फिक्कलको वैंस
बामदेव सिग्देल “तारा” , (काठमाडौं )
घुम्टो ओढेकी दुलही झैं
फिक्कल निहुरिएकी छे
कैले घुम्टो उठाउँछे
कैले ढाक्छे ।
घाम खोज्देछै
फिक्कल उचालिन्छे
र रुन्छे
उसको प्रेमी
हुस्सुमै हराएको छ ।
चिया बगानमा
वा बाँसघारीमा छाएको भए पो
ऊ भेटदिन
प्रेमी धेरै टाढा पुगेको छ
झुल्के घाम देख्छे
पहेंलो सूर्यास्तको घाम
ऊ
प्रत्येक साँझ टाढाटाढासम्म नियाल्छे ।
कठै
फिक्कलले प्रेमी भेटदिन
धुरुक्क रुन्छे
शीतमै
आँसुहरु चियाका मुनाहरुमा
टाँसिन्छन ।
सपना साँच्दै
फिक्कल आफ्नो बैश
तोंगवाको घुटको संगै
निल्दै ।