हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कवि शरद निरोला र कविता

बसन्त श्रेष्ठ, (भर्जिनिया)

आऊ जाऔं कतै टाढा, समाएर हाम्रा हातहरु

बसौं कतै सुन्दर ठाउँमा, साटेर मनका भावनाहरु

दोहोर्याएर खाऔं कसम, जोडेर हाम्रा तिर्खाएका ओंठहरु

अप्ठेरो कतै लागेमा, छोपिदिन्छु तिम्रा ती लजाएका परेलीहरु !!!

 
थुप्रै बर्ष अघि काठमान्डूबाट साप्ताहिक रुपमा प्रकाशित हुने "नयाँ सन्देश" पत्रिका धेरै लोकप्रिय र चर्चित थियो | लोकप्रिय यसकारण कि त्यस पत्रिकाको प्रथम पृष्ठमा नेपालको राजनीतिको सनसनीपूर्ण खबर छापिन्थ्यो भने अन्तिम पातामा कुनै युवतीको अर्धनग्न तस्बिर छापिन्थ्यो | त्यो सबै स्तरको पाठकको हातमा पुग्थ्यो अनि त्यस पत्रिकाको मध्य पृष्ठमा चैं बिभिन्न खबरको साथमा लेख रचनाहरु हुन्थे | त्यसै मध्ये हास्यब्यंग र मनोरंजनले भरपुर एउटा नियमित लेखपनि हुन्थ्यो त्यस पत्रिकामा | त्यसको लेखक थिए "हिरण्यकशिपू" | त्यो छद्म नामबाट लेख्ने लेखक अरु कोहि नभएर हाम्रै आजका विमोचन हुने कविताका कवि शरद निरोला हुनुहुन्छ | वहाँले त्यस समयमा बिभिन्न संचार माध्यम तथा छापा पत्रिकामा समाचार सम्पादनको काम गर्नु हुन्थ्यो | त्यस समयमा वहाँसंग राष्ट्रिय समाचार समिति र नेपाल टेलिभिजन अनि मातृभूमि साप्ताहिक पत्रिका, अंग्रेजीको भाषामा प्रकाशित "द मदरलैंड" र सिने पत्रिका "उर्वशी" मा समेत समाचार सम्पादक भएर संचार जगतमा काम गर्नु भएको अनुभब छ | कवि शरद निरोला एक चर्चित र स्थापित उपन्यासकारपनि हुन् भन्दा यहाँहरुलाई अचम्म लाग्न सक्छ तर यो सत्य हो | वहाँले नेपाली साहित्यकोलागि रोमान्चपूर्ण, सनसनीपूर्ण र कौतुहलपूर्ण एघार वटा जासुसी उपन्यास लेख्नु भएको छ | वहांको "सुलसुले पस्दा" अत्यधिक लोकप्रिय र चर्चित उपन्यास हो | वहांको आजसम्मको अन्तिम जासुसी उपन्यास चैं "खतरनाक ताम्रपत्र" हो भने एउटा अझै "चैतको बतास" उपन्यास अप्रकाशित नै छ |

अंग्रेजी भाषामा नलेखी नेपाली भाषामा नै किन लेख्नु भयो ?

नेपाली भाषा साहित्यमा आख्यानमा थुप्रै उपन्यास तथा लेखहरु लेखिसक्नु भएका लेखक तथा उपन्यासकार शरद निरोला उच्च अध्ययनको सिलसिलामा अमेरिकामा सन् १९९३ मा आउनु भएको हो | अंग्रेजीमा स्नात्तकोत्तर गर्नु भएका, भारतबाट समेत अंग्रेजीमा डिप्लोमा गर्नु भएका शरद निरोलाले अमेरिकामा थुप्रै बर्ष बस्नु भएरपनि आफ्नो मातृभाषा नेपालीमा नै कविता किन लेख्नु भयो ? यसको जवाफ त वहाँ संगै होला तर मेरो बिचारमा यो वहांको आफ्नो भाषा प्रतिको आगाध माया र सद्भावनाको अनुपम नमुना हो भन्दा अत्युक्ति नहोला | किनकी यो मानवीय चरित्र हो कि उ जहाँ रहे पनि जति बर्ष रहे पनि आफ्नो भाषा, कला र संस्कृतिलाई कदापी बिर्सन सक्तैन | जे जस्तो परिस्थितिमा र जुनसुकै उद्देश्य बोकेर हामी नेपाल बाहिर रहेतापनि हाम्रो मौलिक भाषा नै एक त्यस्तो चिज हो जस्ले आफ्नो पहिचान र अस्तित्वबोध गराउदछ | संसारका अरु बिभिन्न जातिसंग अलग्ग पहिचान राख्ने चिज नै आफ्नो भाषा हो | आफ्नो भाषा प्रतिको माया र सदभाबको लागि म शरद निरोलाजीको कदर गर्न चाहन्छु |

भाषा भन्नासाथ म यहाँ नेल्सन मण्डेलालाई सम्झन चाहन्छु | दक्षिण अफ्रिकाका मानबधिकार तथा रंगभेद नीति विरुद्धका तथा स्वतन्त्रता सेनानी नेल्सन मण्डेलाले एकपल्ट भनेका थिए "तिमीले कसैसंग कुरा गर्दा यदि उसले बुझ्ने भाषामा कुरा गर्यौ भने त्यो कुरा उसको दिमागमा गएर बस्छ तर यदि त्यहि कुरा उसले बोल्ने भाषामा कुरा गर्यौ भने त्यो उसको हृदयमा गएर बस्छ" | त्यो त्यति प्यारो र न्यानो लाग्छ | त्यसैले भाषा नै त्यो कडी हो जसको माध्यमबाट अरुसंग सम्पर्क स्थापित गर्न सकिन्छ र त्यसैको सम्प्रेषणको रुपबाट आफ्नो आत्मियता, जातियता टड्कारोरुपमा पहिचान हुन सक्दछ |

महाकवि देबकोटाले भाषा सम्बन्धि भनेका थिए "भाषा नै मानव जिबनको परिबर्तनको मष्तिस्क र मुटु हो" | भाषा नै मानबको जातीयताको पहिचान हो |

त्यसैले शरद निरोलाजीले अन्तराष्ट्रिय भाषा भन्नाले अंग्रेजी भाषामा राम्रो दखल राख्नु हुन्छ र समर्थवानपनि हुनुहुन्छ | अझ वहाँ त अमेरिकाको स्थायी बासिन्दा पनि हुनुहुन्छ | यो तथ्य जग जाहेर हुदा हुदै पनि नेपाली भाषामा नै कविता लेखेर प्रकाशित गर्नु भो र नेपाली साहित्यलाई धनी बनाउनु भो | त्यसको म हृदयदेखि नै मुरीमुरी प्रशंसा गर्न चाहन्छु | यसले हाम्रो नेपाली भाषा तथा साहित्यमा एक विशिष्ट स्थान ओगट्ने छ भन्ने मैले ठानेको छुं |

आख्यान नलेखी कविता नै किन लेख्नु भयो ?

वहाँले नेपालमा रहदा थुप्रै जासुसी उपन्यास लेख्नु भो, लेखहरु लेख्नु भो सबै लोकप्रिय बने र चर्चित पनि बने | तर अमेरिकामा आउनु भएपछि कविता किन लेख्नु भयो र आख्यान किन लेख्नु भएन यो मेरो अर्को कौतुहलको बिषय हो | तर मेरो बुझाइमा कविता सम्बन्धि मेरो आफ्नो धारणा यहाँ राख्नु मनासिब ठान्दछु |

कविताको उत्पति मानब जातिको उत्पतिसंगै भएको मानिन्छ | कविता मनको सुन्दर अभिव्यक्ति हो | भावनाको बौद्धिक कोमलता नै कबिता हो | साहित्यमा धेरै लेखिने, धेरै पढिने र प्रकाशन पनि धेरै हुने बिद्या नै कविता हो | कविता धेरै लोकप्रिय हुनुको प्रमुख कारण मध्ये मुख्यत यसले समयको धेरै बचत गर्दछ | छोटो समयमा एउटा कथा, लेखले भने जति आफ्नो भनाई बेजोड रुपमा राख्न कविताले सामर्थ राख्दछ भन्ने मेरो ठम्याई हो | कविताको लोकप्रियताको कारणले नै आज कविता सर्बब्यापी छ | जन्म दिनको बधाई बाड्नोस या खुशीको अभिव्यक्ति बाड्नोस, दुखको समवेदनामा होस् सबैले छोटो कविताको माध्यमबाट अभिव्यक्ति व्यक्त गरिरहेको नै हुन्छ | अझ तपाइँ कहीं ट्रेनमा यात्रा गर्नोस "poem for motion" भनेर सानो कविताको टुक्रा लेखिएको हुन्छ, यदि तपाईं कसैको मृत्युमा फूल चढाउन जानोस त्यहाँ शिलालेखमा उनलाई अमर बनाउन कविताको छोटो टुक्रा त्यहाँ कुँदिएका हुन्छन | यिनै कुराको प्रभाबले अनि समयको पाबन्दीले हुनसक्छ शरद निरोलाले कविता लेख्नु भयो |

