हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

जीवन माया दिदीको विश्वास भएर फुलोस्

रजनी ढकाल, (ललितपुर)

फराकिलो निधारमा सधैँ टल्किरहने गोलो रातो टीका, उज्यालो अनुहार, ब्वाइज कट कपाल, न मोटो न दुब्लो ठिक्कको शरीर । सुहाउँदो पहिरन सारी र ब्लाउज । मैले माया ठकुरीलाई सबैभन्दा पहिला जस्तो देखेँ आज पनि उस्तै देख्छु । सधैँ उस्तै, हँसिलो अनुहारकी एक शौम्य र शालीन महिला । नेपाली साहित्यकी स्थापित कथाकार । अझ बढी चिनाउनु पर्दा दस ओटा कृतिकी सर्जक । प्रज्ञा सभाकी सदस्य अनि त्रिभुवन विश्वविद्यालय, नर्थ वंगाल विश्वविद्यालय तथा गुवाहटी विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको पाठ्यक्रममा अध्यापन गराइएकी स्रष्टा । हिन्दी, तामिल, बंगाली, अङ्ग्रेजी तथा जापानी भाषामा पनि कथाहरू अनुवाद भएर पढिएकी स्रष्टा । 

मृगतृष्णाकथा पढ्दा मलाई यी कथाकारको छवि हेर्ने निकै आतुरता भरिएको थियो मनमा । कस्ती होलिन् यिनी ? राम्दीको परिवेशमा लेखिएको सो कथाले मात्रै होइन त्यसमा प्रयोग गरिएको स्थानीय भाषिका र तुषार मल्लिकाको अनौठो चरित्रले तानेको थियो मलाई । स्याङ्जा पाल्पालाई केन्द्र बनाएर यति सुन्दर कथा लेखेकी यी सिलङकी लेखिका कहाँ भेटिएलिन् ? म निकै उत्सुक थिएँ उनलाई भेट्न ।

एकदिन अकस्मात भेट भयो उनीसँग । उनी कार्यक्रमकी प्रमुख व्यक्ति म श्रोता । गुञ्जनले आयोजना गरेको एउटा कार्यक्रममा पुल्चोकको कुनै होटलमा उनले आफ्नो जीवनकथा सुनाउँदै थिइन् त्यो दिन । म आश्चर्य चकित भएकी थिएँ त्यतिबेला उनका जीवनका उतारचढावहरू सुनेर । बाल्यकालीन स्मृतिमा भक्कानिएको उनको मनले मेरो मनमा पनि गाँठो पारेको थियो । जीवन हो जस्तोसुकै परिस्थितिको पनि सामना गर्नु पर्छ भत्रे त लागिरहन्छ तर माया ठकुरीको जस्तो जीवन, सायद कमैले भोग्छन् ।

समयपीडाका पराकाष्ठाले माया ठकुरीलाई कसरी माया ठकुरी बनायो ? एउटा राम्रो संयोग जुर्यो, म फेरि उनै माया ठकुरीको धोबीघाट स्थित निवासमा पुगेँ । संयोग जुराउने पात्र हुनुहुन्थ्यो गरिमाका सम्पादक अविनाश दाइ ।  उहाँको एक महिना अघिदेखिकै प्रस्ताव थियो, “रजनीजी यसपालि माया दिदीको बारेमा लेख्नोस् न है !

आज घटस्थापना, बडादशैँको सुरुको दिन, मेरो दैनिकी पनि केही फेर्ने विचार गरेँ । एकाबिहानै हिँड्ने दैनिकीलाई रोकेर बाँझो पल्टिएको करेसाबारीमा पसेँ र पोखेँ पसिना । एक ड्याङ् लसून रोपेँ । शरीर फुर्तिलो भयो, नुहाइधुवाइ गरेँ र फलामको कराइमा बारीको छेउको बालुवा लगेँ, जमरा राखेँ, आफूले जानेको विधिमा । आमा सानैमा मलाई नै जमरा राख्न अह्राउनु हुन्थ्यो । उहाँले सिकाएको विधि नै मेरालागि सबैभन्दा उत्तम र व्यावहारिक पनि । सोही विधि अपनाएँ । तल बस्ने आमाले भन्दै हुनुहुन्थ्यो, “आइमाईले पनि जमरा राख्छन् र ?” मैले भनेँ, “आमा, आइमाईले नै राख्नु पर्छ जमरा, मैले त यस्तै जानेकी छु । यो दुर्गाको प्रसाद हो नि !

अविनाश दाइको फोन थियो अघिल्लै दिन, “भोलि त घटस्थापना, जमरा राख्ने सबै काम आफैँ गर्नुपर्छ, १२ बजेतिर मात्रै फुर्सद मिल्छ होला ।मैले पनि भनेकी थिएँ ठिक १२ बजे म माया दिदीकोमा पुग्छु, तपाईँ त्यहीँ आउनु होला ।

काम सकेर दिदीलाई फोन गरेँ ।

धोबिघाटस्थिति एजम्सन चर्चअगाडि आउनू, म नातिहरूलाई लिन पठाउँछु ।

जति चटारो परे पनि सकेसम्म समयलाई पव्रिmनु पर्छ भत्रे मान्यतामा छु म, निर्धारित समयमा चर्च अगाडि पुग्छु र दिदीलाई फोन गर्छु । दुई मिनेटमै आइपुग्छन् दिदीका खाइलाग्दा नातिहरू देवाशीष र सुभाशीष । उनीहरूलाई फलो गर्दै पुग्छु दिदीको घर ।

शरदको पहारिलो घाममा एउटा सुकिलो विश्वास बोकेर उभिएको पौरखी व्यक्तित्वझैँ बगमबेलीको लहरालाई काखमा राताम्य फुलाएर दक्षिणतिर मुहडा फर्काएर मुस्कुराइरहेको थियो माया दिदीको तीन तले घर । दिदी कौसीबाट हात हल्लाउँदै हुनुहुन्थ्यो मेरो स्वागतमा । उस्तै थियो दिदीको पहिरन, निधारमा टल्किरहेको रातो मखमलको टीका अनि सेतो पृष्ठभूमिमा राता मसिना बुट्टा भएको सारी । आजको भेट विशेष भएर हो कि के हो दिदीको अनुहार केही गम्भीर लागिरहेको थियो मलाई ।

दोस्रो तलाको बीच कोठामा रहेको डाइनिङ अनि त्यसबाट एक स्टेप तल पारेर बनाइएको बैठक कोठा । डाइनिङ र बैठकलाई पुस्तक राख्ने खुला र्याक्ले छुट्याइएको । दराजभरि अङ्ग्रेजी, नेपाली अनि हिन्दी साहित्यका पुस्तकहरू । सोफामा बसेँ म । भित्ताभरि टाँगिएका अभिनन्दन पत्रहरू र पुराना फोटाहरू । जताततै माया दिदीको उपस्थिति । कोठभरि आँखा फिँजाउँदै टोलाएँ । दिदीको साँझ बिहान, दिउँसो अध्ययन गर्ने कोठा पनि यही हुनुपर्छ, पत्रिका पनि थिए टेबुलतिर । दिदीले बेलाबेलामा भत्रे गर्नुहुन्छ, “बहिनी म त नपढी बस्नै सक्दिन, पत्रिकाको विज्ञापन पनि पढेर सक्छु ।भान्सातिर के के गर्न लाग्दै हुनुहुन्थ्यो, नातिहरू त कति अनुशासित डाइनिङ टेबुलभरि कापी कलम फिँजाएर पढ्न थालिसकेछन् । दशैँ बिदाको गृहकार्य गर्दै होलान् !

केही समयमा अविनाश दाइको फोन आयो, बाटो अलमलिनु भएछ, फेरि दिदीका नातिहरू कुदे उही चर्चतिर । आइपुग्नु पर्ने समय त भयो तर उहाँ आउनु भएन । दिदी पिरिनु भयो, “कता अलमलिनु भयो त अविनाश भाइ ?” फेरि फोन आयो उहाँको । हामी दुवै कौसीमा निस्कियौँ उहाँ त घरकै गेट अगाडि उभिएर फोन गरिरहनु भएको रहेछ । काठमाडौँका गल्लीभित्र एकपल्ट आएको घर पनि छिचोल्न गाह्रै हुन्छ, अविनाश दाइलाई पनि त्यस्तै भएछ ।

दिदीको पहिलो रचना कुन हो ?” मेरो छोटो प्रश्नमा दिदीको लामो उत्तर थियो । २०२०/२१ सालतिर हिन्दीमा पागलकथा लेखेर आफूले नियमित रूपमा पढ्ने गरेको हिन्दी पत्रिकामा कथा पठाउनु भएछ दिदीले । पठाएको केही महिनापछि सम्पादकको पत्र सहित जस्ताको तस्तै फर्किएछ कथा । नछापिएरै पनि त्यही कथाले बोकेर ल्याएछ कथाकार माया ठकुरीको भविष्य । सँगै खामिएर आएको चिठीमा सम्पादकले हिन्दीमै लेखेका रहेछन्, “तिम्रो हिन्दी भाषा उति राम्रो छैन । आफ्नै भाषामा लेख्नू, पछि ठूलो कथाकार हुन्छ्यौ ।दिदीलाई कथा नछापिएको दुःख भन्दा सम्पादकको हौसलापूर्ण पत्र नै ठूलो उपलब्धि लागेको थियो । दिदीले आफ्नो उत्साहलाई त्यही पत्रबाट पुनः मलजल गर्नुभएछ र लेख्नु भएछ त्यही पागलकथाको विषयलाई लिएर आफ्नै नेपाली भाषामा बौलाहीकविता । अहो ! त्यो कविता त मुखाग्र रहेछ दिदीलाई । लय हालेरै सुनाउनु भयो हामीलाई ।

नेपालको पश्चिम भेग मायाका कथामा राम्रै गरी समेटिएका छन् । मलाई मनमनै निकै उत्सुकता थियो, सिलङमा हुर्केकी माया ठकुरी कसरी यस्ता कथा लेख्छिन् । अनि त दिदीले थाल्नु भयो आफ्नो जीवन कथा मात्र होइन जराको पनि कथा । उहाँका जराहरू को थिए, कस्ता थिए ? माया दिदीलाई सिलङमै भेटेका अविनाश दाइलाई पो के थाहा । हामी दुवै अवाक् सुनिरह्यौँ दिदीलाई ।

मायाका पिता थिए पाल्पाका राणा खानदानका पात्र । पुगिसरी आएका पाल्पाली राणाका सन्तान, भोगविलासमा चुर्लुम्म डुबेका गोपालजंग राणालाई मानिसहरू छविजंग राणा भन्थे । यो कुरा मायालाई उनकी आमा देवीले सुनाएकी हुन् । एकपल्ट छविजङ राणा घुम्दै फिर्दै रुकुमकोटे समुद्र मल्ल (ठकुरी) कहाँ पुगेछन् । रुकुमकोट पुग्दा राणा बाबुसाहेबका रूपमा थुप्रै मान मनितो पनि पाएछन् । उनका साथमा एउटी पतुरिया आइमाई पनि थिई रे । उनी जहाँ जान्थे त्यो आईमाई पनि सँगै हुन्थी रे । मालती फूलको बिउबाट निक्लने सेतो धूलोको पाउडर अनुहार भरि घस्ने, कल्पी काटेकी, दाँतको बीच बीचमा बिरी लगाएकी, चाँदीको कल्ली लगाएकी जुनसुकै बेला पनि बाबुसाहेको निर्देशनमा उनको मनोरञ्जनका लागि नाच्ने महिला । दिउँसभरि काम्लो ओढेर सुत्थी रे । साँझ परेपछि सिंगार पटार गर्ने । जब राणाजी बिजुलीपानी र भुटन सेकुवा टन्न खाएर रौसी रौसी मादल बजाउँदै गीत गाउन थाल्थे ऊ नाच्थी । रुकुमकोटे ठकुरीहरू पनि राणाजीको खातिरदारी गर्न पाएकामा मख्ख । एकदिन राणाजीले बिहेको कुरो उठाएछन् । ठकुरीहरूसँग आफ्नो सम्बन्ध गाँस्न चाहेछन् । त्यहाँका ठकुरीहरूले कन्याहरूको लहर लगाएर राणाजीलाई केटी रोज्न लाएछन् । लहरमा बसेका पाँच सात जना कन्यामध्ये छविजंगले अलि अग्ली, कुर्लुङ कुर्लुङ कपाल भएकी, गहुँगोरी, हिस्सी परेकी नौ वर्षकी देवीका छातीमा आफ्नो हातमा सधैँ लिने गरेको बन्दूकको नाल सोझ्याएर रोजेछन् । त्यतिबेला छविजंगको उमेर चौँतीस पैतीस वर्ष पुगिसकेको थियो रे ।

बिहेकाका लागि देवी रोजिइन् । समुद्र मल्लका घरमा खुशीको लहर फैलियो । त्यही पातर्नीले रुँदै रुँदै खोलामा लगेर देवीलाई नुहाई धुहाई गरिदिई, आफूले जानेको सुन्दर सिंगार पटार गरिदिई । रुकुमकोटको आलागाउँ पञ्चायतबाट देवी डोली चढिन् । दुलही लिएर नेपालगञ्ज पुगेपछि खोलाको किनारमा एकान्त पारेर आफ्नो पेटतिर देखाउँदै पातर्नीले रुँदै रुँदै देवीलाई भनिछ, “मैसाब, हजुर त महारानी, उहाँसँगै गैबक्सिन्छ, उहाँ मसँग नभए पनि क्यारम् त नि, यहाँ त उहाँकै अंश छ ।

माया दिदीको आवाजको पारो एकाएक चढ्यो, “हेर्नुस् मेरो बाउजस्तो स्त्रीलिप्त पुरुष मैले देखेकी छैन, मैले थाहा पाएसम्म उहाँले पाँच छ ओटा बिहे गर्नु भयो, थाहा नपाएको त कति कति ! मान्छेहरू भन्थे यो ठकुरीको दाँतमा मुहुनी छ, कुनै आईमाईले देख्नै हुँदैन ।मेरी मुमालाई बिहे गरेर लग्दा उहाँ आफ्नो असली नाम लुकाएर गम्भीरसिंह ठकुरीका नामले इन्डियन आर्मीमा काम गर्नु हुन्थ्यो रे, मुमालाई लिएर उहीँ पुग्नुभएछ । मुमाले आर्मी क्याम्पभित्रै केही लेखपढ गर्ने सिक्नु भएछ । अनि हातका अनेक सीपहरू पनि । मुमाका दुईओटा बच्चा खेरा गएपछि म जन्मिएँछु । जन्मिँदा एउटा जालोले बेरिएकी थिएँ रे । यो त मान्छेकै रूप छैन, केको डल्लो हो भनेर फाल्न लागेका थिए रे नर्सहरूले तर भित्र केही त हुनुपर्छ भन्ने जिज्ञासाले जालोलाई एउटा सिन्काले कोट्याएर हेरेछन् । त्यसभित्र अलिअलि चलमलाउँदै थिएँ रे म । छोरा जन्मिन्छ भन्ने विश्वासमा रहेका बुबाले छोरी हो भन्ने थाहा पाएपछि मेरो मुखसम्म पनि हेर्दिन भन्नु भयो रे । त्यतिबेला हामी लखनौमा थियौँ । त्यसपछि भारतका विभित्र ठाउँहरूमा बुबाको सरुवा भयो । र अन्त्यमा हामी सिलङ पुग्यौँ । दार्जिलिङमा बस्ता बुबाले अर्की पत्नी ल्याउनु भयो । ती ल्याइते सहित हामी सरुवा भएर सिलङ पुगेका थियौँ । त्यहाँ पुगेपछि पनि बुबाले अर्की पत्नी ल्याउनु भयो । 

दस ठाउँमा चुहिने सानो छाप्रो थियो, भान्सा र सुत्ने ठाउँ एउटै । पानी पर्दा ओछ्यान पल्टाएर सिलाभरको भाँडा थाप्थेँ म । भाइ, बहिनी, म र आमा । आमाले सुइटर बुन्ने काम गर्नुहुन्थ्यो ।

एक दिन बुबाले आएर भन्नु भयो, ‘यसलाई काम लगाइ दिन्छु ।म अपर सिलङ आर्मी अफिसरको घरमा पुगेँ । मेरै भाइबहिनी जस्तै बच्चा हेर्ने काम रहेछ । ठूलो घर, सुबिस्ताको बास, अनि मीठा खानेकुरा । म भुलेँ । त्यहाँ त दराजै भरि लुगा, कति धेरै लुगा ! एउटा बच्चाका यति धेरै लुगा ! मेरी बहिनी पनि त यत्रै छ तर उसका लुगा छैनन् । मनमा लाग्यो, यति धेरै लुगामा एउटा दुईटा हराए पनि कसले थाहा पाउँछ र । मैले पनि बहिनीका लागि दुई तीनओटा लुगा चोरेँ र क्वाटरको पछाडिपट्िटको सानो कोठामा लुकाएँ । भोलिपल्ट रातिनै उठेर लुगा लिएर कुदेँ । उति लामो बाटो कुदेर घर पुग्दा आमा भर्खर उठेर दैलो पोतो गर्दै हुनुहुन्थ्यो । मैले आमालाई झुट बोलेँ, ‘बैनीलाई मेम साहेबले दिइको लुगा हो ।  एकछिन पछि त मेमसाहेब मलाई खोज्दै आइन् । बहिनी नयाँ लुगा पाएर फुरुङ्ग थिई । ऊ पुतलीजस्तै खेलिरहेकी थिई । मेम साहेबले बहिनीलाई देखिन् अनि आँखा तन्काएर मतिर हेरिन् । मेरो सातो गयो । लुगा चोर्नीभन्दै गालामा एक थप्पड हानिन् । मैले पनि कस्सिएर प्रतिकार गरेँ किन तपाईँको घरमा चाहिँ त्यति धेरै लुगा छ त ? मेरी बहिनीलाई चाहिँ एउटा पनि छैन त ?’ मुमाले साँचो कुरा थाहा पाएपछि दुःखी हुनुभयो र मलाई सम्झाउनु भयो । मेरी सत्यवती आमा के सहनुहुन्थ्यो । मेरो चरित्रले चोट पुर्यायो उहाँलाई । हाम्रो विवशता मेमसाहेबले देखिन् । त्यहीबेला हामीले थाहा पायौँ, मेम साहेबले मेरो कामको पैसा समेत बुबालाई दिएकी रहिछन् तर त्यो पैसा हाम्रा लागि आएन । हाम्रो दुःख देखेर होला उनलाई पनि टिठ लागेछ । उनले आमालाई भनिन्, ‘यसलाई स्कुल पठाउनू म खर्च दिन्छु ।  तर सहयोग मौखिक रूपमा मात्रै सीमित रह्यो । म स्कुल गइन । भनौँ न मैले कहिल्यै स्कुलको मुख देखिनँ तर पाल्पा तानसेनको जनता माध्यमिक विद्यालय, त्रिशूलीको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, पोखराको गण्डकी बोर्डिङ स्कुल पढाएँ । चौबिस पच्चिस वर्ष नेपालका विभिन्न स्कुलहरूमा अध्यापन कार्यमा बिताएँ । नर्वेमा पुगेर ससाना नानीहरूलाई कथा सुनाएँ । आफ्नो जीवन आफैलाई अनौठो लाग्छ, बहिनी ।

आमाबाटै सावाँ अक्षर सिकिन् मायाले । घरमा बिहान बेलुका खानकै समस्या, केको स्कुल । कसैले खान दिन्छु भन्यो भने जे पनि गरिदिन्थिन् मायाले । लुगा धोइदिने, नाचिदिने, गीत गाइदिने । उनी आफूभन्दा ठूला ठूला लुगा लिएर धुन जान्थिन् खोलामा । धेरै ठूला भएर धुनै नसकेपछि खोलामै बगाइ दिन्थिन् । कतिपय मालिक्नीले त चालै पाउन्नथे । टोलभरि उनलाई मान्छेहरू बिग्रेकी केटी भन्थे रे । मगन्ते भन्थे रे । के गर्नु नमागी सुखै पनि त थिएन । घर नजिकै सिपाहीहरूको लङ्गर थियो । दिउँसो ठिक एक बजे खाना खाने समय हुन्थ्यो । उनी भाइलाई बोकेर जान्थिन् र तारबार बाहिर उभिएर कराउँथिन् । आफ्नो र भाइको भोको पेटको प्रतिनिधि आवाज बोल्थिन् सिपाई साप्, कुछ त दिजिए ।सिपाही पनि खुशीसाथ बोल्थ्यो, “आगए बच्चो, ए लो !अन्डा र रोटी खाएर तृप्त हुन्थे रे उनीहरू ।

मायाकी आमा गोर्खा हाइ स्कुलको अगाडि खाजा बेच्नुहुन्थ्यो । समोसा, आलु, गुँणको मिठाई डालोभरि बनाएर लग्नुहुन्थ्यो । गोर्खा स्कुलका विद्यार्थीहरू उहाँले बेचेका खाजा किनेर खान्थे । आमा रातभरि सुइटर बुन्नुहुन्थ्यो, थोकमा सुपारी ताछ्नु हुन्थ्यो अनि भोलिपल्ट बडा बजारमा लिएर जानुहुन्थ्यो । छरछिमेकामा बस्ने विद्यार्थीले लेखेर सकेको कापी ल्याउँथिन् माया । लेखिएका हरफहरूका बीचको खाली ठाउँ आफ्नालागि उपयोग गर्थिन् ।

सिलङ, सन् १८७० मा कालु थापाले नेपालीहरूकालागि बसाएको शहर । हुन त त्यहाँका खासी आदिबासी त्योभन्दा पहिलादेखि आजसम्म पनि छन् तर आज त्यहाँ सबैथरीका नेपालीहरूको सुन्दर बसोबास छ । मगर, गुरुङ, राई, लिम्बू, बाहुन, क्षेत्री सबै मिलेर बसेको ससानो नेपाल । बाह्रै मास पानी पर्ने चेरापुञ्जीबाट २०० किलोमिटर पूर्वमा रहेको यो ठाउँमा बस्ने अविनाश श्रेष्ठ भन्छन् यो त स्विजरल्यान्ड जस्तै छ, साह्रै सुन्दर छ, प्राकृतिक सुन्दरता र भूबनावटका दृष्टिले पनि ।

सिलङ आदर्श बस्ती हो नेपालीहरूका लागि । जातपातमा कुनै भेदभाव छैन । आआफ्नै संस्कार, आआफ्नै चलन सबै ससम्मानित बाँच्छन् । माया दिदीको आँखै अगाडि झलझली नाचेका छन् आज ती बाल्यकालीन स्मृतिहरू ।

...नजिकै थियो चिहान डाँडो । सबैथरीका लासहरू लगिन्थे त्यहाँ । हिन्दू संस्कारका लास बोकिँदा किशोरी माया बाटोभरि लासलाई पछ्याउँदै जान्थिन् । लावा र फूलसँगै फालिएका पैसा बट्याउँथिन् । अर्का थरी जातको लास बोकिँदा पनि मायालाई लासले लोभ्याउँथ्यो । उनको भोको पेटले डोर्याउँथ्यो । च्यानमाथि फालेका अनेकाथरी खानेकुरा र लुगाहरू उपभोग गरेर आफ्नै राज्यकी एक्ली राजकुमारी हुन्थिन् उनी । कहिले गाउँथिन्, कहिले नाच्थिन् त कहिले त्यही चिहान घारीमाथि एक्लै गट्टा खेलिरहन्थिन् । टपरीमा राखिएका भात मात्रै होइन जाँड पनि पिउँथिन् र एक्लै बरबराउँथिन् । त्यहीँ निदाउँथिन् । लास यात्रामा कमाएको पैसा बाँसघारीको झाङमा लुकाउँथिन् र घर फर्किन्थिन् । लास यात्रामा गएको थाहा पाए आमाले सिस्नुपानी लगाउँथिन्, त्यसैले बची बची हिँड्िथन् उनी । आमा अति धार्मिक थिइन् । अत्यन्त निष्ठाव्रती हिन्दू नारी थिइन् । तीज, पञ्चमी, एकादशीको व्रत लिन्थिन् । पतिव्रता थिइन् । पतिले जतिसुकै बेवास्ता गरे पनि पतिको स्वागत सत्कारमा कहिल्यै कमी गर्दिनथिन् । कहिलेकाहीँ आएका पतिलाई घाममा बसेर शरीर माडी माडी नुहाइदिन्थिन् । त्यो देखेर मायालाई भने निकै रिस उठ्थ्यो ।

आँखाभरि उदासिनता भरेर सुस्केरा काड्दै दिदीले कुरा अगाडि बढाउनु भयो, “थाहा छ त्यो मेरो एक्लो संसार च्यानडाँडो मेरा लागि सुरक्षित भएन । अनेक थरी मान्छे आएर मलाई दुव्र्यवहार गर्न थाले । आमाले त सधैँ कराउनु हुन्थ्यो, त्यस्तो ठाउँमा एक्ली छोरीमान्छे जानु हुँदैन भनेर तर म बुझ्िदनथँे । काका, मामा पर्नेहरूले पनि पैसाको प्रलोभन देखाएर मलाई यौन दुवर्यवहार गर्न थाले । एक दिन घाँस काट्ने दुईजना दिदीहरू त्यो डाँडामा नभेटिएको भए म बच्दिनथेँ होला ।

कसैका छोराछोरी केही छिन बोकिदिएर पनि छाक टारिन् मायाले, कसैको घरको जुठेल्नो स्यहारेर पनि हातमुख जोरिन् मायाले अनि कसैको घरको ट्वाइलेट सफा गरेर पनि भोको पेट भरिन् मायाले । उनको घर नजिकै एउटा धनी मान्छेको घर थियो । नेपाली नै थिए तिनीहरू पनि । उनी त्यो घरको बच्चा बोकिदिन्थिन् । बच्चाका आमाबाबु उनलाई रहरको दाल र भात दिने लोभ देखाउँथे । घिउले झानेको रहरको दाल खान मायाको आँत हर्हराउँथ्यो । कतिबेला पाइएला भन्ने आसमा टोलाउँथ्यो । पेटमा आन्द्रा छुत्ती खेल्दा बच्चालाई भुइँमा छोडिदऊभनेर पनि धम्क्याउँथिन् उनी । उनीहरू एकै छिन पख्भन्दै आस देखाउँथे । सबैले खाइसकेपछि अन्तिममा जुठेल्नोमा भाँडा निकाल्दा डेक्चीको बिर्कोमा अलिकति दालभात दिन्थे ।

दशैँ जडाउरी लुगाहरू भएर आउँथ्यो माया र उनका भाइ बहिनीका आङमा । जडाउरी नै लगाएर हुर्क्यो उनको र भाइबहिनीको बाल्यकाल । दिदी भक्कानिँदै बोल्नुहुन्छ, “आज यति सबै छ तर मेरो कोही छैन । तीज आउँदा माइती सम्झिन्छु, तिहार आउँछ टीका लगाने कोही छैन । मेरो माइतीतिरको कोही हुन्न ।दिदीको बोलीमा असमेली नेपालीको प्रभाव अझै रहेछ है अविनाशले दाइ सुस्तरी भन्नुहुन्छ ।

भाइ के भन्नु हुन्छ, मैले मेरै जीवन भन्न सक्दिनँ , नब्बे प्रतिशत सत्य बोले पनि दश प्रतिशत भागको ढोका खोल्न डर लाग्छ मलाई मेरो जीवनको । मेरो जीवनका ती अँध्यारा पाटाहरूले मैलाई तर्साउँछन् । म भन्नै सक्दिनँ । सुन्न सक्नुहुन्छ, मैले आजसम्म कसैलाई भनेकी छैन, प्रिय मित्र भागिरथी र पद्मालाई त भनेँ, तर आज तपार्इँहरूलाई भन्दै छु सुन्नुहुन्छ, सरस्वती पूजाको रात मेरो पाँच वर्षको भाइ बलात्कृत भएको थियो । रक्ताम्य लास दैलोमा ल्याएर फालिदिएका थिए । बाबुले बेवास्ता गरेको एउटा परिवार कतिसम्म अपहेलित हुन्छ समाजमा !!!दिदीका आँखाबाट बलिन्द्र आँसुहरू झरिरहे । गहिरा आँखाबाट भुलभुलाएको मूल एकोहोरो बगिरह्यो । दिदीको आँखामाथिको सेतो चश्मा निरुद्देश्य टल्किरहेको थियो ।  कसैको वक फुटेन । मैल दिदीका हात समातेँ । मात्र समातिरहेँ, केही बोल्न सकिनँ । दिदीको खोटरी लागेको घाउ कोट्यायौँ हामीले...अविनाश सुस्केराले बोल्नुभयो ।

बाहिरतिर घामको तेज अलि मलिन हुन लागेको थियो । भान्साबाट कविता नानीले मीठो कफी लिएर आइन् । हामी कफी खाँदै दिदीका ती पीडाहरूलाई सुनिरह्यौँ । 

समाजमा सबै मान्छेहरू मायालाई बिग्रेकी केटी भन्थे, पैसामा बिक्छे भन्थे अनि कसैले पनि आफ्ना छोराछोरीसँग सङ्गत गर्न पनि दिन्नथे । कसैगरी साथी बनिहाले पनि सभ्य भनाउँदा अभिभावकहरू मायालाई कठालोमै समातेर गेट बाहिर हुत्याउँथे । हेला, छिःछि र दुत्कार मायाको बाल्यकालीन समाजको पाठशालाले सिकाएका मूल पाठका शीर्षकहरू हुन् । कुनै दिन विद्यालय नगएरै उनले सिकिन् सामाजिक जीवनका वास्तविक कथाहरू । कुनै अक्षरहरूमा नपढिकनै उनले थरी थरीका चरित्रहरूलाई आफ्नो मनको क्यानभासमा उतार्न सकिन् । सामाजिक पाठशालाका यिनै पाठहरूले मायालाई जुझारू बन्न सिकाए, अन्यायप्रति लड्न सिकाए अनि जीवनमा केही बन्ने सपना देख्न सिकाए ।

मायालाई सुनिरहँदा मेरो मनमा भने अर्कै अनुभूति सलबलाउन थालेको थियो । मायाका कथाहरूमा समाजको जरैसम्म पुग्ने गरी गहनतम अनुभूति भरिदिने ती दिनहरू आज उनको सिर्जनात्मक लेखनका लागि सबैभन्दा उर्वरभूमि भएका होलान् । स्रष्टा सिर्जना गर्न जान्दछ । चाहे दुःखमा होस् चाहे सुखमा । ऊ मात्र आफ्ना अगाडि सिर्जनाको नूतन संसार निर्माण गर्न जान्दछ । मायाले पनि यस्ता सयौँ नूतन संसार बनाएकी छन् र त्यसैमा रमाएकी छन् । आफू त्यो सङ्घर्षमा होमिनु जति दुःख लाग्दो विषय हो आफ्नो कथाको कुनै पात्रलाई त्यस्तै सङ्घर्षमा पारङ्ग बनाउनु उस्तै खुशीको विषय हो । माया आफ्ना पात्रका पीडामा रुँदी पनि हुन् तर त्यो रुवाइले उनलाई अर्को सन्तुष्टि पक्कै दिन्छ, केही गर्न सक्नुको, सिर्जना गर्न सक्नुको । सायद सिर्जना र भोगाइमा यही फरक छ । 

+                                                             +                                                             +

भर्खर स्वतन्त्र भएको थियो भारत, १९४७ पछिका नयाँ पुस्ता अङ्ग्रेजी गीत सङ्गीतको प्रभाव, भारतीय सिनेमा उद्योगको विकास अनि कला साहित्यको नयाँ रन्कोमा उदाएको थियो । यसै मेलोमा सिलङबाट पनि हरिभक्त कटुवाल, लीलबहादुर क्षेत्री, कृष्णप्रसाद ज्ञवाली, मान्नु सिंह, सिके रसाइली, प्रितम बहादुर क्षेत्री, बबुरसिंह राणा, बिरही सुब्बा, चन्द्रकला नेवारको राम्रै समुह बन्दै थियो । यही समुहमा मिसिन पुगेकी थिइन् माया ठकुरी पनि । नेपाली सङ्गीत कला समितिमा डी. आर. सुब्बाले सामेल गराएपछि मायाको जीवनमा नयाँ क्षितिज उघ्रियो ।

डी. आर. सुब्बा नै थिए मायालाई प्रिन्टिङ मेसिन सफा गर्ने काम दिलाउने । आशापत्रिका छापिने प्रेसमा मायाले मेसिन पुछ्ने काम गर्दा गर्दै केही महिनामै शब्द कम्पोजिसन गर्न पो जानिछन् । एकाएक उनको काम कम्पोजिटरमा बढुवा भयो । लेखपढ गर्ने सिक्दै गइन् मायाले । 

मायाले स्कुलको मुख त देखिनन् तर एकैचोटि मेट्रिक दिने भइन् । दुईवर्षसम्म सरको घरमा कुचो लगाउने, भाँडा माझ्ने, खाना पकाउँने काम गुरु दक्षिणास्वरूप गरेर मायाले पढिन् । प्रत्येक दिन बिहान अघिल्लो दिन साँझदेखि रोकिएका घरायसी कामबाट मायाको शिक्षार्जनको क्रम सुरु हुन्थ्यो । काम र पढाइबाट थकित भएकी मायालाई एक दिन गुरुले भने, “अब तिमी मेट्रिक दिन सक्छ्यौ ।  मायालाई विश्वास लागेन । सरले प्रश्नपत्रका नमुनाहरू दिएर धेरै अभ्यास गराएका थिए । सरलाई मायामाथि विश्वास थियो तर मायालाई आफूमाथि विश्वास थिएन । सरको वचन हार्न नसकेर एक दिन उनी जाँच दिन गइन् । जीवनको पहिलो परीक्षा थियो त्यो, कापीको दाहिने पाना मात्रै भर्दै गइन्, कापी चाँडै सकियो, थप्ने कापी पनि आएन । साथीहरूले त देब्रेतिर पनि पो लेखेका रहेछन् । नहडबडाई जुक्ति निकालिन्, सबै पानामा पेज नम्बर लेखिन् र यो प्रश्नको उत्तर फलानो पेजमा हेर्नुहोला भन्ने निर्देशन पनि दिइन् । सिलङबाट दिइएको उत्तर पुस्तिका गुवाहटीमा जाँचिन्थ्यो ।  नियमित स्कुल जाने कतिजना फेल भए तर माया पास भइन् ।

घरको समस्या त उही थियो । काम खोज्न थालिन् । केही समयपछि उनले स्कुलमा पढाउने काम त पाइन् तर स्कुलकी प्रिन्सिपल उनलाई व्यक्तिगत काममा नै लाउँथिन् तर माया पढाउने काम मन पराउँथिन् । मानसिक द्वन्द्व भौतिक द्वन्द्वमा बदलियो । एक दिन उनले आफ्नो असन्तुष्टिको आक्रोश पोखिन् ती महिलामाथि । आफूभन्दा ठूली ती महिलालाई भुइँमा लडाएर घुँडा चढिन् र एक सिसी मसी त्यही प्रिन्सिपलको टाउकाबाट खन्याइदिन् र कराउँदै हिँडिन्, “लौ पढा तेरो स्कुल तैँ ।

त्यसपछि जसोतसो मिलाएर क्याम्पस पढ्न थालिन् मायाले । मर्निङ क्याम्पस पढेर दिउँसो टाइपिस्टको जागिर खान थालिन् । केही कमाइ भएपछि जीवनको बाटो पनि त सोझो हुन लाग्यो । जागिर खाएर घर खर्च र बहिनीलाई पढाउने खर्च जुटाइन् । कलेज पढ्दा मायालाई प्रेम गर्छु भन्नेहरू थुप्रै भए तर जीवनको अन्तिम टुङ्गो लाग्ने प्रेमका लागि भने कोही तयार भएनन् । घरमा केटी माग्न केटा पट्िटकाहरूको ताँती लाग्थ्यो । तर बिडम्बना त्यो ताँतीले कहिल्यै मायाको नामसम्म उच्चारण गरेन । आमा मायालाई सम्झाउँथिन् । अपमानको घाउमा लेप लगाउँथिन् । माया बाहिर केही नभएझैँ गर्थिन् तर भित्र भित्र साह्रै दुख्थिन् । समाजले उनलाई गरेको तिरस्कारको यो गहिरो चोट कहिल्यै बिर्सिन्नन् उनी । उनको त्यो उमेरले जति चोट पाए पनि जीवनको सपना देख्न भने छाडेन । छिमेकमा खाइलाग्दा आर्मी जवानहरू घर फर्किँदा माया उनीहरूका घर सघाउ पघाउ गर्न पुग्थिन् । छिमेकी आमाहरू मायाको सहयोगले फुरुङ्ग पनि हुन्थे । कतै जीवनले नयाँ बाजी मारी हाल्ला कि ! माया आशापूर्ण सहयोगका पाइला चाल्थिन् तर यथार्थ अर्कै हुन्थ्यो । उनीहरूको अर्कै केटीसँग झ्याइँ झ्याइँ बिहे हुन्थ्यो, आँसुको घुट्को पिउँथिन् माया । फेरि अर्को सपना साँच्न थाल्थिन्, “यो संसारमा कोही त होला मेरो लागि ! 

गुवाहटी रेडियोबाट नेपालीमा उत्तराञ्चल अनुष्ठान कार्यक्रम बज्थ्यो । यसका सञ्चालक थिए लीलबहादुर क्षेत्री । उनले हाप्ताको दुई दिन नेपाली कार्यक्रम सञ्चालन गर्थे । एक दिन लीलबहादुर क्षेत्री स्वर परीक्षा लिनैका लागि गुवाहटीबाट सिलङ पुगे । मायाले पनि त्यही मेसोमा स्वर परीक्षा दिइन् । पास भइन् । सन् १९५९ मा स्वर परीक्षामा उत्तीर्ण भएपछि मायाले अल डन्डिया रेडियमा नेपाली गीतहरू गाउन थालिन् । त्यतिबेला अर्की नेपाली प्रतिभा चन्द्रकाल नेवार गायनमा प्रसिद्ध भइसकेकी थिइन् ।

समाज मायालाई तिरस्कार गरिरहन्थ्यो तर उनी आफूलाई जतनले उठाउन छोड्िदनथिन् । उनको हृदय आत्मविश्वासको हावाले टम्म भरिएको भकुन्डो भएको थियो, मायाको जीवनको खेल मैदानमा त्यसलाई समाजले जति आपमानले थेचार्न खोज्थ्यो उनी उति माथि उफ्रिन्थिन् र कला यात्राको बाजी मार्थिन् । लेखन र गायनमा मायाको कलायात्रा अघि बढिरह्यो । भातखन्डे विश्वविद्यालयको सङ्गीत शाखाबाट मायाले शास्त्रीय सङ्गीतको अध्ययन गरिन् र आफूलाई गायनमा स्थापित गर्दै लगिन् । कविताहरू पनि लेखिरहिन् । गुवाहटी र अल इन्डिया रेडियोबाट उनका कविताहरू प्रसारित हुन थाले ।  रेडियो नाटक र मञ्च नाटकमा पनि भाग लिन थालिन् ।

मायालाई विश्वास थियो, सुखका दिनहरू एकदिन पक्कै फर्किन्छन् । यो उनकी धार्मिक र सत्यवती आमाको बोली पनि थियो । मायाको जीवनलाई असाध्यै नजिकबाट देखेका, उनको पीडालाई  बुझेका पात्रले एक दिन मायालाई जीवन साथीका लागि प्रस्ताव राखे । कास्की, सातमाने देउरालीका दामोदर शर्मा जो गोर्खा स्कुलको अगाडि आफ्ना साथीहरूसँगै मायाकी आमाले बेचेको खाजा किनेर खान्थे, उनै पात्र मायाको नयाँ जीवनका अवतार पात्र भए । यो प्रस्ताव मायाका लागि अकल्पनीय थियो । धनपति उपाध्यायको सल्लाहले अन्ततः उनीहरूको जोडी बाँधियो । २०३२ सालमा दामोदर शर्मासँग दाम्पत्य जीवनमा बाँधिएपछि मायाको जीवनमा एउटा नयाँ र सुखद् अध्याय सुरु भयो । उनी भन्छिन्, “उहाँ मेरो जीवनमा आउनु मैले पुनर्जीवन पाउनु हो ।दामोदर साथी पाएपछि मायाको जीवनले सधैँ उत्साह र प्रेमको मलजल पाइरह्यो । नेपाली साहित्यका लागि यो फलदायी पनि भयो । आज विश्वका उत्कृष्ट कथाहरूका सङ्ग्रहमा माया ठकुरीको साँघु तरेपछिकथाले पाएको स्थान मायाको अविरल लेखन यात्रा र दामोदर शर्मासँगको सहयोगी र सुखद् जीवनको फल हो भन्ने लागिरहन्छ मलाई । दुई दर्जन जति सामाजिक तथा साहित्यिक संघ संस्थाहरूमा संलग्नता, मैनाली कथा पुरस्कार, रत्नश्री सुवर्ण पदक, शिक्षा पुरस्कार, रािष्ट्रय नागरिक सम्मान, मैना पुरस्कार, दीपा जनमत सम्मान आदि दर्जनौँ सम्मान तथा पुरस्कारका ताँतीहरू त्यही अदम्य उत्साह र प्रेमपूर्ण सुखद् जीवनका प्रतिफलन नै हुन् ।

बारम्बार जिस्क्याइरह्यो मोबाइलले । अविनाश दाइले मीठो खीर पुरीलाई हतारले खाएर उठ्नु भयो र हामीबाट छुट्नुभयो । डुब्न थालेको घामले मेरो घरगृहस्थी सम्झाइरहेको थियो । सानो छोरो आयामको आवाज बोलिरहेको थियो, “मामु एकछिन फुटबल खेल्न जाऊँ न। पर्सि चितवनको कार्यक्रममा बोल्नु पर्ने पढ्दै गरेको अधुरो उपन्यास शारदा शर्माको तापलाई सम्झाइरहेको थियो । म घर आइपुग्नै लागेँ हैओखलढुङ्गाबाट एकाबिहानै गुडेको समीरको आवाजले नागढुङ्गाबाटै तानिरहेको थियो । जीवन हुन्छगर्छुका ताँतीहरूमा योजना बनाउँदा बनाउँदै यसैगरी चिप्लिरहेको छ । फेरि पनि मलाई माया दिदीको जीवन कथा सुनेर पुगेको छैन । सुनिरहन्छु साँझ नपरुन्जेल । जीवनको उही उपक्रम । छोरी अनुराधाको जीवनको पीडापूर्ण कथा अनि पति र नातिहरूसँगको रमाइलो जीवन । अहो ! जीवन, कथै कथाको उपक्रम त रहेछ । माया दिदी, यत्रो लामो जिन्दगीलाई कति रङहरूमा रङ्गाउनु भयो तपाईँले । के ती चित्रहरूलाई मैले मेरा प्रिय पाठकका लागि शब्दहरूमा कोर्न सकूँला ? यति चाहिँ भन्छुः

जीवन जून भएर झुलोस्

घाम भएर खुलोस्

हरेक अन्धकारमा

माया दिदीको विश्वास भएर फुलोस् ।

Comments

असफल गौतम

मैले यो लेख पूरा अध्ययन गरे मन छोयो। 

manju nirola

mayajee, i am so proud to be your friend.u always encourage me to write the story.from my book yatharth ma america,u gave so much feedback.thanks for all your support.


सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |