अच्युत
गोपालप्रसाद भण्डारी , (हाल: न्यू हयामपशायर,अमेरिका)
आदर्श हुन् अच्युत रामरूपमा
छन् जानुकाका मन भक्ति राममा ।
श्रध्दा बढोस् विष्णुसहस्रनाममा
बसून् सधैं अच्युत धन्यधाममा ||१||
बैकुण्ठ हो अच्युतधाम अक्षर
बन्छन् सबै भक्तहरू बराबर ।
छन् मित्रता प्रेम सफा परस्पर
हुन्छन् सबै अच्युतमा सुनिर्भर || २ ||
सुधाअनुश्रीधर मोक्षकारक
संसारका सर्जक भारधारक ।
चिद्रूप हुन् सज्जनका सुधारक
दयालु छन् अच्युत भक्ततारक ||३||
प्रमोदका स्रोत भनिन्छ माधव
विनोदले स्वस्थ रहन्छ मानव ।
आमोद गर्छन् प्रभुकृष्णयादव
आनन्दमा हुन्छ हरिप्रभाव ||४||
ताराहरू छन् हरिबाट रक्षित
आदित्य हुन् अच्युतबाट शिक्षित ।
ब्रह्माण्ड हो अच्युतबाट सिर्जित
होस् दक्षिणा अच्युतमा समर्पित ||५||
महेश योगी हरि बन्दछन् नर
मास्छन् सबै दुर्जन शत्रु निष्ठुर ।
सुधार्दछन् आत्मिक मित्रको घर
घुम्छन् सधैं अच्युतमा चराचर ६
हो सृष्टि चल्ने मदनप्रभावमा
छ कामको राज विभिन्न जीवमा ।
अनन्य छन् अच्युत सत्वभावमा
कल्याण गर्छन् अनयस्वभावमा ||७||
छ एकछत्र प्रभुको प्रशासन
गोपी प्रियाको हरिमा छ चिन्तन ।
छ गोपिनीमा प्रिय कृष्णको मन
प्रज्ञा गरोस् अच्युतउक्तिमन्थन ।।८।।
हुन् राधिकाका अतिमान्य अच्युत
दिन्छन् सुधीमा गुणसौम्य अच्युत ।
छन् अञ्जनाका गुरुतुल्य अच्युत
छन् तीर्थमा अच्युतमूर्ति शोभित ।।९।।
असंख्य छन् अच्युत नाम कीर्तित
सन्तानमा अच्युत छन् समर्पित ।
हुन्छन् धरामा गुणले विभूषित
छ विश्व यो अच्युतबाट पोषित।।१०।।
संज्ञानले अच्युत छन् प्रतिष्ठित
लिन्छन खुशीले अवतार अच्युत ।
छ सम्झना अच्युतमा यथोचित
गोपालरीतासित हाँस अच्युत ।।११।।
सान्दर्भिक शब्दार्थ
अच्युत :- विष्णु , अटल ,अमर ,त्रुटी नगर्ने
अञ्जना :- भगवानको कृपापूर्ण उपहार ,हनुमान्की आमा
अनय :- विष्णु
अनन्य :- अडीग,आत्मनिष्ठ ,
आदित्य :- सूर्य , रवि
आमोद :- रमाइलो
चिद्रूप :- ज्ञानमय परमात्मा ,शुद्ध चैतन्यरूप परमात्मा
प्रमोद :- आनन्द ,हर्क
मदन :- कामदेव
विनोद :- हर्क,ख़ुशी ,आनन्द
सर्जक :- श्रृष्टिकर्ता
नोट : राधिका र सुधीलाई क्रमश: रोमिला र बिकी पनि अर्थान्तारमा बुझ्न सकिन्छ ।