हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

उझिन्डो

दीपक जडित, (हवाई, अमेरिका)


गाडी पार्क गरिसकेपछि ओर्लिंदै भनें मैले
, 'तिमी जाँदै गर । म आउँछु ।'
'भैहाल्छ नि । चुरोट खान होला हैन? कत्ति भन्दा पनि लागेन तपाईंलाई । छिट्टो आउनु र ममको आटा मुछिदिनु । मम खाने आज ।' उर्दी जारी गरेर शर्मिला कोठातिर गइन् । म पार्किङ्ग लटकै एक कुनामा चुरोट सल्काएर बसें । चुरोट खासमा एउटा बहाना थियो किनभने चुरोट हरेक साना साना बहानामा सल्किने चिज थियो । मेरो दिमागमा भने आज दिउँसो देखि एउटा कथा खेल्दैथियो, सुरूवात कसरी गर्ने भन्ने कुराको जोड पारेर । तर शर्मिलाको मम खाने प्लानले एउटा चुरोटको आयू भरीमा म कथाको शुरूवात सोच्न सक्दिनँ भन्ने निश्चित बनाइदियो । चुरोट तानुन्जेल ममको आटा मुछेर बेलिदिनु पर्ने कुरा नै खेलिरह्यो दिमागमा । मम खानमा जति मज्जा छ बनाउनमा त्यति नै झमेला । धन्न मलाई मम पट्याउन आउँदैन । कत्ति कोसिस गरें तर अहँ भएन । मोटो मोटो औंला भएकोले हुनसक्छ म राम्ररी मुजा बनाउनै सक्दिनँ । सबै एकैठाउँ पोको पर्छ । एकपल्ट शर्मिलाले सिकाउँदै भनेकी थिइन्, 'स्कूलमा हुँदा मनपरेकी केटीले लगाउने नीलो फ्रकको मुजा सम्झिनु त, अनि हुनसक्छ ।'

 CompTIA sy0-301 exam   CCIE 350-001 exam   

आइडिया राम्रो थियो उनको । मलाई राम्ररी पट्याउन आउँदैन भन्ने दिमागमा राखेर बनाउनु भन्दा त्यसरी आफूलाई मनपरेको कुरा सम्झेर बनाउदा जानिने सम्भावना हुन सक्थ्यो । त्यसदिन मैले प्राइमरी कक्षाहरूदेखि हाइस्कूल पढुञ्जेलका राम्रा राम्रा केटीहरूको नीलो फ्रक सम्झिँदै पट्याएँ मम तर पनि भएन । त्यही दिनदेखि ममकोलागी कीमा मुछिदिने, आटा मुछिदिने र बेलिदिने काम मेरो हुन थालेको छ । आटा मुछ्ने र बेल्ने झमेलाको विकल्पमा सेफवेको र्‍यापर पनि ल्याएको हो तर शर्मिलालाई आफ्नै स्वाद चाहिन्छ, आफ्नै हिसाब चाहिन्छ । 'मम बनाएर खाने भनेपछि बेलेरै बनाउनु पर्छ । रेडिमेडमा खाने हो भने चाइनिजको डम्प्लिङ्ग किनेर खाए भैगो नि ।' उनको तर्क हुन्छ ।

  vmware vcp-510 exam   Swarovski Figurines   

छिटो आउनु भनिएको भएरै हो सायद म सकेसम्म ढिलो पारेर पसें कोठामा । ढोकाबाट छिर्ने बित्तिकै देब्रेपट्टि भान्साबाट शर्मिला कराइन्, 'अब चैं अति भयो बुझ्नुभो?'

 

'के भो फेरि?' अन्दाज थिएन मलाई के अति भयो भन्ने ।

 

'घर त अलि घर जस्तो हुनुपर्यो नि! यो के ल्या'र राखेको? के गर्ने विचार छ यस्ले?' हेरें, उनको हातमा बाल्टीको उझिन्डो थियो । आज दिउँसो समुद्र किनारमा पानीमुनि गाडिएको भेटेको थिएँ । कैयौं वर्षदेखि पानी मुनि गाडिएर रहेको झैं देखिने त्यो खियैखिया परेको फलामे उझिन्डोले मलाई सानोको कथा स्मरण गराएथ्यो । र दिउँसैदेखि म त्यही कथा लेख्न खोजिरहेको थिएँ । उनी भन्दै गइन्, 'काम नलाग्ने कौडा र फौडा अनि त्यो कोरल हो कि फोरल ल्याएर घर भर्दा पनि पुगेन र यो 'बाल्टीन या चु' ल्या'र राखेको?'

