हिँडिरहेछु म यात्रा निरन्तर
इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, (तरहरा (सुन्सरी), हाल: काठमाडौं)
अज्ञानता छन्
अभाव छन्
संघर्षका कोशी छन्, कर्णाली छन्
पढ्नैपर्ने जीवनमा जान्नैपर्ने
ज्ञानका पोथ्रापोथ्री थुपै्रथुपै्र छन्
जीवन भेट्न चढ्नुपर्ने
चुचुरो त झन अनेक अनेक छन् ।
सपना छन् फूलबुठ्ठे
चाहना छन् अनन्त
फूलबुठ्ठे सपना पक्रिन
अनन्त चाहना भेट्टाउन
मन पखेटा हालेर उड्छ
भुरुरु ! भुरुरु !! भुरुरु !!!
किताबका प्रत्येक पानाहरुमा
जिज्ञाशा बढ्छ झन
विचारको महासागरमा
विवेक पौडी खेल्छ छप्लाङ छुप्लुङ
मन/मथिङ्गलमा मच्चिन्छ रोटिपिङ
चचहुइँ ! चचहुइँ ! चचहुइँ !
फुलेको श्वास मिलाउन
आधार शिविरमा
सहयात्रीहरुसँगै
बसी बियाँलो गर्छु म ।
हिँड्छु निरन्तर
हातमुख बन्न खोज्छन् तगारो
पन्छाउँछु पटक पटक पन्छाउँछु
फेरि अगाडि आउँछ ढिस्को
जोशका साथ डटेर बढ्छु अगाडि
आफैलाई दिन्छु स्पष्टिकरण
श्रमबाट नै चम्किलो मोती फल्छ ।
निरन्तर यात्रामा रहँदा
मन इस्पात हुनुपर्थ्यो —भएछ
मस्तिष्क द्वन्द्वात्मक भौतिकबादकोको सिद्धान्तमा
आकण्ठ डुव्ने भएछ
धेरैधेरै पाइला छुटेछन् पछाडि
मेरै इतिहासका डोबहरु
अब डष्टरले कालोपाटीबाट पुछ्न नसकिने भएछन् ।
पर्ख, पर्ख मलाई अझै भन्नदेऊ
आत्मप्रवञ्चना हैन यो
बास्तविकताको धरातल हो यो
तर प्रतिक्रिया मैले खोजेकै छैन
राय पनि कसैको मागेकै छैन
थाहा छ मलाई, हजारौं सहयात्रीहरुसँगै
भुल्के घाममै निस्केको हुँ यात्रामा
म हिँडिरहेछु यात्रा निरन्तर
मलाई थाहा छ आजीवन
म हिँडिरहन्छु निरन्तर, निरन्तर, निरन्तर ।