बादलको लुकामारी
इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, ( )
एकपटक नियालेर हेर्छु
आकाशका काला बादल, सेता बादल
काला सेता कपासका पहाडहरु हिंडेजस्ता
ढलपल ढलपल राजहंश हिंडेजस्ता
बादलको मनोहारि लुकामारी अपलक नियालिरहन्छु ।
बादलको चर्तिकलामा आकण्ठ डुव्छु
रमाइलो आश्चर्यमा नेत्र विश्फारित छन्
छ मन कौतुकमय
झिमझिम गर्दैनन् झिमिक्क गर्दैनन् जिज्ञासु नयन
भिन्नाभिन्नै आवृत्तिमा बादलको लुकामारी
चित्ताकर्षक छ, आल्हादकारी छ
त्यसैले मन त्यहीं त्यहीं अडिएका छ ।
घाम छैन पानी छैन, छ सिरसिर बतास
म उभिएको त्यहीं छु जहाँ थिएँ म
दुखे दुखुन् उभिरहेका गोडाहरु
विश्फारित आँखाहरु टट्याइसके—टट्याइरहुन्
यथास्थान निश्चल छु म, अडिग छु म ।
विस्फारित आँखाबाट बहन थाल्छ आसु
घाम यसबेला लागेको छ टण्टलापुर
पसिनाले शरीर भिजेको छ निथु्रक्क
गोडा गलिसकेका छन् फतक्क
तैपनि म विचलित भएको छैन
ध्यान, तन, मन छ बादलकै चञ्चल लुकामारीमा ।
समर चलिरहेछ कालो बादल र सेतो बादलको बीचमा
म हेरिरहेछु यो महासङ्ग्राम
शनैः शनैः कालो बादललाई सेतो बादलले छोप्दै जान्छ ।
घाम हराइसकेको छ यसबेला
बिर्सन्छु म आप्mना सबै पीडा
गुमाउनु र प्राप्तिको जादूमयी लुकामारी्
अपलक म नियालिरहेछु ।