 louis vuitton bags for sale  

'बाल्टीन या चु'? के हो त्यो भनेको? यस्ले मलाई सानोको एउटा कथा सम्झायो त्यसैले ल्या'को । फोहोर बनायो भने फालिदिउँ न त, पैसा तिरेर ल्या'को होइन, के भो र?' मैले भनें ।

 

'फाल्दिउँ त हो त । विनाविच्चाका चिजबिजहरू पनि घर ल्याएर राख्छन् कसैले? कैले ढुँगा ल्या'को छ, कैले मरेको गँगटोको खबडा ल्या'को छ, कैले कौडा ल्या'को छ, हुँदा हुँदा अब यो खियाले खाइसकेको फलाम पनि ल्याउने? समुद्रमा भेटेजति कुरा ल्या'र घर भर्ने हो भने घरमा किन बस्ने? उतै समुद्रको किनारमा बसे भै'गो नि ।' उनले उझिन्डोलाई गार्बेज क्यानमा खसालिन् ।

 www.kingdumps.com   louis vuitton replica handbags uk   CompTIA 220-801 dumps 

'ल ठीक छ । कुनैदिन गएर बसुँला समुद्रको किनारमा पनि । तर त्यो 'बाल्टीन या चु' भनेको चैं के नि?' म उनले भनेको शब्दबारे प्रष्ट हुन चाहेँ ।

 Swarovski Necklaces   Swarovski Earrings   Swarovski Sets  

'नेवारीमा यस्तो समाउनेलाई 'चु' भन्छ के ।' उनले प्रष्ट्याइन् ।

', नेपालीमा उझिन्डो भन्छन् भन्ने चैं थाहा थियो कि थिएन?' सोधें ।

'थिएन', उनले भनिन्, 'मैले कैले पनि सुनेको थे'न उझिन्डो भनेको । नेपालीमा ह्याण्डल होला भन्थें म त ।'

'धन्न! नेवारीमा चैं थाहा रहेछ । ह्याण्डल त अंग्रेजी भैगयो नि ।' मैले भनें । धेरै शब्दहरू अंग्रेजीसँग परास्त हुँदै गैरहेको प्रमाणमा उझिन्डो पनि आयो । हुँदै नभएर अँग्रेजीबाट शब्द ल्याएर चलाउनु र भएको शब्दलाई कुनामा थन्क्याएर अंग्रेजी शब्द चलाउनु फरक कुरा हो तर कस्ले कस्लाई कसरी बुझाउने यो कुरा! बस् त्यही क्षण मैले यो कथा लेखें भने शिर्षक 'उझिन्डो' नै राख्छु भन्ने नीधो गरें ।

 

ममको आटा मुछ्न ठीक पर्दै गर्दा शर्मिलालाई सोधें, 'यो उझिन्डोले सम्झाएको कथा सुन्छौ?'

 

'भो नसुन्ने । कथा सुनेर बस्ने फुर्सद कस्को छ?' उनले इन्कार गरिन् र थप काम अह्राइन्, 'पहिले यो दुईटा प्याज काटिदिनु न कीमालाई ।'

 

प्याज लिँदै जोड गरें मैले, 'मेरो कथा सुन्न स्वस्थानी व्रत कथामा जस्तो फूल अक्षता लिएर हात जोडेर बस्नु पर्छ र? काम गर्दै सुने भैहाल्छ नि ।'

 

'नसुन्ने म । भरै रातभरी फेसबुकमा च्याट गर्नेहरूलाई सुनाउनु तपाईंको कथा ।' अहँ, उनको रूचि जगाउन सकिनँ आज । जुन उझिन्डोले भर्खरै रिस उठाएको थियो उनलाई त्यसैको कथा सुनाउँछु भन्दा किन मान्थिन् त? तर मेरो मगजमा भने उझिन्डोको कथा सिनेमाको दृश्य झैं स्पष्ट उत्रिसकेको थियो, अब चाहे पनि रोक्न सक्दिनँ जस्तै गरेर ।

 

२०४१ साल । गौरादह, झापाको श्री अमर प्राथमिक विद्यालय । हाम्रो भाषामा 'प्राइमरी स्कूल' । म कक्षा चारको बिद्यार्थी । मेरो नाम दीपेन्द्र कार्की । साथीभाइको भाषामा 'दिपिन्द्र' । मेरो साथीको नाम दीपक उपरकोटी । मेरो भाषामा 'दिपक उप्परकोटी' । शुक्रबारको दिन । पहिलो घण्टी । कक्षा शिक्षकको नाम देवेन्द्र बराल । हाम्रो भाषामा 'देबिन्द्र सर'

 

हाजिरी सकेपछि गाउँ खाने कथा खेलाउनु हुने भयो सरले । कक्षालाई दुई टोली बनाएर एउटाले सोध्ने अर्कोले जवाफ दिने । एक टोलीको नाइके म भएँ । अर्को टोलीको नाइके दीपक भयो र उसले अर्कोपट्टि जानुपर्ने भयो । ऊ उठेर अर्कोपट्टि जान अन्कनाउँदै थियो तर देवेन्द्र सरको आज्ञा पालन नगरी धर थिएन उसलाई । हामी सँगै बस्थ्यौं, जाँदा जाँदै उसले 'मेरो झोला हेरिदेऊ है, यस्मा एकथोक छ' भन्यो । झोलामा के एक थोक रहेछ भन्ने कौतुहल रोक्न नसकेर मैले पनि ऊ जाँदा जाँदै तुरुन्तै झोलामा हात हालिहालें । उसको झोलामा फलामे बाल्टीको एउटा उझिन्डो थियो । सोचें आज चार घण्टीपछि दालमोठ खान पाइने भयो र मनमनै खुशी भएँ ।

 

गाउँ खाने कथा खेल्दा दीपक र म अर्को अर्कोतिर पर्ने बित्तिकै मजा हुँदैनथ्यो । किनभने मैले जानेको धेरै कुरा उसलाई र उसले जानेको धेरै कुरा मलाई थाहा हुन्थ्यो । त्यो दिनको पुरा खेलको विवरण त याद पनि छैन मलाई तर सोधिएका केही गाउँ खाने कथाहरू भने जिन्दगी नभुल्ने गरेर अंकित छन् मेरो दिमागमा ।

 

आफ्नो पालोमा दीपकले सोधेको एउटा गाउँ खाने कथा थियो, 'चाँदीको ठेकीमा सेउलाको बिर्को, के हो?' मलाई थाहा थियो । सजिलै उत्तर दिएँ - 'मूला' । र त्यसैको आधारमा मैले अर्को गाउँ खाने कथा तुरुन्त बनाएर सोधें, 'सुनको घैलामा सेउलाको बिर्को, के हो?' उनिहरूलाई आएन र भन्न थाले, यो गाउँ खाने कथा नै भएन । हामीले सोधेको जस्तै भयो । यस्तो पाइँदैन । तर देवेन्द्र सरले हुन्छ भनिदिनु भयो र त्यसमा एउटा गाउँ खाएर जवाफ दिएँ मैले - 'भुइँकटहर'

 

आफ्नो पालोमा दीपकले अर्को एउटा सोध्यो, 'हाल्दा ठनक्क झिक्दा लुलो, के हो?' कक्षा कोठाका हामी सारा लाजले भुतुक्क भयौं । सबैको दिमागले फोहोर कुरा सम्झेको हुनुपर्छ । सबै लाजले राता राता भएका थियौं । देवेन्द्र सर पनि हाँसेर हुरुक्क हुनुभयो । हामीले मिलाउन सकेनौं । दीपकले एउटा गाउँ खाएर जवाफ दियो - 'बोरा'

 

स्कूल छुटेपछि दीपक र म 'थोत्रे टिन थोत्रे फलाम' बस्ने ठाउँमा गयौं । घर घर डुलेर 'थोत्रे टिन थोत्रे फलाम' भन्दै दालमोठ, भुजिया र टिकाहरूमा पुराना टिनका, फलामका भाँडावर्तनहरू र प्लास्टिकका जुत्ता, चप्पल तथा हाँडा भाँडाहरू साटेर भेला गर्ने मान्छेहरू बस्ने ठाउँ थाहा थियो हामीलाई । म अलिकति भएपनि दालमोठ खाएर मुख मीठो पार्ने दाउमा थिएँ तर त्यहाँ पुगेपछि दीपकले उझिन्डो देखाउँदै भन्यो, 'भैया, यो फलामको मलाई दुई रुपियाँ देउ न ।'

 

एउटा होचो होचो बुढो मान्छे थियो । उसले हामीलाई लखेट्न खोजेझैं भन्यो, 'अरे बौवा, दुई पैसाके माल नहीँ छ तिमी दुई रुपियाँ मागिहाल्छौ? चलो भागो यहाँ से ।'

 

उसले बाल्टीको एउटा उझिन्डोको दुई रुपियाँ माग्ला भन्ने मलाई लागेकै थिएन । पक्का दालमोठमा साट्छ भन्ने सोचेको थिएँ त्यसैले म उसलाई 'दालमोठमै साट न' भनेर उकास्दै थिएँ । तर ऊ त्यहीँ ह्वाँ ह्वाँ गरेर रुन थाल्यो र रुँदै भन्न थाल्यो, 'मैले आमालाई यो बेचेर दुई रुपियाँ ल्याइदिन्छु भनेको छु ।'

 

म अचम्ममा परें । मैले कहिल्यै आमालाई पैसा ल्याइदिन्छु भनेको छैन । बरु माग्थें कैले कैले । धेरै जस्तो दिनु हुन्नथ्यो । कैलेकाहीँ आफूसँग कुनै कारणले एकदुई रुपियाँ हुँदा पनि घरमा आमालाई दिनुपर्छ भन्ने सोच्न कहिले आएन । लाग्थ्यो मसँग भएको पैसा त मेरो हो । बाउ आमाले त मलाई पो दिनुपर्छ किनकी म उनिहरुको सानै छोरो हुँ ।

 

तर म जत्रै मेरो साथीले रुँदै आमालाई दुई रुपियाँ ल्याइदिन्छु भनेको छु भन्ने सुनेर म पर्नुसम्म जिल्ल परें र सोधें, 'किन तिम्रो आमासँग पैसा हुँदैन?'

 

'हुन्छ नि पैसा त, तर त्यो अधिकार्नीको बाल्टी तिर्नलाई किन्ने पैसा पुग्दैन हाम्री आमासँग ।' उसले रुँदै सुनायो त्यसदिन विहान कोही अधिकारी भन्ने उसको छिमेकीको ईनारमा पानी लिन जाँदा उझिन्डोबाट खुस्किएर बाल्टी डुबेछ । डोरीमा उझिन्डो मात्र आएपछि अधिकार्नीले उसलाई बेस्सरी भुत्ल्याएर कुट्दै भनिछन् "यो उझिन्डो तैं लैजा र नयाँ बाल्टी किनेर ल्याइदे ।" उसले आमालाई सुनाएपछि उसकी आमाले गएर भनिछन्, 'बाल्टी नै किनेर दिन कहाँ सकिन्छ र मालिक्नी?' अधिकार्नीले उसकी आमालाई पनि भुत्ल्याएर भनिछन्, 'नसक्नेले किन डुबाउनु त बाल्टी?'

 

उसको कथाले दुखायो मलाई तर मसँग सजिलो उपाय भए जस्तै गरेर भनेँ उसलाई, 'उसो भए तिमर्को बुवालाई भन न त, बुवासँग होला नि पैसा ।'

 

सुँक्सुँक् गर्दै गरेको उसले रिसाए झैं मलाई हेर्दै भन्यो, 'सप्पैका बाउ हुन्छन् कि क्या हो? हाम्रा बाउ उहिले नै मरेका अरे । मैले त देखेको नै छैन ।'

 

अब मसँग भन्ने कुरा केही थिएन । उसको समस्या यति ठुलो थियो कि मेरो सानो दिमागले समाधान खोज्न सक्ने थिएन । हामी बिस्तारै बजारतिर लाग्यौं । सँधै बजारबाटै छुट्टिन्थ्यौं हामी आफ्नो आफ्नो घरतिर । छुट्टिने बेलामा मलाई एउटा आइडिया आयो दिमागमा र उसलाई भनें, 'हिँड हाम्रो घर जाउँ । हाम्रो घरमा एउटा बाल्टी छ । त्यो तिमीलाई दिन्छु म, अनि त्यै तिर्नु त्यो अधिकार्नीलाई ।'

 

अलि डराए जस्तो, अलि नपत्याए जस्तो गरेर उसले भन्यो, 'तिमीलाई मार्दैनन् तिम्रो घरमा?'

 

'मार्दैनन् । म कसैले थाहा नपाई दिउँला नि तिमीलाई । अनि पछि बाल्टी खोई भन्दा 'कोनी' भनुँला ।' उसलाई ढुक्क बनाएँ मैले र घर लिएर आएँ । हाफ छुट्टी पछि अल्मलिँदै घर आइपुग्दा दिउँसोको अढाई तीन बजेको हुँदो हो । हजुरआमा आँगनमा परालको गुन्द्री बुन्नु हुँदैथियो । वहाँ आँखा देख्नुहुन्नथ्यो, अरू कोही थिएनन् घरमा । कस्तो राम्रो मौका ! मैले उसलाई चाल मारेर आँगनको एक कुनामा उभिन भनेको थिएँ र आफू पनि चाल मारेर झोला राख्दैथिएँ । हजुर आमाले पत्ता पाइहाल्नुभयो । भन्नुभयो, 'को हो? दीपक होस्?'

 

दीपेन्द्र त मेरो स्कूलको नाम थियो । घरमा सबैले दीपक भनेर बोलाउँथे मलाई । मैले मुखमा चोर औंला ठाडो पारेर चुप लाग्न ईशारा गर्दागर्दै दीपक बोलिगयो । भन्यो, 'हो, जीआमा मालिक्नी । म दीपक हुँ ।'

 

हजुरआमा स्वभाविक रुपमा छक्क पर्नुभयो । एउटालाई बोलाउँदा अर्कैको आवाज आउँछ । देख्नु त केही थिएन हजुरआमालाई तर थाहा हरेक सानो सानो कुरा हुन्थ्यो । वहाँले खोजीनीति गर्नुभयो । मैले मेरो साथी हो भनें । हजुरआमाले उसलाई सोध्नुभयो, 'के थरी हौ नानी तिमी?'

 

उसले भन्यो, 'उपरकोटी ।'

 

'ए!' भनिराखेर हजुरआमाले मलाई भन्नुभयो, 'घरभित्र हुल्लास् नि तेरो साथीलाई । बाहिरै राख ।'

 

मलाई मेरो साथी घरभित्र हुल्न नहुने खालको हो भन्ने थाहा थिएन तर पनि हजुर आमालाई भनें, 'हुन्छ हजुरआमा, ऊ त गैहाल्छ । तेत्तिकै हाम्रो घर हेर्न आ'को ।'

 

हजुर आमाले फेरि उसलाई सोध्नुभयो, 'कस्तो लाग्यो त नानी हाम्रो घर?'

 

'दरबार जस्तै र', जीआमा मालिक्नी । हाम्रो घरमा त लिस्नै छैन, यसमा त एघारवटा खुड्'किला र'छ ।' कति छिट्टो लिस्नोको खुड्किला पनि गन्न भ्याइसकेछ उसले । बोल्न पनि कति धेरै जानेको रहेछ ! मलाई त्यस्तै लाग्यो । हाम्री हजुरआमालाई उसले कति राम्रो गरेर 'जीआमा मालिक्नी' भनेको ! खुब मन पर्यो मलाई ।

 

म बाल्टी कता छ भनेर नजर डुलाउँदै थिएँ । सँधै आँगनकै एक कुनातिर परिराखेको हुन्थ्यो । आज देखिइराखेको थिएन । हजुरआमाले भन्नुभयो, 'लु लु नाती, यो परालमा पानी छम्की दे । पानी त्यै बाल्टीमा छ ।' काम अह्राउन फुरुक्क पार्नुपर्दा मलाई नाती भन्नुहुन्थ्यो हजुरआमाले । नत्र भने दीपके थिएँ म । बुन्दै गरेको गुन्द्रीको छेउमा परालको मुठाले छोपिएको रहेछ बाल्टी ।

 

मैले लछप्पै भिज्ने गरेर परालको मुठा र बुन्दै गरेको गुन्द्रीको पनि सिउँदो काढेको जुल्फी जस्तो दुईतिर परेको पराल भिजाइदिएँ । 'धेरै हिलो नपार है फेरि, मेरो लुगा भिज्छ ।' हजुरआमा भन्नुहुँदैथियो । 'ल ल' भनिराखेर मैले बाल्टीमा बाँकी रहेको पानी स्वात्त एकातिर खन्याइदिएँ र बाल्टी लिएर आँगनबाट घर पछाडीतिर निस्किएँ ।

दीपक पनि मसंगै आयो । साह्रै राम्रो मौका परेकोले घरमा अरु कोही कतै देखिएनन् । घर पछाडी आएर दीपकलाई भनें, 'लु यो बाल्टी लिएर यतैबाट खेतैखेत जाउ । ऊ पर बाटो निस्कन्छ ।'

 

दीपक साह्रै डराएको थियो । मैले कर गरेर भनें, 'छिट्टो जाउ । अहिले कसैले देख्यो भने फेरि बाल्टी लान पाउँदैनौ ।' ऊ बाल्टी बोकेर फाल तोडेर दौड्यो । कसैले देखेन । सब राम्रो भयो । अब बाल्टी हराएकोमा त एकथोक बहाना बनाउँला के भो र? म ढुक्क भएँ ।

 

दिनभरी कसैले बाल्टी खोजेन । आनन्दै थियो । साँझमा बाल्टीको खोजी भयो । दिदीलाई त्यै बाल्टीमा पानी भरेर फूलमा हाल्नु पर्ने । म नजानेको जस्तो गरेर बसिरहें । तर धुन्धानसँग बाल्टीको खोजी भैरह्यो ।

 

ठिक्क त्यहीबेला हाम्रो देखि तल्लो घरकी काकी आइन् र बाल्टी हराएको थाहा पाएर भनिन्, 'एउटा कहिले नदेखेको दीपक जत्रै फुच्चे केटो बाल्टी बोकेर कुद्दै जाँदै थियो यता खेतबाट । त्यस्ले तिमर'को बाल्टी पो चोरेर लगेको रहेछ ।'

 

अनि त कुराको रहस्य धमाधम खुल्न थालिहाल्यो । हजुर आमाले भन्नुभयो, 'यो दीपकेले ल्या'को थियो दिउँसो एउटा केटा । साथी भन्दैथ्यो । बाल्टी पो चोरेर गएछ त्यल्ले? कस्ता कस्ताको संगत गर्छ यो नाथे । पक्का डाँका हुन्छ है यो पछि ।' मेरो भविष्य पनि बताइदिनुभयो हजुरआमाले । सबैको पुछताछको घेराबन्दीमा म परें । बाल्टी त्यल्ले चोरेर लगेको हो कि मैले दिएको? यही सोधियो । जे जवाफ दिएपनि मेरो खैराँत थिएन । मैले नढाँटि उसको कथा सुनाइदिएँ तर कसैले पत्याएनन् । कसैले त मैले एकदुई रुपियाँमा बाल्टी बेचेको हुनसक्ने शंका गरेर मेरो गोजीको खानतलासी पनि गरे । धन्न कुटाई खानु परेन मैले तर घरको सामान बेच्ने धुन्धुकारीको आक्षेप भने कुटाई खाए समान सहनु पर्यो । रातीको भात खाने बेलामा 'यो धुन्धुकारीलाई भात पनि के खुवाउनु? एकदिन यसले सबैथोक बेचेर हामीलाई माग्ने बनाउँछ' भनियो । सुत्ने बेलामा पनि त्यही कुरा सुनाइयो । म वचन सहेर पनि भित्रबाट खुशी थिएँ कि कम से कम मेरो साथी दीपकको समस्या त हल भयो ।

 

भोलीपल्ट शनिवार त्यसै बितेर गयो । पर्सीपल्ट आइतबारको दिन स्कूल पुग्दा दीपक हातमा बाल्टी लिएर मलाई पर्खेर बसिरहेको रहेछ । मलाई देख्नासाथ भन्यो, 'लेउ तिम्रो बाल्टी । तिमीले गरेर मैले कम्ता कुटाई खानु परेन । आमाले काँबाट कस्को बाल्टी चोरेर ल्याइस् भनेर मलाई सिर्कुनाले बेस्सरी कुटिन् । भात खान पनि दिनन् । मैले तिमीले दे'को भन्दा पनि पत्याइनन् । 'एउटा प्युसो थिस्, स्कूल ग'र बुद्धिमान हुन्छस् भनेको त डाँका हुने भइस्' भनेर आमा धेरै रोइन् पनि ।'

 

मैले उसको हातबाट बाल्टी लिएँ । ऊ रुँला रुँला झैं गर्दैथियो । मलाई पनि रोउँ रोउँ जस्तै लागेर आयो । अब के गर्ने? हामी दुबैले थाहा पाएनौं । बाल्टी लिएर स्कूल कसरी जाने? तत्काललाई त त्यही समस्या थियो । म बाल्टी लिएर स्कूल नगइ घर फर्किएको कुरा सम्झन खोज्दैथिएँ ।

 

 एक राउण्ड मम पाकी सकेछ । शर्मीलाले भनिन्, 'लु, तात्तातै खाई हालुँ, मम सेलायो भने खान सकिंदैन ।' मैले मेरो कथा 'उझिन्डो' शिर्षकमा अब चैं पक्का लेखिन्छ भन्दै टमाटर र तीलको अचारमा डुबाएर तातो मम ग्वाप्प मुखमा हालें ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |