हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विचरा काठमाण्डौ

बासु श्रेष्ठ, (भर्जिनिया)

विचरा काठमाण्डौ

सबैलाई पालेर पनि हेपिएको छ

सबैलाई हुर्काएर पनि गाली खाएकै छ

सबैलाई गुन लाउँदा लाउँदैपनि

वैगुनी भएको छ

विचरा काठमाण्डौ

 

आँखाको तारा पनि बनेकै छ

आँखाको कसिङ्गरपनि बनेकै छ

क्रोधको पोकोपनि बनेकै छ

क्रोधको फोकोपनि बनेकै छ

यसो गरेपनि यै काठमाण्डौ

उसो गरेपनि यै काठमाण्डौ

यसले पनि गाली गरेकै छ

उसलेपनि गाली गरेकै छ

जसलेकोपनि गाली खाएकै छ  

विचरा काठमाण्डौ

 

सबैलाई यो नभई हुन्न

तर गालीपनि नगरी हुन्न

सबैलाई यहाँ नआई हुन्न

तर यसलाई नसरापी पनि हुन्न

यस्तै यस्ता अप्ठेरोमा फलेको छ
अप्ठेरोमा अल्झिएको छ

विचरा काठमाण्डौ

 

झिलिमिलि शहर बनेर सबैको रहर भएको छ काठमाण्डौ

यहाँ बस्नेहरुलाई भने कहर भएको छ काठमाण्डौ

टाढा बस्नेकोलागी दिनकै सपना बनेको छ काठमाण्डौ

निर्धन र भोकाहरुलाई कठै जहर बनेको छ काठमाण्डौ

 

दिन, रातको त के कुरा

जिन्दगीको योजना नै बन्दछ काठमाण्डौ

जीवनको सफलता ठान्छ काठमाण्डौ

जिउनुको सार्थक मान्छ काठमाण्डौ

अनि

सारा थात थलो छोडेर पस्दछ मान्छे काठमाण्डौ

 

तर काठमाण्डौ पसे देखि

गाली खान थाल्छ काठमाण्डौ

छुच्चो र बुच्चो काठमाण्डौ

महँगो र रुखो काठमाण्डौ
धुलो र मैलो काठमाण्डौ

फोहोर र गल्लीको काठमाण्डौ

पानीको अकाल काठमाण्डौ
अन्धकार र अपराधको थलो काठमाण्डौ

नातागोता र भाइचाराको खडेरी काठमाण्डौ

यस्तो काठमाण्डौ

उस्तो काठमाण्डौ

गाली विशेषण त कति कति

विचरा काठमाण्डौ!

 

मोह छैन कसैको यो काठमाण्डौसँग

बरु सम्मोहित छन्

यि सब स्वार्थीपनका नारा र गाली

भोग्न र सुन्न लाचार छ काठमाण्डौ

निरिह छ काठमाण्डौ

तरपनि सबैलाई हुर्काएकै छ

आफुमा समाहित गराएकै छ

र पनि त्यसै त्यसै मौन छ विचरा काठमाण्डौ!

 

काठमाण्डौ सहनशील छ

सिधा र सरल छ 
त्यसैले त जसले जे भने पनि

जस्तो गाली गरे पनि

जतिकै घृणा गरेपनि

सहि दिन्छ काठमाण्डौ

सबैलाई वास दिएकै छ

जसो तसो गाँस दिएकै छ

विदेश जान छाती थापी दिएकै छ

तरपनि यसको बदलामा

चुपचाप चुपचाप

सहिरहेको छ गाली गाली अनि गालीमात्र

विचरा काठमाण्डौ!

 

 

 

 

Comments

Krishna

Very nic poem sir. Ktm ko yethartha katha...in this poem

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |