हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

डायस्पोरा नै किन?

बासु श्रेष्ठ, (उडव्रिज, भर्जिनीया)

मानिसहरु आफु जन्मिएको ठाउँबाट अन्य ठाउँमा सर्ने कारणहरु थुप्रै हुन्छन् । बसेको त्यस्तो ठाउँ प्राकृतिक कारणले बसोबासकोलागी उचित नभएकोले या राजनैतिक कारणले या जीवन सुखमय बनाउने माध्यमहरु खोजीको कारणले लगायत जे कारणपनि हुन सक्छन् । तर कारण जे भएपनि मानिसहरु एक ठाउँबाट अर्काे ठाउँमा सर्ने चाहि मानवको सभ्यता शुरु भएकै समयदेखि हो भन्दा अत्युक्ति नहोला । यस्तो सराईको टुँगो मानिसले जहाँ आफ्नो सुरक्षा अनुभव गर्छ, जहाँ आफुले सफलता प्राप्त गर्ने अनुभव गर्छ त्यहाँ हुन्छ । यसरी अन्य मुलुकका झैँ नेपालीहरुपनि विभिन्न कारणले देश छोडेर बाहिरिएका छन् । कोहि सीमापारीको देशमा त कोहि बर्मा त कोहि अमेरिका, अष्ट्र्ेलिया या बेलायत या खाडी मुलुक होस् या मलेशिया, हँगकँग या अन्य देशहरुमा छरिएका छन् । र यो क्रम बढ्दो छ । खाडी मुलुक, कोरिया र मलेशियामा विशुद्ध रोजगारीको कारणले गएका हुनाले तिनिहरुको फिर्ति अवश्यम्भावी छ । तर अमेरिका, बेलायत, अष्ट्र्ेलिया या क्यानाडा जानेहरुको भने फर्कने नफर्कने कुनै टुँगो हुँदैन । किनभने प्रायशः तिनिहरुको मनस्थिति उतै बस्ने हुन्छ । साह्रै कम सँख्यामात्र फर्कने गरिएको पाईएको छ । अनि यसरी विदेशमा बस्ने नेपालीहरुको चर्चा चल्दा डायस्पोरा भन्ने शब्द अत्यधिक प्रयोग गरिएको पाईन्छ । तर डायस्पोरा के हो, यसको सीमा र लक्षण के हुन्, कस्तो व्यक्ति या साहित्य डायस्पोरा हुन्छ भन्ने विषयमा भने तर्कसँगत र सर्वमान्य मत पाईएको छैन । अझ भन्ने हो भने कतिले त कुरै नबुझी देश बाहिरको भन्ने वित्तिकै डायस्पोराको शब्दमाला लगाई दिई हाल्छन् । त्यसकारण यस शब्दको दुरुपयोग त भईरहेको छैन भन्नेतिर हामीले सोच्नु जरुरी छ । डायस्पोरा शब्दको उत्पत्ति र कारण जे जस्तो भएपनि यदि यो शब्द हामीले प्रयोग गर्ने हो भने यसलाई अब हामी सुहाउँदो र अहिलेको समय सुहाउँदो हुनेगरी प्रयोग गरिनुपर्छ भन्ने मेरो धारणा रहेको छ । ईसापूर्वको छैठौँ शताब्दिमा प्रयोग गरिएको यो शब्दलाई अहिलेको समय सुहाउँदो गरि परिभाषित गरिनुपर्छ भन्ने मेरो सोचाई छ । अर्थात त्यतिखेर विस्थापित यहुदीहरुकोलागी प्रयोग गरिएको शब्द अहिलेपनि त्यसै सन्दर्भमा प्रयोग गरिनुहुन्न । केहि सिमित विव्दानहरुले डायस्पोरा सम्बन्धि लेख लेख्ने या कार्यपत्र पेश गर्ने काम गरेपनि यसले सबैको चित्त बुझाउन नसकेको भान हुन्छ । किनभने यि विव्दानहरुका अनुसार डायस्पोरा भन्ने शब्दले मूलतः अमेरिका, बेलायत, हँगकँग या क्यानाडाहरुमा गएर बसोबास गर्नेहरुलाईमात्र लक्षित गरेको पाईन्छ । छिमेकी मुलुक भारत लगायत बर्मा आदि देशकालाई के भन्ने प्रष्ट छैन । फेरी ति नेपालीहरु त्यस देशमा कति बस्नुपर्छ भन्ने कुनै निर्क्यौल गरेको छैन । कस्तो रचनालाई डायस्पोरिक भन्नेपनि प्रष्ट छैन । सामान्यतयाः गैर आवासियहरुको सँगठनकै परिभाषालाई आत्मसात गरेर डायस्पोराको परिभाषा दिन खोजिएको अनुभव गर्न सकिन्छ ।

डायस्पोरा शब्द विशेष गरी विदेशमा साहित्य साधनामा लागेकाहरुप्रति प्रयोग भएको पाइएको छ । तर विदेशमा बसेर साहित्य साधना गर्नेहरुकोलागी यो शब्द नै प्रयोग गरिनुपर्छ भन्ने कुनै बलियो तर्कपनि छैन । डायस्पोराको सट्टा अन्य कुनै शब्द प्रयोग गर्न सकिन्छ । तर वास्तवमा गहिरिएर भन्ने हो भने यो डायस्पोरा र ननडायस्पोराको सीमा रेखा नै कोर्नु बेकार छ । स्वदेशमा होस् या विदेशमा होस् नेपाली साहित्यको सेवामा लागेको छ भने उसले गरेको कामको मूल्याँकन गर्ने हो न कि उसलाई कुनै आलँकारिक शब्द सीमा प्रयोग गरेर मूल समूहबाट विच्छेद गर्ने या भिन्नता देखाउनु हो भन्ने मेरो धारणा रहेको छ । जहाँ बसेर रचना गरिएपनि ति रचनालाई मूलधारमा समावेश गरिनुपर्छ भन्ने मेरो तर्क रहेको छ ।

ल भैगो, विदेशमा बसेर साहित्य साधनामा लागेकाहरुलाई मूलधारबाट अलग गराउने उदेश्यले यो शब्दको प्रयोग गर्ने हो भनेपनि यसको परिभाषा, लक्षण, सीमा आदि स्पष्टसँग तोकिनुपर्छ । अन्यथा गलत परिभाषाको नजीर बस्यो भने यसलाई सच्याउन गाहारो पर्ने हुनसक्छ । उदाहरणकोलागी भारतमा बस्ने नेपालीहरुलाई सम्बोधन गर्ने कि नगर्ने? बर्माका नेपालीहरुलाई के भन्ने? कति समय कस्तो देशमा बस्यो भने उ डायस्पोरिक हुन्छ ? उसले रचना गरेका साहित्यमा के कस्तो लक्षण हुनुपर्छ भन्ने जस्ता कुराहरु स्पष्ट हुनुपर्छ । अनिमात्र यस शब्दको प्रयोग सार्थक हुन्छ ।

तर अहिले त एकदम हलुकोसँग विदेशमा बसेर रचना गरिएका साहित्यलाई डायस्पोराको नामले सम्बोधन गरिन्छ । मलाई एउटा घटनाको सम्झना भयो र प्रसँगबश उल्लेख गर्न चाहन्छु । अमेरिकाबाट नेपाल पुगेका एक साहित्यकार मित्र नेपालको कुनै एक साहित्यिक कार्यक्रममा सहभागी हुन पुगेछन् । त्यस कार्यक्रममा विदेशमा बसेर साहित्य साधना गर्नेहरुको चर्चा चल्दा एक स्थापित साहित्यकारले त्यसप्रति आपत्ति जनाएर यस्तो साहित्य हजार डलरको डायस्पोरिक साहित्य हो भनेर विरोध र आलोचनाको स्वरमा बोलेछन् । सो कुरा ति मित्रबाट मैले फोनमा थाहा पाएँ । यो कुराले मलाई के सोच्न बाध्य बनायो भने सीमा, लक्षण, परिभाषा बुझ्दै नबुझी देश बाहिरका सबैलाई डायस्पोरिक भन्ने प्रचलन किन बढेको होला भन्दै प्रस्तुत लेख लेख्न बाध्य तुल्यायो ।

त्यसो त नेपालमा डायस्पोरा सम्बन्धि विशेष कलम चलाउने दुई जना विव्दान डा. गोविन्दराज भट्टराई तथा डा. खगेन्द्र लुईटेललाई एकापसमा सहकार्य गरेर यस्तो विषयमा टुँगो लगाउन व्यक्तिगत तवरमा मैले प्रयास नगरेको होईन । अझ दुबैजनालाई एउटै टेलिफोनमार्फत खसखस डट कमकोलागी यस विषयमा कुराकानी गरौँ भनेर अनुरोधपनि गरेको हुँ । तर वहाँहरुको एकापसमा मत भिन्नताको कारण मैले अलग अलग कुराकानी गर्नुपर्यो । तर प्रसार गर्दाभने दुबै अडियो एकै पेजमा राखेर प्रसार गरेँ ।

अर्काे कुरा, विदेशमा बस्नेहरुले आफ्नो पहिचानकोलागी आफुलाई डायस्पोरिक भनियोस् भन्ने चाहना राख्नेहरुकोपनि भीड बढ्दो छ । तर मलाई के लाग्छ भने साहित्यकारको कर्म नितान्त साहित्य साधनामा लाग्नु हो । आफुलाई यो भनियोस् या त्यो भनियोस् भनेर चाहना राख्नु लालसीको लक्षण देखाउनु हो । यसबारेमा मूल देशका समालोचक तथा समीक्षकहरुले जे भन्नुपर्ने हो भनिहाल्छन् भन्ने मेरो धारणा रहेको छ । किनभने यो काम उनिहरुको हो । तर यहाँ उल्टो भएको छ । विदेशकाहरुले हामीलाई डायस्पोरिक हो भनिदेउ भनेर कार्यपत्र लेखाउँछन । अनि डायस्पोराको नामबाट घरदेशभन्दा आफुलाई अलग पहिचान दिन खोजेका छन् । रचना घरदेशकै भाषामा गर्ने तर अलग देखाउन चाहने प्रवृत्ति अलि अमिल्दो भएको हो कि भन्ने स्वतः भान हुन्छ । यहि कारणले यस शब्दमा सबैको सहमति अहिलेसम्म हुन नसकेको हो । तररपनि यस शब्दको प्रयोग भने व्यापक भई रहेको छ ।

अन्तमा यदि डायस्पोरा शब्द प्रयोग नै गर्ने भन्ने हो भनेपनि डायस्पोराको सट्टा सबैलाई सुहाउने, सबैजना अटाउने र प्रष्ट र गहन अर्थ दिने अनि सर्वसम्मतलाई स्विकार्य हुने गरि प्रयोग गर्न सकिन्छ भन्ने मेरो राय रहेको छ । तर पहिले यसलाई सामयिक र सर्वमान्य अनि सुपरिभाषित गरेपछिमात्र यसको प्रयोग गर्न थालाँै भन्ने मेरो आग्रह हो । सबैभन्दा राम्रो त यस्तो शब्दव्दारा कुनै परिधिआदि कायम नगरी जहाँ बसे रहेपनि नेपाली र नेपाली साहित्यकै नामले सम्बोधन गरिए सबैभन्दा बेश होला भन्ने मलाई लाग्छ । यस सम्बन्धि के गर्ने हो विव्दानहरुकै जिम्मा ।

Comments

Sasang Lama

बासुजिले शिलशिला मिलाएर डायस्पोराबारे ड्यासिङ लेख लेख्नु भएको छ् ! \'डायस्पोरा\' शब्द नै ड्यासिङ भएकोले मुङ्लाने नेपालीले आफ्नो प्रिथक चिनारी वा पहिचान दिनलाई यो घच्ची शब्दलाई रोजेको होला | नत्रभने प्रवासमा रहेका प्रवासे नेपालीले प्रवासी नेपाली साहित्य भन्दा भै गयो नि ! बित्थाको यो डायस्पोरा र फायस्पोरा किन भनि रहनु ? नेपाली साहित्यको उर्वर भुमी दार्जिलिङ,जुन प्रवासमै छ्, त्यहांका स्रष्टाहरुले प्रवासी नेपाली साहित्य नै भन्दै आएका छन| मेचिपारिका कतिपय साहित्यनुरागीहरुले त अझ त्यो \'प्रवास\' समेत नजोडी नेपाली साहित्य नै लेख्छन| बर्मा र आसामका प्रवासेहरुले प्रवासी नेपाली साहित्य नै उच्चारण गर्दै आएका छन| पछिल्लो समयमा \'गैर आवसिय नेपाली साहित्य\' जस्तो अत्यन्तै रुखो,अमिल्दो र नमिठो शब्द प्रयोग भैरहेको छ| यस्तो शब्द प्रयोग गर्ने स्रष्टाहरुकै सृस्‍टि कस्तो होला ? साहित्यलाई शब्दहरुको खेलको रुपमा मात्र् लिनुहुन्न|साहित्यबाट रस टप्कनु पर्छ,,,,,,,,,,

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |