हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मेरा शब्दसँगै लेडी डायना

शर्मिला खडका (दाहाल), (काठमाडौं)


..
आफ्नैलागी काफी छ यो छाती अरूका लागी किन दुख्ने गर्छ¬¬         

 सास फेर्न यति आवश्यक छ भने किन गाह्रो भइदिन्छ जीवन


               मेरा शब्दहरू रुन्छन् मसँगै जीवनका अनेकौँ नियतिहरू देखेर । मेरा शब्दहरू तिनै निमुखा, निरीह र पीडित मेरा आफन्तहरूका लागि समर्पित छन् । जब म रुन्छु, मसँगै मेरा शब्दहरू मेरा हजारौँ दाजुभाइदिदीबहिनी, आमाबुवाहरूका पीडासँगै रुन थाल्छन् । परार भदौमा जब मेरो कोठाभित्र पानी परेर मेरो महँगो कार्पेट भिजायो । त्यस बेला ममात्र रोइनँ मसँगै कोसीको बाढीले पीडित बनाएका गाँस, बास, कपास गुमाएका मेरा हजारौँ, दिदीबहिनीहरूसँग म रोएँ । व्यक्तिलाई आफ्नो पीडा ठूलो लाग्छ । मेरो मात्र दस हजार पर्ने कार्पेट भिजाउँदा मलाई त्यो पीडा भयो भने बाढीले आफ्नो सर्वस्व गुमाएर बाँच्नलाई जीवनसँगै सङ्घर्ष गर्नुपर्दा मेरो दाजुभाइ, दिदीबहिनी, आमाबुवाहरूको अवस्था कस्तो भयो होला ? म मेरा तिनै भाग्यले ठगिएका, कर्मले पछारिएका, बाध्यता र विवशताका कालचक्री पञ्जाले गला दबाइएका मेरा आफन्तहरूप्रति समर्पित गर्न चाहन्छु ।

               मेरा शब्दहरू मेरा ती हजारौँ आफन्तका लागि हुन् जो गरिबीको चपेटामा मृत्युको भयलाई चपाएर अघि बढिरहेका हुन्छन् । जब म एउटा गाडीमा मेरो आमाको उमेर बराबरको महिला आफूभन्दा तीनगुणा ठूलो सागको भारी बोकेर थापाथलीको बीच चोकमा रोक्न लगाई उत्रन खोज्छिन्, त्यतिखेर मेरा शब्दहरू रुन्छन् मसँगै । मेरा शब्दहरू तिनै विवश र लाचार आमाहरूका लागि हुन् जो जीवनको भारीले किचिएर, थिचिएर नजिक आइरहेको मृत्युलाई देख्न सक्दिनन् । गरिबी र अभावले लखेटिएका लाखौँ मानवहरूका लागि हो जो प्रत्येक हिउँदमा मर्दै, बाँच्दै गर्छन् । जीवनको आशामा मृत्यु कुरेर बसेका भोकानाङ्गा आङहरू एक छाक पेटभरि खान तड्पिरहने आत्माहरूको लागि समर्पित छन् मेरा शब्दहरू । मै खाउँ मै लाउँ भन्नेहरूबाट टाढा भाग्छन् मेरा शब्दहरू । जीवनमा दुखको स्वाद नलिई सुखको परिभाषा नबुझ्नेहरूलाई तिरस्कार गर्छन् मेरा शब्दहरू । जीवनको अमूल्य परिभाषा नबुझ्ने विरेन श्रेष्ठजस्ता अपराधीलाई तिरस्कार गर्छन्, मेरा शब्दहरू । बाँच्नुको नाममा आभिशप्त जिन्दगी बाँच्ने विरेन श्रेष्ठहरू जस्ता त्रूmर अपराधीहरूका लागि तीखावाण बनेर बर्सन पुग्छन् मेरा शब्दहरू ।

      बाँच्न कति कठिन छ एकचोटि मरेर त हेर

      आफ्नो छाती साँची वाचा गरेर त हेर ।

               ख्याति श्रेष्ठका बुवाआमाका भावनामा परिभाषित हुन पुग्छन् मेरा शब्दहरू । इतिहासमा नै त्रूmर अपराधीको आफन्त भएर बाँच्नुको पीडामा अर्को विकल्प के होला र ?

जब मेरा आफन्तहरू जङ्गली च्याउ खाएर बर्सेनि अज्ञानता र गरिबीले मर्छन् तब मेरा शब्दहरू मेरा भावसँगै दुख्न पुग्छन् । जब आफ्ना छोराछोरीलाई विष खुवाएर एउटी आमा आफुपनि विष खाएर मर्छिन् । तब मेरा शब्दहरू आघात हुन पुग्छन् । बाँच्न कति कठिन छ जीवन भोगाइका पीडाहरू कसैले कल्पना गर्न सक्ला ?

               लाखौँ सम्पत्ति कमाएर पनि धनाढ्यको डकारले नअघाएर भ्रष्टचारी बनेका अपराधी समाजमा ससम्मान जिन्दगी बाँचेको देख्दा मर्माहत बन्न पुग्छन् मेरा शब्दहरू । घुसखोरी, कमिसनखोरीले देशलाई नाङ्गो झार पारेर फोहोरी राजनीतिमा रमाउने नेताहरू देखेर सत्यको खोजीमा भौंतारिन्छन् मेरा शब्दहरू । सहरको कङ्क्रिटको जङ्गलमा जब मानवता हराउँछ तब मेरा शब्दहरू काकाकुलझैँ तडपन पुग्छ अमानवीय मरुभूमिमा । विदेशमा अनेकौँ दुःख खेपेर बाँच्नुपरेको पीडित आफन्तहरू देखेर म आफैँबाट मेरा शब्दहरू निर्वासित हुन खोज्छन् । सडकमा फ्याँकिएका कैयौँ बालबालिका कन्टेनरमा खानेकुरा खोजिरहेको देख्दा घायल हुन पुग्छन् मेरा शब्दहरू । ती भोकानाड्गा अभिभावकहरूको ढुकढुकी छाम्न पुग्छन् मेरा शब्दहरू ।

     क्रान्तिको दनदनी आगामा धेरै आत्माहरूले सहादत पाएको देख्दा मेरा शब्दहरू तिनै पीडासँग पोलिन पुग्छन् । आफ्नो अमूल्य जीवन होम्न पुगेका निरु, सुकन्या, हर्के, विरु, मैनाजस्ता ज्ञातअज्ञात सहिदहरूको संस्मरणमा विस्मृत बन्न पुग्छन् मेरा शब्दहरू । मेरा शब्द तिनै दुखित र पीडित आत्माहरूको लागि समर्पित छन् जो घावैघाउले भरिएको जीवन बाँच्न बाध्य छन् । म तिनै झुपडी, भीरपाखामा बाँच्न चाहन्छु, सुस्ताउन चाहन्छु । बेलायतकी राजकुमारी डायनाले जब भनिन्, “म बकिङ्घमकी महारानी होइन जनताको महारानी हुन चाहन्छु ।बेलायती सभ्य समाजलाई एउटा चुनौती दिँदै उनी गरिब, रोगी जनताको हृदयमा बास बस्न आइपुगिन् । उनले आफ्ना छोराहरूलाई आफैँले उचित स्याहार र मार्गदर्शन गरिन् । आज तिनै आमाका छोरा ह्यारी विश्वका महिलाहरूको रोजाइमा प्रथम भएको उनले हेर्न पाइनन् । थोरै समय बाँचेकी डायनाले एउटा पर्खाल भत्काएर अर्को पर्खाल उभ्याइन्, समाजसेवाको नाममा र मानवताको इतिहासमा । तिनको सिको गरे अरू राजकुमारीहरूले । धेरैले गर्न सक्नुपर्छ डायनाको सिको ।

       धेरै पर्खालहरू भत्किनुपर्छ त्यो उज्यालो यहाँसम्म आउन । आँसुले भिजेका, पीडाले सुकेका पवित्र आत्माहरूको लागि नत्र तिनै आत्माहरू पर्खाल भत्काउन आइपुग्नेछन् । सगरमाथाको शिखरलाई अझ अग्लाइदिइन् दिदी अनुराधा कोइरालाले समाजसेवाको पवित्र आत्मा बनेर । उनी नेपालका गर्व बनेकी छन् । मेरा हार्दिकताका उद्गारहरू शब्द बनेर ससम्मान उनका गलामा पहिरिन पुग्छन् । मेरा शब्दहरू समय, परिस्थिति, देशकाल कुनै परिधिभित्र बन्धित हुन चाहँदैनन् । ती स्वतन्त्र र सार्वभौम भएर विशाल ब्रद्माण्डमा विचरण गर्न चाहन्छन् अनि गरिरहनेछन् ।

     म यी माथिका शब्दहरूसँग बाँच्न चाहन्छु र म मेरा यिनै शब्दहरूसँग देशविदेश घुमिरहेको हुन्छु । बेलायतको भ्रमणमा पनि मैले यिने शब्दहरू बोकेर गएकी थिएँ । म चाहन्छु  संसारमा सबै मानिस एउटै स्तरमा बाँचियोस् । यहाँ धनी, गरिब, रोगी र अशक्त भनेर नछुट्टिऊन् । यो एउटा रोग हो । यो रोग संसारबाट निमूर्ल हुनुपर्छ भन्ने धारणा म राख्दछु । ईश्वरसँग प्रायः म यही कामना गर्दछु तर मेरो देशमा यो कहिल्यै सम्भव देख्दिनँ । यहाँ धनी गरिवको खाडल दिनप्रतिदिन गहिरिँदै गएको छ । नेपाल एउटा गरिब देश हो । यहाँ यस्तो होला तर संसारमा कहिल्यै सूर्य नअस्ताउने देश भनेर चिनिएको बेलायतमा पक्कै पनि धनी गरिव भनेर छुट्ट्याइँदैन होला । त्यहाँ सबै मानिसको जीवनस्तर एक नासको होला भन्ने म सोच्दथिएँ । तर होइन रहेछ । त्यहाँपनि मैले धनी र गरिबबीच ठूलो अन्तर देखेँ । गरिब वा निम्नस्तरकोले सामान किन्ने पसल अलग हुँदो रहेछ । गरिबले लगाउने र प्रयोग गर्ने सामान अर्कै हुँदो रहेछ । 

     धेरै समयअघि जुन बेला पुनर्जागरण युग सुरु भएको थिएन त्यो समयमा सम्पूर्ण युरोपमा कुलीन वर्ग, सर्वसाधारण वर्ग भनेर छुट्ट्याइन्थ्यो । समाजमा मानिसहरूको बाँच्ने शैली फरकफरक थियो । पादरी वर्ग, कुलीन वर्ग, सर्वसाधारण वर्ग आदि प्रत्येक वर्गको अलगअलग कानुन थियो । पछि पुनर्जागरणकाल आएपछि जनतामा चेतनाको लहर फैलिएपछि युरोपको इतिहासमा अनेकौँ उतारचढाव आयो । ठूलठूला क्रान्ति भए र विश्वयुद्धको मारसमेत खेप्नुपर्यो विश्वले नै । विश्वयुद्धको विध्वंशले युरोपमा मानवताको पक्षमा ठूलो क्रान्ति भयो । यस अवस्थामा धेरै मानवतावादी सङ्घसंस्थाहरू खोलिए ।

     मानवताको नाममा धेरै वकालत गरेको र एउटा परिष्कृत राज्यव्यवस्था कायम गरी विश्वलाई नै पाठ सिकाइरहेको बेलायतमा यो विभेद नहोला भन्ने लागेको थियो तर त्यो रहेनछ । हुन त यहाँको जस्तो बाटोमा मागिखाने र अत्यन्त गरिब रोगीहरू देखिएन । यो पनि हामीहरूको उदाहरणीय कुरा हो । सरकारीस्तरबाट गरिबहरूलाई खान र बस्नका लागि विशेष सहुलियत दिइँदो रहेछ । उनीहरूलाई सामान्य जीवन बाँच्न कुनै कठिनाइ रहेनछ । तर बढ्दो फेसन,  विलासी सामानको प्रतिस्पर्धा आदिमा उनीहरू कमजोर हुँदा रहेछन् । यसरी सामाजिक स्तरमा विभेद भएपछि गरिबहरूमा कुण्ठा, क्षोम, देष, पालेर मनोवैज्ञानिक रूपले विक्षिप्त हुने सम्भावना रहेको हुन्छ । केही समयअघि बेलायतको पूर्वीक्षेत्रमा ठूलो दङ्गा भएको कारण यही थियो भनेर भनिन्छ । त्यहाँ मर्मतकार्य भइरहेको थियो र हामीले त्यहाँ फोटो पनि खिच्यौँ । यो सामाजिक असमानताले समाजमा ठूलो प्रलय ल्याउन सक्छ भन्ने सानो नमुना बेलायती समाजले जन्माएको थियो । त्यहाँ धेरैजसो आप्रवासीहरूको जीवनस्तर कमजोर भएको महसुस भयो मलाई ।

     मैले बेलायतलाई अर्को कोणबाट चिनेको भनेको लेडी डायनामार्फत थियो । एकताका म डायनाको एक प्रकारले फ्यान नै थिएँ । मैले उनको सबै जीवनी पढेकी थिएँ । उनको जीवन पढेर म उनीप्रति निकै प्रभावित थिएँ । उनले आफ्नो जीवनमा यही सम्भ्रान्त र गरिबबीचको दूरीलाई मनोवैज्ञानिक रूपले अस्वीकार गरेकी थिइन् । बेलायती सम्भ्रान्त शाहीपरिवारलाई सर्वसाधारणबाट टाढा राखिएको थियो । एउटा बेग्लै बन्देज, अवरोध र तगाराहरू थिए । जुन तगाराहरू उनी भत्काउन चाहन्थिन् । पछि उनले प्रिन्स चार्ल्ससँग सम्बन्ध विच्छेद भएपछि आफ्नो सम्पूर्ण जीवन उनै रोगी, असहाय र गरिबहरूबीच बाँडिदिइन् । थोरै समय बाँचे पनि उनी लाखौँ मुटुको ढुकढुकी भइन् । आज विश्वका धेरै पर्यटक उनको निजी निवासमा भ्रमण गर्न जान्छन् । किन ? बेलायती राजपरिवारमा धेरै राजकुमारीहरू थिए र छन् पनि तर किन डायनालाई यति श्रद्धा गरिन्छ । उनले उही असमानताको ठूलो खाडल भत्काउन ठूलो विद्रोह गरिन् । राजपरिवारको इच्छाविपरीत गरिब र रोगीको हात मिलाउन पुगिन् । गरिबको कुरा सुन्न पुगिन् । त्यसैले आज डायना धेरैको हृदयमा बसेकी छन् ।

     बेलायत भ्रमणमा म पनि डायनाको दरबारमा पुगेकी थिएँ । डायनाप्रतिको श्रद्धा र आस्थाले मेरो शिर निहुरियो र मनमनै ती महान्लेडीलाई श्रद्धावाचन गरेँतिमी महान् छौ डायना, तिमीले मानवताको एउटा ठूलो पाठ विश्वलाई सिकायौ । तिमीले रोपेको यो बीज मर्न हुँदैन । यो दिनप्रतिदिन हुर्कंदै जानुपर्छ र बेलायतमा मात्र होइन विश्वको हरेक कुनामा पुग्नुपर्छ । तिमी थोरै समय बाँचे पनि अमर भएकी छ्यौ । तिम्रो उदार हृदय र विशाल भावानामा संसार अट्नुपर्छ । बेलायती राजपरिवार मात्र होइन संसार झुक्नुपर्छ तिम्रा भावना र विचारमा । यी मुस्कुराइरहेका ओठहरूमा धेरै गरिब, असहाय र निमुखाहरूको मुस्कान छरिनुपर्छ । तब मात्र तिम्रो अल्पायुमा बितेको आत्माले शान्ति पाउनेछ ।

     कलम हुनेले कलमले, धन हुनेले धनले, मन हुनेले मनले दुःखी, गरिबको सेवा गर्नुपर्छ । तिमीले पहिल्याएको बाटोलाई सबैले पहिल्याउनुपर्नेछ । तब मात्र विश्वमा सबैको मुहारमा हाँसो छरिनेछ । मैले डायनाको मुस्कुराइरहेको अनुहारमा नमन गरेँ । उनको साथमा उनका छोराहरू विलियम र ह्यारीको फोटो थियो । उनी छोराहरूलाई असाध्यै माया गर्थिन् र आफ्नो छत्रछायामा हुर्काएकी थिइन् । उनको वैवाहिक जीवन सधैँ विवादमा रहिरह्यो । यति भएर पनि उनले आपूmभित्रको स्वाभिमानलाई कहिल्यै मर्न दिइनन् र कहिल्यै झुकिनन् पनि ।     

     राजपरिवारको इच्छाविपरीत गरिएको भए पनि उनले गरेको यो कार्यलाई उनको मृत्युपछि ठूलो सम्मान दिएर राखिएको थियो । महारानी एलिजावेथद्वारा उनलाई लेडीको उपाधि दिइएको थियो । गेटमा उनका ठूलठूला फोटाहरू थिए र साथमा फूलका गुच्छा पनि । त्यो एउटा पर्यटकीयस्थल बनेको थियो । उनको महल नेपाली राजदूतावासबाट नजिकै थियो । हामी नेपालबाट गएका साहित्यकारहरूलाई स्वागतसम्मान कार्यक्रम राजदूतावासमा राखिएको थियो । त्यसै अवसरमा हामी डायनाको महल गएका थियौँ । बेलायती भ्रमणमा डायनाको दरबारमा पुगेर श्रद्धारूपी दुई शब्द पोख्ने मेरो ठूलो अभिलाषा थियो त्यो पूरा भयो ।

     ती महान् लेडी डायना यस संसारमा नरहे पनि तिनले संसारलाई देखाएको नयाँ बाटो धेरैले पहिल्याउनुपर्नेछ । बेलायतमा भएको दड्गाले धेरैले पाठ सिक्नुपर्छ कुण्ठा, आक्रोश र विक्षिप्त मस्तिष्कले भोलि ठूलो ज्वालामुखी ल्याउन सक्छ । जुन ठूलठूला विश्वयुद्धभन्दा खतरनाक हुन सक्छ । मेरा शब्दहरूमा म जहिले पनि डायनालाई भेटिरहेको हुन्छु । त्यसैले म डायनालाई भन्न चाहन्छु प्रिय डायना तिमीले विश्वलाई नयाँ पाठ सिकाएकी छ्यौ । नयाँ सन्देश दिएकी छ्यौ, नयाँ बाटो देखाएकी छ्यौ त्यो हो — ‘आफु  बाँचौँ र अरूलाई पनि बचाऔँ !

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |