वियोग
कमला श्रेष्ठ, (नारायणगढ, भरतपुर)
भत्किएका सपनाहरु
बोक्ने रातहरु
थुप्रै आए गए
सिरानी निथ्रुक्क भिज्छ कहिले
आँखामा मृगतृष्णा छ
थुप्रै कुराहरु मनमा अटाई नसक्नु छ
मुटु टुहुरो भएको बेला
कसलाई गएर भन्नु र?
एक्लै नितान्त एक्लै
समयसँग पौँठेजोरी खेल्दै
भयावह जँगलमा हराईरहेको म
बाटोपनि कति खोज्नु र
समय निष्ठुर भईरहेछ ।
अब आकाश चाहिँदैन
पखेटा काटिएको परेवा
कसरी उड्न सक्छ र ?
ए मन कुँजिएकाहरु
मीठो बोलीको अभिनय नगर
म तिमीहरुको महलभित्र अटाउँदिन
थुप्रै खोसिएका आस्थाहरुबिच
निरीह बिपना बाँच्न बाध्य छ
बाँच्नपनि बहाना चाहिँदो रहेछ
बहानाहरु रोई रोईकन चिच्याउँछन्
आँसुको ढिक्का ढिक्का खसालेर
लाचार मृत्यु चिन्न सक्दैन
त्यो मोती भनेर
जीवन सुस्केरा घरीघरी
जीन्दगीसँग वियोग भयो भनेर ।