कोठे कविता गोष्ठी - डी सी मेट्रोपोलिटन क्षेत्र

अर्को मुख्य आकर्षण पक्कैपनि हुनसक्छ "कोठे कविता गोष्ठी" | वाशिंगटन डी सी मेट्रोपोलिटन क्षेत्रमा प्रत्येक दुइ दुइ महिनामा आयोजना गरिने कोठे कविता गोष्ठी संचालन भएको आज करिब तिन बर्ष नाघिसकेको छ | यसले भर्खरै १९ औं कोठे कविता गोष्ठीको आयोजना सम्पन्न गरिसकेको छ | त्यस गोष्ठीका सक्रिय सदस्य शरद निरोलाजीका हास्यब्यंग र रोमान्चले भरिपूर्ण कविताको श्रोता मध्ये मपनि एक हुँ | कोठे कविता गोष्ठीले सबै सदश्यहरुलाई नया नया कविता सिर्जना गर्नमा, कवितालाई कसरी अझ सुन्दर बनाउन सकिन्छ भन्ने कुरामा आबश्यक सल्लाह, सुझाव र उत्साह प्रदान गर्ने गर्दछ |

त्यसै प्रतिफल स्वरूप हुनसक्छ लेखक शरद निरोला कबि बन्न पुग्नु भयो | हाम्रोलागि त यो अत्यन्त खुशीको कुरा हो | र प्रकाशनको लागि तयारीमा लाग्नु भयो | जसरि उच्चस्तरको साहित्य सिर्जना गर्न उचित शिक्षा र जानकारहरुको राय, सल्लाह अत्याबश्यक हुन्छ त्यसरी नै साहित्य रचनाको संग्रह प्रकाशन गर्नमा पनि शुभेच्छुक मित्रहरुको उचित राय, सल्लाह र सहयोगको अति आबश्यक पर्न जान्छ | मेरो प्रथम कविता संग्रह "बसन्त श्रेष्ठका कविताहरु" पनि थुप्रै मित्रहरुको सहयोग र शुभेच्छा भएसंगै मेरो अनन्य मित्र साहित्यकार गोबिन्द गिरि प्रेरणाले सम्पादन र प्रकाशन गर्नमा जुन सहयोग, तत्परता र सदाशयता देखाउनु भयो त्यसको म सदैब ऋणी छुं | वहांको सहयोग नभएको भए त्यसरी त्यो संग्रह त्यति चाडो प्रकाशन हुन सम्भब पनि थिएन | त्यसको लागि म वहाँप्रति म आभारी छुं | त्यसरी नै यो "लजाएका परेलीहरु" प्रकाशन हुनमापनि लोकप्रिय साहित्यिक वेब थलो "खसखस डट कम" का संचालक मित्र बासु श्रेष्ठजीको सहयोग र सद्भावना अनुकरणीय नै छ | तसर्थ वहाँप्रति साधुवाद भन्नै पर्छ |

कवितामा बढ्दै गएको अराजकता   

वास्तवमा आज जति कविता लोकप्रिय बनेको छ त्यति नै अराजक पनि बन्दै गएकोछ | आज उत्तर आधुनिकताको नाममा जे जस्तो लेखे पनि कविता बन्छ भन्ने एउटा गलत धारणा विकसित भएको छ | त्यो गलत धारणा फस्टाउदै पनि गएको देखिन्छ | तर त्यो सिर्फ हामी भित्रको युटोपिया मात्र हो | यसै सन्दर्भमा केहि क्षण कविता कस्तो हुनुपर्छ भन्ने वारेमा केहि बोल्न मन लाग्यो | कविताको बारेमा संस्कृत साहित्यका महाकबी कालिदास पछिका वरिष्ठ कबि भारवि ले कविता कस्तो हुनु पर्छ भन्ने बिषयमा भनेका छन्:

"स्फुटता नापदैर पाक्रिता न च न स्वीकृत मर्थगौरम

रचिता पृथगर्थता गिरान न च सामर्थम पोदितम क्वचित"

अर्थ-पदहरुमा स्पष्ट हुनु / बाक्यहरुमा भरपुर अर्थ हुनु / शब्दहरुले बेग्ला बेग्लै अर्थ बुझाउने खुबी  भएका पदहरु हुनु कवितामा आबश्यक गुण हरु हुन् | कवितामा सौन्दर्य/ भाब/ शैली/ बिचार / प्रतिक / बिम्ब, उपमा, अलंकार र भाषा कविताका चेतन मनका संरचना हुन् | कविता सबैले लेख्न सक्ने बिषय पनि हुन् र कविता सबैले लेख्न नसक्ने कार्य पनि हो | कविता जड बस्तुबादी होइन | यो जीवित हो | यसले जन्मनु अघि प्रसव वेदना दिन्छ | प्रसवपछि नितान्त हल्का र खुशी पैदा गर्छ | कविता अजम्बरीपनि हुदैनन् | यसको पनि निश्चित समयमा मृत्यु हुन्छ | तर कविता श्मसानबाटपनि बिउँझेर आउन सक्छ, चल्छ, हिड्छ | अरुलाई ब्युझाउने, जागरण ल्याउने ताकत कविताले राख्दछ | कविताको सान्दर्भिकता पछिसम्मपनि सार्थक भएर आउन सक्छ | जसरी पाठकको स्तर हुन्छ त्यसरी नै कविताकोपनि आफ्नै स्तर वा तह हुन्छ | कविले कविताको बारेमा प्रकाश पारिरहनु पर्दैन त्यो आफैमा मर्मशील हुन्छ |

श्रब्य दृश्य मा कविता 

आजको कवितालाई प्राबिधिक बिकाशको चरम उन्नतिलाई आत्मसात गर्नकोलागि अब कविता पढ्नेमात्र होइन देख्ने र सुन्नेको बिकास हुनपनि जरुरी छ | यो अब श्रब्य र दृश्यमापनि आउनु पर्यो | जसको प्रभाब अझ धेरै हुन जान्छ | कविपनि संस्थागत र व्यवशायिक रुपले प्रतिष्ठापन हुन आबश्यक छ |

कविको आर्थिक सम्पन्नता/एक हजार डलरको कविता/साहित्यकार राहत कोष

भोको पेटले साहित्यको सिर्जना स्वच्छ तथा पवित्र बन्न सक्दैन | यस अर्थमा सर्जक तथा साहित्यकार कविहरुको आर्थिक सम्पन्नता र सर्वांगीण विकास गर्नु नै आजको आबश्यकता हो | यसै आधारमा एएनए नेपाली साहित्य प्रतिष्ठान, उत्तर अमेरिकाले प्रथम कविताको एक हजार डलरको पुरस्कार स्थापना गरेको कुरा यहाँ सबैलाई स्मरण गराउन चाहन्छु | यसै सन्दर्भमा सम्पूर्ण नेपाली भाषा तथा साहित्यकारहरुको आपतकालीन सहयोगकोलागि प्रतिष्ठानले "आपतकालीन राहत कोष" पनि खडा गरेको छ जस्ले अझ मूर्तरुप लिईसकेको छैन |

अन्तमा थुप्रै जासुसी उपन्यासका उपन्यासकार/थुप्रै लेखकहरुका लेखक तथा आज बिमोचन गरिएको कविता संग्रह "लजाएका परेलीहरु" का कवि शरद निरोलाजीका साहित्यिक यात्रा अविरल तथा निर्बाध रुपले अघि बढ्दै जावस | नेपाली साहित्यले वहाँबाट अझ राम्रा राम्रा परिष्कृत काब्य कृतिहरु पाउंदै जावस | यहि नै मेरो हार्दिक शुभकामना छ |

साथै वहाँप्रति यि मेरा बिचार राख्नलागि आयोजक मित्रहरुले जुन मप्रति विश्वास राख्नु भयो त्यसको म सदैब अनुग्रहित भै रहनेछु | धन्यबाद |


०१/२५/२०१४

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |