नानीहरू कता गैरहेछन्?
दीपक जडित, (हवाई, अमेरिका)
पल्ला गाउँका नानीहरू
यो बाटो हिंड्दैनन् अचेल
न हाम्रा केटाकेटीहरू
जान्छन् पल्लो गाउँको बाटो भएर ।
एउटै स्कुलमा
एउटै कक्षा कोठामा
एउटै बेन्चमा बसेर
के पढिरहेछन् नानीहरू आजभोली?
उनीहरू आफ्नो माटो चिनेको कुरा गर्छन्
उनीहरू आफ्नो बाटो चिनेको कुरा गर्छन् ।
हो राम्रो हो
आफ्नो माटो चिनेको
राम्रो हो आफ्नो बाटो चिनेको
तर नानीहरू
स्कुल नागा गरि गरि बजार बन्द गर्छन्
आगो बालि बालि बाटो बन्द गर्छन्
ताला हालि हालि स्कुल बन्द गर्छन् ।
जब थाहा पाउँछन् उनीहरू
बाटो जिन्दगीको बन्द गरिएछ
जब थाहा पाउँछन् उनीहरू
झुठो सपनाको फेला परिएछ
बिकल्प एउटै मात्र बाँचेको हुन्छ
र नानीहरू
गाउँ छोडेर जिन्दगी खोज्न निस्कन्छन् ।
गाउँमा केही बचेको हुन्छ हुँदैन
उनीहरू बुझ्न सक्दैनन्
वा हामी बुझाउन सक्दैनौं
शहरमा केही बचेको छ छैन
उनीहरू बुझ्न सक्दैनन्
वा हामी बुझाउन सक्दैनौं
देश छोडेर तब हाम्रा नानीहरू
फैलिन्छन् धर्तीका कुना कुना
र हामी छिमेकमा शिर ठाडो पारेर हिंड्छौं
- अब साहू निखनिने छ
- अब दु:ख निफनिने छ
- अब छानो फेरिने छ
- अब मानो भरिने छ ।
माटो र बाटो चिनेका नानीहरू
देश छोडेपछि
रगत र पसिनाले नुहाएर
जब एउटा जुनीको मैलो पखाल्न सक्दैनन्
तब माटो, पिरती र बाटो विर्षेर
लापत्ता भासिन्छन् उतै कतै
कि त फर्किन्छन् साँच्चै माटो चिने जस्तै गरेर
आफ्नै माटोमा प्राणहीन शरिर विषर्जन गर्न ।
त्यो बेला
छिमेकी गुहारी गुहारी रुन्छौं हामी
भाग्य धिक्कारी धिक्कारी कराउँछौं हामी
र विर्षेर अर्को क्षण
बर्षातले मक्किएको छानो मुनि
अर्को पुस्ता जन्माएर हुर्काउँछौं हामी
जो पल्लो गाउँ त परै भयो
पल्लो घरको आँगनसम्म टेक्न चाहँदैनन्
तिखो घृणा गर्छन्
आफूजस्तै छिमेकी नानीको फरक नाकलाई
फेरि दोहोरिन्छ
ऐजन ऐजन कार्य-व्यावहारहरू
फेरि भसिन्छन् मुग्लानतिरै हाम्रा नानीहरू ।
हामी बडा! आफ्ना नानीहरूलाई
कुनै सिप नसिकाई
कुनै ज्ञान नदिलाई
विश्वभरी श्रम बजारमा बेचिरहन्छौं
र एउटा एउटा वादको कालो झण्डामा लुकेर
छिमेकमा पानी बार्दै भनिरहन्छौं
यो देश कता गैरहेछ?
हाम्रा नानीहरूलाई तर
आज पनि देश चिनाउन सक्दैनौं हामी
न कहिल्यै सोच्न सक्छौं
हाम्रा नानीहरू कता गैरहेछन्?
मानौं, जानेर पनि हामी जान्दैनौं
नानीहरू नै देशका भविश्य हुन् ।