मेरा आफ्नाहरु फकाईदेउ
बिनोद खड्का , (हाल:दोहा, कतार )
झस्कँदा मध्य रातमा
आत्तिन्छु
म मेरै खुशीहरुसंग
ठेस खान्छु
हिड्दा आफ्नै पाईलाहरुसंग
अत्तालिन्छु
म मेरै तीव्र गतिहरुसंग ।
लाग्छ आफैलाई
शायद
बढँे कि कसो
म धेरै अगाडी
छुटे अरु सबै
यात्रामा जो साथ थिए
या
छोडेँे अरु सबै
संगसंगै पाईला हाल्दै थिए
भोग्दै थिएँ
एउटै आकाश
अनि एउटै नियती पनि
हराए कि कसो अरु सबै
बिर्सिएँ सबैलाई मैले
बिर्सिएँ मैले
एउटै यथार्थलाई पनि
धोका नै भयो कि कसो
साथ रहेनन
मेरा आफ्नै पनि ।
पैसाको सिरानीमा
निद्रा खोजेँ कि कसो
खोसेर अरुका खुशीहरु
सुख रोजेँ कि कसो
धिक्कार हो
रुवाई अरुलाई
हाँस्न खोजेँ कि कसो
बिर्सिएँ कि मैले
मेरै त्यो अतित
कसरी चिहाउँ म
मेरो आफ्नो आगत
समानान्तर छैनन् यदि
मेरा जीवन रेखाहरु भने
हे भगवान
पैसा होईन मलाई
केवल
अविच्छिन्न शान्ति देउ
क्षणिक खुशीहरु होईन
केवल
पीडाहरु नबल्झाईदेउ
नयाँ साथहरु होईन
केवल
पुरानै संसार देउ
मेरा आफ्नाहरु फकाईदेउ ।
२३ मार्च २०१३, शनिबार, ।
Comments
Hari Paudel
कविता सुन्दर र मार्मिक लाग्यो।