गजल
रमेश खकुरेल, (काठमाण्डौ)
म मातेँ भने माफ गर्नू मलाई घृणाको नजर्ले नहेर्नू मलाई
नशा हो तिमील्यै दिएको पिलाई बढी भो नशा मात्र ठान्नू मलाई ।
कतै भुक्क थुम्का उठी अग्लिएका कतै खोँच छन् गण्डकीका दबेका
जता हेर्छु अल्झन्छ आँखा रमाई तँ गर् बन्द आँखा नभन्नू मलाई ।
फुकी मन्द हाबा सुसेली बजायौ कतै कानमा साउती झैँ सुनायौ
त्यसै मस्त पा-यौ फकाई फुलाई बनायौ न हाँस्नू न नाच्नू मलाई ।
यता सुम्सुमायौ उता थप्थपायौ मिठो मादिनी रागिनी गुन्गुनायौ
ग-यौ के हरे आज जादू चलाई म लाटो छु गाली नपार्नू मलाई ।
तिमी हौ कि आगो तिमी हौ कि पानी भिजायौ कतै ता कतै भो खरानी
रच्यौ खेल कस्तो गरी के मिलाई भएको छ बुझ्नू न जान्नू मलाई ।