ए हावा ! ऐनामा तिम्रो झोक्का मन पर्दैन
मनु लोहोरुङ , (सितलपाटी - ६ संखुवासभा, हाल :न्यू योर्क)
ए हावा !
तिमीले दुर्गन्ध बोकी ल्याएको मन पर्दैन
कर्ता,क्रिया र त्यसको परिणाम भुलेर
मैले अन्त्येष्टी गरी सकेको त्यो 'समय'बाट
कुकुर भुकाइको ध्वनी तरंग नबोकी ल्याऊ !
तिमी हिमालको स्वच्छ हिउँको सुवाश हौ
सिर्जना झंकारले यो पवित्र माटो चोख्याउनुछ
अंकुरा देखि टाँकुरा फुलेका फूलहरुलाई
रङ्ग भर्नुमा पो तिम्रो भूमिका ठूलो हो |
ए हावा !
तिमीले अहंकार उडाइ ल्याएको मन पर्दैन
मानव वस्तीमा भिषण युद्धको विजन
बोकेर ल्याएको मन पर्दैन
बिज्ञापनको दस्तावेज बोकेर ल्याएको पनि मन पर्दैन
तिम्रो कर्म हो आयामिक फूलहरुको पराग सेचन गर्नु-
म खुशीले गदगद भएर कोरा बारेको बेला
श्मशानको धुँवा बोकेर मलाई अध्याँरो नबनाऊ !
म चाहन्छु - तिमीले बादलका झुप्पाहरु उडाओस्
सक्छौ भने मलाई नील-नभ मुनि बाँच्न देऊ !
ए हावा !
तिमीले दुर्गन्ध बोकी ल्याएको मन पर्दैन
तिमीले अहंकार बोकी ल्याएको मन पर्दैन
कुकुरहरुको आवाज बोकी लाएको मन पर्दैन
टुक्रिएको ऐनामा तिम्रो झोक्का मन पर्दैन |