरिएर विचार गर्ने हो भने यहाँ एउटा संघर्षको पहाड पाउन सकिन्छ । दुवै पक्ष आ-आफ्नो संघर्षको कुरुक्षेत्रमा उत्रिएका छन् यहाँ । प्रत्येक जीवित प्राणीकॊ जन्मसँगै एक अथवा अर्को तरिकाबाट संघर्ष शुरु भइनै हाल्छ ।

यहाँ कुकुरको आफ्नै प्रकारको संघर्ष छ भने केटोको आफ्नै पाराको । कुकुर पशु हो त्यसकारण उसँग ठूला ठूला महत्वाकांक्षा र सपना पुरा गर्नुको संघर्ष छैन । तर उसकॊ संघर्ष पेटका लागि हो । उसको भोको पेटले उसलाई पाउरोटी नचोरी धरै दिएन सायद । त्यसैले ऊ यो ठूलो संघर्षमा उत्रियो र सफल पनि भयो । उसलाई आज बाँच्नु छ आज पेट भर्नु छ अनि केवल आज निदाउनु छ । तर केटोको कथा बेग्लै छ । ऊ मानिस हो, ऊ भित्र चेतना छ सोच्नलाई र बुझ्नलाई, आँखाहरु छन् सपना देख्नलाई अनि मुटु छ सुख र दुःखको अनुभूति गर्नलाई । त्यसैले ऊ अलि बढी नै सजग हुन्छ, सतर्क हुन्छ अनि संघर्षमा पनि उत्रन्छ । उसको हकमा कुनै पनि पल संघर्ष बिनाको हुँदैन । त्यो शितल बिहानीमा आफ्नै ओछ्यानमा न्यानो हुँदै तातो तातो चियाको चुस्कीसँगै उषाको लालीसँग रम्ने रहर त त्यस केटोको पनि होला । तर ऊ आफ्नै पेटकालागि हुनसक्छ परिवारकालागि पनि आफ्नो न्यानो ओछ्यान र तातो चिया छाडी पसल पसल दौडन बाध्य छ । यो संघर्ष नै संघर्षको जीवनरुपी मरुभूमीमा ऊ चाही नचाही परिसकेको छ । उसको सामु संघर्षका अनगिन्ती डोरीहरु समाई अगाडि बढ्नु भन्दा अन्य विकल्प छैन । त्यो कुकुरले खाइदिएको पाउरोटीकॊ पैसा तिर्नुपर्दाको पीडा मनभित्र नै दवाई ऊ प्रत्येक बिहानीलाई त्यसै गरी स्वागत गर्न तमतयार हुनु पर्छ । ऊ पेट भर्न र आज बाँच्नुसँग मात्र सरोकार राख्दैन । उसको सरोकार भोलिको हो पर्सीको हो अनि निकै पछिसम्मको भविष्यको पनि हो । त्यसैले ऊ झनझन  संघर्षको दलदलमा फस्दै जान्छ भविष्यका लागि अनि सन्तान दरसन्तानका लागि पनि । ऊ भित्र दुबो झै मौलाइरहेका अनगिन्ती सपनाहरु छन् । ती सपनाहरु साकार पार्नका लागि ऊ दौडन्छ लड्छ फेरि उठछ अनि फेरि दौडन्छ ।

संघर्षको कथाभित्र हामी सम्पूर्ण मानव एक एक पात्र हौँ । हामी प्रत्येक पात्रहरु आ-आफ्नो भागको अभिनयमा जुट्छौँ एउटा नाटकभित्रका विभिन्न पात्रहरु झै । मन्चमा नाटकको पर्दा खुले झै जन्मसँगसँगै हाम्रो जीवनरुपी नाटकको पर्दा खुल्छ । त्यसपछि समयानुरुप हामी आफूलाई विभिन्न रुपमा यस विश्वरुपी रङ्गमन्चममा उभ्याँउदै लैजान्छौँ । हामी समयसँग पौंठेजोरी खेल्दै जान्छौँ । कहिले यो मन दशैँको मन्द पवन र नीलो आकाशमा सररर उड्दै गरेको चङ्गा जस्तै हलुका हुन्छ भने कहिले घनघोर बर्षापूर्वको क्रोधपूर्ण कालो नीलो आकाश  झै भयावह हुन्छ । हामी आफ्नै मनसँग पनि संघर्षमा उत्रन्छौँ कहिले त । किन कि मन चङ्गा जस्तो हलुका हुँदा यसले सारा बन्धन ब्यवधान नाघी टाढा टाढा क्षितिजमा नै पुँगु भनी उमंग र उत्साहको बेगमा उडान भर्छ तर यसो गर्न हामी कहाँ सक्छौँ र क्षितिज भन्नु त आँखाको भ्रम मात्रै हो भनी जान्ने बुझ्नेहरु भन्छन् । त्यो क्षितिजैसम्म उड्ने चाहना राख्ने मनलाई बाध्न खोज्छ मनकै अर्को पाटोले अनि शुरु हुन्छ संघर्ष आफ्नै मनसँग । मनले एक थोक चाहन्छ तर व्यवहारमा अर्कै गर्नुपर्छ । अनि जब मनभित्रको कोमल हृदयको आवाजलाई लत्याइन्छ तब त्यहाँ उर्लन्छन् असन्तुष्टिका अनेकन छालहरु र आफूसँगै सोहोरी निकै परसम्म लगी पछारिदिन्छ त्यो विपरीत बगिरहेको मनको अर्को पाटोलाई । एउटै सग्लो शरीर भित्र अनेकन चिरामा चिरिई आफैभित्र जल्दै, डढ्दै, पिरोलिँदै र कहिले खुसीले मात्तिदै जीवनलाई अगाडि बढाउछ मानिस । ऊ विभिन्न टुक्रामा टुकिन्छ र त्यही टुक्रा टुक्रामा आफ्नो अस्तित्वलाई निह्याल्ने प्रयत्न गरिरहन्छ हरपल । उसलाई भयानक जीवनलाई अगाडि बढाउने अभिभारा छ । जीवन सोचे जति सरल सहज र चाहे जस्तो सरस र कोमल छैन । पटक्कै छैन । मानिस अगाडि बढ्दै जाँदा ऊसँगै टाँसिएर छाया झैँ आफैसँग बाटो लागीरहन्छ उसका सुख दुःखका अनुभूति सन्तुष्ट र असन्तुष्ट पलहरु अनि कुनै सजिला र कुनै अप्ठ्यारा अनुभवहरु । ऊ आफूलाई भुल्छ सर्लक्कै र आफ्ना अनुभव र अनुभूतिका एक
एक पाना पल्टाँउदै खोज्न थाल्छ त्यहाँ आफैलाई । ती धुजा धुजा भइसकेका सम्झनारुपी पानाहरुमा आफूलाई त पाँउछ पाँउदैन तर एउटा निरश जीवनलाई अगाडि बढाउने बहाना भने पक्कै पाँउछ । ऊ त्यही आफ्ना बिगतका पलहरुलाई आफ्ना मन मस्तिष्कमा पुनः एक पटक प्रशोधित गर्छ र बाँकी जीवन बाँच्नुको अर्थ खोज्न थाल्छ ।

हामी सबै आ-आफ्नो स्तरको अर्थपूर्ण जीवन जिउन हरदम प्रयत्नशील र संघर्षरत रहन्छौँ । संघर्ष जीवन हो संघर्ष भोगाई हो र संघर्ष हाम्रै जीवनसँगको लुकामारी हो । संघर्ष बिनाको जीवन फिका हुन्छ र मानिस सोकेसमा सजाइएको पुतली जस्तो बस्तुमा परिणत हुन्छन् । केवल संघर्षले मानिसको अथाह धैर्यता कोमल मुटु र सचेत मस्तिष्कलाई झन झन उजागर गर्दै लैजान्छ । संघर्षका विभिन्नरुपका प्रत्यक्षदर्शी हौँ हामी । हाम्रा आँखाकै डिलमा हाम्रै चेलीहरु आफ्नो घरको सुरक्षित संघार नाघी समाजले घृणा गरेको विभिन्न कियाकलापरुपी संघर्षमा होमिएका छन् । मानिसको मुखुन्डो पहिरिएका पशुहरुका अश्लिल शब्दहरु सहदै निरंकुश राजका लागि अभ्यस्त उनीहरुका हातहरुलाई सम्मानपूर्वक आफ्ना शरीरमा स्वागत गर्नु पर्दाको पीडाले उनीहरुलाई जिउँदै लास बनाएकै होला । तर उनीहरु सहन्छन् । मध्यान्हको टन्टलापुर घाममा पसिनाले निथ्रुक्कै नुहाई आफ्ना जीर्ण ढाडमा अजङ्गका भारीहरुलाई स्नेहसाथ बोक्ने ती भरियाहरुको पीडा र संघर्ष उत्तिकै मर्मस्पर्शी छ । संघर्षले सास रहिन्जेल कसैलाई पनि छाड्दैन । तल्लो वर्गका मात्रै नभइ जुनसुकै हैसियतकाले पनि जीवनलाई चुनौतिदिँदै संघर्षको उजाड उजाड बस्तीमा उत्रनु पर्छ । ठूला ठूला कवि साहित्यकार र विद्वानहरु पनि संघर्षको भूमरिलाई स्वीकार गर्छन् ।

यो संघर्षको कहानी आफ्नो बगाइमा बगिरहन्छ हरेक क्षण । हामी त्यही प्रवाहमा आँउछौँ हरपल जीवनका मोडहरुमा । कसैलाई त्यो अप्ठ्यारो मोडले पनि सकारात्मक सोच र सिर्जनात्मक कार्यकालागि सहयोग पु-याँउछ भने कतिले संघर्षका तीता सिरेटाहरु सहन नसकी आफैभित्र विभिन्न रोगहरु उमार्छन् । तर सत्य यही हो हामी विवश छौँ संघर्षका लागि त्यही युवक झै । हामीले प्रत्येक पराजय र दुःखलाई मनकै चितामा चढाई अगाडि बढ्नु पर्छ र आफ्ना ठूला ठूला सपना र आकांक्षासँग सयर गर्दै मस्त निँदाउनु पर्छ ।

१९ असोज २०६५

Comments

prakash sayami

Thank you basu ji
for publishig this article and thanks all readers who response me politely .

गोपाल रेग्मी

एउटा रङ्गकर्मी, कला र साहित्य साधनामा लागेको पौरखीको छोटो आत्म-वृतान्त र त्यसमा उनिएको नेपाली  श्रव्य-दृश्य जगतको इतिहासका केहि घतलाग्दा  घडीहरुको  मीठो  प्रस्तुति | लेखक सायमीजी र प्रस्तोता खसखस डट कम दुबैमा एक अंगालो धन्यवाद  !

Amrita Lamsal

प्रकाशजीको लेख राम्रो लाग्यो, नेपालको संचार माध्यममा धेरै राजनीती खेलिने तथ्यको प्रतक्ष र परोक्ष अनुभव त थियो नै तर उँहा पनि यसको शीकार हुनुहुन्थ्यो भन्ने चाँही थाहा थिएन| जुन बेला रेडियो सगरमाथा खुल्यो र यसले भर्खर भर्खर खुट्टा टेक्न थालेको थियो त्यती खेरको कहानी साथीहरुबाट खुबै सुन्न पाईन्थ्यो| किनकि, त्यती बेला आफू पनि काठ्मान्डौँको संचार समुहकै सेरोफेरोमा समय बिताईन्थ्यो, भला माध्यम एफएम वा रेडियो नभएर अरुनै थियो तर सो लेखमा उल्लेख गरिएका नामहरु मध्धे परिचित नामहरु पनि भएको हुँदा कमेन्ट लेख्ने जाँगर गरेको!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |